वार्ता

संवार्ता

अब पार्टीमा बाहुबली, धनबली, सत्ताको रवाफ चल्दैन, चल्न दिइँदैन

फोटो : अनुज बज्राचार्य

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको स्पर्धामा डा. शेखर कोइरालाको हार भए पनि उनको सवाल भने सदर भएको विश्लेषण गरिँदै छ । अघिल्लो महाधिवेशमा महामन्त्रीमा उठ्ने तयारी गरिरहेका उनले डा. शशांक कोइरालाका लागि ब्याक हुँदै केन्द्रीय सदस्यमा उम्मेदवारी दिए र सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भए । उति बेलैदेखि उनले सभापतिको तयारीस्वरूप देशदौडाहा सुरु गरे तर उम्मेदवारी दिने अन्तिम क्षणसम्म उनी सभापतिमा उठ्ने कि नउठ्ने, निश्चय थिएन । वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टीका संस्थापक गणेशमान-बीपीका पुत्राधिकारी नेता प्रकाशमान सिंह र महामन्त्री शशांक कोइरालाको सहयोग उनलाई अन्तिमसम्म मिलेन । सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले पनि नेतृत्व परिवर्तनको नारा बिसाएर शेरबहादुर देउवालाई सहयोग गरे । दोस्रो चरणमा एक्लिएको जस्ता देखिएका तर डेढ सय मत बढाएका शेखर सभापतिमा आफू पराजित भए पनि पुस्तान्तरण र रूपान्तरणको नारामा आफू आंशिक सफल भएको बताउँछन् । अब फेरि बीपीको मूल दर्शन सम्झिँदै गाउँगाउँ फर्किने योजना साटेका शेखरले वर्तमान गठबन्धन सरकारलाई चुनावसम्म लानुपर्ने तर चुनावमा भने कांग्रेसले अरु दलसँग भागबण्डा मिलाउन नहुने पक्षमा आफू रहेको बताए । शुक्रबार दिउँसो बालुवाटारमा इकागजका विमल आचार्य, दुर्गा आचार्यअनिष भट्टराईका प्रश्नको खुलेर जवाफ दिएका उनले आफू भागबण्डाको राजनीतिबाट टाढा रही पार्टी निर्माण, देश निर्माण र युवाको प्रेरणाका लागि खटिरहने बताए । महाधिवेशन र त्यसको आत्मसमीक्षा, पुस्तान्तरण र रूपान्तरण, समाजवाद-स्वास्थ्य व्यापार, एमसीसी-छिमेक सम्बन्ध, गाउँगमनको अनुभव, गठबन्धन सरकार र आगामी निर्वाचन, धर्मनिरपेक्षता र भ्रष्टाचारका काण्डैकाण्डबारे उनले जवाफ दिए । अनि महाधिवेशनमा आफ्नाहरूका भूमिकाबारे त कुराकानी चल्ने नै भयो । पस्किन्छौँ, डा. शेखरसँगको संवार्ता :

हाम्रा प्रश्नभन्दा पहिला तपाईंका आफ्नै प्रश्न सुनौँ न, आफैंले आफैँलाई कस्ता प्रश्न सोधिरहनु भएको छ ? 
प्रश्न सोध्ने, विश्लेषण गर्ने जिम्मा तपाईं पत्रकार विश्लेषकहरूकै हो । तर, म प्रश्न बोकिहिँडिरहने सामान्य राजनीतिक कार्यकर्ता नै हुँ । सभापतिमा उम्मेदवारी पनि मेरो एउटा प्रश्न नै हो । अब हामी कसरी अघि बढ्ने ? दल र देश रूपान्तरणको बाटो के हो ? यस्तै प्रश्न छन् मसँग ।


आफैँलाई जवाफ के छ ? 
अब हामी प्रश्नको जवाफ खोज्नतिर लाग्छौँ । सहरमा बसेर आफूआफू बसेर हैन, आम कार्यकर्ता पंक्ति-शुभेच्छुकहरूसँग संवाद गर्छौँ, भेटघाट गर्छौँ, सोधपुछ गर्छौँ । जवाफ उहाँहरूले नै दिनुहुन्छ । पुस्तान्तरणको जवाफ दिइसक्नुभएको पनि छ । महामन्त्री, उपसभापति, सहमहामन्त्रीमा भरोसायोग्य युवाहरू आउनुभएको छ । पार्टी रूपान्तरणका पक्षमा यो नै प्रतिनिधिहरूको उपयुक्त जवाफ हो । थप विश्लेषण त चलिरहन्छ, यो आजको आज नै स्पष्ट त हुँदैन ।

