वार्ता

हामी सबैलाई समाते पनि पारिजातलाई केही गरेनन्

हरि अधिकारी |
चैत ३, २०७८ बिहीबार १०:२६ बजे

तीस वर्षसम्म टिकेको निर्दलीय पञ्चायती व्यवस्था निरंकुश व्यवस्था थियो । यो व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रताको कुनै गुञ्जायस थिएन । दलहरू प्रतिबन्धित थिए । नागरिक आवाज दमित थियो । त्यसको विरोधमा २०४६ चैत्र ३ गते केही लेखक–कलाकारहरूले मुखमा कालो पट्टि बाँधेर धर्ना बसे । त्यो विरोधले आन्दोलनमा सहभागी नभएको, हुन नसकेको तप्कालाई पनि झक्झक्याएको थियो । राजधानीमा भएको आन्दोलनको प्रभाव देशैभर रह्यो । आन्दोलनमा लेखकहरू पारिजात, युद्धप्रसाद मिश्र, आनन्ददेव भट्ट, खगेन्द्र संग्रौला, हरि अधिकारी, अरुणा उप्रेती आहुति, विमल निभा, स्नेह साय्मिलगातयका लेखक होमिएका थिए । आन्दोलनकारी सचेत जमातको सूची लामै छ, सूची बनाउने उद्देश्यले भन्दा पनि त्यो आन्दोलनको स्मरण–सम्मानका खातिर हामीले तीन जना स्रष्टासँग संवाद गरेका छौँ । आज ३२ वर्षपछि पनि आफ्नो स्मृतिमा मात्र होइन, भौतिकीमा समेत उस्तै आन्दोलनको मुडमा आहुतिहरि अधिकारी र अरुणा उप्रेतीले इकागजका उपेन्द्र अर्यालसँग आफ्नो ‘चैत्र ३’ सम्झना साटेका छन् :

एक लेखक, साहित्यकार र राजनीतिमा लोकतन्त्रमा विश्वास राख्ने एउटा व्यक्तिका रूपमा म २०४६ सालको जनआन्दोलनमा सुरुदेखि नै जोडिएको थिएँ । त्यसबेला नेपाली आवाज भन्‍ने पत्रिकाको वरिष्ठ संवाददाता थिएँ । ‘भ्वाइस फर अमेरिका’ र ‘युनाइटेड इन्टरनेसनल प्रेस’ भन्‍ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि पनि काम गर्थेँ । म नेपाली कांग्रेससँगको निकटता पनि थियो ।


त्यसबेला निरकुंश पञ्चायती व्यवस्थाको ठाउँमा संवैधानिक राजतन्त्रात्मक प्रणालीको पुनःस्थापना हुनुपर्छ भनेर आवाज उठाइएको थियो । आन्दोलन फागुन ७ गते सुरु भएको थियो । बीचमा त्यो आन्दोलन कहिले उर्लियो त कहिले सेलायो । सुरुका केही दिन आन्दोलन एकदमै चर्कियो । तर फागुन सकिँदै गर्दा आन्दोलन अलिकति शिथिल जस्तो भयो । त्यसबेलामा पञ्चहरूले पोखरामा पञ्चर्‍याली पनि गरिरहेका थिए । राजालाई उभ्याएर बोल्न लगाएका थिए । आन्दोलन सफल हुँदैन कि वा आन्दोलनको आगो सेलाउँछ कि भन्‍ने स्थिति थियो । त्यही अवस्थामा हामी साहित्यकारहरूले विरोध प्रदर्शन गर्ने अठोट गर्‍यौँ । 

