वार्ता

हामी कुनै आशलाग्दो पथमा छैनौँ (भिडिओ)

हरि शर्मा |
साउन १८, २०७९ बुधबार १७:४६ बजे

कतिपय व्यक्तिको नाम नलिऊँ भन्दा पनि नाम लिनैपर्ने हुन्छ । किनकि सार्वजनिक संस्थाको एउटा स्पष्ट चेहरा त हुन्छ नै । र, त्यो चेहरा केही गर्छु भनेर पदमा आएको हुन्छ । 

मलाई जहिले पनि प्रश्न उठ्छ, कुनै मान्छे पाँच–पाँच पटक प्रधानमन्त्री किन हुन्छ ? हालका प्रधानमन्त्री शेरबहादुर देउवाजीमा मात्र यो लागू हुँदैन, सबैमा लागू हुन्छ। 


ल ठीक छ, उहाँले जित्नुभयो । पार्टीले उहाँलाई खटायो । नेताले एउटा निश्चित कार्यक्रम लिएर जनताको बीचमा गएको हुन्छ र चुनाव जितेर आएको हुन्छ । त्यसलाई एउटा दिशानिर्देश गर्नुपर्ने हुन सक्छ । त्यो उसको धर्म हुनसक्छ ।

तर, घरी घरी त्यही मान्छे किन आउनुपर्ने ? उनीहरूले आफ्नो धर्म निर्वाह गरेजस्तो लाग्दैन । भन्न त हुँदैन, तर सबै उस्तै अनुहारका देख्छु । मलाई अहिले शेरबहादुरजी सरकारमा हुनुहुन्छ भनेर सोध्नुभयो । ओलीजी पनि सरकारमा हुनुहुन्थ्यो । प्रचण्डजी पनि दुई–दुई पटक सरकारमा हुनुहुन्थ्यो । माधव नेपाल सरकारमा हुनुहुन्थ्यो । उपेन्द्र यादव हरेकजसो मन्त्रीमण्डलमा हुनुहुन्छ । बाबुरामजी पनि एकपटक प्रधानमन्त्री भइसक्नुभएको छ । 

यी सबै मानिसको अनुहार हेर्दा एउटा प्रश्न आउँछ, यिनीहरूको प्रयोजन के हो त ? केका लागि ३०/४० वर्षदेखि हाम्रो राजनीतिक परिदृश्यमा यिनै पात्र मडारिइरहेका छन् ? उहाँहरूको कुनै समय केही योगदान थियो होला । तर, फेरि फेरि राम्रो गर्न सक्छन् भन्ने आधार के हो ? 

उहाँहरूले एक्लै बसेर मेरो प्रयोजन के हो ? राजनीतिमा म किन आएको हुँ ? म के गर्दै छु भनेर सोच्नुहुन्न ? बाहिरका मान्छेले पनि उहाँहरूलाई यी प्रश्न गरेनन् । किनकि हामी सबै विभिन्न खेमामा बाँडिएका छौँ । हामी सबै लोभ–पापमै छौँ । हामी कतैबाट केही झर्छ कि, कसैले केही दिन्छ कि भनेर बसेका छौँ । हामी सबै कुनै न कुनै राजनीतिक वृत्तमा, स्वार्थमा बाँडिएका छौँ । 

मान्छे सबैभन्दा एक्लै बाथरुममा हुन्छ । त्यसबेला हाम्रा नेताज्यूहरुले सोच्छन् कि सोच्दैनन् होला ? मेरो मनमा सधँै यस्तो प्रश्न उठ्छ । म त हरेक दिन उठेर मैले आज दिनभर के गर्ने हो ? मैले हिजो गरेको ठीक भयो कि भएन भनेर सामान्य रुपमा सोच्ने गर्छु । तर, यी ठूलाठूला काम गर्छु भनेर बसेका मान्छेले यस्तो सोच्छन् कि सोच्दैनन् ? 

आठ–दशवटा अनुहारका नाममा हामी सधैँ छनौटविहीन हुने ? 

