पूर्वाधार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार

परीक्षण उडान गर्न एरो थाइ कम्पनीका प्रतिनिधि भैरहवामा

बिक्रम खड्का |
माघ १५, २०७८ शनिबार १२:४२ बजे

बुटवल - भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निमार्ण कार्य सकिएको छ । राजधानी काठमाडौंको विकल्पका रूपमा समेत हेरिएको विमानस्थलको निमार्ण कार्य सकिएको हो । २०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री शुशिल कोइरालाले चार वर्षमा सक्नेगरी शिलान्यास गरेको विमानस्थल दोब्बर समयमा सकिन लागेको हो ।

६ अर्ब २२ कारोडामा ठेक्का सम्झौता भएको विमानस्थल चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले बनाएको हो । विमानस्थलकोे क्यालिब्रेसन फलाइटका लागि एरो थाइ कम्पनीका  प्रतिनिधिहरू नेपाल आइपुगेका छन् । विमानस्थल सञ्चालनको प्रतीक्षामा छ । सञ्चालनअघि विमानको उडान–अवतरण परीक्षणका प्रक्रियाहरू पार गर्नुपर्छ । थाइ प्रतिनिधि त्यसैका लागि आएका हुन् ।


'क्यालिब्रेसन फलाइटका लागि एरो थाइका प्रतिनिधि भैरहवा आइपुग्नुभएको छ। निरीक्षण र केही पूर्व तयारीपछि क्यालिब्रेसन फलाइटको मिति टुंगो लाग्नेछ,' गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले भने । विमानस्थल आइसीवी जेरो वन र जेरो टुको आवश्यक तयारी भए/नभएको यकिन भएपछि क्यालिब्रेसन गरिने उनले जानकारी दिए ।

विमानस्थलमा जडान गरिएका उपकरण, लाइट, फ्रिक्वेन्सी इक्विपमेन्टलगायत परीक्षण गर्नका लागि यो उडान गर्न लागिएको हो । विमानस्थल आयोजनाका प्रमुख अधिकारीका अनुसार परीक्षणमार्फत विमानस्थलका उपकरणको अवस्था पत्ता लाग्नेछ । त्यहीअनुसार उपकरण व्यवस्थापन गरिदै लगिनेछ । यो उडानमा प्रयोग हुने सबै उपकरणको व्यवस्था सबै एरो थाइले नै उपलब्ध र जडान गर्ने छ । विमानस्थल संचालनका लागि नेपाल प्रहरी, भन्सार, अध्यागमन लगायतका निकायले कर्मचारी दरबन्दी निर्धारण गरिसकेका छन् ।

यो विमानस्थल सुरुमा नागरिक उड्डयन प्राधिकरणकै व्यवस्थापनमा संचालन गरिने योजना छ । उडान संचालन तथा व्यवस्थापनका लागि नया विमानस्थलमा जडान भएका आईएलएस (इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम), भीओआर (भीएचएफ ओम्निडिरेक्सनल रेडियो रेन्ज) तथा अन्य संचार वा नेभिगेसन उपकरण तथा प्रविधिले ठिक ढंगले काम गरिरहेको छ/छैन भन्ने जाँच्नका लागि क्यालिब्रेसन फलाइट गरिन्छ ।

नियमित उडानका लागि अझै कति समय लाग्छ ?
पटक पटकगरी यो विमानस्थल पूरा गर्न आठ पटक म्याद थप भएको छ । अब भने केही प्राविधिकबाहेक काम सकिएको छ । त्यसो भए यस विमानस्थलको नियमित उडान हुन कति लाग्छ भन्ने आम जिज्ञासा रहेको छ ।  

दुई चरण आईसिबी वान र आईसिबी टू अन्तर्गत सम्पन्न भएको विमानस्थलमा अहिले आईसिबी टू अन्तर्गत नेपाली प्राविधिकहरूलाई तालिम र जडान गरिएको उकरणहरूको प्राविधिक जाँच भइरहेको अधिकारीले बताए ।

विमानस्थल सञ्चालनअघि जडान गरिएको सञ्चार उपकरणहरूको परिक्षणका लागि क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ । जसबाट जडान गरिएका उपकरणहरू ठीक भए/नभएकोबारे रिपोर्ट आउँछ र सोही अनुसार थप प्रक्रियाहरू अघि बढाइनेछ । विमानस्थलमा निर्माणका करिब सम्पूर्ण कार्यसम्पन्न भएकाले परीक्षण उडान (क्यालिब्रेसन फलाइट) को तयारी अवस्थामा रहेको आयोजना प्रमुख अधिकारीले बताए ।

‘विमानस्थलको भौतिक संरचना र जडान गरिएको उपकरणको हिसाबले अहिले हामी क्यालिब्रेसन फलाइटका लागि तयार छौँ’ प्रमुख अधिकारीले भने– मौसम सुधार भएसँगै फलाइट सुरु गर्नका लागि तयारीहरू भइरहेको छ ।

सय दिनको योजना अन्तर्गत सबै विमान कम्पनी, भन्सार, प्रहरी, अध्यागमन लगायतलाई विमानस्थलमा अपरेशनको टार्गेट मितिबारे जानकारी गराउने, ग्राउण्ड हेयण्डिलङ, फुड क्याटिरिङ, कार्गो एजेन्सी लगायतलाई आवश्यक तयारीका लागि निर्देशन दिने, क्यान लगायतबाट मानव संसाधनको परिचालन गर्ने बताइएको छ ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x