पूर्वाधार

नागढुंगा सुरुङमार्ग आयोजनाको 'ब्रेक थ्रु' अनिश्‍चित बन्दै

इकागज |
फागुन २७, २०८० आइतबार १९:५२ बजे

काठमाडौँ- नागढुंगा सुरुङमार्ग आयोजनाको 'ब्रेक थ्रु' अनिश्चित भएको छ । स्थानीयले विभिन्न माग राखी आन्दोलन जारी राखेपछि आयोजनाको काममा प्रभावित भएको हो ।

आयोजनाको फागुन २३ गते ब्रेक थ्रु गर्ने योजना रहेको थियो । २ हजार ६८८ मध्ये  १४ मिटर मात्र बाँकी थियो । आयोजनाको सोही काम सम्पन्न भएपछि ब्रेक थ्रु गर्ने योजना रहेको आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले बताए ।


'सुरुङ मार्गको ब्रेक थ्रु' को सेरोमोनी मनाउने योजनामा थियौँ,' उनले भने, 'अहिले काममा अवरोध भएपछि कामलाई अगाडि बढाउन सकेका छैनौँ । ब्रेक थ्रु पनि अनिश्चित बनेको छ ।'

ब्रेक थ्रु गर्नका लागि १४ मिटरको मात्र काम बाँकी रहेको उनको भनाइ छ । स्थानीयको अवरोधले ब्रेक थ्रु को काम अनिश्चित बनेको उनको ठहर छ । ब्रेक थ्रु गरेको एक वर्षमा सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी तयारी हुने उपनिर्देशक दुमरुले बताए ।

गत फागुन ६ गतेदेखि आयोजनाको काममा अवरोध भएको छ । स्थानीयले विभिन्न माग राखी अवरोध गरेका हुन् । टनेल निर्माण गर्दा भत्किएका घर, जग्गामा भएको क्षति, खानेपानी अपर्याप्त र जमिनको मूल्यांकन कम भएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।

२०७६ असोजमा हाज्मा एन्डो कर्पोरेसनसँग ४२ महिनामा निर्माण पूरा गर्नेगरी सम्झौता भएको उक्त आयोजनाको म्याद लकडाउनका कारण ८६ दिन थप गरिएको थियो ।

कुल २२ अर्ब लागतको यो सुरुङमार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १६ अर्ब ऋण सहयोग गरेको छ भने ६ अर्ब नेपाल सरकारको आफ्नै स्रोतबाट खर्च हुनेछ ।

सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेश गर्ने मुख्य द्वारमा यात्रुले भोग्नुपरेको ट्राफिक जामको सास्ती कम हुने विश्वास गरिएको छ ।

 

 


Author

थप समाचार
x