पूर्वाधार

नागढुंगा सुरुङमार्गमा स्थानीयको अवरोधः सरकारलाई दैनिक १ करोड नोक्सान

विरोधले निर्माणमा ढिलाइ

अतिन आचार्य | दुर्गा आचार्य |
फागुन २८, २०८० सोमबार १६:२२ बजे

काठमाडौँ- नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको काम स्थानीयले अवरोध गरेपछि गत ६ गते देखि रोकिएको छ । स्थानीयले विभिन्न माग राखी विरोध गर्दा सुरुङमार्गको काम राेकिएकाे हाे । काम अगाडि नबढ्दा राज्यलाई दैनिक १ करोड घाटा भइरहेको छ ।

आयोजनाले यसअघि चन्द्रागिरी नगरपालिका १ र २ का प्रभावित क्षेत्रका स्थानीयलाई क्षतिपूर्ति उपलब्ध गराउने भनी सम्झौता गरेको थियो । खानेपानी उपलब्ध गराउने र चर्केका घरको क्षति दिनुपर्ने लगायतका विषयमा आयोजनाले सम्झौता गरेको थियो ।


प्रभावित क्षेत्रका स्थानीयले समय-समयमा माग राखी काममा अवरोध गर्दा सरकारलाई दैनिक १ करोड नोक्सान भइरहेको आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले बताए ।

‘आयोजनाको काम एकदिन मात्र बन्द हुँदा सरकारलाई १ करोड घाटा हुने गरेको छ,’ उनले भने,’ निर्माण कम्पनीलाई सरकारले काम नभएको दिनको पनि क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ ।‘ साेही हिसाब गर्दा पनि हालसम्म सरकारलाई २२ कराेड घाटा लागिसकेकाे छ । 

जापानको हाज्मा आन्दो कर्पोरेसनले आयोजना निर्माण गर्ने जिम्मा लिएको छ । आयोजनाका अनुसार सुरुङ मार्गको कुल लम्बाइ २ दशमलव ६८ किलोमिटर छ भने ३ दशमलव ५ मिटर चौडाइ रहेकाे छ । दुई लेनको हुने गरी आयोजनाको काम सुरु भएको हो ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले सुरुङमार्ग निर्माण गर्न २०६९ साल माघ देखि २०७२ सालसम्ममा विभिन्न चरणको सर्वेक्षण गरेको थियो ।

सोही सर्वेक्षणको आधारमा सुरुङ मार्ग निर्माण कार्य सुरु भएको छ । निर्माण सुरु भएको ५१ महिना बितिसकेको छ । सन २०२२ को अन्त्यसम्म निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य भएपनि कोभिडका कारण सुरुङ खन्ने कार्य नै ढिलाइ भएपछि सन २०२३ को मध्यसम्ममा निर्माण सम्पन्न हुने सम्भावना रहेको आयोजना  पूर्ण रुपमा निर्माण सम्पन्न हुन अझै एक वर्ष बढी लाग्ने देखिएको छ । यो सुरुङबाट ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र मोटरसाइकल चल्न पाउने छैनन् ।

सुरु सम्झौताअनुसार यसको समयावधि ०८० वैशाखमा सकिएको हो । उक्त समयभित्र काम नसकिएपछि ०८१ वैशाख १३ सम्म म्याद थपिएको छ । 

अहिलेसम्म २६७४ मिटर सुरुङ खन्ने काम सकिइसकेको छ । आयोजना सुरु भएयता ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएका छन् । एउटा फ्लाई ओभर निर्माणाधीन छ ।

स्थानीयलाई खानेपानी उपलब्ध गर्न काम हुँदै

आयोजनाको निर्माण सुरु हुँदा स्थानीयसँग खानेपानीको व्यवस्था गर्ने र क्षति भएका घरलाई आवश्यक क्षतिपूर्ति दिने गरी सम्झौता भएको थियो । चन्द्रागिरी नगरपालिका २ का बासिन्दा बढी प्रभावित भएका छन् ।

स्थानीयलाई पहिलो चरणमा खानेपानीको व्यवस्था गर्दा पनि सम्भव नभएकाले दोस्रो चरणमा खानेपानी उपलब्ध गराइएको उपनिर्देशक दुमरुले बताए । दोस्रो चरणमा निकालेको पानी स्थानीयलाई पर्याप्‍त नहुँदा तेस्रो खानेपानीको ट्यांकी व्यवस्था गरिरहेको उनको भनाइ छ ।

