वार्ता

अन्तर्वार्ता

'मध्यावधि टार्ने जिम्मा राप्रपाको होइन, काेशीमा अरु दल मिलेर सरकार बनाए भाे नि'

बाबुराम भण्डारी |
असार २०, २०८० बुधवार १९:१३ बजे

कोशी प्रदेशमा नयाँ सरकार गठनको समय सीमा असार २१ गते साँझ ५ बजेसम्म रहेको छ । प्रदेशमा अहिले विपक्षी गठबन्धनमा रहेका चार वटा दलहरूले केन्द्रीय गठबन्धनको सत्ता पक्ष भएर कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने सहमति गरिसकेका छन् । प्रदेश सभाको अप्ठेरो अंकगणितको सुत्र पत्ता लगाउन उनीहरू एमालेसँगको सत्ता सहकार्यमा टिकिरहेको राप्रपालाई फकाउन जोडतोडले लागेका छन् । 

केन्द्रीय गठबन्धन हुबहु कार्यन्वयन भए यतिबेला कोशी प्रदेशमा कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको एक सिट जोड्दा सरकार गठनको न्यूनतम् बहुमत ४७ सिट पूरा हुन्छ । तर दल त्याग गरिसकेका सभामुखलाई सरकारको गठनको दाबीमा संसदीय दलको सदस्य सरह गणना गर्न नमिल्ने जिकिर एमाले र राप्रपाको कायमै छ । यस्तो बेलामा केन्द्रीय गठबन्धन बैठकमा मुख्यमन्त्रीमा टुंग्याइएका थापालाई संविधानको धारा १६८ को उपधारा (२) अनुसार बहुमतकै दाबी पुर्‍याउन कठिन छ ।


कोशी प्रदेशमा कांग्रेसले सत्ता उल्झनको गाँठो फुकाउन राप्रपासँग गरिरहेका संवादले बुधबार बिहानसम्म पनि ठोस रुप पाइसकेको छैन । हुन त कोशी प्रदेशमा राप्रपासँग कांग्रेसभन्दा धेरै नै नजिक रहेको दाबी गर्दै आएका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पनि मुख्यमन्त्रीको दौडमा थिए । तर, थापाले बाजी मारिसकेका छन् । थापालाई राप्रपा फकाउन भने निकै कठिन बनिरहेको छ । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला ती पूर्व कांग्रेसी हुन्, जो झापाको भूगोलमा कृष्णप्रसाद सिटौला समूहबाट पेलिएर राप्रपामा प्रवेश गरेका व्यक्त हुन् । भक्तिले कृष्णको नाम सुन्न चाहेका छैनन् । थापा पनि कृष्ण सिटौलाकै समूहका हुन् । यस्तो अप्ठेरो राजनीतिक परिस्थितिमा निकास निकाल्ने राप्रपाको के उपाय भनेर संसदीय दलका नेता भक्तिप्रसाद सिटौलासँग इकाजकर्मी बाबुराम भण्डारीले केही प्रश्न गर्दा उनले यस्तो जवाफ दिएका छन् ।

राप्रपा कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरता र मध्यावधि चुनावसँग भिड्ने क्षमता कतिको राख्दछ ?

स्पष्ट रुपमा भन्दा हामी राजनीतिक अस्थिरताको पक्षमा छैनौं । तर परिस्थिति हेर्दा मध्यावधि नै निम्त्याउने देखिन्छ । किनभने नेताहरूको हठ छ । यस्तो बेलामा मध्यावधि ननिम्त्याउनका लागि हामी मात्रै बाध्य छैनौं । अर्कोतिर मध्यावधिमै जानका लागि त सबैभन्दा बढी हाम्रै संगठन विस्तार भइरहेको छ । ठूला हुँ भन्ने दलहरूमा ठूलो विकर्षण रहेको छ, यता हाम्रो संगठन बढेको छ । सत्ता सञ्चालनमा भइरहेका विकृतिहरूको गर्दा संघीयता र गणतन्त्र ठिक रहेनछ भन्ने पनि मान्छेहरूले सोच्न थालेका छन् । राजनीति धर्मको मेरुदण्डमा अडेको हुन्छ, धर्मका नाममा होइन । हामी यसमा विश्वास राख्छौं ।