सार्वजनिक वृत्तमा रहेका स्वनामधन्य नेताहरूलाई प्रश्न गरिरहेका छैनौँ— तपाईं यत्रो वर्षदेखि सार्वजनिक जीवनमा हुनुहुन्छ, तपाईंको प्रयोजन के हो ? यी प्रयोजनविहीनहरूको जमातले हामीलाई कुनै निर्दिष्ट दिशामा पुर्‍याउँछन् भन्ने मलाई आशा छैन ।

मैले पूर्वप्रधानमन्त्रीहरूलाई सांसदमै रोक्ने सामग्रीहरू सामाजिक सञ्जालमा पनि सेयर गरेको छु । मैले माथि भनेकै आधारमा यिनीहरुलाई रोक्नुपर्छ भनेको हुँ । कोही मानिस किन घरिघरि अपरिहार्य भएर जान्छ ? यी मानिस के अपरिहार्य हुन् त ? लोकतन्त्रको सबैभन्दा ठूलो सुन्दरता भनेको छनौट हो । के हामी गठबन्धनका नाममा छनौटविहीन हुने ? के हामी यी आठ–दश अनुहारका नाममा छनौटविहीन हुने ? लोकतन्त्रमा मतपेटिकामा भोट हाल्न जाँदा विभिन्न पार्टी एवम् उम्मेदवारको छनौट गर्न पाउने अधिकार छ । तर, यहाँ अधिकार भए पनि छनौट संकुचित छ ।

कुनै पनि पार्टीको आन्तरिक निर्वाचनको अथवा आन्तरिक लोकतन्त्रको परिस्थिति हेर्नुभयो भने आफ्ना–आफ्ना मान्छेहरू अधिवेशनका निम्ति तय गरेर ती मानिसबाट अनुमोदन भएर पार्टीको नेतृत्व कब्जा गर्ने देखिन्छ । चाहे त्यो नेपाली कांग्रेस होस्, चाहे त्यो नेकपा एमाले होस्, चाहे त्यो एकीकृत भन्ने कुनै पार्टीहरू हुन् वा माओवादी पार्टी । 

माओवादीको सार्वजनिक भएकै कुरा हेर्नुहोस्, म यस पार्टीबारे धेरै कुरा त जान्दिनँ, त्यसमा केन्द्रीय समितिदेखि हरेक समिति बनाउन एउटै मान्छे श्री प्रचण्डजी नै हुनुहुन्छ । अरू छैनन् त्यहाँ ? त्यो पार्टी भित्रको छनौटको आधार के हो ?

नेपाली कांग्रेसको पनि अधिवेशन त भयो । त्यत्रा मानिस आएर भोट हाले । तर फेरि हामीले सुन्यौँ कि त्यो महाधिवेशनमा आउने महाधिवेशन प्रतिनिधिको छनौटको प्रक्रियामा तलबाटै आन्तरिक लोकतन्त्र कमजोर बनाएरै छनौट गरिएको थियो । संघीय निर्वाचन मंसिरमा हुने भनिएको छ तर मेरो क्षेत्रबाट उठ्ने मान्छे को त ? हामीलाई थाहा नै हुँदैन । पार्टीले थोपरेको मान्छेबाहेक मेरो इच्छा कहाँ कसले सोध्छ, मलाई ?

नेताहरू ठेकेदारतन्त्रका नाइके भए ।

उहाँहरूले पहिला पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित गर्नुहोस् न । पार्टीको नेतृत्व चयन कसरी हुन्छ भन्ने कुरा चयन गर्नुहोस् न । आपूmहरू ४० औँ वर्ष सारा स्रोत कब्जा गरेर पद ओगटेर बस्ने । राज्यको शासकीय सत्तामा बसेको आधारमा साधन स्रोतहरू कब्जा गर्ने । ठेक्कापट्टाहरूमा हालीमुहाली, लेनदेन गर्ने । तर, एउटा सामान्य नागरिक जो भोट हाल्छ, त्यो पनि त सार्वजनिक पदमा उठ्छु भन्ने आकांक्षा राख्छ होला नि, उसलाई खै ठाउँ ?

हुन त मैले पनि उमेरले बढी भएका जीपी कोइराला, रामवरण यादवसँग काम गरेँ । त्यसबेला जीपी कोइराला उमेर धेरै भए पनि शान्तिको नायक भएर आउनुभएको थियो । उहाँ बेलाबेलामा भन्नुहुन्थ्यो, ‘हरिजी मैले कुरा गर्दाखेरि मिलेन भने मलाई चिमोट्नुस् है ।’ यो भनेको मलाई अपडेट राख्नुस्, सम्झाउनुस् भनेको हो । 

