वार्ता

सम्‍झनामा चैत्र ३

साहित्यकार लेख्‍ने मात्रै गर्दैनन्, आन्दोलन पनि गर्छन्

आहुति |
चैत ३, २०७८ बिहीबार ८:५१ बजे

तीस वर्षसम्म टिकेको निर्दलीय पञ्चायती व्यवस्था निरंकुश व्यवस्था थियो । यो व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रताको कुनै गुञ्जायस थिएन । दलहरू प्रतिबन्धित थिए । नागरिक आवाज दमित थियो । त्यसको विरोधमा २०४६ चैत्र ३ गते केही लेखक–कलाकारहरूले मुखमा कालो पट्टि बाँधेर धर्ना बसे । त्यो विरोधले आन्दोलनमा सहभागी नभएको, हुन नसकेको तप्कालाई पनि झक्झक्याएको थियो । राजधानीमा भएको आन्दोलनको प्रभाव देशैभर रह्यो । आन्दोलनमा लेखकहरू पारिजात, युद्धप्रसाद मिश्र, आनन्ददेव भट्ट, खगेन्द्र संग्रौला, हरि अधिकारी, अरुणा उप्रेती आहुति, विमल निभा, स्नेह साय्मिलगातयका लेखक होमिएका थिए । आन्दोलनकारी सचेत जमातको सूची लामै छ, सूची बनाउने उद्देश्यले भन्दा पनि त्यो आन्दोलनको स्मरण–सम्मानका खातिर हामीले तीन जना स्रष्टासँग संवाद गरेका छौँ । आज ३२ वर्षपछि पनि आफ्नो स्मृतिमा मात्र होइन, भौतिकीमा समेत उस्तै आन्दोलनको मुडमा आहुति, हरि अधिकारीअरुणा उप्रेतीले इकागजका उपेन्द्र अर्यालसँग आफ्नो ‘चैत्र ३’ सम्झना साटेका छन् :

२०४६ चैत ३ मा कालोपट्टि बाँधेर गरिएको विरोध पञ्चायत विरुद्धको आन्दोलन थियो । त्यसबेला साहित्य र सांस्कृतिकर्मीहरूको दुईवटा धार थियो । एउटा वामपन्थी प्रगतिशील धार थियो । अर्को थियो, लोकतान्त्रिक वा प्रजातान्त्रिक धार । तिनीहरूको दर्शन, सोच्‍ने तरिका, सिद्धान्त फरक थियो । तर, पञ्चायती तानाशाहविरुद्ध लड्न सबैको मत मिल्थ्यो । पञ्चायतको विपक्षमा आन्दोलन पहिले नै सुरु भइसकेको थियो । त्यसको छाया सबैतिर परेको थियो । डाक्टरहरूले आन्दोलन सुरु गरिसकेका थिए । प्राध्यापकहरूले हड्ताल सुरु गरेका थिए । बिस्तारै त्यसको असर साहित्यकारहरूसम्म आइपुगेको थियो । 


साहित्यकारहरूले पनि आन्दोलनमा आफ्नो तर्फबाट सहाभागिता जनाउने भए । त्यसबेला प्रगतिशील क्षेत्रको एउटा धुरीका रूपमा पारिजात हुनुहुन्थ्यो । आ–आफ्नो पार्टीका लेखकहरूका आफ्नै नेता थिए । तर, सबै वामपन्थीहरूले पारिजातलाई नेतृत्वका रूपमा मान्थे । त्यसको वरपर अन्य साथी थिए । 

प्रजातान्त्रिक धारका लेखहरूको नेतृत्वका रूपमा वासु शशी हुनुहुन्थ्यो । उहाँसँगै अन्य साथी पनि हुनुहुन्थ्यो । विरोध कार्यक्रमको योजना चाबहिलमा मुरारि अर्यालको घरमा बसेको थियो । त्यहाँ निनु चापागाईं, मुरारि अर्याल, हरिगोविन्द लुइटेल, म, प्रजातान्त्रिक धारबाट हरि अधिकारी र अन्य साथीहरू हुनुहुन्थ्यो । त्यहाँको छलफलमा प्रगतिशील धाराबाट नेतृत्वका रूपमा पारिजातलाई उभ्याउने र प्रजातान्त्रिक धारबाट वासु शशी त्यहाँ आउनुपर्छ भन्‍ने सबैको मत थियो । 

