पूर्वाधार

ग्वार्को फ्लाई ओभरको नालीबेली

कस्तो बन्दैछ नेपालको पहिलो फ्लाई ओभर ? [नयाँ डिजाइन‍सहित]

शुरज थपलिया |
पुस १३, २०८० शुक्रबार १९:२० बजे

नेपालमा सडक निर्माण तथा विकासका कार्यहरू सञ्चालनमा आएको लगभग एक सय वर्ष पुगिसकेको छ । सडक निर्माण तथा विकासहरूलाई हेर्दा स्वर्णकालीन समय मान्न सकिन्छ ।  ​

राणाकालीन समयमा विकासको प्रादुर्भाव भएको थियो । मानव सभ्यताको विकास उत्कर्षमा पुग्नै लाग्दा राणाकालीन समयले विकासको खुड्किलो चढ्दै थियो । त्यो विकासको चरण भनेको नै सडक मार्ग थियो । वि.सं १९८० को दशकबाट काठमाडौँ उपत्यकामा सडक निर्माण हुँदै आएको अभिलेखीकरण पाइन्छ ।


नेपालको पहिलो सडक अमलेखगञ्जदेखि भीमफेदीसम्मको दूरी जम्मा ४२ किलोमिटरको हो । उक्त सडकबाट मुलुककै पहिलो सवारी साधन (कार) भरियालाई बोकाएर वि.सं १९९८ मा काठमाडौँ ल्याइएको थियो ।​

राणाकालीन समयमा बाटो काज गोश्वारा, छम्भडेल अड्डाजस्ता विविध अड्डाहरू खडा गरेर विकास निर्माणका कामहरू भएका थिए ।

वि.सं. १९८० देखि हाल २०८० सम्मको समयमा नेपालका थुप्रै भूभागमा तीव्र रूपमा सडक निर्माण कार्य भएका छन् । सडक निर्माणको एक शताब्दीमा नेपालभर करिब ९७ हजार १०५ किलोमिटर सडक निर्माण भइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।

पछिल्लो समय ट्राफिक व्यवस्थापनका लागि सरकारले सहरका विभिन्न चोकहरूमा आकासे पुल, अण्डरपासजस्ता आधुनिक संरचनाहरूसमेत निर्माण गरेको छ ।​सो क्रममा कलंकी अण्डरपास, नागढुंगा सुरुङ मार्ग, फास्ट ट्रयाक आदि जस्ता राष्ट्रिय गौरवको दिगो आयोजना पनि निर्माण भइरहेका छन् । ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै नेपालमा पहिलो पटक ग्वार्को फ्लाई ओभर निर्माण हुँदैछ । जुन अहिले सर्वसाधारणका लागि निकै चासोको विषय बनेको छ ।

ललितपुरस्थित ग्वार्को चोकमा फ्लाई ओभर निर्माणका लागि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागको गुणस्तर अनुसन्धान र विकास केन्द्र विभागले जिम्मा लिएको छ । विभागले २०७८ माघ २७ गते निर्माण कम्पनी आशिष-समानान्तर-रेलिगेर जेभीसँग ठेक्का (अनुबन्ध नं. DOR_QRDC/EPC/NCB/GFP/०७७/७८-१३) सम्झौता गरेको थियो । उक्त सम्झौताअनुरूप निर्माण कम्पनीले कार्य योजना, डिजाइन, इन्जिनियरिङ,  खरिद तथा अण्डरपास सडकसहित चार लेन सडक भएको फ्लाई ओभरको निर्माणका लागि इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन (ईपिसी) मोडेलमा कुल लागत १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँमा करसहित ठेक्‍का कबुल गरेको थियो । सम्झौता गरिएको दुई वर्षमा काम सक्ने गरी निर्माण अवधि तोकिएको थियो । चौतर्फी रूपमा चक्रपथ सडक खण्डमा ट्राफिक जामलाई व्यवस्थापन तथा सहज नियन्त्रण गर्न यो परियोजना सरकारले सुरु गरेको हो ।

ग्वार्को फ्लाई ओभरमा के-के काम भए ?

