वार्ता

‘अहिलेका दल र नेताबाट देशले निकास पाउने नदेखेपछि आफैँ राजनीतिमा आएँ’

कमल विष्ट |
कात्तिक १, २०७९ मंगलबार १३:५१ बजे

४५ वर्षीय डा. प्रधुम्न महत पेसाले रसायनशास्त्रका प्राध्यापक तथा अनुसन्धाता हुन् । उनी करिब दुई दशकदेखि अध्यापन गराइरहेका छन् । तर, महतलाई अब शिक्षण पेसामा मात्र सीमित हुन ठीक लागेन । पुराना दल र नेताबाट देशले निकास पाउँदैन भन्ने निष्कर्षसहित उनी राजनीतिमा होमिएका छन् । 

आगामी मंसिर ४ को निर्वाचनमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनले नुवाकोट– १ बाट उम्मेदवारी दिएका छन् । यसै सन्दर्भमा उनीसँग इकागजले संवाद गरेको छ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :


चुनावी अभियान कस्तो चलिरहेको छ ? कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
हामीले घरदैलो कार्यक्रमहरू गरिरहेका छौँ । घरदैलोमा जाँदै गर्दाखेरि नुवाकोटका नागरिकहरू एकदमै उत्साहित छन् । विदेशमा विभिन्न सेवा सुविधा त्यागेर स्वदेश फर्किनुभयो भन्दै उहाँहरूले हौसला दिइरहनुभएको छ । ‘हामीलाई तपाईंप्रति विश्वास छ । हामी तपाईंलाई सांसद भएको देख्न लालायित छौँ र तपाईं सांसद भएपछि निकास पाउँछौँ’ भन्दै उहाँहरूले स्वागत गरिरहनुभएको छ । मैले उहाँहरूबाट धेरै साथ र प्रेरणा पाइरहेको छु । 

तपाईं पेसाले प्राध्यापक तथा अनुसन्धाता किन राजनीतिमा आउनुभयो ?
अहिले मुलुकको राजनीति जुन दिशामा अगाडि बढेको छ, त्यो ठीक छैन । यसले देशलाई निकास दिँदैन । नागरिकले गरिखाने अवस्था देशमा छैन । राजनीतिक पार्टी र नेताहरू सुध्रिएलान्, उनीहरूले राम्रो काम गर्लान् भन्ने आशा नै छैन । नागरिकहरू नागरिक भएर बाँच्ने पाउने अधिकारबाट वञ्चित छन् । कुनै दल वा पार्टीसँग आवद्ध नहुने जनतालाई समस्या पर्‍यो भने उनीहरूले न्याय पाउने निकाय नै छैन । अवस्था कहालीलाग्दो छ ।

तर, सधैँ देशको अवस्था कहालीलाग्दो छ भनेर मात्र हामी बस्नु ठीक होइन । यो भएन, त्यो भएन भन्दै सधैँ असन्तुष्टि प्रकट गरेर बस्नुको औचित्य छैन । फेरि हामीले असन्तुष्टि पोखेर हुने पनि केही होइन । नेताहरूलाई हाम्रो समस्याबारे मतलब नै छैन । उनीहरूलाई हाम्रो कुरा सुन्नु नै छैन । त्यसैले, देशको अवस्थामा सुधार गर्ने हो भने हामी आफैँ सक्रिय हुनुपर्छ भन्ने मलाई लाग्यो । त्यसैले, हामी निस्वार्थ, इमान्दार र साहसी भएर अगाडि बढ्नैपर्छ । हामीले नगरे कसैले पनि गर्नेवाला छैन भन्ने बोध भयो । त्यसैले, राजनीतिमा आएँ ।

तपाईं लामो समय नेपाली कांग्रेसमा सक्रिय सदस्य भएर लागेको मान्छे किन कांग्रेसबाट चुनाव नलडेर नयाँ दलबाट उठ्नुभयो ?
नेपालका पार्टीहरू यति विकृत भइसके कि तिनीहरूमा सिद्धान्त छैन । उनीहरूलाई देशको चिन्ता छैन । देशको भन्दा आफ्नो बढी चिन्ता उनीहरूलाई छ । चुनाव नागरिकको मतबाट विजयी हुन्छन्, तर जितिसकेपछि उनीहरू आफ्ना कार्यकर्तालाई मात्र हेर्छन् । आम नागरिकलाई उनीहरूले सधैँ अवमूल्यन गरिरहे । दल, नेता तथा सरकार कसैले पनि नागरिकको समस्या र आवश्यकतालाई ध्यान दिएनन् । हामी नागरिकको पक्षमा हुनुपर्छ भन्ने भाव कसैमा छैन । नागरिकका अधिकार स्थापित गर्नेतर्फ पुराना दलहरू देखिएनन् । उनीहरूलाई विश्वास गर्न सकिने ठाउँ नै देखिएन । 