जीपी कोइरालाले साथ लिएका मानिसहरू त त्यो बेलाका युवा नै त थिए । विजय गच्छदार, नेपाल विद्यार्थी संघको राजनीतिबाट आउनुभएको थियो । जयप्रकाश गुप्ता, खुमबहादुर खड्कालगायत, त्यो बेला कांग्रेसको मान्छेहरूमा गिरिजाप्रसाद कोइराला र उनीहरूको उमेर हेर्नुभयो भने कति फरक थियो ? ती अहिले आएका मानिसहरू ३०/४० वर्षदेखि तिनै मानिस छन् । यी मानिसले पनि के सोच्नुपर्‍यो भने, जसरी गिरिजाप्रसाद कोइरालाले हामीलाई ठाउँ बनाइदिए, हामीले भोलिको पुस्ताका लागि ठाउँ बनाउने हो कि होइन ? २०४६ सालबाट आजसम्म भएको शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, शेखर कोइरालाले भोलिको पुस्ताको बाटो बनाउनुपर्छ । हिजो मैले गिरिजाप्रसाद, कृष्णप्रसादका कारण ठाउँ पाएँ, मैले अरुका लागि ठाउँ बनाउनुपर्छ भन्ने सोच खै ? नेपाली कांग्रेसमा मात्रै होइन, हरेक पार्टीमा नयाँ पुस्ताका लागि ठाउँ बनाउनु पर्छ । 

हरेक पार्टीका अधिवेशन हेर्नुभयो भने कति नयाँ मान्छे पार्टीमा आएका छन् ? नयाँ मान्छे निश्चय आएका छन् । तर, ती को आएका छन् भने ठेकदार, कन्ट्र्याक्टरहरू आएका छन् । जसले पार्टीमा लगानी गर्ने नाममा आएका छन् ।

हिजो पार्टीमा पसिनाको लगानी थियो । जेल–नेलको लगानी थियो । हिजो पार्टी परिचालनको लगानी थियो । तर, आज पार्टीमा पैसा लगानीको कारणबाट मानिसहरू आएका छन् । नेपाली कांग्रेस र अन्य कम्युनिस्ट पार्टीहरू ठेकेदारहरूको पार्टी भएका छन् । जसले नेताहरुलाई चुनाव जित्ने बाटो र परिवेश बनाइदिन्छ, ती मानिसहरू घरिघरि आएका छन् । 

मेरै यही क्षेत्रमा गगन थापा तीन–तीन पटक सांसद भइसके । उनले भनेका छन्— म दश वर्ष राजनीति गर्छु भनेर । भोलि दश वर्षपछि के गर्लान्, हामी हेरौँला । तर, कमसेकम दश वर्षभन्दा बढी राजनीति गर्दिनँ भनेर सार्वजनिक रुपमा बोल्दै त हिँडिरहेका छन् । उनले अर्को दश वर्ष पुग्दा पनि पार्टीको उच्च पदमा पुग्ने इच्छा पूरा हुँदैन भने राजनीनिमा बस्नुको के अर्थ रहन्छ ? 

इच्छा राख्नु कुनै कमजोरी होइन । गगन थापाले मैले प्रधानमन्त्री हुन्छु अथवा पार्टीको सभापति हन्छु भन्न पाउनुपर्‍यो । पार्टीको आन्तरिक प्रतिस्पर्धामा लड्न पाउनुपर्‍यो । एउटा सेकेन्ड लेफ्टिनेन्टमा वा प्रहरीमा पसेको सैनिकले म आर्मी वा पुलिसको कमान्डर हुन्छु भन्न पाउने कि नपाउने ? त्यसका लागि प्रक्रिया सुनिश्चित गर्ने कि नगर्ने ? प्रतिस्पर्धाका लागि खुला वातावरण बनाउने कि नबनाउने ? कि सिन्डिकेट बनाएर अहिले जसरी अवरुद्ध गरेर बस्ने ? 

एमाले होस् वा कांग्रेस वा माओवादी, भोलिको निर्वाचनमा यहाँका जनताले कस्तो मान्छे खोजेका छन् भनेर जान्ने आधार यस क्षेत्रमा बसोबास गर्ने उनीहरूका कार्यकर्ताको आन्तरिक लोकतन्त्रको अभ्यास हो । कहीँबाट मान्छे थोपरिदिनु भयो भने स्वतः मान्छेलाई चित्त पर्दैन । त्यसमा पनि खेला हुन्छ । त्यसमा कसरी खेला हुन्छ भने आपूmलाई मन नपर्ने मान्छेलाई कतै पठाइदिने । गठबन्धनको नाममा त्यसलाई हटाइदिने र सही मान्छेहरूलाई टिकट नदिने । अहिले देखिएका नेताहरू ठेकेदारतन्त्रका नाइकेहरू भएका छन्, उनीहरु आफूभन्दा लोकप्रिय नेताहरुलाई चुनावमा हराउन चाहन्छन् । 