हिन्दु राष्ट्र मात्रै होइन, ‘सर्व धर्म समभावः’ भन्ने कुरामा यो अडिएको छ । विश्वभरीका हिन्दूको आस्थाको केन्द्र नेपाल छ । यसलाई जोगाउनु पर्छ । सनातनी धर्मलाई जोगाएनौँ भन्ने हामी नै रहन्नौं । त्यही भएर हिन्दु धर्मप्रति रुचि बढेर गएको छ । राजसंस्थाप्रति रुची बढेर गएको छ । प्रदेशको कुरामा महँगो खर्चिलो भन्ने अनुभूति सबैैले गर्न थालेका छन् । हाम्रो एजेण्डाले लोकप्रियता पाएका छन् । हाम्रो संगठन पनि मजबुत भएर आएको छ । नेतृत्व फेरिएकोले राप्रपा नयाँ पार्टी हो भन्ने छ । र पनि, हामीहरू मुल स्थायित्वमा जोड दिन्छौं । तर मध्यावधिको कुरा कसैले लिएर आउँछ भने सबैभन्दा बढी ‘गेन’ हामी गर्छौं । खुसी हुन्छौं । तथापि एक वर्ष पनि भएको छैन चुनाव भएको र यसमा मात्रै जनताहरूमा खुसी छैनन् । 

त्यसो भए मध्यावधि टार्न राप्रपाले नयाँ गठबन्धनलाई समर्थन गर्छ ?

मध्यावधि टार्ने जिम्मा राप्रपाको होइन, ठूला दलहरूको हो । बढी ठेकेदारी उनीहरूले गर्नुपर्छ । हामी त प्रदेश सरकारै चाहँदैनौं । यसको ठेकेदारीमा त ठूला पार्टीहरू मिल्दा हुँदैन र ? एमाले–कांग्रेस मिलेर सरकार बनाए पनि भयो नि । अथवा, माओवादी र एमाले मिलेर बनाए भयो । उनीहरूको हठमा हामी किन बिचमा पर्नु ? हाम्रो त छुट्टै आदर्श छ, कार्यक्रम र दर्शन छ । हामी हाम्रो ढंगले हिनेका छौं । हामी उनीहरूका गोटी त होइनौं । हाम्रो आफ्नै अठोट छ । हामी कसैको इच्छा पुरा गर्न लाग्दैनौं, हाम्रो अडान छ । हामीले उनीहरूको इच्छा पुरा गर्नेभन्दा पनि अब आउने प्रस्तावहरूमा हाम्रा कुरालाई कसरी बढि अगाडि बढाउने र एजेण्डामा हामी अगाडि बढ्छौं भन्ने हो । कसरी मुलुकको पनि सहज हुन्छ भन्ने कुरा हेरेर हामी अघि बढ्छौं । हामी  एमाले गठबन्धनको हेरेर वा कांग्रेस–माओवादीको प्रस्ताव हेरेर मात्रै अघि बढ्छौं ।

एमालेसँग एकै ठाउँमा भएको कारणले एमाले यहाँहरूप्रति नरम हुने र गठबन्धनले पनि सहयोग गर्ने कतिको सम्भव देख्नुहुन्छ ?

कोशीमा सहमतिको सरकार बन्न सक्छ, बनाएर जान सकिन्छ । तर मेरै नेतृत्व चाहिन्छ भन्ने हठले त यहाँसम्म पु¥याएको त हो । नभए अस्ती गणतन्त्र दिवसको उपलक्ष्यमा वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आह्वान गर्नु भएकै थियो नि सहमतिको सरकार बनाएर जाउँ भनेर । तर भने माओवादीहरूलाई पनि अहिले नै मुख्यमन्त्री नबनी नहुने । कांग्रेसको दलको नेताको एक सुत्रीय हठ पनि मुख्यमन्त्री नै हुनुपर्ने छ नि त । वहाँहरूसँग बहुमत पनि छैन तर हठ पनि छ । त्यही हठले पिरोलेको छ । वहाँहरूको हठले सबै कुरा बिग्रिएको छ ।

सहमतिको सरकार चैं कस्तो खालको बन्दा स्थिरता आउला त ?