तपाईंका चुनावी अजेन्डा के–के छन् ?
हाम्रो मुख्य अजेन्डा भनेको चुनाव जितेर संसद्मा पुगेपछि प्रभावकारी ऐन बनाउने हो । नेपाली माटो सुहाउँदो ऐन बनाउने हाम्रो लक्ष्य हो । हाम्रो दोस्रो लक्ष्य चाहिँ अहिलेको विकृत अवस्थालाई सुधार्ने हो । नेताहरूमा निस्वार्थपन, सफा नियत, इमान्दारिता, क्षमताको अभावमा जुन समस्याहरू देखिएका छन्, तिनलाई समाधान गर्न लागि पर्छौँ । हामी पहरेदारको भूमिका निभाउँछौँ । जस्तो कि मौसम परिवर्तनको असर कम गर्न विश्व बैंकसँग ऋण लिने काम भयो । पूर्व पश्चिम रेल मार्ग, जुन आर्थिक रूपले योग्य नै छैन, त्यो बनाउन ऋण लिने भनियो । उत्पादकत्व वृद्धि हुने, रोजगारी सिर्जना हुने क्षेत्रमा पो ऋण लिने त । यहाँ ऋण लिएबापत मन्त्री, सचिवहरूलाई ठूलो कमीसन प्राप्त हुन्छ । त्यही भएर सोच विचारै नगरी ऋण लिने अनि कमीसन कुम्ल्याउने प्रवृत्तिलाई हामी परास्त पार्छाैं । 

तेस्रोमा हामी विविध क्षेत्रमा सम्भावनाहरूको पहिचान गर्छौँ र कसरी तिनलाई कार्यान्वयन वा उत्पादन गर्न सकिन्छ भन्ने कुरामा जोड दिन्छौँ । चौथो, हामी विज्ञान र प्रविधिलाई नागरिकसँग जोड्छौँ । म आफू पनि विज्ञान र प्रविधिसँग सम्बन्धित भएको व्यक्ति हुनाले यसमा विशेष भूमिका खेल्नेछु । आजको संसारमा जुन देशले शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न सक्दैन त्यो देशले विकास र समृद्धि हासिल गर्न सक्दैन । हामीले सुरुमा विज्ञान र प्रविधिलाई विकास र त्यसपछि त्यसलाई शिक्षासँग जोड्नुपर्छ । यसलाई आकार दिनका लागि हामीले प्रभावकारी नीति तथा अजेन्डाहरू अगाडि सारेका पनि छौँ ।

तपाईंले पाँच दलीय सत्तारुढ गठबन्धन, नेकपा एमाले लगायतका स्थापित उम्मेदवारसँग भिड्नुपर्ने छ । तपाईंको पार्टी नयाँ हो, संगठन बलियो छैन । के छन् तपाईंको चुनाव जित्ने आधार ? 
नागरिकमा परिवर्तनको भोक नै मेरो मूल आधार हो । नागरिकहरू परिवर्तनको पक्षमा छन् । जनतालाई राम्रोसँग थाहा छ, पुराना दलहरूले परिवर्तन ल्याउन सक्दैनन् भनेर । चुनावमा देखिने पात्रहरू सधैँ उही हुन्छन् । उनीहरू भित्र विकृति तथा विसंगतिको सञ्जाल यति मौलाइसकेको छ कि त्यसलाई उनीहरू चिर्नै नसक्ने अवस्थामा पुगिसकेका छन् । उनीहरू ती जञ्जालमा यति जकडिइसकेका छन् कि ती जञ्जाल अब तोडिएलान् भनेर नागरिकले सोच्नै छाडिसके । 

नागरिकहरूले अब नयाँ, सक्षम तथा दृढ संकल्प भएका नेतृत्व नआउँदासम्म देशले निकास पाउँदैन भन्ने राम्रोसँग बुझिसकेका छन् । उनीहरू फेरि त्यही गल्ती दोहोर्याउने पक्षमा छैनन् । आफ्नोभन्दा पनि देश र नागरिकको लाभका लागि काम गर्न चाहने नेतृत्वको अब आवश्यकता छ । हामी त्यो विकल्प बन्छौँ भनेर आएका छौँ, इमान्दार र निःस्वार्थ भएर । 

हामी देशको यो विषम परिस्थितिलाई चिर्न सक्छौँ भन्नेमा विश्वस्त छौँ । डेलिभरी पोलिटिक्स हाम्रो उद्देश्य हो । समयमै मल पाउन नसक्ने, रातदिन दुःख गरेर उत्पादनलाई बजारसम्म पुर्‍याउन नसक्ने किसानलगायतका लागि हामी समाधान लिएर आएका छौँ । उनीहरूको समस्यालाई समाधान गर्न सक्ने अजेण्डा हामीसँग मात्र छ । हामी यिनै अजेण्डाले उहाँहरूलाई कन्भिन्स गर्छौँ ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x