पूर्वप्रधानमन्त्रीहरुलाई हराउने अभियानतिर संकेत गर्दै ओलीजी र प्रचण्डजीले ठीकै भन्नुभयो कुनै षड्यन्त्रको नाममा पो ती फोटो आइरहेका छन् कि ? यो कुरा सर्वसाधारणले भन्दा पनि पार्टीभित्रका मान्छेले भन्नुपर्यो— हेर्नुहोस्, तपाईंहरूलाई त हराउने भन्ने आइसक्यो । हाम्रो बाटो कहाँ हो त ? हामी के गर्ने ? 
योगेश भट्टराई, घनश्याम भुसालहरुले आफ्ना नेताहरुलाई सोध्नु पर्‍यो । गगनहरुले सोध्नुपर्‍यो । 


हामी कतैबाट केही झर्छ कि कसैले केही दिन्छ कि भनेर बसेका छौँ । 

यी युवाहरू जसले पार्टीमा परिवर्तन ल्याउँछु भनेर पर्खेर बसेका छन्, तिनीहरू बलियो बन्नुपर्छ । पार्टीमा नयाँ विचार, नयाँ भाव सञ्चार भएन भने पार्टीको गति अवरुद्ध भएर जान्छ । 

अहिले सबैजसो राजकीय संस्थाहरू क्षयीकरण भएका छन् । राजनीतिक दल पनि राजकीय संस्था नै हुन् । अहिलेसम्म हामीले राजनीतिक दलइतरको लोकतन्त्रको कल्पना गरेका छैनौँ । 

दल भनेको छनौट भन्न खोजेको हो । सामूहिक रुपमा आफ्ना निर्वाचित प्रतिनिधिलाई परख गर्ने व्यवस्था नै दलीय लोकतन्त्र हो । म यहाँ एउटा विषय उठाउँछु । सुन्दा यो अलि अप्ठेरो पनि लाग्ला । राजनीतिक दलको वितृष्णाको स्वरुप अथवा युवाहरूको आकांक्षाको स्वरुप, जे भनौँ काठमाडौँमा मेयरका रुपमा बालेन शाह विजयी भए । 

अहिलेसम्म कसैले वैज्ञानिक अध्ययनबाट भनेको छैन कि बालेन शाह जस्तो मानिसले कसरी जिते ? यत्रो ठूलो महानगरमा उनी कसरी निर्वाचित भए ? ठीक छ, राजनीतिक दलहरूले केही गर्न सकेनन् । यिनीहरू लोभी–पापी भए, यिनीहरूको शासकीय क्षमतामा ह्रास आयो । यिनीहरू भ्रष्ट भए । केही नयाँ मान्छे बालेन शाहहरु आए । 

एक हिसाबले भन्दा नकारात्मक विम्बको प्रतिकारमा रुपमा आए र अर्काेथरी हिसाबले भन्दा आकांक्षाको विम्बका रुपमा आए । अब उनले काम गर्न सक्छन् कि सक्दैनन्, तीन महिना हेर्नुपर्ने छ । हामीले अहिले बोल्नु हुँदैन । तर, काठमाडौँको फोहोरको समस्या फेरि फर्केर आइरहेको छ । धेरै मान्छे के भन्छन्, ‘पुराना हालीमुहाली गरेका पार्टीहरूले यिनलाई अप्ठेरो पारिदिइरहेका छन् ।’ 

आजका कतिजना नेतृत्वले मैले गल्ती गरेँ भनेका छन् ? मेरो कान यो सुन्न पर्खिरहेको छ । 

बालेनले गुप्तरुपमा सामाजिक सञ्जालममा काठमाडौँमा के–के गर्नुपर्छ भनेर नेटवर्क गरे रे भन्ने पढ्न पाइन्छ । तर दलको मान्छे भएको भए, कुन टोलमा कहिले गए ? कोसँग के कुरा गरे ? त्यहाँको साधन–स्रोत के थियो भनेर प्रश्न गर्न पाइन्थ्यो । उनको वैचारिक धरातल कति हो ? उनले सल्लाह लिने मान्छे को हुन् ? उनको कालो चस्मा पछाडि राम्रा कुराहरू पनि छन् भनेर सोध्न पाइन्थ्यो । एउटा उरन्ठ्याउलो कुनै मानिसको ट्वीटको आधारमा, पूर्वप्रशासकको आधारमा जित्यो भन्ने पनि सुन्न पाइन्छ । त्यो के सत्य हो ? 