यो महाधिवेशनलाई तपाईंले कुन अर्थमा जित र कुन अर्थमा हार मान्‍नुभएको छ ? 
निर्वाचन त हारिहालियो । गणितमा मेरो हार भयो । म पराजय सहर्ष स्वीकार गर्छु । निर्वाचित सबै साथीहरूलाई मेरो बधाइ छ । तर मैले लिएको राजनीतिक एजेन्डा-पुस्तान्तरणसहितको रूपान्तरणमा म सफल भएँ । यसलाई म अघि बढाउँछु ।

अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत १८४८ मत ल्याउनुभयो । यो साढे पाँच वर्षमा तपाईं गाउँगाउँ जानुभयो, तर पनि अहिले त ७ मत मात्र बढी १८५५ मत पाउनुभयो । यत्रो वर्ष डुलेर ७ जना मात्र भेट्नुभयो कि क्या हो ?
(हाँस्दै) महाधिवेशन प्रतिनिधिहरूले पत्याएनन् भन्‍नुपर्‍यो अब । 

तपाईं गाउँगाउँ पुग्दाका खासखास अनुभव के थिए ? 
गाउँमा साथीहरूले मलाई अत्यन्त माया गरेको पाएँ । म सधैं मुद्दा बोकेर हिँडेँ- गाउँका, सहरका, राष्ट्रका मुद्दा बोकेर गएँ । यसलाई मैले फैलाउने कोसिस गरेँ । तर, अहिले महाधिवेशनमा यत्रो सरकारको राज्य सत्ता, स्रोत, शक्ति सबैको प्रयोग भएको छ, तपाईंहरूलाई त थाहै होला । 

हिजो पुस १ । राजा महेन्द्रले दुई तिहाइको बलमा चुनिएका प्रधानमन्त्री बीपीलाई गलहत्याएर प्रजातन्त्र खोसेको दिन । बीपी त्यतिबेला ४५ वर्षका र हिजै नतिजा घोषणा भएअनुसार झन्‍नै दुई तिहाइ मत पाएर महामन्त्री चुनिएका गगन थापा पनि ४५ वर्ष नै । मिति र उमेर, यी संयोगका कुरा भए । तर, पुस १ मा बीपीलाई आफ्नै साथीहरूबाट धोका भएजस्तै तपाईंलाई पनि अन्तिममा धोकै भयो नि, हैन र ?  
धोका नभनौँ, प्रतिस्पर्धामा त्यो स्वाभाविक हो । पार्टीमा सबै किसिमका मानिस हुन्छन् । उनीहरूले आफ्नो सोच बनाएका हुन्छन् । हाम्रो काम मिलाएर लैजाने हो । मैले त युवालाई नै अघि बढाउन खोजेको हुँ । सक्दो प्रयास गरेँ । तर कतैकतै के हुने रहेछ भने, मेरै उम्मेदवारी पनि अप्ठेरो परिस्थितिमा आएको थियो । राति ११ बजेसम्म मेरो उम्मेदवारी पक्का थिएन, भोलिपल्ट निर्वाचन थियो । तर, जे भएको छ, सबै राम्रो भएको छ । धनराज, गगन, विश्वप्रकाशहरु पार्टी पदाधिकारीमा आउनु सुखद हो । बीपीकै उमेरमा पदाधिकारीमा आउनु संयोग मात्रै होइन, प्रतिनिधिहरूले पार्टी बिग्रेको छ र यो सुध्रिनैपर्छ भनेर दिएको स्पष्ट सन्देश हो । 

तपाईंले ‘एकै पटक, यसै पटक’ भन्‍नुभएको थियो । आउने महाधिवेशनमा तपाईं के गर्नुहुन्छ ?
त्यतिबेलाको परिस्थिति कस्तो हुन्छ, साथीहरू के भन्‍नुहुन्छ, म त्यसैअनुसार अघि बढ्छु । म अब फेरि जनताकहाँ पुग्छु । म जनतालाई फेरि जगाउँछु । जसले मलाई मत दिएनन्, उनीहरूले के कारणले शेरबहादुरजीलाई मत दिनुभयो, बुझ्छु । म मेरा कमीकमजोरी पनि थाहा पाउन चाहन्छु, प्रश्न गर्छु । अबका चार वर्ष अरु कुरा मलाई गौण छन् । म जनताकहाँ पुग्छु । मलाई ती मानिसको मत चाहिएको छ, जसले शेरबहादुरजीलाई मत दिए । 