‘स्थानीयसँग गरेको सम्झौता अनुसार आयोजनाले काम गरिरहेको छ,’ उनले भने,’ स्थानीयले झन-झन नयाँ माग थप्दै आइरहनु भएको छ । समयमा काम पुरा गर्न नसक्दा सरकारलाई करोडौँ नोक्सान भइरहेको छ ।‘

टनेलमाथिका केही घरमा क्षति भएको दुमरूले बताए । आठ-नौ महिनाअघि क्षति भएका घरहरूको अध्ययन गरिएको उनले जानकारी दिए । उनका अनुसार १ हजार ७७४ घरमा क्षति भएको छ । स्थानीयको माग अनुसार नै जमिनको अध्ययन भएको छ ।

स्थानीयले भने अनुसार काम गरिरहेकाले अवरोध गर्नुपर्ने कुनै कारण नरहेको उनको ठहर छ ।

 ‘खानेपानीको व्यवस्था गर्नुपर्ने माग आयो त्यो पनि भयो । आयोजनाको काम सकिएपछि खानेपानीको सञ्चालन जिम्मा स्थानीयले लिने भनेर सम्झौता भयो ,’ उनले अगाडि थपे,’ अहिले आयोजनाको काम सकिएपछि खानेपानी सञ्चालनको जिम्मा आयोजनाले लिनुपर्ने भनिरहेका छन् ।‘

आयोजनाले दीर्घकालीन समाधानका लागि स्थानीयसँग तीन समूह बनाएर वार्ता गरिसकेको छ । पटक-पटक आयोजनाको प्रतिनिधि, मन्त्रीस्तरीय र सचिवस्तरीयसमेत वार्ता भइसकेको छ ।

स्थानीयले सहमति गर्नासाथ कार्यान्वयन तुरुन्त हुनुपर्छ भनेर बताइरहेको दुमरुले बताए । राष्ट्रिय गौरवको आयोजना निर्माण हुन लाग्दा स्थानीयले समझदार गर्नुपर्ने उनको भनाइ छ ।

‘सुरुङ मार्गको ब्रेक थ्रु' को सेरोमोनी मनाउने योजनामा थियौँ,' उनले भने, 'अहिले काममा अवरोध भएपछि कामलाई अगाडि बढाउन सकेका छैनौँ । ब्रेक थ्रु पनि अनिश्चित बनेको छ ।'

जाइकाबाट जापानी प्रतिनिधि बोलाएर ब्रेक थ्रु गर्ने कार्यक्रम स्थानीयको अवरोधले गर्न नसकिएको दुमरुले बताए ।

ब्रेक थ्रु गर्नका लागि १४ मिटरको मात्र काम बाँकी रहेको उनको भनाइ छ । 'साे काम चार दिनमा  नै सकिन्थ्याे', उनले भने,  'स्थानीयको अवरोधले ब्रेक थ्रु को काम अनिश्चित बनेको छ ।' ब्रेक थ्रु गरेको एक वर्षमा सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी तयारी हुने उपनिर्देशक दुमरुले बताए ।

राष्ट्रिय गौरवको योजनामा अवरोध राज्य निरीह

त्यसैगरी, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले राज्य निरीह भएपछि गौरवको आयोजनाहरूमा विभिन्न समस्या आएको बताए । ‘राष्ट्रिय गौरवको आयोजनामा यस्ता अवरोध आउनु राज्य कमजोर भएर हो’ उनले भने, ‘खुलाउन पहलमा हामी लागिरहेका छौँ ।’

पटक-पटक स्थानीय र मन्त्रालयबीच वार्ता भएपनि समस्या समाधान हुन नसकेको उनले बताए । ‘आयोजना बन्द नगरौँ विरोधका अरु कार्यक्रम गरौं, बरु मन्त्रीको क्वाटर, मन्त्रालय घेरौँ भनेको स्थानीयले मान्नुभएन’ उनले भने, ‘आयोजना बन्द गरेर काम रोक्ने पक्षमा नगरपालिका छैन ।’

विभिन्न राजनीतिक दलको 'इन्ट्रेस्ट' रहेकाले पनि यो समस्या आएको उनले बताए । राजनीतिकरण जहाँ पनि छ सहजीकरणमा हामी लागिरहेका छौँ मन्त्री, सचिव, आयोजना प्रमुख बसेर समस्या समाधानका लागि कुरा भइरहेको उनले सुनाए । माग राख्ने स्वतन्त्रता र अधिकार स्थानीयको भएपनि राज्यलाई घाटा हुने काम गर्न नहुने उनको तर्क छ ।