अब यदि पाँच वर्षसम्म बालेन शाहले राम्रो काम गर्न सकेनन् भने कसलाई सजाय दिन जान्छौँ हामी ? यसको अर्थ यो होइन कि स्वतन्त्र मानिस उठ्न पाइँदैन । तर, समात्ने हाँगो हुनुप¥यो । बोल्ने ठाउँ हुनुप¥यो । जनताले आफ्नो तहबाट प्रतिनिधिहरू चयन गर्न सक्ने नयाँ व्यवस्था हुनुपर्‍यो । राजनीतिक दलहरू कांग्रेस–एमालेका यो ठाउँमा जो संगठन गरिरहनुभएको छ, उनीहरुले नेतृत्वलाई भन्नुपर्‍यो कि यहाँ मान्छे नथोपर । हाम्रो टोलछिमेकमा यस्तो काम गर्ने मान्छे छ । यसको जिम्मेवारी हामीसँग छ भन्नुपर्‍यो । 

यदि त्यस्तो खालको जिम्मेवारी भएको भए बालेन शाहको जिम्मेवारी कसैले लिन्थ्यो । यदि बालेन शाहलाई कसैले काम गर्न नदिने षडयन्त्र कसैले गरेको भए त्यसलाई चिर्नेफार्ने मान्छे पनि जम्मा हुन्थे । कता–कता ती मान्छे एक्लो भएको देखेको छु । होला, उनको काम गर्ने आकांक्षा होला । तर, उनी एक्लो छन् । 

यसकारण कार्यकर्ताहरूले पार्टी पंक्तिले संगठित भएर आफ्नो प्रतिनिधिको पहिचान गर्ने, त्यसलाई परख गर्ने, जवाफदेहीको निगरानीभित्र राख्ने गर्नुपर्दछ । त्यो मानेमा पनि नेपाली कांग्रेसमा पनि खोइ त महासमिति बोलाएको ? महासमिति बोलाएर उम्मेदवार यस्ता किसिमका हुनेछन् भनेर छलफल गर्‍यो भने कतै न कतै ठूलो आधार हुन्छ । नेतृत्वको खल्तीबाट निस्केको उम्मेदवारले लोकतन्त्र कति धान्छ, मैले बुझ्‍न सकेको छैन ।

नयाँ युवाहरू जो राजनीतिमा आउने इच्छा राख्ने छन्, सार्वजनिक जीवनमा राजनीतिक संस्थाहरूमा काम गर्ने इच्छा व्यक्त गर्छन् । उनीहरूको परख गर्ने व्यवस्था हुनप¥यो । परख भनेको निर्वाचन प्रक्रियाहरूमा, छनौटको प्रक्रियाहरूमा, उनीहरूको कौशलतामा, राजनीतिक कौशलतामा जनताको विषयहरूको छलफलमा हो । यसको ठूलो आधार के हुन्थ्यो भने स्थानीय तहमा सहभागिता जनाएका मान्छेहरू हुनुपर्छ । स्थानीय सरकारमा काम गरेका मान्छेहरू पाँच वर्षका लागि अड्किए कि छाडेर आउनुपर्‍यो । 

अहिले नेताका वरपर देखिनेहरू सल्लाहकार होइनन् ।

नयाँ नेतृत्वहरू कस्तो किसिमको राजनीतिक परिवेश र परिदृश्यमा काम गरेर आए ? उनीहरूको कार्य कौशल कस्तो छ ? कार्य गर्न क्षमता कस्तो छ ? जवाफदेहीको पक्षधरता कस्तो छ ? वाक्पटुता कस्तो छ ? विचार गर्नुपर्छ । 

सहरले कोही मान्छेलाई माथि ल्याइदिन्छ । बालेन जस्तोलाई माथि ल्याइदिन्छ । त्यो पनि लोकतन्त्रमा सम्भावना छ । तर, त्यसको मूल्य निकै महँगो हुन सक्छ । बालेन फेल भए भने काठमाडौँलाई निकै महँगो हुन्छ । उनी फेल हुने खालका मान्छे हुन् । किनभने उनी आफ्नै करिश्माबाट आएका हुन् । उनलाई परख गर्ने आधार हामीसँग केही पनि छैन । एक महिना बित्छ, चार महिना बित्छ । एक वर्ष बितेर पनि उनले केही गरेनन् भने हामी कहाँ जान्छौँ त फेरि ?