फोटो : अनुज बज्राचार्य

कांग्रेसमा ४०/६० सुनिरहिन्थ्यो, तपाईंले अहिले ४० प्रतिशत मत पाउनुभएको छ, अब तपाईं पार्टीमा ४० प्रतिशतको भागबन्डा पाउने गुटको नेता हो ? आफ्नो संकल्पपत्रमा गुटउपगुट अझ गिरोह नै शब्द प्रयोग गरेर त्यो सब अन्त्य हुनुपर्छ भन्‍नुभएको छ, के गर्नुहुन्छ अब ? 
म भागभन्डामा लाग्दिनँ । अस्ति धन्यवाद भन्दा नै पत्रकार सम्मेलनमा पनि भनेका छौं । मैले मात्र होइन, महामन्त्री गगनजीले पनि भन्‍नुभएको छ । जो मानिस पार्टीमा लागिराखेको छ, त्यो मानिसलाई अवसर दिनुपर्छ । पार्टीभित्र विधानले सभापतिलाई जे अधिकार दिएको छ, त्यसबाहेक उहाँले दायाँबायाँ गर्न पाउनुहुन्‍न । विगत ४/५ वर्ष त विधान नै नहेरी उहाँ हिँड्नुभयो । अब पहिलाको जस्ता मौन-साक्षी पदाधिकारी रहँदैन । सबैले सभापतिको काम चेक गर्छन् । 

पदाधिकारीमा आउने युवाहरू पहिलो पटक निर्वाचित भएर आउनु भएको छ । पदाधिकारी चलाएको अनुभव तपाईंसँग र अहिले आउनुभएका धेरै युवासँग पनि नभएको हुँदा सोचे जति सजिलो र परिणाममुखी प्रभाव नहुने हो कि ? 
त्यसो हैन । अहिलेका सभापतिजीले ६०, ५५ वर्ष राजनीति गरेर पार्टीलाई कहाँ पुर्याउनु भयो त ? अहिले पार्टी कहाँ छ ? अनुभवले मात्र त नहुने रहेछ नि । पार्टी खोज्‍नुपर्ने अवस्था छ कि छैन अहिले ? उहाँ अब दोस्रो इनिङ्समा जाँदै हुनुहुन्छ ।

रामचन्द्रजी र शशांकबाट मैले जे आशा गरेको थिएँ, त्यो पाइनँ

एकातिर तपाईंहरू भन्‍नुहुन्छ, युवा चाहियो भनेर । धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गगन थापाले त २०/३० वर्ष त पार्टीमा लगानी गरिसके नि । सबैभन्दा कान्छो त गगन थापा नै होला, उसले पनि २० वर्ष त पार्टीमा काम गरिसक्यो नि । उनीहरूको अब अनुभव नै हुँदैन ? मलाई विश्वास छ, उनीहरूले काम गर्न सक्छन्, र गर्छन् पनि । 

तपाईंलगायत तपाईंतिरका नेताहरू भन्दै हुनुहुन्छ, अब यो गठबन्धनलाई धेरै अगाडि लैजानु हुँदैन भनेर । निर्वाचनमा एक्लै जानुपर्छ भन्‍नलाई हतारो किन हो ?  
के बुझ्नुपर्छ भने आमनिर्वाचनमा अब हामी जाँदै छौं । निर्वाचनमा जाँदा गठबन्धनलाई नै लिएर गए, त्यो स्वीकार्य हुँदैन । यसको माने यो होइन कि, हामी केही एडजस्टमेन्टका लागि तयार नै छैनौं । तर माओवादी, एकीकृत समाजवादी, जसपालाई २०/२० सिट छाडिदिने हो भने नेपाली कांग्रेसले के लिने ? नेपाली कांग्रेस पनि उहाँहरूको जस्तै पार्टी बन्‍ने ?

गठबन्धनकै नेतृत्व गरेर शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । के अहिले नै गठबन्धन छाड्नुपर्छ, सरकार पनि छोड्नुपर्छ भन्‍ने पनि हो कि ?
होइन, होइन । हामी यो गठबन्धनलाई निर्वाचनसम्म बलियो आड दिएर जानैपर्छ  । यसलाई निर्वाचनसम्म कसरी बलियो बनाएर लैजानुपर्छ भन्‍ने मात्र हो । निर्वाचनमा त यो रहनु हुँदैन । निर्वाचनसम्म भने बलियो तरिकाले लैजानुपर्छ । किनभने सर्वोच्च अदालतले दिएको निर्णयले नै सभापतिजीलाई प्रधानमन्त्री छोड्न रोक्छ नि । उहाँले चाहेर पनि अरु दललाई पन्छाउन सक्नुहुन्‍न । 