निर्माण कम्पनीका पुल विशेषज्ञ इन्जिनियर रञ्जित कापरका अनुसार निर्माण क्षेत्रमा अहिले फ्लाई ओभर पुलको लागि 'ग्रिडर' (बिम,दलिन) बनाउने काम हुँदैछ । निर्माणाधीन फ्लाई ओभरका लागि ७ वटा 'ग्रिडर' कुल ३५.८० मिटर लम्बाइको आवश्यकता पर्छ । उक्त 'ग्रिडर' लाई बलियो बनाउन 'ग्रिडर' भित्र हाल्ने प्रि-स्ट्रेस पाइप/ स्लिथिन पाइप (बलियो कालो पाइप) ४ इन्चको ४ वटा हालिएका छन्  । ४ इन्चको स्लिथिन पाइपभित्र १२.७ एम.एमको १९ वटा 'टेन्डम तार' (मोटो फलामको तार) हालिन्छ र पछि 'ग्राउट' (सिमेन्ट र केमिकलको मिश्रण) गरेर बलियो बनाइन्छ । जसले अब बन्ने फ्लाई ओभरको भार क्षमता बढाउँछ । 

साइट इन्जिनियर प्रदिप भट्टराईका अनुसार कार्य क्षेत्रमा ग्रिडर राख्न 'पायर' (पिलर) वारिपारि ४-४ वटा बनाइएको छ । 'पायर' माथि ७ वोटा 'ग्रिडर' राखिन्छ । सडकको वारी र पारी ‘पायर’ लाई सपोर्ट गर्न जमिनमुनि ३० मिटरको २४ वटा 'पायलिङ' (जमिन कस्न र पुलको खुट्टा मजबुत बनाउन जमिनमुनि खाल्डाे खनेर रड र कंक्रिट हालेर ढलान गर्ने) गरिएको छ । 'ग्रिडर' राखेपश्चात् सडकको दुवै भागमा 'स्लोप' मिलाएर माटो भरिन्छ । माटोलाई सडक बाहिर निस्कन नदिनका लागि 'रि-वाल प्यानल' ले बार लगाइन्छ । उक्त फ्लाई ओभरका लागि दुई हजारभन्दा बढी 'रि-वाल प्यानल' आवश्यक पर्छ । अहिले कार्य क्षेत्रमा 'रि-वाल प्यानल' बनाउने काम धमाधम भइरहेको छ । यसका लागि भारतीय प्राविधिक टोली फिल्डमा छन् ।

साइट इन्जिनियर भट्टराईले सडक विभागले पुलको 'स्लोप' का लागि निर्णय नदिएर काममा ढिलासुस्ती भएको बताए । निर्णय समयमा आए यहीँ असारसम्ममा काम सक्ने निर्माण कम्पनीको लक्ष्य छ । ​अहिले फ्लाई ओभर निर्माणको कामका लागि ५० जना कामदार फिल्डमा खटिएका छन् । बिहानदेखि राति १० बजेसम्म लगातार काम भइरहेको छ ।

निर्माण किन ढिला भयो ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डिजाइनमा सही निर्णय दिन नसक्दा बारम्बार काम रोकिएको छ । पहिला पनि मन्त्रालयबाट बारम्बार डिजाइनमा समस्या भएको र माटो परीक्षणजस्ता विभिन्न कुराहरू बताई काम अवरुद्ध भएको थियो । निर्माण कम्पनीले पेस गरेको डिजाइन ‘करेक्सन’ गरेर सडक विभागले स्वीकृत दिन सकेको छैन । 

दैनिक लाखौँ मानिसले प्रयोग गर्ने यो सडकमा ग्वार्को चोक, बी एण्ड बी हस्पिटल, पाटनको गाःबहाल, बालकुमारी, बाहुनधारा, इमाडोलसम्म सवारीको जाम हुने गरेको छ । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सिडिई) राकेश महर्जनले पहिला डिजाइन गरिए अनुसारका उपकरणहरू युरोप, नेपाल र भारतमा नपाएपछि निर्माण गर्न समस्या भएर डिजाइन परिवर्तन गरिएको बताए । 

पछिल्लो डिजाइनअनुसार कस्तो बन्दै छ फ्लाई ओभर ?