नेपाली समाज कति गहिरो समाज हो ? अध्यात्म भनेको घण्टी पूजा–पाठ मात्रै होइन । अध्यात्म भनेको प्रयोजनलाई प्रश्न गर्ने हो । उदाहरणका लागि, केही दिन पहिले नरेश कोइरालाको लेख आयो । त्यसमा उनले बीपी कोइरालासँग कुरा गर्दै लेखेको बीपीको अन्तिम समयको चित्रण थियो । त्यसमा बीपीले युवाले के गर्ने, मैले के गर्ने ? म फेल भएँ कि ? म के गर्दै छु ? यस्ता चिन्तन र प्रश्न गरेका छन् । 

आजका कतिजना नेताले त्यस्तो खालको कुरा गर्नुभएको सुन्नुभएको छ ? त्यो तहमा पुगेका मान्छेहरूले आत्मावलोकन गर्छन् कि गर्दैनन् ? उनीहरू एक्लै बसेर मैले गर्नुपर्ने काम के हो ? मेरो जीवनको उद्देश्य के हो ? 

नेताहरू आफैँप्रति इमानदार छैनन् भने हामीप्रति कसरी इमानदार हुन्छन् ? यिनीहरू खराबीका विम्ब हुन् । यिनीहरू नाम होइनन् । हरेक राजनीतिक नेतृत्व जो २०/३० वर्षदेखि छ, एउटा हेडमास्टर जसले २० वर्ष पढाएको छ, उसले पनि सोच्नुपर्‍यो । नेपाली समाजमा आत्माआलोचना धेरै सुन्छौँ । तर, आत्मावलोकन गर्ने भन्ने कुरा भित्र हेर्ने कुरा हो ।आत्मावलोकन लोकलाई सुनाउँदै हिँड्नुपर्छ भन्ने पनि छैन, त्यो व्यवहारमा देखिनुपर्छ । दिन प्रतिदिन खराब गर्दै गएका पात्रले आत्मावलोकन गर्दैनन् भन्ने स्पष्ट छ । 

आजका कतिजना नेतृत्वले मैले गल्ती गरेँ भनेका छन् ? मेरो कान यो सुन्न पर्खिरहेको छ । 

तपाईंले मलाई तैँले कति गल्ती गरिस् भनेर सोध्नुभयो भने, मैले सार्वजनिक रुपमा गल्ती त नगनौँला । तर, म भन्न सक्छु मैले पनि जीवनमा धेरै गल्ती गरेको छु । ती गल्तीहरूबाट सिकेको पनि छु । कतिपय गल्तीहरूबाट अझै पनि सिकिरहेको छु । अनि सार्वजनिक जीवनमा बसेको नेपालको नेतृत्वले गल्ती नै गर्दैन ? सबैले देखिरहेका छन् कि तिमीहरूले गल्ती गरेका छौ भनेर । तर कहीँ पनि महसुस भएको देखिँदैन ।

म आज जुन ठाउँमा छु । मैले निर्धक्क भन्नुपर्छ, म मेरो परिवारका कारण यहाँ छु । म जत्तिकै अर्को मान्छेले मेहनत गर्नुपर्‍यो भने त्यो ठाउँमा पुग्छ कि पुग्दैन भन्ने हो। 

सार्वजनिक जीवनमा तपार्इंले गर्ने अभिव्यक्तिहरूमा कति इमानदारी छ भन्ने हो । म प्रधानमन्त्री जीपी कोइरालादेखि राष्ट्रपति रामवरण यादवसँग ८/८ वर्ष काम गरिसकेपछि मैले सधँै राम्रो काम गरेको छैन होला नि त । जस्तो कतिपय उहाँहरूले गरेको गल्तीमा पदीय कारणले मैले बस्नुपर्‍यो होला । तर मैले उहाँहरूलाई त्यो बेला भन्न सकेँ कि सकिनँ भन्ने कुरा म आफूमा साँचो भएर बस्नुपर्‍यो नि । पदका कारण मैले यहाँ सार्वजनिक रुपमा अभिव्यक्त गर्न नसके पनि मेरो ‘प्रिन्सिपल’ जसलाई मैले सेवा गर्दैछु, उहाँलाई मैले ‘यो त भएन हजुर, यो त अति नै भयो’ भनेर भन्न सकेँ कि सकिनँ भन्ने कुरा हो ।

कतिपय निर्णयहरूमा आपूmलाई चित्त नबुभ्mदा–नबुभ्mदै पनि उहाँहरूसँग बस्नुपरेको पदीय मर्यादा थियो । त्यसको अर्थ तँ त्यहाँबाट किन निस्किनस् भन्ने होइन । किनभने जिम्मेवारी त जो मान्छे ‘प्रिन्सिपल’ हो उसकै हुन्छ नि त होइन ? मैले कतिपय कुराहरूमा अलि जबर्जस्तीसँग भन्न सकिनँ कि ? उमेरको कच्चापन थियो कि ? डर थियो कि ? धेरै सार्वजनिक निर्णयहरू छन्, जहाँ मैले थाहा पाउँदापाउँदै पनि पब्लिकलाई भन्न हुन्छ कि हुँदैन, त्यो गोपनीयताको कुरा भयो, द्विविधा हुन्छ । कुनै पनि निर्णय गर्ने सिलसिलामा तपाईंले गल्ती भन्ने सम्झिनुहुन्छ भने त्यहाँ द्विविधा ा हुन्छ । गर्न नहुने थियो गर्नुभयो अथवा गर्नुपर्ने थियो गर्नुभएन भने । यत्रो ४० औँ वर्ष सरकारमा बसेर निस्किँदा थुप्रै द्विविधाबाट गुज्रिएको छु । त्यो द्विविधा भन्न सकिन्छ । 