अब कांग्रेस एक्लैले बहुमत ल्याओस् भन्‍ने चाहना बुझियो । अनि संसदीय दलको नेता चुनिएर प्रधानमन्त्री हुने लाइनतिर पो हो कि क्या हो ?
सबै मानिसको कहीँ न कहीँ पुग्ने इच्छा हुन्छ । मैले कोसिस गरें, पार्टी सभापतिमा सफल हुन सकिनँ । पार्टीमा अरु फाँटहरू पनि छन् । त्यहाँ पनि कोसिस गर्ने हो । मान्छेले यहाँ पुग्छु भनेर राजनीति गर्ने होइन । कोसिस गर्दैगर्दै पुग्ने हो । मलाई त भन्थे त ३६ नम्बरको केन्द्रीय सदस्य, कसरी सभापतिमा उठ्दो रहेछ, हेरौंला भनेर । आखिर म त उठेँ । सम्मानजनक मत आएको छ । ४० प्रतिशत मत पाएँ त । तर, यत्ति भन्छु- राजनीतिमा मेरो सक्रियता लोभलाभका लागि होइन, नेपालीको खुसीका लागि हो । 

फोटो : अनुज बज्राचार्य

तपाईंले आफ्ना भनिएकाबाट समेत खासै सहयोग पाउनुभएन, कसरी समीक्षा गर्नुहुन्छ ?
मैले जुन आशा रामचन्द्रजी र शशांकबाट गरेको थिएँ, त्यो पाइनँ । रामचन्द्रजीले विवेक प्रयोग गर भन्‍नुभयो । शशांकले म सहयोग गर्छु भनेर मात्र हुँदैन थियो, सार्वजनिक रूपमै आउनुपर्थ्यो । त्यो पनि भएन । किन सहयोग पाइनँ ? त्यो त अब उहाँहरूलाई नै सोध्‍ने हो । 

अघिल्लो महाधिवेशनमा आफू केन्द्रीय सदस्यमा बसेर सभापति र महामन्त्रीमा सहयोग गरेका रामचन्द्र पौडेल र शशांक कोइरालाबाट यस्तो पनि हुन सक्छ भन्‍ने कतै पहिल्यै अनुमान पनि थियो कि एकदम अनपेक्षित, अप्रत्याशित भयो यहाँका लागि ? 
मलाई त उहाँहरूले पूरा सहयोग गर्नुहुन्छ भन्‍ने विश्वास थियो, उम्मेदवारी दिइसकेपछि । मलाई भनेर भएन, उहाँहरूले त पत्रकार सम्मेलन नै गरेर सहयोग छ भनेर भन्‍न सक्नुहुन्थ्यो । दोस्रो चरणमा त उहाँहरू मत नै दिन आउनु भएन, अब आफैं बुझ्नुस् न । 

सभापतिका उम्मेदवारद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि दोस्रो चरणमा सहयोग गर्ने भन्‍नुभएको थियो हैन र ?  
त्यो त हाम्रो निर्णय नै भएको थियो, तेस्रो र चौथो हुनेले दोस्रो हुनेलाई सहयोग गर्ने भनेर । यसमा धेरै छलफल भएको थियो । सार्वजनिक रूपमा पनि उहाँले सहयोग गर्ने नै भन्‍नुभएको थियो । उहाँहरूको नारा पनि पवित्र थियो, वर्तमान नेतृत्व परिवर्तन हुनैपर्छ, अनि मात्र नयाँ कांग्रेस बन्छ भन्‍ने कुरा नै सधैँ गरिरहनुभएको थियो उहाँहरू । 

‘नेतृत्व नयाँ हुनैपर्छ’बाट ‘नयाँ नेतृत्व हुनैहुँदैन’ भन्‍नेमा उहाँहरू अचानक कसरी पुग्‍नुभयो त ? 
म यसको कारण भन्‍न सक्दिनँ, उहाँहरूलाई नै सोध्नुहोस् । 

पार्टी वैचारिक हिसाबले अहिले कहाँ देख्नुहुन्छ ?
वैचारिक हिसाबले अहिले नेपाली कांग्रेस कतै नै छैन । कुनै विषयमा नै छलफल हुँदैन । विश्वमा यति घटना घटेका छन्, नेपालमै घटेका छन् । ती विषयमा छलफल भएर न निचोड निस्कने हो । हामी त कस्तो भयौं भन्दा, पार्टी नेतृत्वले विधान विपरीत निर्णय गरेर फेसबुकमा हालिदिन्छन्, त्यो पढेर मान्‍नुपर्ने अवस्था आएको छ ।