फ्लाई ओभरको लम्बाइ करिब ५ सय मिटर र उचाइ ९ मिटर हुने विकास केन्द्रले जनाएको छ । चक्रपथको कोटेश्वर-कलंकी खण्डमा विस्तार गरिएको ८ लेन सडकको बीचको ४ लेनमा फ्लाई ओभरबाट चक्रपथमा गुड्ने सवारी चल्नेछन् भने फ्लाई ओभरमुनिबाट मंगलबजार-इमाडोल-मंगलबजार चल्ने सवारीले आवतजावत हुने निर्माण कम्पनीका परियोजना निर्देशक विशाल कार्कीले बताएका छन् । 

अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाई ओभरको उचाइ ६ मिटर राखिएकोमा निर्माणाधीन फ्लाई ओभरको उचाइ ९ मिटरको हुनेछ । जसको 'र्‍याम' बालकुमारीतर्फबाट ३ सय २० मिटर लामो र सातोबाटोतर्फबाट १ सय ८५ मिटर लम्बाइको निर्माण हुन लागेको छ । बीचको 'सुपर स्ट्रक्चर' को लम्बाइ भने ३५ मिटर लामो हुने निर्माण कम्पनीका परियोजना निर्देशक कार्कीले बताए । बालकुमारी आकासे पुलबाट बी एण्ड बी हस्पिटलको सडक खण्ड सिधा नभए पनि अहिलेको डिजाइनअनुसार फ्लाई ओभर सिधा नै निर्माण हुनेछ र काेटेश्वरपट्टि भने जमिनअनुसारकाे घुमाउराे हुनेछ । 

फ्लाई ओभर कि ओभर पास ?

चक्रपथको निकै व्यस्तमध्येको चोक हो ग्वार्को चोक । मुख्य लेन बन्द हुँदा हरेक दिन सवारीसाधनको चर्को जाम पर्ने र त्यसको मार सर्वसाधारणले खेप्दै आएका छन् । ग्वार्को चोकमा निर्माणाधीन अवस्थामा रहेको संरचना ट्राफिक व्यवस्थापन र आम नागरिकलाई आवतजावतमा सहजीकरणका लागि निर्माण गर्न लागिएको हो । जसलाई अहिले कसैले ओभर पास त कसैले फ्लाई ओभर भनेर दुविधामा परिरहेका छन् । तर, यो साँच्चिकै के हो त ?

निर्माण कम्पनीका पुल विशेषज्ञ इन्जिनियर कापर ग्वार्कोमा बनिरहेको संरचना ओभर पासको पूर्ण परिभाषामा नपर्ने तर निर्माणशैली भने ओभर पाससरह नै रहेको बताउँछन् । सडक विभाग आफैले पनि फ्लाई ओभर भनि ठेक्का निकालेको थियो । सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नवीनमान श्रेष्ठले पनि नेपालका लागि यो नै पहिलो फ्लाई ओभर हुने बताएका छन् । केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सिडिई) राकेश महर्जनले पनि यसलाई ठेक्काअनुरूप फ्लाई ओभर नै भनेका छन् ।

किन निर्माण समयमा सम्पन्न भएन ?

निर्माण कम्पनी र सरकारका अनुसार निर्माणाधीन ग्वार्को फ्लाई ओभर नेपालको पहिलो फ्लाई ओभर परियोजना हो । इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन (ईपिसी) मोडेलमा निर्माण हुन लागेको उक्त फ्लाई ओभर निर्माण कम्पनीले डिजाइन तयार गर्ने र सरकार पक्षले स्वीकृत गरेर काम अगाडि बढाउने हिसाबले सम्झौता गरिएको थियो । तर, बनाएको डिजाइन स्वीकृत गराउन विदेशी कम्पनीसँग सहायता लिनु परेका कारण काममा ढिलासुस्ती भएको देखिन्छ । न त नेपाल र भारतमा डिजाइन गरे अनुरूपका निर्माण सामग्री पाइन्छन् न त आधिकारिक रूपमा सल्लाह सुझाव दिने सरकारी अधिकारीहरू नै छन् । यस्ता कामहरू ढिला हुनुमा सरकार नै दोषी देखिन्छ । दुई वर्षमा निर्माण सक्ने परियोजनाको डिजाइन स्वीकृत हुन १८ महिनासम्म लाग्यो यो हुनु भनेको सरकारको गैरजिम्मेवारी हो । आफ्नो सिमानाभित्र निर्माण गर्ने परियोजनाहरू विदेशी देशमा स्वीकृत गराउनु पक्कै लाजमर्दो कुरा हो ।

निर्माण सामग्री के-के प्रयोग भएका छन् ?