लोकमानसिंह कार्कीलाई राष्ट्रपति रामवरण यादवले अख्तियार आयोगको प्रमुखमा नियुक्त गर्ने सन्दर्भमा, संविधानसभा विघटन गर्ने सन्दर्भमा द्विविधा भएको थियो । गिरिजाको धमिजा काण्डमा हामी सँगै बसेका छौँ । उहाँले गरेको जम्मै गल्तीको जिम्मा मैले लिने होइन । तर मैले त्यो ठाउँमा बसेर धर्म निर्वाह गर्न सकेँ कि सकिनँ भन्ने हो । आज म यत्तिको बोल्न सकिरहेको छु भने धर्म निर्वाह गरेको छु भन्ने हो ।

के हामी गठबन्धनका नाममा छनौटविहीन हुने ? के हामी यी आठ–दश अनुहारका नाममा छनौटविहीन हुने ?

कोही नेताको निजी सहयोगी हो वा सल्लाहकार हो, हामीले छुट्याउन जरुरी छ । हामी सहयोगीलाई पनि सल्लाहकार भनिरहेका हुन्छौँ । पीएले कहिले पनि ऊसँग फरक मत राख्न सक्दैन । कसैको निजी सचिव छ भनेर उसले अह्राएको काम गर्ने हो । तर तपाईं सल्लाहकार हुनुहुन्छ भने अह्राएको गर्ने होइन, सल्लाह दिने हो । सल्लाह लिने, मान्ने–नमान्ने उसको ठाउँमा छ । त्यो सल्लाहका कारणबाट उत्पन्न हुने नैतिक सन्दर्भ छ भने अब म यो सल्लाहकारको ठाउँमा छैन, म बस्न सक्दिनँ भन्न सक्नुपर्‍यो । तर, हरेक सल्लाह दिएको मानेनन् भनेर हरेक दिन निस्किए भने कतिवटा सल्लाहकार फेर्छन् ? त्यसकारण अह्राएको मान्ने पीए निजी सचिवलाई हामी सल्लाहकार भन्दिन्छौँ । अहिले नेताका वरपर देखिनेहरू सल्लाहकार होइनन् । 

तपाईं कस्तो नेतृत्वसँग काम गरिरहनु भएको छ भन्ने प्रश्न अहं हो । मेरो अनुभवमा हाम्रो ढाडमा चढेर गिरिजाप्रसाद कोइरालालाई राजनीति गर्नु थिएन । उहाँ आफै राजनीतिज्ञ हुनुहुन्थ्यो । मेरो काम आउने सूचनाहरू पठनीय शैलीमा अगाडि राखिदिने काम हुन्थ्यो । गिरिजाप्रसाद कोइरालासँग काम गर्दा म सल्लाहकार थिइनँ । म अह्राएको काम गर्ने थिएँ । तर स्पष्ट बोल्ने हैसियतले यसमा के हो हरिजी भन्नुहुन्थ्यो । आफ्नो कुरा भन्यो । यसमा मैले भने उहाँले गर्ने नगर्नेमा मेरो नियन्त्रण हुँदैन थियो ।

रामवरण यादवसँग मलाई सुरुमा विज्ञ भनिएको थियो । पछि सल्लाहकार भनियो । सल्लाहकार भएकोे बेला तपाईंले हेर्नुभयो भने राष्ट्रपतिसँग भएको कुरा बाहिर आएर कहिल्यै भनिएन ।

