वार्ता

म स्वतन्त्र बस्छु, एमालेमा फर्किने सम्भावना छैन

विष्णु विश्‍वकर्मा |
जेठ ६, २०७८ बिहीबार २०:९ बजे

एमालेका शक्तिशाली उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै स्वतन्त्र उम्मेद्वार डा. खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी भएका छन् । बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य बिहीबारको चुनावमा थापालाई पराजित गर्न देवकोटा सफल भए । देवकोटा कांग्रेस, माओवादी र एमाले माधवकुमार नेपाल पक्षको गठबन्धनबाट स्वतन्त्र उम्मेद्‍वारी दिएर पनि विजयी भएका हुन् । समसामयिक विषयमा राष्ट्रियसभा उपचुनावमा निर्वाचित देवकोटासँग इकागजका विष्णु विश्‍वकर्माले गरेको कुराकानीको सम्पादित अंश :

यो जितलाई कसरी लिनु भएको छ ?


जसरी सबैको प्रयासबाट संविधान जारी भयो । त्यसैगरी संघीयता लागू भयो । तर यसका लागि ‘जनयुद्ध’ भयो । जनआन्दोलन भयो र मधेस आन्दोलन भयो । धेरै संघर्ष भयो । तर यतिका धेरै बलिदानले आएको संघीयता राम्रोसँग कार्यान्वयन भइरहेको थिएन । संविधानमाथि प्रहार भएको छ । संघीयता कार्यान्वयनमा ‘कन्ज्युस्याईं’ भइरहेको छ । यसविरुद्ध जसरी दलहरू एक भए । नेताहरु एक भए । संघीयता पक्षधर र संविधान मान्‍ने शक्ति एक भए । त्यसकै निम्ति मेरो उम्मेद्वारी थियो । कांग्रेस, माओवादी, जसपा र एमालेको पनि मतले पनि जित्‍न सफल भएको छु । यो जित मेरो मात्रै होइन, संघीयता चाहनेको, संघीयताको पक्षमा लागेका सरोकारवाला, नागरिक समाज, पत्रकार सबैको जित हो भनेर बुझेको छु ।

राष्ट्रियसभामा तपाईंको भूमिका कस्तो हुन्छ ?

राष्ट्रिय सभामा मेरो प्रमुख मुद्दा भनेकै स्थानीय तहका जनप्रतिनिधिको एजेन्डा उठाउने हो । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिन ‘कन्जुस्याईं’ गरेको छ । त्यसका विरुद्ध बोल्छु । प्रदेश र स्थानीय तहलाई अधिकार दिलाउन अधिकतम प्रयत्‍न गर्छु । त्यसविरुद्ध आवाज उठाउँछु । मैले मेरा लागि होइन, सबै राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधिको आवाज उठाउने हो । त्यसैका लागि मलाई जिताइएको हो ।

अब एमालेमा फर्किनुहुन्छ कि स्वतन्त्र नै बस्‍नुहुन्छ ?

म कांग्रेस, माओवादी, जसपा र एमालेकै पनि साझा प्रतिनिधि हो । एमालेको भोट नपाएको भए मैले जित्‍न गाह्रो पर्थ्यो । कांग्रेस र माओवादीले साझा उम्मेदवार बनाउनु भयो । त्यसैले म कुनै एउटा पार्टीमा रहेर सबैको साझा आवाज उठाउन सक्दिनँ । त्यसकारण म एमालेमा फर्किन सक्दिनँ । एमालेमा फर्किने कुनै सम्भावना छैन । स्वतन्त्र नै बस्छु । मेरो आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्छु ।

अन्तिममा के भन्‍नु हुन्छ ?

धेरैको बधाई र शुभकामना आइरहेको छ । अब यसलाई कायम राखेर सबैको साझा मुद्दाको सम्बोधनका लागि संघर्ष गर्नुपर्ने चुनौती हो । जसरी सबै दलले मलाई विश्‍वास गरेर मलाई भोट दिएर जिताउनु भएको छ । यो ठूलो चुनौती र अवसर हो । संविधानमाथि प्रहार हुँदा पनि मलाई भोट दिइएको हो । अब संविधान र संघीयता दुवै बचाउनुछ । संघीयतालाई थप विकसित मोडलमा लैजानुछ । संघीयता कार्यान्वयनमा सबै इमान्दार बन्‍नुपर्छ । सबैले संविधानअनुसार काम गर्नुपर्छ । त्यसका लागि आवाज उठाउनुपर्छ । म इमान्दार भएर जनप्रतिनिधिको आवाज उठाउँछु ।

र, यो पनि...

यो चुनाव ‘गर या मर’को अवस्था हो, स्वतः जित्छु


Author

थप समाचार
x