निर्माणाधीन फ्लाई ओभरको सुरक्षालाई मध्यनजर गर्दै निर्माण गरिएको पुलमा उच्च गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरिएको छ । पुलमा गरिएको ढलान र कंक्रिटको काममा कंक्रिट मेसिनले उत्पादन गरिएको सामग्री मात्र प्रयोग गरिएका छन् । कुनै पनि स्थानमा मजदुर आफैँले ढलान र ढलानसम्बन्धी अन्य काम गरेका छैनन् । पुलको भार क्षमता वृद्धि गर्न 'ग्रिडर' भित्र 'टेन्डम' तार हाली 'ग्रोआउट' गरेर मजबुत गरिने छ । पिलरको खुट्टालाई मजबुत गर्न जमिनमुनि ३० मिटर 'पाइलिङ' गरिएको छ र अब निर्माण हुने दुईतर्फी 'स्लोप' मा 'ग्रावेल पाइलिङ' गरेर माटो भरि गरी बलियो बनाइन्छ । माटो पुलमुनि भरे पश्चात् मात्र पुलको दायाँबायाँ 'रि-वाल' का प्यानलहरू जडान गरिन्छ ।

सरकारका कमजोरीहरू

ग्वार्को फ्लाई ओभर परियोजनाको डिजाइन स्वीकृत गर्ने क्षमता नेपाल सरकारसँग नहुनु र विदेशी मुलुकसँग डिजाइन स्वीकृत गराउनु लाजमर्दो विषय हो । सरकारसँग यति धेरै जनशक्ति हुँदाहुँदै पनि दक्ष जनशक्ति उत्पादन गर्न नसक्नु अर्को कमजोरी हो । विकास गर्न खोज्ने तर आवश्यक जनशक्ति उत्पादन तिर ध्यान नदिनुले सरकार विकासप्रति संवेदनशील छैन भन्ने थाहा हुन्छ ।  

चीन सरकारले केही वर्षअघि कंलकी-ग्वार्को-कोटेश्वर सडक खण्ड निर्माण गरेको थियो । सरकारले पाँच वर्षको दूरदृष्टि नराखी सोही ठाउँमा फ्लाई ओभर निर्माण गरी नागरिकलाई दु:ख दिएको छ । विकास आयोजनामा दूरदृष्टि नराख्दा जनताले तिरेको करको दुरुपयोग भएको छ । त्यो मात्रै होइन नागरिकको टाउकोमा ऋणको भारी बढेको बढ्यै छ । 

सरकारले विभिन्न विकास परियोजना निर्माण ढिलाई हुनुमा बजेट अभाव भन्दै आएको छ । तर, उपत्यकाका विभिन्न सडकमा पिच, ओभरल्यापिङ, टालटुल आदि शीर्षकमा करोडौँ बजेट विनियोजन गरेर काम गरेको देखिन्छ । यसरी राष्ट्रिय गौरवका परियोजनामा बजेट छैन भन्नु र अनावश्यक ठाउँमा बजेट विनियोजन गर्नुले सरकार नै नीतिगत भ्रष्टाचारमा लागेको सहजै देख्न सकिन्छ । 

सरकारले विकास निर्माणका काममा शिलान्यास र उद्घाटन मात्रै गरिरहेको देखिन्छ । सरकारको काम शिलान्यासमात्रै गर्नु होइन आयोजनाहरू समयमै निर्माण भए कि भएनन् अनुगमन तथा नियमन गर्नु पनि हो । तर, त्यो पाटोमा सरकार कमजोर देखिएको छ । ​

क्रूर भनिने राणाशासनमा पनि भावी पुस्ताका लागि दूरदृष्टि राखेर सडक निर्माण तथा विकासका कामहरू भएका थिए, तर लोकतन्त्रमा भने बन्दै गरेका दिगो विकासका संरचनाले पनि गति लिन सकेका छैनन् । त्यस्ता धेरै उदाहरण हाम्रासामु छन् । जस्तै, मेलम्ची खानेपानी आयोजना, फास्ट ट्रयाक आदि वर्षौंसम्म अलपत्र परेका छन् ।   


Author

थप समाचार
x