वासु शशीजी आन्दोलनमा आउन अलि अफ्ठेरोमा मान्‍नुभएको जस्तो साथीहरूले महसुस गरेका थिए । उहाँ आइदिनुहुन्‍न कि भन्‍ने डर थियो । तर, हरि अधिकारीले उहाँलाई ल्याउने जिम्मा लिनुभयो । त्यसपछि हामीले घण्टाघरको सरस्वती सदनमा धर्ना दिने कुरा भयो । त्यसबेला पञ्चायतले अभिव्यक्ति स्वतन्त्रतालाई दमन गर्ने भएको हुनाले त्यसको विरोधमा मुखमा पट्टि बाँध्ने निर्णय भएको थियो । साहित्य लेख्नलाई रोकावट हुन छोडेको थियो । ४० सालभन्दा अगाडि कवितै लेखेर पनि जेल जानुपर्ने स्थिति थियो । तर पछि सहज हुँदै गएको थियो । नाटक देखाउँदा सेन्सर गर्नुपर्ने थियो । त्यसपछिसम्म पनि रहेको थियो ।

त्यसबेला राजनीतिमा रङको बारेमा बहस थिएन । कालो, गोरो जुन रङ भए पनि हुन्थ्यो । अहिले कालो रङलाई त्यसरी विरोधका रूपमा प्रयोग गर्न मिल्दैन । त्यसबेला त्यो चेतना थिएन । त्यसैले सबैले कालोपट्टि बाँध्ने कुरा भयो । योजनाअनुसार एक हुल लेखकहरू सरस्वती सदनमा जम्मा हुने क्रम सुरु भयो । पारिजातलाई पनि त्यहाँ ल्याइयो । उहाँलाई कुर्सीजस्तो बनाएर त्यसमा राखियो । 

प्रहरीहरू तैनाथ भइसकेका थिए । प्रहरीले सुरुमै हामीलाई गिरफ्तार गरेन । पछि हामीले कार्यक्रम गरिसकेपछि सबैलाई गिरफ्तार गर्‍यो । पारिजातलाई गिरफ्तार भने गरेको थिएन । बाँकी हामीलाई सिंहदरबार अगाडि बग्गीखानाको भुइँतलामा ल्याएर राख्यो । त्यसपछि बेलुका भएपछि प्रहरीले सबैको फोटो खिच्दै छोडिदियो । म र मणि थापाले भने प्रहरीको क्यामेरा छलेका थियौँ । म त्यसबेला तारेखमा थिएँ । मलाई फागुन ५ गते पक्राउ गरेर कागज गरेर मात्रै छाडेको थियो । पहिले पक्राउ परेको भएकाले फेरी पक्राउ हुँदा गडबड हुन्छ भनेर हामीले क्यामेरा छलेका थियौँ । 

त्यहाँ ऋषिदेव आजादको छोरा सुवास देवकोटालाई पक्राउ गरेर यातना दिएर राखेको रहेछ । उहाँ त्यसबेला विद्यार्थी हुनुहुन्थ्यो । उहाँसँग त्यही भेट भयो । हामीसँग भेट भएपछि उहाँलाई अलिक राहत महसुुस गर्नुभएको थियो । पञ्चायतविरुद्धको आन्दोलन फागुन ७ गतेबाट सुरु भएको थियो । त्यसपछि जनकपुरमा हत्याकाण्ड भयो । त्यसपछि फागुनको दोस्रो तेस्रो हप्ता पुग्दा आन्दोलन कमजोेर बन्‍न थाल्यो । त्यसपछि नागरिक समाजका विविध तप्काहरू उठ्नुपर्ने अवस्था आयो । सुरुमा आन्दोलन ह्वात्तै बढ्यो । पछि, एकदम कमजोर भएको गयो । किनकि त्यसबेला एकपटक सबै नेताहरूलाई पनि पक्राउ गरेको थियो । त्यसपछि डाक्टरहरूले आन्दोन गरे टिचिङमा । 

कर्मचारीहरूले पनि अलिअलि आन्दोलन गरे । प्राध्यापकहरूले आन्दोलन सुरु गरे । वकिलहरूले सुरु गरे । त्यसले आन्दोलनको गति बढाउँदै बढाउँदै लग्यो । साहित्यकारको विरोध अन्तिम थियो । साहित्यकारहरू पारिजात, खगेन्द्र संग्रौला, आनन्ददेव भट्ट, वासु शशी, हरि अधिकारीलगायत तमाम लेखकले गिरफ्तारी दिएपछि, समाजको कुनै तप्का पनि बाँकी रहेन । त्यसले राजनीतिक आन्दोलनलाई ह्वात्तै बढाइदिएको थियो । 