नैतिकता नभए राजनीति नगरे हुन्छ ।

अब हामी त्यसको अन्त्य गर्छौं । यो पाँच वर्षमा त छलफल नै भएको छैन नि । दण्डहीनता, आर्थिक मुद्दा, परराष्ट्रका कुरा छन् कुनैमा पनि छलफल हुँदैन । छलफल गर्दा नेतृत्वलाई चित्त नबुझे यसरी जाऔं भनेर भन्‍न सक्छन् तर छलफल नै नभई त त्यसरी गर्नुहुन्थेन नि । 

कूटनीतिको कुरा झिकिहाल्नु भयो । अहिले उही एमसीसीको विषय प्रधान बनेको छ, यसमा तपाईंको धारणा के हो ?
एमसीसीमा त पार्टीभित्र त्यति छलफल भएको छैन । बाहिर भने नेपाली कांग्रेसका केन्द्र्रीय सदस्यले गहन छलफल गरेका छन् । म एमसीसीको विरोधी होइन । तर केही संशोधन गरेर गर्नुपर्छ, त्यसका लागि छलफल गरौं । संसद्ले गर्ने निर्णय हो, कसरी पास हुन्छ, थाहा छैन । एमसीसी पास त गर्नैपर्ने हुन्छ । 

फोटो : अनुज बज्राचार्य

हाम्रा छिमेकीसँग चाहिँ कस्तो सम्बन्ध हुनुपर्छ भन्‍ने लाग्छ ?
सबैसँग राम्रो सम्बन्ध राखेर अघि बढ्ने हो । नत्र त हामीसँग कुनै बाटो नै छैन नि । जति जे सुकै भने पनि भूपरिवेष्ठित राष्ट्र हो, हामीले छिमेकीसँग राम्रो सम्बन्ध राखेर बढ्नुपर्छ । तर राम्रो सम्बन्ध भन्दैमा त्वम शरणम् पनि होइन । 

तपाईंलाई भारतसँग अलिक नजिकको नेता पनि भन्दा रहेछन् नि ?
होइन (हाँस्दै) । मानिसले के भन्छन् भन्‍नेतिर नलाग्नुस् । म राष्ट्रिय हित हेरेर काम गर्छु, जहिले पनि । सानासाना कुरामा हामीले धेरै अप्ठेरा व्यहोरेका छौं । त्यसलाई कसरी व्यवस्थित गरेर अघि बढ्ने भनेर हामी आफैँ मिलाएर लैजानुपर्छ । जे सुकै भने पनि झगडा पर्ने छिमेकीसँग नै हो । तर त्यो झगडालाई कूटनीतिकै माध्यमबाटै समाधान गर्नुपर्छ । आजको भोलि नै समाधान नहुने विषय पनि छन्, नेपाल-भारतबीच । ती समस्यालाई छलफल गर्दैगर्दै समाधान गर्ने हो ।

निर्वाचनमा जाँदा गठबन्धनलाई नै लिएर गए, त्यो स्वीकार्य हुँदैन ।

आज नहोला, भोलि नहोला, पाँच वर्ष लाग्ला, १० वर्ष लाग्ला, बहसबाट नै समाधान गर्ने हो । अनि यहाँ कसैलाई कुनै देशको, कसैलाई कुनै देशको भनिदिन धेरै सजिलो छ, भनिदिए पुगेको छ, पुष्टि गर्नुपर्दैन । र, नचाहिने, हुँदै नभएको कुराको प्रतिवाद गर्दै हिँड्न, धेरै बोल्न पनि मेरो संस्कार, संस्कृति र स्वभावले उपयुक्त लाग्दैन । जवाफ बोलीले भन्दा पनि कर्मले दिँदै जाने हो । 

तपाईंको पार्टीमा धर्म निरपेक्षतालाई पुनर्विचार गर्नुपर्छ कि भन्‍ने आवाज पनि सुनियो । पुनर्विचारमा यहाँको विचार के हो ? 
धर्म निरपेक्षता संविधानमै उल्लेख छ । प्रलोभनमा पारी धर्म परिवर्तन गराउनु दण्डनीय हुन्छ भनेर लेखिएको छ । संविधानमा भएका कुरा किन अक्षरश: पालना हुँदैन ? सबैलाई आआफ्नो धर्म मान्‍ने, आफ्नो संस्कार, संस्कृति पालना गर्ने बराबर हक छ । लोभ देखाएर कसैले कुनै धर्म ठूलो-सानो भन्‍नु अपराध हो । राज्यको धर्म हुँदैन भन्‍ने त सबैले बुझेका छन् । म हिन्दू संस्कारमा हुर्केको हुँ । अर्को कुनै अर्को संस्कारमा होला । संविधानमा जे छ, त्यसलाई टेकेर जानुपर्छ । 

