Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

पूर्वाधार

ग्वार्को फ्लाइ ओभर निर्माण मौसमका कारण प्रभावित, कात्तिकमा मात्रै गाडी गुड्ने

इकागज |
साउन ३, २०८१ बिहीबार १७:२४ बजे

काठमाडौँ - ललितपुरको ग्वार्को चोकमा रहेको फ्लाइ ओभर निर्माण कात्तिकमा मात्रै पुरा हुने भएको छ । वर्षाका कारण जेठदेखि काम हुन नसकेपछि निर्माण समयमै नसकिने भएको हो । 

सडक विभागको गुणस्तर अनुसन्धान विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सिडिई) राकेश महर्जनले वर्षालाई कारण देखाउँदै कात्तिकमा निर्माण सकिने बताए । यसअघि महर्जनले असार मसान्तमा फ्लाइ ओभरबाट गाडी गुड्ने बताएका थिए । 


'जेठबाट वर्षा सुरु भयो काम गर्नै सकिएन' महर्जनले भने, 'भदौबाट काम सुरु भएपछि कात्तिकमा सकिन्छ ।' उनले १० प्रतिशत मात्रै निर्माणको काम बाँकी रहेको जानकारी दिए । अहिले फ्लाइ ओभरको पुलको ढलानको काम सकिएको छ । वर्षाले गर्दा माटोसँग सम्बन्धित काम भने गर्न नसकिएको उनले बताए । उनले कात्तिकबाट गाडी गुडाउने तयारी सरकारको भएको जानकारी दिए ।

फ्लाई ओभर निर्माणका लागि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागको गुणस्तर अनुसन्धान र विकास केन्द्र विभागले जिम्मा लिएको छ । विभागले २०७८ माघ २७ गते निर्माण कम्पनी आशिष-समानान्तर-रेलिगेर जेभीसँग ठेक्का (अनुबन्ध नं. DOR_QRDC/EPC/NCB/GFP/०७७/७८-१३) सम्झौता गरेको थियो । दुई वर्षमा काम सक्ने सहमति भएपनि अझै काम सकिएको छैन । उक्त फ्लाइ ओभर निर्माणका लागि पुस मसान्तसम्मका लागि पुन म्याद थपिएको छ ।

उक्त सम्झौताअनुरूप निर्माण कम्पनीले कार्य योजना, डिजाइन, इन्जिनियरिङ,  खरिद तथा अण्डरपास सडकसहित चार लेन सडक भएको फ्लाई ओभरको निर्माणका लागि इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन (ईपिसी) मोडेलमा कुल लागत १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँमा करसहित ठेक्‍का कबुल गरेको थियो ।

चौतर्फी रूपमा चक्रपथ सडक खण्डमा ट्राफिक जामलाई व्यवस्थापन तथा सहज नियन्त्रण गर्न यो परियोजना सरकारले सुरु गरेको हो । चक्रपथको कोटेश्वर-कलंकी खण्डमा विस्तार गरिएको ८ लेन सडकको बीचको ४ लेनमा फ्लाई ओभरबाट चक्रपथमा गुड्ने सवारी चल्नेछन् भने फ्लाई ओभरमुनिबाट मंगलबजार-इमाडोल-मंगलबजार चल्ने सवारीले आवतजावत हुनेछ । 

र,यो पनि

कस्तो बन्दैछ नेपालको पहिलो फ्लाई ओभर ? [नयाँ डिजाइन‍सहित]

ग्वार्को फ्लाइ ओभरमा ग्रिडर राखियो [फोटो/भिडियो]

‘ग्वार्को फ्लाई ओभरबाट जेठसम्ममा गाडी गुड्छ’

असार मसान्तसम्म ग्वार्को फ्लाइ ओभर नबन्‍ने पक्का (फोटो फिचर)

ग्वार्को फ्लाई ओभरको पूर्वमन्त्री चित्रकारले गरे निरीक्षण, छिटो सम्पन्न गर्न सुझाव

 

 

 


Author

थप समाचार
x