संसद्

निर्माणाधीन संघीय संसद् भवन समयमा सम्पन्न नहुने

इकागज |
माघ २५, २०८० बिहीबार १४:५२ बजे

काठमाडौँ- सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन समयमा सम्पन्न नहुने देखिएको छ ।​ निर्माणाधीन भवनको आन्तरिक सजावटका कामका साथै अन्य कामहरूको निर्माण नसकिएकाले आयोजनाले तोकेको चैत्र १२ गतेभित्र सम्पन्न नहुने देखिएको हो ।

बिहीबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले संयुक्त रूपमा गरेको अनुगमनका क्रममा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना प्रमुख मचाकाजी महर्जनले संरचनाको काम सम्पन्न भए पनि प्रतिनिधिसभा र राष्ट्रियसभाको भवनमा छाना हाल्ने काम भइरहेको जानकारी दिए ।


त्यस्तै भवनको भित्री भागको सजावटलगायतका काम तत्काल सुरु गर्ने तयारीमा रहेको उनले बताए । उनले असार मसान्तसम्म भवनको भित्री भागको काम सम्पन्न गर्न समय दिएकाले आयोजनाले भनेजस्तो चैत्र १२ गतेभित्र निर्माण सम्पन्न हुने नदेखिएको उल्लेख गरे । निर्माणाधीन संघीय संसद् भवनको हालसम्म भौतिक प्रगति ७७ प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत भएको उनले बताए ।

अनुगमनपछि समिति सभापति प्रकाश पन्थले चैत्र १२ सम्म सम्पन्न गर्ने आयोजनाको डेडलाइनअनुसार सम्पन्न हुने नदेखिएको बताए । उनले संसद् भवन निर्माणको काममा विभिन्न कारणले ढिलाई देखिएकाले समस्यमा समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराउने बताए । उनले बजेट अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरी काम गर्न पनि निर्देशन दिने जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार काम सुरु गरे पनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिँदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ ।


Author

थप समाचार
x