फोटो : अनुज बज्राचार्य

संविधानसभाबाट संविधान दिन सफल प्रधानमन्त्री सुशील कोइरालालाई दोस्रो पटक प्रधानमन्त्री उठ्न शेखर कोइरालाकै धेरै जोडबल थियो भन्‍ने छ नि ? अलि पुरानो प्रसंग भए पनि यहाँलाई सम्झना पक्कै होला ।  
सम्झना किन नहुनु, पूरापूर छ । तर, जे सुन्‍नुभयो, एकदम गलत । एकदम गलत । गलत । मैले रामचन्द्रजीलाई उठ्नुस् भनेँ । सुशील दालाई पनि दा तपाईं नउठ्नुस्, रामचन्द्रजीलाई उठाऔं भनेर भनेको हुँ । राति ९ बजेसम्म मैले यो भनेको थिएँ । ९ बजे कमल थापाजी आउनुभयो अनि म उठेर हिँडेको हुँ । गइसकेपछि रामचन्द्रजीले आफ्नो उम्मेदवारीका लागि तयारी गर्नुस् भनेर फोन गर्नुभयो । तर भोलिपल्ट त त्यसो भएन । मलाई थाहा भएन, त्यो कसरी भयो । मैले सुशील दालाई बालुवाटारको ठूलो हलमा भनेको थिएँ, ‘तपाईं उम्मेदवार नबन्‍नुहोस् । तपाईं संकटमा पर्दै हुनुहुन्छ, अहिले रामचन्द्रजीलाई छाडिदिनुहोस् ।’ 

आफ्नो संकल्पपत्रमा पार्टीमा बाहुबली, धनबली बढी भयो, त्यो रोक्छु भन्‍नुभएको थियो । महाधिवेशनपछिको पार्टी कमिटीलाई लिएर कति आशावादी हुनुहुन्छ ?
अस्तिका पदाधिकारी र आजका पदाधिकारीका अनुहार हेर्नुभयो भने पुगिहाल्छ । अहिलेका पदाधिकारीले चेक गर्दैनन् ? त्यही बाहुबली, धनबली रोक्न नै त हामीले रूपान्तरणका कुरा गरेको नि ।

फोटो : अनुज बज्राचार्य

अलिकति फरक प्रसंग । धोका पाउनुभयो तर गद्दार भनेको कतै सुनिएन । अनि एकअर्काविरुद्ध व्यक्तिगत तहमा गालीगलौज गरेको, वहालवाला सभापतिका कमी कमजोरीको लिस्ट बाँडेको, यो यो नेतालाई मत नदिनु भनेको पनि खासै देखिएन । कतिपय कम्युनिस्ट पार्टीमा झैँ लामालामा चिठी, लेखमार्फत कडा आलोचना-प्रत्यालोचनामा किन जाँगर नचलेको ? कांग्रेसी पढ्दैनन् भन्‍ने कुरा पनि यसमा जोडिन्छ कि ?
राजनीतिमा नैतिकता भन्‍ने कुरा हुनुपर्छ । नैतिकता नभए राजनीति नगरे हुन्छ । म जुन परिवारबाट आएँ, त्यो परिवारले मलाई केही न केही संस्कार दिएको छ । कम्युनिस्टहरू व्यक्तिगत लाञ्छना लगाउँछन् । तर हामीले कहिल्यै व्यक्तिगत लाञ्छना लगाएको देख्नुभएको छ ? छैन नि ? गर्नु पनि हुँदैन । मेरो र मेरो पार्टीको संस्कार र नैतिकताले दिँदैन पनि । 

तर निर्वाचनमा जाँदै गर्दा नेतृत्वका गल्ती यी यी भए भनेर स्पष्ट नभन्‍नु पनि संस्कारभित्रै पर्ने कुरा हो ? 
भनेको छ नि । किन नभन्‍नु ? आइजीपी काण्ड, ललिता निवास जग्गा प्रकरण, सुशीला कार्कीलाई महाअभियोग, वाइडबडी विमानका कुरा, प्रतिपक्षमा रहेका सत्ताको लाभ लिने कुरा, उठाएका छौं त । 

