वार्ता

नेपाल र भारत सभ्यताको यात्रा र आत्माको खोजी हुँदै छ

इकागज |
असोज १२, २०७९ बुधवार ७:१७ बजे

कवि तथा निबन्धकार रञ्जना निरौला कलिङ लिटरेरी फेस्टिभल, काठमाडौँकी निर्देशक हुन् । यो साहित्यिक महोत्सव यही असोज २९ र ३० मा काठमाडौँमा हुँदै छ । नेपाल र भारतका थुप्रै लेखक, कलाकार सहभागी हुने महोत्सवमा दर्जनौँ विषयमा छलफल हुँदै छ । महोत्सवका विशेष आकर्षण के–के हुन् ? के–कस्ता विषयमा छलफल हुँदै छ ? कोको विशेष लेखक सहभागी हुँदै छन् ? यस्तै विषयमा महोत्सव निर्देशक निरौलासँगको छोटो कुराकानी :

कलिङ लिटरेरी फेस्टिभल भनेको के हो ?
कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको पूर्वी भाग ओडिशाको भुवनेश्वरमा वार्षिक रूपमा आयोजना हुने सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय साहित्यिक उत्सवहरूमध्ये एक हो । केएलएफको तत्वावधानअन्तर्गत वार्षिक कार्यक्रम बाहेक, यसको अन्य तीनवटा लोकप्रिय महोत्सव यसले गर्छ मिस्टिक कलिङ महोत्सव, कन्धमाल साहित्य महोत्सव, मैथिली साहित्य महोत्सव । कलिङ साहित्य महोत्सव २०१३ बाट सुरू भएको हो ।


वार्षिक कलिङ साहित्य महोत्सवले भारतको सृजनात्मक भावनाको उत्सव मनाउँछ साथै साहित्यिक विविधताको उत्सव गर्दछ । यसले ओडिशा र भारतभित्र र बाहिर कला र साहित्यिक संसारका उत्कृष्ट साधकहरूका अनुभूति व्यक्त गर्न लगाउँछ । यसले विश्वव्यापी अपिलको साथसाथै एक अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्दछ र अंग्रेजी र अन्य भारतीय क्षेत्रीय भाषाहरूमा रहेको साहित्य बीचको खाडललाई पुर्ने कोसिस गर्दछ । लेखक, शिक्षाविद्, नीति निर्माता, साहित्यिक सांस्कृतिक, राजनीतिक तथा सामाजिक कार्यकर्ता, सांसद, सरकारी अधिकारी, संस्थाका नेता, आध्यात्मिक चिन्तक, विद्यार्र्थी र जीवनका सबै क्षेत्रका व्यक्तिहरू महोत्सवको जीवन्त वातावरणमा डुबेर आफ्ना मनपर्ने लेखक तथा कृतिहरूबारे विचार आदानप्रदान गर्ने गर्दछन् ।

सहकार्य गर्न कसरी त्यहाँसम्म पुग्यो तपाईंको टोली ?
गत वर्ष मलाई कलिङ साहित्यिक महोत्सव २०२१ मा सहभागी हुने अवसर मिलेको थियो । वक्ताहरूको लाइन अप, बहस र छलफलको विश्वव्यापी स्तरको सामग्रीसहित महोत्सवको भव्यताबाट म प्रभावित भएँ । कलिङ साहित्यिक महोत्सवका संस्थापक श्री रश्मी रञ्जन परिडासँग छलफल गरेँ र उहाँलाई हाम्रो देशमा वार्षिक रूपमा कलिङ साहित्य महोत्सवको अन्तर्राष्ट्रिय संस्करण सुरू गर्न अनुरोध गरेँ । त्यसपछि करिब छ सात महिनाको छलफल र अन्तक्र्रियापछि वार्षिक रूपमा महोत्सवको तय भएको हो ।

नाम उनीहरूको भएपछि के–के उनीहरूको हुन्छ ?
७५ प्रतिशत वक्ता कलाकारहरू नेपालबाट सहभागी हुनेछन् भने बाँकी भारतबाट हुनेछन् । यो उत्सव मूलत: नेपाली कला, साहित्य र संस्कृतिमा केन्द्रित रहनेछ भने भारतबाट आउनुहुने व्योमेश शुक्लाले ‘राम कि शक्तिपूजा’ थिएटर (काशी, तथा बलिउड प्रसिद्ध गीतकार, अभिनेता पियुष मिश्राले प्रस्तुति दिनेछन्, बलिउडका सुप्रसिद्ध संगीतकार राज शेखर सुप्रसिद्ध मालिनी अवस्थीले पनि प्रस्तुति दिनेछन् । र अरू विशिष्ट व्यक्तित्वबाट साहित्यका र संस्कृति विविध विषयका अनुभूति सुन्ने छौँ, छलफल गर्नेछौँ ।

छलफलका केही मुख्य विषय के–के छन् ?
नेपाली भाषा, साहित्य संस्कृतिका विषयमा छलफल हुनेछ । आख्यान, नियात्रा, नारी लेखन, समालोचना, मैथिली साहित्य, भोजपुरी साहित्य, नेवारी संस्कृति लगायत समाज, सिनेमा, पात्र, चरित्र लगायतका विषयमा छलपल हुनेछ भने महोत्सवको केन्द्रीय नारा ‘भारत र नेपाल सभ्यताको यात्रा र आत्माको खोजी’ रहेको छ ।

