वार्ता

'बागमतीमा मात्रै राप्रपाले साढे तीन लाख मत ल्याउँछ'

इकागज |
कात्तिक २१, २०७९ सोमबार १८:४२ बजे

दलहरू चुनावी अभियानमा होमिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै उनीहरू मतदाताको घरदैलोमा केन्द्रित हुन थालेका हुन् । आ–आफ्ना चुनावी अजेण्डा बोकेर दल र उम्मेदवार मतदाता रिझाउन व्यस्त छन् । विगतको निर्वाचनभन्दा यसपालि राम्रो नतिजा ल्याउने लक्ष्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी मैदानमा छ । राप्रपा वरिष्ठ नेता दिलविकाश राजभण्डारी भन्छन्, ‘हामीले पार्टीभित्र ठूलो क्रान्ति गरेर परिवर्तन ल्यायौँ । अब चुनावमा त्यसको नतिजा देखाउँछौँ ।’ बागमती प्रदेशमा राप्रपा समानुपातिक उम्मेदवारसमेत रहेका नेता राजभण्डारी बागमतीमा मात्रै साढे तीन लाख मत ल्याउने दाबी गर्छन् । प्रस्तुत छ राप्रपा वरिष्ठ नेता राजभण्डारीसँग इकागजले गरेको सम्वादः

चुनावी अभियान कस्तो चल्दैछ ?


अरू सबै पार्टीको भन्दा हाम्रो विशेष चुनावी अभियान चलिरहेको छ । निर्वाचन आचारसंहितालाई पालना गर्दै हामी अगाडि बढेका छौँ । हाम्रा अजेण्डा र मुद्दा लिएर जनतामाझ गइरहेका छौँ । मतदाताको घरदैलोमा पुगिरहेका छौँ । प्रतिनिधि सभाका १४२ निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवार छन् । प्रदेश सभामा पनि त्यही प्रकारले उठेका छन् । उत्साहजनक तरिकाले चुनावी अभियान चलिरहेको छ । 

विशेष चाहिँ कुन अर्थमा ? अरूको भन्दा के फरक गरिरहनुभएको छ ?

राजनीतिक दलहरूका लागि हरेक निर्वाचन विशेष हुन्छन् नै । हाम्रा लागि यो निर्वाचन अझ विशेष छ । नयाँ नेतृत्व छ । युवा जोश र जाँगर छ । देशैभरी उम्मेदवार छन् । अर्को कुरा हाम्रो पार्टी नै अरूभन्दा भिन्न छ । यो कुरा सारा नेपालीजनलाई विदितै छ । हाम्रो पार्टी राष्ट्रवादी पार्टी हो । यो राष्ट्रलाई कसरी अगाडि बढाउन सकिन्छ, बाहिरी हस्तक्षेप कसरी रोक्न सकिन्छ र नेपाली जनतालाई कसरी समृद्ध र सुखी बनाउन सकिन्छ भन्ने हाम्रो मुख्य उद्देश्य छ । तर, त्यो पूरा हुन सकेको छैन । हामीले जनमत पाएका छैनौँ । अर्थात् हामीले अहिलेसम्म काम गर्ने अवसर नै पाएका छैनौँ । यसपालिको चुनावमा हामीलाई आशा छ जनताले त्यो अवसर दिन्छन् । देशभरको माहौलले पनि त्यही संकेत गर्छ । यसपालि राष्ट्रवादी शक्ति बलियो हुन्छ । 

हाम्रो पार्टीजस्तो परिवर्तन कुनै पार्टीले ल्याउन सक्या छैन । हाम्रो पार्टी सानो भइकन ठूलो परिवर्तन ल्यायौँ  । पार्टीभित्र एउटा क्रान्ति नै गर्‍यौँ । त्यो प्रायः मेरै नेतृत्वमा थियो ।

घरदैलो पनि गरिरहनुभएको छ । मतदाताको प्रतिक्रिया कस्तो छ ? 