ललिता निवासको कुरा उठिहाल्यो । सुवर्ण शमशेर, नेपालको पहिलो अर्थमन्त्री, कांग्रेस पार्टीको एक संस्थापक जसको ललिता निवास पछि राज्यको भयो, पछि एक अर्थमन्त्री त्यही निवास लिएको कुरामा विवादित बन्‍नुभयो । मैले विम्बमा प्रश्न सोध्न आँटेको ‘ललिता निवास टु ललिता निवास’ अर्थात् राज्यको स्रोतसाधन निजी बनाउने, कहीँ बाँकी नराख्‍ने, कौडीको भाउमा कुनै घरानालाई सुम्पिने, यस्तो चलनप्रति तपाईंको विचार के छ ? 
ठीक भन्‍नुभयो । आर्थिक विचलन र भ्रष्टाचारका मुद्दा त धेरै नै छन्, सुनाइसाध्य नहुने भएको छ । सुनाउँदा सुनाउँदै थाकिन्छ । भ्रष्टाचार कसरी रोक्ने भन्‍ने बहस र प्रश्न त मिडियाले पनि गर्छ, गरिरहेको छ । त्यसैले स्वतन्त्र प्रेसलाई पनि कतिपयले आफ्नो बाधाका रूपमा लिएका होलान् । हामी भ्रष्टाचारबारे बोलिरहेका छौँ । सँगै न्यायपालिका पनि छ, भ्रष्टाचारीलाई फैसला गर्ने न्यायालय स्वयं प्रश्नको घेराभित्र छ । यो धेरै दुखद् छ । अख्तियार आयोग त झन् साना मान्छेलाई मात्र लाग्ने रहेछ । कोही ठूला मान्छे मुद्दामा परेका छैनन्, के उनीहरूले गलत केही गरेकै छैनन् त ? विदेशमा पूर्वराष्ट्रपति, पूर्वप्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्री नै भ्रष्टाचार पुष्टि भएर जेलमा परेका छन् । सबभन्दा बढी भ्रष्टाचार शासन र प्रशासनको सर्वोच्च, उच्च तहबाट हुन्छ तर विडम्बना उसकै अनुसन्धान हुँदैन ।

प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेको पराजयमा यहाँले क्षमा त मागिसक्नुभयो तर खासमा गल्ती भएको कसरी हो ?  
गुरुराजजी हार्नुभयो । मलाई धेरै दु:ख लागेको छ । क्षमा पनि मैले मागिसकें । क्षमा मागेर ट्विट पनि गरेको छु । यसमा ममात्र होइन, अरु केन्द्रीय सदस्यले पनि निर्वाचन समितिलाई पटकपटक सोधेका हौँ । दुइटा जवाफ आउँछ । कहिले जवाफ आउँछ, मत दिनुहोस् । फेरि जवाफ आयो, ‘भो दिन पाउनुहुन्‍न ।’ निर्वाचन समितिमा वरिष्ठ वकिलहरू हुनुहुन्छ, उहाँहरूले गलत जवाफ दिनुभयो । अनि म के गर्ने ?

फोटो : अनुज बज्राचार्य

तपाईं त अब संस्थापनइतरको नेता हुनुभयो है ? भागभन्डातिर लाग्दिनँ भन्‍नुभयो, संरक्षण नपाउने भएपछि तपाईंको टिम तितरवितर हुँदैन यसरी ? 
होइन, त्यसरी नहेर्नुहोस् । भागभन्डा पो हामी गर्दैनौं । सभापतिले विधानसम्मत भएर गर्ने काममा हामी बोल्दैनौं । उहाँका अधिकारका कुरालाई किन कुण्ठित पार्ने ? भोलि अब तीन तहको निर्वाचन हुन्छ, त्यसमा हामी भागभन्डा मान्दैनौं । जो सक्षम छ, जो जित्न सक्छ, उसलाई मात्रै टिकट दिन्छौं । पहिलापहिला धनबल भएकाहरूले टिकट पाउँथे । हामीलाई अरुचिकर हुन्थ्यो । त्यस्ता व्यक्तिहरू अब पाखा लाग्छन् । अब पार्टीमा बाहुबली, धनबली, सत्ताको रवाफ चल्दैन, चल्न दिइँदैन । 