नेपालबाट को–को सहभागी हुँदै हुनुहुन्छ ? 
सत्यमोहन जोशी, तुलसी दिवस, विष्णुविभु घिमिरे, रागिनी उपाध्याय, माया ठकुरी जगमान गुरूङ, दिनेश अधिकारी, प्रा. गोपाल भण्डारी, वसन्त चौधरी, प्रा.डा. वासुदेव त्रिपाठी, अशेष मल्ल, मञ्जु कञ्चुली तिवारी, तीर्थ श्रेष्ठ, रमेश क्षितिज, कनक दीक्षित, अर्चना थापा, गनेस पौडेल, भागिरथी श्रेष्ठ, महेशविक्रम शाह, माया ठकुरी, अमर न्यौपाने, नारायण ढकाल, विजय कुमार, डा. ज्ञानु पाण्डे, कुमारी लामा, डा. सावित्री मल्ल, सगुना शाह, डा. शान्तिमाया गिरी, डा.रजनी ढकाल, डा.ज्ञानु अधिकारी, अभय श्रेष्ठ, डा. गीता त्रिपाठी, स्नेह सायमी राजकुमार बानियाँ, भीष्म उप्रेती, युवराज नयाँघरे, जय छाङ्छा, प्रभा बराल, प्रतीक ढकाल, नयनराज पाण्डे, राजन मुकारूङ, विमल आचार्य, रामलाल जोशी, सन्तोष श्रेष्ठ, विवेक ओझा, धीरेन्द्र प्रेमर्षि, अर्पण थापा, सुरक्षा पन्त, गोपाल अश्क, उमा सुवेदी लगायतका वक्ताहरू सहभागी हुनेछन् ।

भारतबाट अरु को को आउँदै हुनुहुन्छ ?
भारतका वक्ताहरू अशोक वाजपेयी, सुधीर चन्द्र, गीताञ्जली श्री, मृदुला गर्ग, अरूण कमल, रञ्जित राय, आनन्द निलकण्ठ (बाहुबलीका लेखक), ओम तन्वी, गगन गिल, हलधर नाग, मालिनी अवस्थी, यतिश कुमार, दिप्ती गोपालनन, पियुष मिश्रा, राज शेखर, गीतकार समीर लगायत हस्तीहरूको सहभागिता हुनेछ ।

साहित्यिक उत्सवहरू त यता पनि बाक्लै भइरहेका छन्, यो के फरक हुनेछ ?
साहित्यिक उत्सवमध्ये यो विशेष हुनेछ । यो महोत्सवले उदीयमान विश्व संस्कृतिको परिप्रेक्ष्यमा नेपाल र भारतबीचको दीर्घकालीन सम्बन्धलाई मनाउनेछ । नेपाल विश्वभरका साधकहरूका लागि तीर्थयात्रा र सांस्कृतिक गन्तव्यको केन्द्र बनेको छ । शक्तिशाली हिमालयको फेदमा रहेको यो दिव्य भूमिले हजारौं वर्षदेखि रहस्यवादी, योगी, साहसी र प्रकृतिप्रेमीहरूलाई आकर्षित गरेको छ । नेपाली जनता आफ्नो सादगी र बहादुरीका लागि परिचित छन् । यस भूमिको समृद्ध सम्पदा छ र भारतसँग दिगो सम्बन्ध रहेको छ । यो महोत्सवले नेपाल–भारत साहित्यिक ऐतिहासिक सम्बन्ध र दुई देशबीचको सभ्यताको सम्बन्धलाई प्रगाढ बनाउन तथा कला, संस्कृति साहित्यको प्रवर्धन र विश्वव्यापीकरण गर्न सहयोग गर्नेछ ।

यस्ता कार्यक्रममा आयोजक हर्ताकर्ता प्राय: पुरूष देखिन्छन्, महिला भएकै कारण तपाईंलाई केही गाह्रो वा असजिलो भएको छ ? 
राजनीति होस् वा कला, संस्कृति, साहित्य वा सामाजिक उद्यम वा व्यवसाय सबै क्षेत्रमा महिलाहरूले राम्रो काम गरिरहेका छन् । यही प्रक्रियामा म सिक्दै छु । विश्वको एक प्रमुख साहित्यिक महोत्सवले मलाई दिएको जिम्मेवारी र विश्वासबाट म खुसी छु र उनीहरूले मलाई यस महोत्सवको निर्देशकका रूपमा छानेका छन् । यति ठूलो कार्यक्रमको जिम्मेवारी चुनौती जस्तै लागे पनि त्यसलाई स्वीकारेँ र नेपाली साहित्य, कला र संस्कृतिको उत्थानका लागि लक्ष्य हासिल गर्न र सबैको साथ र सहयोग लिएर महोत्सव सफल बनाउन लागिपरेकी छु ।

अघिल्लो महिना तपाईंको निबन्ध कृति ‘अनुभूतिको अवतरण’ आयो । कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
मबाट अवतरण भएका अनुभूति पढ्नुहुने आदरणीय पाठकहरूबाट प्रेरक प्रतिक्रिया पाएकी छु । प्रतिक्रियाले ममा हौसला थपेको छ, साहित्यिक यात्रालाई अघि बढाउन । 


Author

थप समाचार
x