मन्त्रीले पनि वास्ता गरेनन्

वडा नम्बर २ का अध्यक्ष भाइकृष्ण तामाङले स्थानीयको माग सम्बोधन नभएसम्म सुरुङमार्ग निर्माणको काम अघि नबढ्ने बताए । इकागजसँग कुरा गर्दै उनले सुरुङ निर्माणले प्रभावित क्षेत्रमा विभिन्न समस्या आएकाले ती समस्या समाधान नभइ सुरुङ निर्माण अघि नबढ्ने बताए ।

'ठोस रुपमा स्थानीयसँग कुरा गरे तत्काल निर्माण कार्य सुरु हुन्छ', उनले भने, 'सुरुङ निर्माण गर्नुअघि प्रभावितहरूका सबै समस्या गर्ने प्रतिबद्धता जनाए पनि अहिले आयोजना पछि हट्याे ।'

मन्त्री, सचिवस्तरमा पटक-पटक वार्ता भएपनि समस्या समाधान हुन नसकेको उनले सुनाए । ‘हामीले तत्कालीन मन्त्री प्रकाश ज्वालासँग पनि वार्तामा बस्यौँ उहाँले खानेपानीको समस्यामात्रै समाधान गछौँ भन्नुभयो’ उनले भने, ‘बाँकी माग पुरा नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।’ 

के छ समस्या ?

सुरुङमार्ग निर्माण भएसँगै सो आसपासमा क्षेत्रमा पानीको समस्या देखिन थालेको स्थानीयले बताएका छन् । चन्द्रागिरी नगरपालिकाका मेयर गिरीका अनुसार पहिला सहज पानी आउने ठाउँमा तेस्रो पटक बोरिङ गर्दा पनि पानी आउन छाडेको छ ।

त्यसैले खानेपानीको समस्या समाधान गर्न स्थानीयले माग गरेको उनले बताए । खानेपानीको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको आश्वासन पाएको उनले जानकारी दिए ।

माग कार्यान्वयनमा सुस्त, धानखेती सुख्खामा परिणत

गत फागुन ११ गते तत्कालीन मन्त्री ज्वालासँग भएको वार्तामा खानेपानीको समस्या समाधान गर्ने विषयमा सहमतिसमेत भइसकेको छ । वडाध्यक्ष तामाङले साे अनुसार काम अघि बढेको तर, अन्य मागका सरकार मौन रहेको बताए । 

खानेपानीका मुहानहरू सुक्न थालेसँगै स्थानीय फाँटहरूमा सिँचाइको समस्या आएको छ । लहलह धान झुल्ने, तरकारी खेती हुने जमिन सुख्खा भएकाे वडाध्यक्ष तामाङले गुनासाे पाेखे।

त्यस्तै सुरुङ निर्माणको क्रममा 'ब्लास्ट' गर्दा ९३ वटा घरहरू चर्किएको पनि उनले सुनाए । त्यसको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने स्थानीयहरुको माग छ ।

आयोजनाको ९८ प्रतिशत हिस्सा चन्द्रागिरि २ मा पर्छ । त्यसैले सो क्षेत्रलाई प्रभावित क्षेत्र घोषणा गरी त्यसबापत आउने रोयल्टी वडालाई उपलब्ध गराउन पनि स्थानीयले माग गरेका छन् । प्रभावित क्षेत्रका स्थानीयलाई रोजगारको व्यवस्था गर्नुपर्छ वडाध्यक्ष तामाङले भने । 

खानेपानी पाएनौ

नागढुंगा सुरुङ मार्ग प्रभावित क्षेत्र खानेपानी उपभोक्ता समितिका संयोजक गोपी सुरखेतीले खानेपानीको मुहान सुकेर स्थानीयले खानेपानी नपाएपछि आन्दोलन  गर्नुपरेको बताए । ​

'सुरुङमार्ग निर्माणका कारण जमिन भासिएको, घरहरू चर्किएकाेले आन्दोलनमा जानुपर्याे', उनले भने, 'विभिन्न छलफल भइरहेको छ, तर निष्कर्षमा पुग्न सकेको छैन ।' 

कुल २२ अर्ब लागतको यो सुरुङमार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १६ अर्ब ऋण सहयोग गरेको छ भने ६ अर्ब नेपाल सरकारको आफ्नै स्रोतबाट खर्च हुनेछ ।

सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेश गर्ने मुख्य द्वारमा यात्रुले भोग्नुपरेको ट्राफिक जामको सास्ती कम हुने विश्वास गरिएको छ ।

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x