तपाईंको पार्टी पनि बीपीको समाजवादी । समाजवादी नाम र नाराकै पार्टीको बाहुल्य छ । संविधानमै देशलाई समाजवादउन्मुख भनिएको छ । तपाईं स्वयं चिकित्सक पनि हुनुहुन्छ । स्वास्थ्य र शिक्षामा भएको अपार मुनाफाको खेल सँगसँगै राखेर आफूलाई समाजवादउन्मुख भन्‍ने हामी कस्ता प्राणी हौँ ? 
शिक्षा र स्वास्थ्यमा राज्यको लगानी धेरै हुनुपर्छ । जति हुनुपर्ने हो, त्यति छैन । देख्दा त लगानी छ जस्तो लाग्छ, तर छैन । विद्यालयका भौतिक शैक्षिक पूर्वाधारमा राज्यले धेरै सहयोग गरेको मैले देखिनँ । म जिल्लाजिल्ला, गाउँगाउँ जाँदा सार्वजनिक शिक्षा र स्वास्थ्यको बिजोग देखेको छु । गणतन्त्रपछि शिक्षा र स्वास्थ्य मन्त्रालय माओवादी, कम्युनिस्टले नै बढी चलाएका छन् । उहाँहरूलाई सोध्नुहोस्, सार्वजनिक शिक्षा र स्वास्थ्य कमजोर पार्ने तपाईंहरू कस्तो कम्युनिस्ट, कस्तो समाजवादी भनेर । म प्राइभेट विद्यालयको विरोधी होइन । तर प्राइभेट जत्तिको सरकारले बनाउन सक्नुपर्‍यो नि, किन सकिरहेको छैन ? सरकारी अस्पतालहरू कस्तो अवस्थामा छन् । किन देखिरहेको छैन ? ती अस्पतालको स्तरोन्‍नति गर्न के बाधक भइरहेको छ ? शिक्षा र स्वास्थ्य राज्यको दायित्वमा पर्छन् । राज्यको जिम्मेवारी हुँदैन ?

फोटो : अनुज बज्राचार्य

अनि सार्वजनिक शिक्षा स्वास्थ्यको विस्तार र सुदृढीकरणको लाइनमा डा. गोविन्द केसीको अभियानमा तपाईं कहाँ ? 
एउटा कुरा के बुझ्नुहोस् भने एउटा डाक्टर बनाउन कति पैसा लाग्छ ? प्राइभेट मेडिकल कलेज दिने अनि त्यसलाई सरकारले नियन्त्रण गर्ने भन्‍ने हुँदैन । कैलालीमा खोलोस्, इलाममा खोलोस् । सरकारले खोलोस् न, अनि पैसा पनि कम लिओस् न । म धरानमा काम गरेर आएँ । सरकारले पैसा दिँदैन अनि आफैँ चलाऊ है भनिदिन्छ । सरकारी हो नि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सरकारले पैसा दिएन । अनि कसरी चल्छ ? केही नलागेपछि हामीले पैसा बढाउनुपर्‍यो । सरकारको जिम्मा हो नि । अहिले जस्तो पोस्ट ग्य्राजुएसनमा सरकारले जिम्मा लिएको छ, त्यो राम्रो छ । तर मेडिकल कलेजहरूलाई प्राइभेट पनि खोल भन्छ अनि 
कसरी चल्छ त ? मुनाफा पनि नलिन भन्‍ने अनि चलाऊ पनि भन्‍ने ? अनि कसले चलाउँछ ? छिमेकी देशको अलिक बढी चर्चा हुन्छ यहाँ । त्यहाँ के छ भने मेडिकल कलेजहरूले निजी होस् वा सरकारी । ती कलेजसँग जोडिएका अस्पताल हुन्छन्, जहाँ सामान्य स्वास्थ्य सेवा नि:शुल्क हुन्छन् । यहाँ त ब्यान्डेज पनि किन्‍नुपर्छ । 

अब अन्तिममा, संसदीय चुनाव, पार्टीको चुनाव हार्नभयो । राजनीति मेरो लागि होइन रहेछ क्या हो भनेर थकाइ महसुस हुने भएको छैन ?
(हाँस्दै) मैले राजनीति थाक्नका लागि गरेको होइन । मेरो स्वास्थ्यले साथ दिएसम्म गरिरहन्छु । सत्ता मेरो प्राथमिकतामा कहिल्यै छैन तर म त्यसका लागि अयोग्य पनि छैन । अनि सबैभन्दा खुसीको कुरा, देश हाँक्ने युवाका लागि प्रेरणा बनिरहन पाउँदा मलाई सबैभन्दा आनन्द आउँछ ।



Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
ad
x