अहिलेसम्मको गतिविधिले हामीले राम्रो पाएका छौं । साथसाथै एकदम सकारात्मक छ । नतिजा त मत गनेपछि आउने हो । मलाई आशा छ पशुपति भगवान्, पाथिभरा माताको निगाहा हामीप्रति हुनेछ । मेरो विशेष भन्ने चलन त ‘गड ब्लेस अस’, त्यो हुन्छ । 

यसपालि माहाेल राम्रो छ भन्नुभयो । यसअघिका निर्वाचनमा किन राम्रो गर्न सक्नुभएन ?

०७४ सालको निर्वाचनमा हाम्रा नेताहरूले ठूलो गल्ती गरेर कांग्रेससँग समन्वय गर्न खोजे । त्यसबेला जम्मा पाँच-सात सिटमा सीमित बसे । त्यो नेताको स्वार्थपन थियो । दुई/चार सिट ल्याएर सरकारमा बसौँ भन्ने भयो । आफ्नो मात्रै प्रगति गरौँ, जनता र पार्टीको नभए नहोस् भन्ने भन्ने किसिमको नियत देखिएर हामी साह्रै तल पुग्यौँ । निर्वाचनले हामीलाई धुलो बनाइ दियो । तर, अहिले हाम्रो निरन्तरको मेहनतले पार्टीमा ठूलो परिवर्तन ल्याएका छौँ । पार्टी राजनीतिमा अरूको भन्दा क्रान्ति ल्यायौँ । जसले गर्दा ती विचारका नेताहरूलाई पार्टीबाट आराम गर्ने बनायौँ । तत्कालीन अध्यक्ष कमल थापा हुनुहुन्थ्यो । दोस्रो पशुपति शमशेर र तेस्रो प्रकाशचन्द्र लोहनी हुनुहुन्थ्यो । अहिले हामीले तीनवटै नेतालाई सम्मानका साथ राखेका छौँ । कमल थापा बस्न सक्नु भएन । उहाँले पार्टी खोलेर सूर्यबाट उठ्नुभएको छ । त्यसकारणले हाम्रो पार्टीजस्तो परिवर्तन कुनै पार्टीले ल्याउन सक्या छैन । हाम्रो पार्टी सानो भइकन ठूलो परिवर्तन ल्यायौँ  । त्यो प्रायः मेरै नेतृत्वमा थियो । किनभन्दा राजेन्द्रजी युवा पनि हुनुहुन्छ । सांसद पनि हुनुहुन्थ्यो । हाम्रो पार्टीका ताराजस्तै हुनुहुन्थ्यो । राजेन्द्रजीको भाग्य यो पार्टीलाई अगाडि बढाउने उत्तरदायित्व पाउनुभयो । उहाँको ठूलो भाग्य हो । त्यो पनि कर्मअनुसार पाउनुभएको छ । अहिले राजेन्द्रजी आउनुभयो । मैले भन्ने गरेको पनि थिएँ कि यो पार्टीमा यी तीन जना पूराना नेता भएसम्म प्रगती हुन सक्दैन । कारण ती आपसमै तनानात गर्छन् । पार्टीको प्रगती हुन सकेन । कुनै पनि नयाँ व्यक्ति आवस् जसले पार्टी उठाउन सकोस् भन्ने कुरा मैले कल्पना गरेको थिएँ । त्यो अहिले भइरहेको  । 

निर्वाचनबाट कस्तो नतिजाको अपेक्षा गर्नुभएको छ, कति सिट जित्ने आँकलन छ ?