होइन यहाँ जसलाई मुख्यमन्त्री बनाएपनि हुन्छ । जसपाको एक सिट छ– वहाँलाई मुख्यमन्त्री बनाएर यसलाई स्थिरता दिउँ र बाँकी चलाएर जाउँ भन्दा पनि हुन्छ । समाजवादीलाई तँ सानो चारवटा सिट भएको भनेर नभनिकन उसलाई नै मुख्यमन्त्री दिएर सबैले सहयोग गरेर पनि हुन्छ नि । यसमा सबैलाई सहमति पनि हुनसक्छ वा, कसैलाई एकजनालाई मुख्यमन्त्री बनाऔं । 

तपाईं​ मुख्यमन्त्री बन्ने प्रस्ताव पनि आएकै थियो, के भइरहेको छ ?

म मुख्यमन्त्री बन्ने होस् वा अरु कोही व्यक्ति मन्त्रीहरूमा लुछाचुँडी नगरौं । त्यसमा पनि यो मन्त्रालयमा चैं कमाई हुन्छ भन्ने दृष्टिकोण राखेर हिंडेका पार्टीका मान्छे हेर्दा मलाई त घिन लागेको छ । केहि पत्रकारहरूले पनि मलाई भन्छन्– तपाँई मुख्यमन्त्री बनेर जाने हो ? भनेर । हामीले मुख्यमन्त्री चाहेको होइन । हामीले चाहेको भन्ने हो भने त यो सिस्टम नै कोल्याप्स भएर जाओस् भन्छौं । तर जनसेवामा जानका निम्ति संविधान परिवर्तन  नभइकन यही संविधानमा टेकेर जानुपर्ने भएको छ । त्यसैले हामी अहिलेसम्म सहभागी भएका हौं । 

सबै दल मिलेर राप्रपालाई पूर्णकाल मुख्यमन्त्री बनाएर जाँदा पनि त्यसलाई व्यवस्थापन गरेर हिंड्न हाम्रा एकसय एक क्षमतावान साथीहरू छन् । हामी सक्छौं । तर लुलु तपाईं आउनुस्, एक वर्षका लागि तपाईं बसिदिनोस् भनेर सिकारीले बिलो बाँडेको जस्तो ढंगले सत्तालाई लुछाचुँडी गरेर बाँड्ने कुरामा हामी सहभागी हुँदैनौं ।

भनेपछि चार वर्ष भाग लगाएर तपाईंहरू मुख्यमन्त्री नहुने ?

अहँ नहुने । त्यसले के गर्छ भने ब्यूरोक्रेसी अस्थिर हुन्छ । तपाईंलाई पनि थाहा छ कि ६ महिनापछि अर्को मान्छे मुख्यमन्त्री हुँदैछ भनेपछि आफ्नो इच्छा नभएका प्रशासकहरू या ब्यूरोक्रेसीका मान्छेहरू, ठेकेदारहरू आफ्नो अभिष्ट पूरा गर्नका लागि लाग्नेहरू अर्को मान्छेको चाकरी गर्नतिर लाग्छन् । यहाँ एक किसिमले पेनडाउन नै गर्न थाल्छन् ६ महिना पुगेपछि त । अनि काम कहाँबाट हुन्छ ? हामीलाई संकटको भूमरीमा पनि यहि अस्थिरताले हालेको हो । अस्ति केन्द्रमा प्रचण्डको सरकारले राप्रपा र एमालेको गठबन्धनसँग चेन्ज हुने बितिक्कै त यहाँ काम छाडे । कर्मचारी र ठेकेदारहरू त्यो हेरेर बसेका छन् । त्यसका कारण अब काम हुँदैन ।

त्यसो भए राप्रपाको भूमिका प्रतिपक्षमा पनि देख्न सकिन्छ ?