म, खगेन्द्र संग्रौला, हरिगोविन्द लुइटेल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायत अन्य कलाकारहरूले विरोध गर्ने सल्लाह गर्‍यौँ । हामी लेखकहरूको पनि आन्दोलनमा भूमिका हुनुपर्दछ हाम्रो सक्रिय सहभागिता जनाउनका लागि २०४६ चैत्र ३ गते एकेडेमीमा भेला भएर कालोपट्टि बाँधेर विरोध गर्ने सोच बनायौँ । त्यसका लागि धेरै पटक चाबहिलतिर हामीले छलफल गर्‍यौँ । वासु शशी, मुरारि अर्याल लगायतका साथी चाबहिलतिरै हुनुहुन्थ्यो । म पनि चाबहिल नै बस्थेँ । सबैले विभिन्‍न छलफल गर्‍यौँ । मानिसहरूलाई बढीभन्दा बढी जम्मा गर्ने भनेर हामीले सल्लाह गर्‍यौँ । त्यसमा कतिपय साथीहरूले आउन अस्वीकार गरे । कतिपयले हाम्रो आग्रह स्वीकार गरेर पनि आउन सकेनन् । कतिपयलाई केही दबाब दिएर मैले आफैँ पनि लिएर आएँ । मोहन कोइराला र ध्रुवचन्द्र गौतमलाई पनि मैले जोड गरेर ल्याएको थिएँ ।

हामीले विरोधका लागि एकेडेमीमा बस्ने भनेको थियौँ । तर विरोधको दिन आइसक्दा हामीलाई एकेडेमीमा बस्न नदिने भनेर केही कलाकार साथीहरूले पनि भन्‍नु भएछ । उहाँहरू पञ्चायतका पक्षधर हुनुहुन्थ्यो । अशोक शर्माको नाम मलाई अहिले पनि याद छ । उहाँले हाम्रो विरोध गर्नुभएको थियो । तर हामीले यस आन्दोलनका लागि समिति आयोजक बनाएका थिएनौँ । स्वतस्फूर्त रूपले नै लेखक कलाकारहरू जम्मा भएका थियौँ । हामी केही साथी सक्रिय थियौँ । एकेडेमीमा बस्न नदिएपछि हामी त्रिचन्द्र क्याम्पस अगाडि गएर बसेका थिर्यौँ ।

हामी त्यहाँ बसेको करिब १५/२० मिनेट पछि प्रहरीले चारैतिरबाट घेरा हाल्यो । ठूलो ट्रक लिएर आयो । त्यसमा हामी सबैलाई हालेर लिएर गयो । कमलमणि दीक्षित, युद्धप्रसाद मिश्र लगायत सबैजना हुनुहुन्थ्यो । हामी सबैलाई समाते पनि पारिजातलाई केही गरेनन् । उहाँलाई छोडिदिएको थियो । पक्राउ गरेका सबैलाई बग्गीखानामा लिएर गयो । सबैलाई एउटा हलमा लगेर राखेको थियो । हामी सबैलाई एकएक गरेर बयान लिएको थियो । त्यसबेला अन्तिम मानिसलाई छोड्ने बेलासम्म करिब १२ बजेको थियो होला ।

कमलमणि र उहाँको श्रीमतीलाई सबैभन्दा पहिला ‘हजुरहरूले पनि कहाँ यस्तो गरेको’ भनेर छोडिदिएको थियो । स्वास्थ्यको हिसाबले युद्धप्रसाद मिश्रलाई पनि छोडिदिएको थियो । आनन्ददेव भट्टहलाई अगाडि छाड्यो । अन्य बाँकी हामीलाई एकैसाथै छोडेको थियो । हामी सबैको फोटो खिच्यो । सबैले शान्तिपूर्ण ढंगले आन्दोलनप्रति ऐक्यबद्धता जनाउन आएको भनेर बयान दिएका थियौँ । प्रहरीले ट्रकमा हाल्ने बेलामा अलि रुखो गरी व्यवहार गरेको थियो । तर, पछि त्यसरी धाकधम्की दिएन । शारीरिक रूपमा कुटपिट पनि गरेन ।

पहिले म पनि सरकारी जागिरे भएकाले अञ्चलाधीश कार्यालयबाट बयान लिन आएको मान्छे चिने । उनीहरूले भने, ‘तपाईं यस्तो मान्छे, कहाँ पट्टि बाँधेर बस्नुभएको ?’ मैले, म तपाईं जस्तै कर्मचारी भएको भए यसरी सडकमा आउन्‍न थिएँ होला भनेर उत्तर दिएको थिएँ । तपाईंले मेरो स्थिति बुझन सक्नुहुन्‍न भनेर उत्तर दिएँ । पछि मित्र शार्दुल भट्टराईलाई सबैभन्दा पछाडि भोलिपल्ट मात्रै छाडिदिएको रहेछ । 