त्यो आन्दोलनको महत्व दुई विषयमा छ । एउटा, साहित्यकर्मीहरू लेखनको कुरा मात्रै गर्ने प्राणी होइनन् । समाजको विशिष्ट मोडमा उनीहरू एउटा आन्दोलनकारीको रूपमा भौतिक रूपमा नै लड्छन् भन्‍ने देखायो । किनकि त्यसबेला आन्दोलनमा जानुहुँदैन भन्‍ने लेखकहरू पनि थिए । तर आन्दोलन गर्ने पंक्तिले लेखकहरूको एउटा ऐतिहासिक दायित्व पूरा गर्‍यो । अर्को समाजमा सुतेर बसेको तप्का थियो । त्यो तप्कालाई पनि झकझकायो र आन्दोलन राजधानीमा भए पनि त्यसले देशैभरि प्रभाव पार्‍यो । 

त्यो आन्दोलनले पनि २०६२/६३ को मोर्चा बनाउन धेरै सहयोग गर्‍यो । २०४६ सालमा जस्तो अफ्ठेरो भएन् । चेतनाको स्तर पनि माथिल्लो तहमा पुगिसकेको थियो । पुरानो निरन्तरता जस्तो पनि भएको थियो । त्यसबेला हामीले वामपन्थी र प्रजातान्त्रिक समूह एकै ठाउँमा उभिएर आन्दोलन गर्ने कि नगर्ने भन्‍ने प्रश्नै भएन । सहज भयो । हामीले सामूहिक संयोजक बनाएर आन्दोलन गरेका थियौँ । 

प्रत्येक राजनीतिक परिवर्तनपछि त्यो परिवर्तनले लिएका अजेन्डाहरूलाई ठीक ढंगले पूरा भएन भने सांस्कृतिकर्मीहरूको एउटा पंक्तिलाई विषयहीन बनाइदिँदो रहेछ । २०४६ सालको परिवर्तनपछि बहुदलीय व्यवस्थाले जुन किसिमको गलत चिज लिएर आयो । जनताले जे सोचेर परिवर्तन पाएनन् । त्यसले एमाले सम्बद्ध लेखकहरूलाई विषयहीन बनाइदियो । त्यसले उनीहरूको लेखन अगाडि गएन । एक किसिमको ज्वलन्त साहित्य आउन सकेन । केही अपवाद मात्रै बाँचे ।

२०६२/६३ ताका एमाले सम्बद्ध लेखकको कविता आउन सकेनन् । उनीहरू पतनको दिशामा गएका थिए । २०४६ सम्म एक किसिमको महत्वपूर्ण भूमिका खेलेका थिए, एमाले सम्बद्ध लेखकले । तर, अहिलेसम्म आइपुग्दा ताजा लेखनी छैन । २०६२/६३ को आन्दोलनपछि र संविधानसभाका दोस्रो चुनावसम्म पुग्दा प्रचण्ड वरपर रहेका माओवादीका लेखकहरू कमजोर हुँदै गएका छन् । उनीहरूको लेखनमा कुनै ज्यान छैन । तर त्यो समूहबाट विद्रोह गरेका लेखकहरूको लेखमा भने दम देखिन्छ । संगठित भएका लेखकहरूसँग ६२/६३ भन्दा अगाडि जुन धार देखिन्थ्यो त्यो अहिले देखिँदैन । स्वतन्त्र लेखकले शानदार लेखिरहेका छन् । पार्टीसम्बद्ध लेखकहरूको केही छैन् । 

अब नेपालको साहित्यिक आन्दोलन समाजवादी हुन्छ । पुँजीवादका विभिन्‍न रूपहरू हामीले अध्ययन गरिसक्यौँ । यसको विरुद्ध समाजवादी सांस्कृतिक आन्दोलन आवश्यक छ । अब पुरानो अवधारणाले काम गर्दैन । अबको आन्दोलन हड्ताल गरेर तलब बढाइदेऊ भन्‍ने हुँदैन । अबको सामाजिक र साहित्यिक दुवै आन्दोलन समाजवादी हुन्छ । त्यो पृष्ठभूमि बन्दै छ ।

सम्‍झनामा चैत्र ३

 

 

 


Author

आहुति

आहुति वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव हुन् ।


थप समाचार
x