यो अवस्थामा त हामी सरकारमा हुनै सक्दैनौं । बरु हामी विपक्षमा बसेर सहयोग गर्न तयार छौं । ६ जनामात्रै विपक्षमा हुन्छन् भनेपनि अरुले सरकार बनाउन् न । हामी विपक्षको भूमिका राम्रो गरी निर्वाह गर्न तयार छौं । 

मुख्यमन्त्रीको प्रस्ताव चैं आएकै थियो ?

प्रस्ताव औपचारिक रुपमा आएको होइन । अनौपचारिक रुपमा आएको हो । त्यसै एसो मिलेर काम गरौं भनेर आएको हो । केही दिन अघि हामी केन्द्रीय अध्यक्ष राजेन्द्र लिंङ्देनको घर झापामा प्रदेश अध्यक्षसहित र संसदीय दलका ६ जना नै बसेर कसरी जाने भनेर मोटामोटी बाटो बनाएका छौं । वार्ताका लागि केन्द्रीय अध्यक्षले नै गर्ने भनेर जिम्मेवारी सुम्पेका छौ । अध्यक्षले भनेपछि कुराहरू अघि बढ्ने नबढ्ने हुन्छ । म फेरि लामो समयसम्म गिरीजाबाबुसँग हुर्किएको मान्छे हो । ‘अर्डर इ अर्डर’ जस्तो लाग्छ ।

राप्रपा नभएको खण्डमा अरु कसैलाई भनेर वचन नै पो दिएको छ कि ?

तपाईं​ले एमालेलाई भन्नु खोज्नु भएको होला, एमालेलाई वचन नै दिएको छ कि भन्ने फुत्काउन खोज्नु भएको हो भने त्यस्तो होइन । एमालेसँग हामीले अघिल्लो चोटीको चुनावमा पनि राजेन्द्र लिङ्देनको सिट र केपी ओलीको सिटमा एकअर्कामा सहयोग आदान प्रदान गरेका थियौं । नेताहरू सहकार्यमा हुनु भएकोले हाम्रो कुरा उहाँहरूलाई थाहा छ, हामीलाई वहाँहरूको थाहा छ । तर हामी एमालेभन्दा अलग हौं । मैले अस्ती नै मिटिङमा पनि भनें– तपाईंहरू हाम्रै भाई पार्टी जस्तो ढंगले नगरौं भनेर । हामीले हाम्रो इस्यू एजेण्डामा कुनै दख्खल भयो भने हामी तुरुन्तै जय नेपाल गरिदिन्छौं भनिसकेका थियौं । 

त्यसो भए माओवादीलाई चैं केन्द्रीय अध्यक्षले मुख्यमन्त्री स्वीकारेर जान्छौं भनेको हो त ?

त्यो त इन्द्रजीले भन्दै हिँडेको कुरा हो । भन्दै हिंडेको कुरामा सत्यता हुँदैन । वहाँले एक दुईपटक राजेन्द्र लिङ्देनलाई भेट्नु भयो । कोही मान्छे आएर मलाई सरकार बनाउन सहयोग गर्नु भन्दा मैले हुन्छ ल, त तपाईं अगाडि बढ्नुस् भन्ने त राजनीतिक उत्तर मात्रै हो । कोही मान्छेलाई ‘नो’ भनिदैन नि त । यसले भनेको कुरा हुँदैन भन्ने थाहा छ, र पनि ल हरौं न भनेर भनिन्छ । टारिन्छ नि त । धर्मराज युधिष्ठरले पनि यस्तो बेलामा ‘नरो वा कुन्जरो’ भनेर बोलेका थिए । त्यसैगरी नै इन्द्र आङ्बोले कुरा गरेका हुन् । 

अब के हुन्छ त ?

अब २१ गतेसम्ममा कसैले बहुमतको दाबी गर्ने अवस्था छैन । किनभने हामीहरूसँग केही ठोस कुरा भएका पनि छैनन् । फेरी हामी कुनै ललिपपमा फकिने पार्टी पनि होइन । सत्तामै नबसी पनि बाँचेका पार्टी हौं । अघिकांश त्यसरी नबसी नबाँच्ने पछि हुन्छन् । हामी हाम्रो हिसाबले अघि बढ्छौं । एक खालको जवाफ पनि दिइसकेका छौं ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x