राष्ट्रपतिलाई कोठाभित्रै विभिन्न परिदृश्य बताएर तयार गरिन्थ्यो । अन्त्यमा राष्ट्रपतिले आजको यो विषयमा यो निर्णय लिने भएँ भनेपछि चुप लाग्नु पथ्र्यो । हामीले राष्ट्रपतिलाई यसो भनेका थियौैँ । राष्ट्रपतिले अर्कै गर्नुभयो भनेर एउटा घटना ‘लोकमान’को घटनाबाहेक अन्यमा हामीले फरक मत राखेनौँ । उहाँलाई निर्णय लिन चाहिने पक्ष–विपक्षका सूचनाहरू छलफलको आधारमा दिइन्थ्यो । हामीसँग सल्लाहकार समूह थियो । एउटा सल्लाहकारले गएर कान फुकेर मात्रै हुन्न थियो । सल्लाहकारको प्रणाली भनेको समूहमा बसेर एउटाले एउटा र अर्कोले अर्को पक्ष लिएर हेर्ने थियो । उनी मेडिकल साइन्सको डाक्टर भएका कारणले तर्क गर्दा प्रमाण पनि केलाउने उनमा क्षमता थियो । त्यसैले धेरै ठूलो विवादमा हामी परेनौँ । 

 हिजो मैले गिरिजाप्रसाद, कृष्णप्रसादका कारण ठाउँ पाएँ, मैले अरुका लागि ठाउँ बनाउनुपर्छ भन्ने सोच खै ? 

मूल नायक/नायिकाले कत्तिको ग्रहण गर्न सक्नुहुन्छ भन्ने कुरामा भर पर्छ । सूचना र सल्लाहलाई ग्रहण गर्ने क्षमता छ कि छैन भन्ने देखिन्छ । उनीहरूलाई त्यसको आवश्यकता पर्छ कि पर्दैन ? कतिपय अवस्थामा मलाई जे मन लाग्छ गर्छु, सल्लाहकार देखाउन हो भन्ने पनि हुन सक्छ । 

वर्तमान सन्दर्भमा राजकीय र राजनैतिक दुवै विषयमा जटिलता छ । त्यसमा विषयगत सल्लाह हरेक मान्छेलाई चाहिन्छ । लोकतन्त्रमा हरेक मान्छे सम्पूर्ण हुँदैन । त्यो अर्थमा निश्चय पनि अहिलेको प्रधानमन्त्रीको सन्दर्भमा हेर्नुभयो भने मन्त्रीमण्डल उसको सबैभन्दा ठूलो सल्लाहकार हो । मुख्यमन्त्री सबैभन्दा ठूलो प्रशासनिक सल्लाहकार हो । पार्टीको केन्द्रीय समिति उहाँको सबैभन्दा ठूलो सल्लाहकार हो । तर, कति ग्रहण गर्नुहुन्छ, कति गर्नुहुन्न त्यो त परिस्थितिले देखाएकै छ ।

मैले पोलिटिकल इकोनोमीलाई त्यति नजिकबाट नियालेको छैन । तर, झट्ट हेर्दा श्रीलंकामा आर्थिक अनुशासनको कमजोरी भएको देखिन्छ । राजनीतिक इमानदारी र आर्थिक अनुशासन दुवैमा कमी आएका कारण श्रीलंका यस्तो भएको हो । त्यो हेर्‍यो भने हाम्रोमा पनि आर्थिक अनुशासनहीनता बढ्दै गएको देखिन्छ ।

राजनीतिक इमानदारीमा पनि कमी हुँदै गएको छ । कुन श्रेणीमा हामी श्रीलंका हुन्छौँ वा हुँदैनौँ त्यो आफ्नो ठाउँमा छ । किनभने हरेक मुलुकको आफ्नै गति हुन्छ ।

तर, के हो भने अहिले हामी कुनै आशालाग्दो पथमा छैनौँ । मैले अहिले हामी श्रीलंकाकै पथमा जान्छौँ भन्दा श्रीलंका पो अहिले भयो त इथोपिया भन्दिएको भए पनि हुन्थ्यो कि ? त्यो विम्ब प्रयोग गर्न मलाई मन लाग्दैन । राजनीतिक इमानदारी, आर्थिक अनुशासनको कसीमा हेर्ने हो भने हामी कमजोर स्थितिमा छौँ । 

अहिले भइरहेका आर्थिक अनियमितताको विषयमा प्रधानमन्त्री जवाफदेही हुनपर्ने हो । तर उहाँले जवाफ दिइरहनुभएको छैन । यसको अर्थ केही बाध्यता होला । उहाँको के बाध्यता हो ? त्यो पार्टी र जनतालाई भन्नुहुन्न भने त्यसको भागीदार उहाँ स्वयं र पार्टी हुने कुरामा द्विविधा छैन । 

 

(राजनीतिशास्त्री शर्मासँग विमल आचार्यको कुराकानी । तस्बिर/भिडिओ :आधारबाबु खतिवडा ।) 


Author

हरि शर्मा

शर्मा राजनीतिशास्त्री तथा अध्येता हुन् ।


थप समाचार
x