पूर्वाधार

‘ग्वार्को फ्लाई ओभरबाट जेठसम्ममा गाडी गुड्छ’

इकागज |
पुस १५, २०८० आइतबार १२:४७ बजे

काठमाडौँ - ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभरको काम आगामी जेठसम्ममा सकिने भएको छ । फ्लाई ओभर निर्माणका लागि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागको गुणस्तर अनुसन्धान र विकास केन्द्र विभागले जिम्मा लिएको छ । विभागले २०७८ माघ २७ गते निर्माण कम्पनी आशिष-समानान्तर-रेलिगेर जेभीसँग ठेक्का सम्झौता गरेको थियो । 

सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका इञ्जिनियर राकेश महर्जनले ग्वार्कोको फ्लाइ ओभरको काम धमाधम भइरहेको जानकारी दिए । ‘बिहान ६ बजेदेखि बेलुका ९ देखि १० बजेसम्म काम गरिरहेका छन्,’ महर्जनले भने,’ 'पुलबाट गाडी कुदाउने गरी वैशाख अन्तिम वा जेठसम्ममा निर्माणको काम सकिन्छ ।‘


फ्लाई ओभरको डिजाइन स्वीकृत भएकाले काम सुरु भइसकेकाले उनले बताए । उनका अनुसार केहीसमय अघिसम्म स्वीकृतमा समस्या थियो । 

इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन (ईपिसी) मोडेलमा निर्माण हुन लागेको उक्त फ्लाई ओभर निर्माण कम्पनीले डिजाइन तयार गरेका हो । सरकार पक्षले स्वीकृत दिएपछि मात्र कन्ट्रयाक्टरले काम सुरु गरेका छन् । काम सकिएपछि पनि पाँच वर्षसम्म निर्माण कम्पनीले रेखदेख गर्छन् । 

डिजाइन अनुसारको सामग्री नेपालमा उपलब्ध नभएकाले समयमै सुरूवात हुन सकेको थिएन । ‘भारतमा बल्लबल्ल सामान पाइयो । चार महिनापछि सामग्री पाएकाले काम सुरु भएको हो,’ उनले भने । 

भ्याटसहित साढे १७ करोडको लागतमा फ्लाई ओभर निर्माण भइरहेको छ । फागुनसम्ममा निर्माण आयोजना सम्पन्न गर्न युद्धस्तरमा काम भइरहेको उनले बताए । निर्माण सम्झौताको अन्तिम समय फागुन १२ गतेसम्म रहेको उनले जानकारी दिए ।

सरकारले ग्वार्को क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि बनाउने निर्णय गरेकाले निर्माण गर्नुपरेको महर्जनको भनाइ छ । मुख्य मुख्य चोकमा भइरहेको ट्राफिक जाम अन्त्य गर्न सरकारले फ्लाइ ओभर निर्माणको नीति लिएकाले निर्माण प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए ।

महर्जनले सातदोबाटो र एकान्तकुनामा पनि फ्लाई ओभर निर्माणका लागि अध्ययन भइरहेको सुनाए । फ्लाई ओभरका लागि बजेट विनियोजन गर्न छलफल चलिरहेको बताए । विकासको आवश्यकता महसुस हुँदै गएपछि ठूला बाटाहरू पनि कुनै समयमा साना लाग्न सक्ने महर्जनले प्रस्ट पारे । समय क्रममा ठूला बाटाहरू बिस्तारै साना हुँदै जाँदा पनि थप विस्तार गर्नुपर्ने भएकाले कोहीबेला दोहोरो काम जस्तो देखिने उनको भनाइ छ ।
 


Author

थप समाचार
x