तस्बिर स्रोत : स्‍नेह साय्मि

हामी आन्दोलनमा जोडिनु अगाडि वामपन्थी लेखकहरू, प्रजातान्त्रिक कित्ताका सबै किसिमका साथीहरू थियौँ । यो कसैले पनि नेतृत्व लिएर सांगठनिक ढंगले गरेको आन्दोलन थिएन । तर हामीले विभिन्‍न छलफल गरेका थियौँ । मुरारि अर्यालको घरमा हामीले छलफल चलाएको मलाई याद छ । कसलाई कसलाई बोलाउने भनेर हामीले छलफल गरेका थियौँ । आपूmले भन्दा आउने मान्छेहरूलाई हामीले आह्वान गरेका थियौँ । 

आन्दोलनले ठूलो एउटा सन्देश दिएको थियो । नेपाली आन्दोलन पक्षरत र आन्दोलनमा मुखर रूपमा सहभागी नभएका तर आन्दोलनमा समर्थन गर्ने मध्यम वर्गका बीचमा बलियो र व्यापक सन्देश गएको थियो । चैत्र ३ पछि आन्दोलनकै बारेमा छफलफ गर्न कीर्तिपुरमा ठूलो संख्यामा मानिस जम्मा भएका थिए । कीर्तिपुरको परिसरमा बौद्धिकहरूले भाषण गरेका थिए । पछि त्यहाँका मानिसहरूलाई पनि प्रहरीले पक्राउ गरेको थियो । यही २ वटा घटनाले आन्दोलन हुनैपर्ने रहेछ भन्‍ने सन्देश दिएको थियो । आन्दोलनलाई यसले ऊर्जा प्रदान गरेको थियो । 

नेपाली आवाज, देशान्तर, विमर्श, दृष्टि लगायतका पत्रिकाहरूले घटनाहरूको राम्रोसँग सम्प्रेषण गरेका थिए । त्यसबेला मिडियाकर्मीहरू पनि आफ्नो पत्रिकाको माध्यमबाट लडिरहेका थिए । अन्तर्राष्ट्रिय पत्रपत्रिकाले पनि आन्दोलनको विषयलाई मुख्य प्राथमिकताको साथमा छापेका थिए । त्यस कुराले पनि आन्दोलनलाई सहयोग भएको थियो । त्यस आन्दोलनले २०४७ सालको संविधान लिएर आयो । आन्दोलनका उपलब्धिलाई संस्थागत गर्‍यो । तर, त्यो संविधानलाई राम्रोसँग काम गर्न दिइएन । त्यो संविधानले दिएका अधिकारहरूलाई राम्रोसँग कार्यान्वयन गर्न दिइएको थियो भने अहिलेको अवस्था आउने थिए ।

आफैँले घोषणा गरेको संविधानअनुसार राजा चलेनन् । त्यसपछि बिस्तारै माओवादी आन्दोलन भयो । जसले २०६२/२०६३ को आन्दोलन जन्मायो । त्यसपछि हामी नयाँ व्यवस्थामा गायौँ । हामीले अहिले अवलम्बन गरेको राज्यप्रणालीले राम्रोसँग काम गर्न सकेको छैन । बहुसंख्यक जनसंख्यकको हितका लागि नीति–नियम ल्याउनुपर्ने, भ्रष्टाचार रोकिनुपर्ने । राज्यले आफ्नो अनुशासनमा बस्नुपर्ने हो । तर यी सबैबाट हेर्दा अहिलेको व्यवस्था राम्रोसँग चल्न सकेको छैन । भद्रगोलमा हिँडिरहेको थियो । नयाँ किसिमको आन्दोलन आउनलाई वातावरण बनिसकेको छैन । तर, नयाँ आन्दोलन आउँछ भन्‍ने लाग्छ । 

सम्‍झनामा चैत्र ३


Author

थप समाचार
x