पूर्वाधार

मनाङको भौतिक पूर्वाधारको आयोगले लियो जानकारी

इकागज |
बैशाख ४, २०७९ आइतबार १९:३० बजे

फाइल फोटो

मनाङ - राष्ट्रिय योजना आयोगले विगतमा बाढीपहिराले भौतिक संरचनाको पुनःनिर्माणका प्रयासको जानकारी लिएको छ । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल र गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेसहितको टोलीले हिमाली जिल्ला मनाङको विकासको अवस्था, चुनौती र सम्भावनाका सम्बन्धमा अन्तरक्रियासहित जानकारी लिएको छ । 


मनाङको वर्षायाम सुरु हुन लागेकाले यस क्षेत्रको विकासका अवस्था, चुनौतीको स्थलगत अवलोकन गरिएको आयोगले जनाएको छ । आयोगका उपाध्यक्ष पौडेल र गण्डकी उपाध्यक्ष काफ्लेले तीन दिन यस क्षेत्रका अवस्थाका बारेमा जानकारी लिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । 

उनीहरूले वैशाख १, २ र ३ गते मनाङको विकास अवस्था, चुनौती र सम्भावना सम्बन्धमा प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यसँग अन्तरक्रिया तथा जानकारी लिएका हुन् । 

साथै चामे गाउँपालिका, मनाङ ङिस्याङ गाउँपालिका र नासों गाउँपालिकामा विभिन्न गाउँबस्तीमा विपद्का बेला भएको क्षति अवलोकन एवम् निजी घर, पुल, सडक, विद्युत् पुनःनिर्माण प्रयासबारे जानकारी तथा आगामी कदमका सम्बन्धमा स्थलगत अनुगमन गरिएको थियो । 

अनुगमनपश्चात् उनीहरूले विकासका कार्यलाई बिना अवरोध अगाडि बढाउन निर्देशन दिएका छन् । त्यस्तै वर्षायाम सुरु भइसकेकाले उचित समयभित्र नै सबै कार्य सम्पन्न गर्ने गरी निरन्तर रूपमा काम गर्न निर्देशनसमेत दिएको प्रजिअ आचार्यले जानकारी दिए । 

उनका अनुसार विकट क्षेत्रको  विकासमाथि खेलबाड गर्न नहुने भन्दै वर्षायाममा पनि सहज बनाउने उद्देश्यले यहाँको विकास हुन आवश्यक रहेकाले समयमा कार्य गर्नुपर्नेमा उनीहरूको जोड रहेको थियो । 

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थसहितको टोलीले समेत प्रदेश सरकार सञ्चालित कार्यक्रमको स्थलगत अनुगमन र कार्यालय प्रमुखसँग भेटघाट, छलफल तथा अन्तरक्रिया गरेको थियो । रासस


Author

थप समाचार
x