अवश्य पनि एउटा दल र नेताले आफ्ना सबै उम्मेदवार जितुन् भन्ने अपेक्षा राख्छ नै । हाम्रो पनि त्यो हुने नै भयो । तर, अपेक्षा मात्रै गरेर हुँदैन । वास्तविकतातिर पनि ध्यान दिनुपर्छ । उम्मेदवार बनेका सबैले जित्दैनन् । मैले सबै जित्छभन्दा हाँसो लाग्ला  । त्यो म भन्दिनँ । आठ/दश सिट त हाम्रो पक्काजस्तै छ । अझै थप केही उम्मेदवारले पनि चुनाव जित्नुहुन्छ । खासमा हाम्रो पार्टीले अझै धेरै जित्थ्यो । केही जित्नसक्ने नेताहरू समानुपातिकमा बसिदिनुभयो । जस्तो बुद्धिमान तामाङ धादिङमा जित्नुहुन्थ्यो । उहाँ उठ्नुभएन । पशुपतिशमशेर सिन्धुपाल्चोकबाट जित्न सक्नुहुन्थ्यो । उहाँहरू उठ्नुभएन । उहाँहरूलाई आफूमाथि विश्वास लागेन कि भन्ने शंका मलाई लाग्छ । त्यसले गर्दा पार्टीलाई अलिकता घाटा छ । तर, पहिलेको भन्दा अहिले धेरै माथि छ । उठ्ने पूर्ण विश्वास छ । उठ्नुपर्छ । जनताको विश्वास जित्नुपर्छ । विश्वास अगाडि बढेको छ । जनताले खोजिरहेका छन् ।  हाम्रो नेतृत्वदायी भूमिका हुनेनै छ र गर्छौँ । 

प्रतिनिधि सभामा कम्तीमा १५/२० सिट आउँछ । बागमती प्रदेशमा समानुपातिकमा कमसेकम आठ जना जति आउँछन् । किनभने साढे तीन लाख मत आउने हाम्रो आँकलन छ ।
 

समानुपातिकमा कस्तो मत परिणामको अपेक्षा छ । तपाई त बागमती प्रदेश सभाको समानुपातिकको बन्दसूचीमा समेत हुनुहुन्छ ?

यसपालि प्रत्यक्षसँगै समानुपातिकमा पनि हाम्रो धेरै राम्रो मत आउँछ । प्रतिनिधि सभामा कम्तीमा १५/२० सिट आउँछ । बागमती प्रदेशमा त म स्वयं पनि समानुपातिकको बन्द सूचीमा छु । म खासमा संघमै उठ्न थाहन्थे । के कारणले हो अध्यक्षज्यूले प्रदेशमा राख्नुभयो । मैले त्यसलाई नकार्न मिल्दैनथ्यो । नकारिनँ र मेरो नाम एक नम्बरमा छ । उहाँलाई धन्यवाद छ । जहाँसम्म मलाई लाग्छ बागमतीमा कमसेकम आठ जना जति आउँछन् । किनभने साढे तीन लाख मत आउने हाम्रो आँकलन छ ।

तपाईं त पार्टीको वरिष्ठ नेता पनि हुनुहुन्छ । आम मतदातालाई तपाईंको सन्देश के छ ?

नेपाली जनता साह्रो थिचोमिचोमा परेका छन् । नेताहरूले गर्दा धेरै युवाहरू बेचिएर बस्नु परेको छ । युवा शक्ति विदेशिनु र पलायन भएका छन् ।  त्यसकारणले यदि यो पटक राप्रपालाई साथ दिएर हलोमा भोट हाल्दिनुभयो भने जनता र राष्ट्रको आशा पूरै गर्न नसके पनि हामी सेवा गर्नेछौँ । बेइमानी गर्ने छैनौँ । एकबाजी हलोमा भोट हाचलेर जिताइदिनुस् हामी केही गरेर देखाउँछौँ । म धेरै आश्वासन र प्रतिबद्धता गर्दिनँ । हामी काम गर्ने समूहमा पर्छौ । भ्रष्टाचार न्यूनीकरण गर्छौँ । शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने कोसिस गर्छौँ । सनातन धर्म कायम गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचानको गराउँछौँ । उद्योग धन्दा, व्यवसायको ग्यारेन्टी गर्छौँ । समृद्ध नेपाल बनाउने कोसिसमा हामी लाग्छौँ र अहिले पनि हामी आफ्नै ढंगबाट लागिरहेका छौ । हामी यति विश्वास दिलाउन चाहन्छौ कुनै भ्रष्टाचार गर्ने छैनौँ । राष्ट्रलाई आघात हुने काम गर्ने छैनौँ ।

प्रतिबद्धता त अरूले पनि गर्छन् । आम जनतामा निराशा र अविश्वास छ । प्रतिबद्धता पूरा गर्ने आधार के छन् ? 

