पूर्वाधार

काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम २०८३ चैत मसान्तभित्र सक्ने सरकारको दाबी

इकागज |
फागुन १८, २०८० शुक्रबार १६:२० बजे

फाइल फोटो

काठमाडौँ - सरकारले काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम २०८३ चैत मसान्तभित्र सम्पन्न हुने दावी गरेको छ । 

राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसदहरूले उठाएका विषयको जवाफ दिँदै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई मधेस द्रुतमार्ग विसं २०८३ चैत मसान्तभित्र निर्माण पूरा हुने बताएका हुन् । उनले उक्त आयोजनाको भौतिक प्रगति ३० दशमलव  ९६  प्रतिशत रहेको बताए । आयोजना निर्माण कोरोनाका कारण प्रभावित भए पनि सरकारले तय गरेको समयभित्रै पूरा हुने उल्लेख गरे । 


उपप्रधानमन्त्री खड्काले लागत नबढ्ने गरी खरिद प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारे । आयोजना अन्तर्गत खोकनामा देखिएको समस्या समाधानका लागि आवश्यक अध्ययन भइरहेको जनाउँदै उनले विभिन्न विकल्पमाथि छलफल जारी रहेको बताए । 

त्यस्तै उनले सेनाको कल्याणकारी कोषमार्फत हेटौँडा कपडा कारखाना सञ्चालनका लागि प्राविधिक टोलीले गरेको अध्ययन प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस भएको भन्दै उक्त प्रतिवेदन अध्ययनको क्रममा रहेको बताए । 

खड्काले सेना, सरकार र अदालतप्रति नकारात्मक टिप्पणी गर्ने प्रवृत्ति बढेकामा उनले आपत्ति प्रकट गरे । 

त्यस्तै उनले मौलिक हक कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्ने कार्यमा सरकार गम्भीर रहेको पनि धारणा राखे । 


Author

थप समाचार
x