तपाईंले पनि हेर्नुभयो होला अरू दलहरूले लामा-लामा घोषणा पत्र ल्याएका छन् । कांग्रेसकै ५१ पेजको घोषणा पत्र छ । एमालेको २० हजार शब्दको छ । जुन यसअघिका निर्वाचनमा पनि आउँथे । के उनीहरूले भनेअनुसार गरे त ? तर हाम्रो प्रतिबद्धता धेरै छोटो छ । मुख्यतः हामीले पाँच वटा काम गर्छौ भनेका छौँ । पहिलो भ्रष्टाचार र शोषणको अन्त्य गर्छौँ भनेका छौँ । नेपालमा भ्रष्टाचार मौलाएको छ । यसलाई न्यूनीकरण गर्छौँ । हरेका कुरा किनबेच भइराख्या छ । त्यसलाई अन्त गर्न त समय लाग्ला । तत्कालै अन्त्य गर्छौँ भनेर म झूट बोल्दिनँ । अहिले हाम्रो वरिपरि देखिएका विसंगती सबै बिस्तारै घटाउँछौँ । पचास प्रतिशत भए पनि घटाउँछौँ । स्वास्थ्य र शिक्षा यस्तो महँगो छ । सबै जनताको पहुँचमा पुर्‍याउँछौ । महँगीको  अन्त्य गर्छौँ, महँगीले जनताको ढाड राम्ररी सेकिएको हामी सबैले महसुस गरेका छौ । जनतालाई औषधि उपचारको सुविधा र शिक्षाको सुविधा निःशुल्क गराउँछौँ । यस बाहेक सनातन धर्म संकृतिको जगेर्ना गर्दै विश्वसामु नेपालीको पहिचान कायम राख्दै उद्योग, व्यवसाय र रोजगारी सुनिश्चितता गर्न र समृद्ध नेपाल, सुखी नेपाली बनाउने हाम्रो मुख्य एजेण्डा छ । 

यस बाहेक वर्तमान शासन प्रणालीमै हाम्रो असहमति छ । पूर्ण  समानुपातिक संसद् र संसद्ले मन्त्री हुन नपाउने व्यवस्था हुनुपर्छ भन्ने हाम्रो माग छ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी प्रधानमन्त्रीको व्यवस्था हाम्रो कल्पना र मुद्दा हो । अभिभावकीय राजाको स्थापना गर्ने हाम्रो एजेण्डा छ । जसले गर्दा पार्टीले मनपरी गर्न पाउँदैनन् । अभिभावकत्व राजाले गर्ने र राज्य र संविधानको संरक्षक हुने, राज्य र धर्मको संरक्षण गर्ने भन्ने छ ।

राष्ट्रिय मुद्दामा तथा निर्वाचनमा जाँदा कस्ता मुद्दा लिएर जाने भन्ने सन्दर्भमा मेरो व्यक्तिगत धारणा भने फरक रहेको छ । जस्तैः उद्योग व्यवसाय र रोजगारीको ग्यारेन्टी गर्नुपर्छ भन्ने मेरो एजेण्डा छ । त्यस हिसाबले हामी अगाडि बढ्छौँ । यी कुरा पूरा गर्न संविधान नै संशोधन गर्नुपर्छ । यदि हाम्रो दुई तिहाइ आए त गरिहाल्छौँ । नत्र क्रमसः गर्दै जाने कुरा हुन् । हामीले बोलेका कुरा पूरा गर्छौँ । 


Author

थप समाचार
x