वार्ता

संंवार्ता

मेरा साथीहरू मैसँग भन्‍थे- भूपीसँग चिनाइदेऊ न, लभ गरौं (भिडियोसहित)

भूपीजीले कविता लेख्‍नुभयो, मैले कविता जन्माएँ

‘नेपाली कवितालाई लोकप्रिय बनाउने कविमध्ये भूपीको नाम एक नम्बरमा आउँछ’ भन्दा अत्युक्ति हुँदैन । उनका कविता वा कवितांश हटहिट छन् । यो हल्लैहल्लाको देश हो, हामी क्यारेमबोर्डका गोटी हौँ, हाम्रो चोकमा रोग, शोक, भोक सबथोक छ, यस्ता हाम्रा अभिव्यक्ति भूपीकै कवितांश हुन् ।

हरेक सहिद दिवसमा सबैजसोले उद्धृत गर्ने पंक्ति ‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए’ उनकै हो । हरेक जँड्याहाले पिउने ‘मैले पिएकोमा रिसाएका साथीहरू/पिएर त हेर, पिउन झन् कति गाह्रो छ/मरेर शहीद हुनेहरू, जिएर त हेर, जिउन झन् गाह्रो छ !’ उनैको हो । बौद्धिकहरूले बोल्ने ‘गलत लाग्छ मलाई मेरो देशको इतिहास’ भूपीकै शीर्षक हो । काठमाडौँलाई ‘चिसो एस्ट्रे’ भन्‍ने भूपी नै हुन् । प्रजातन्त्रलाई दुलाहाविनाको जन्ती भन्‍ने पनि भूपी नै हुन् । उनको ‘हामी’ कविता नपढी कसैले सारा नेपाली कविता पढेको छु भन्यो भने उसले नेपाली कविताको अनुहार त पढ्यो, आत्मा चाहिँ पढेन ।


पहिला ‘सर्वहारा’ नामसहित कम्युनिस्ट भएर पछि ‘वीेरेन्द्र जिन्दावाद’ लेख्‍ने पनि भूूपी नै हुन् । दुई—दुई पटकसम्म प्राज्ञ पद अस्वीकार गरेका र तेस्रोपटक नसोधी प्राज्ञ बनेको समाचार पाएपछि प्राज्ञ बनेका हुन्, भूपी । अनि प्रज्ञा–प्रतिष्ठान गएपछि आफूलाई नै ‘घुम्‍ने मेचमाथि अन्धो मान्छे’ भन्‍न सक्ने पनि उनै हुन् । भूपीले स्वंयका प्रति गर्ने व्यंग्य पनि उस्तै कडा छ, आफूलाई ‘कठैबरा बिचरा भूपि शेरचन’ लेख्छन् ।

भूपीकै ‘घुम्‍ने मेचमाथि अन्धो मान्छे’बाटै साझा पुरस्कारको सुरुवात गरिएको थियो । भूपीका गीत धेरै गाइएका छैनन्, तर जति गाइएका छन्, ती नेपाली गीतका मानक हुन् । भूपीका साथी नारायणगोपाल (नारायणगोपाल बिहेपछि सपत्नी सात महिना भूपीको घर पोखरामा बसेका थिए, नारायण भूपीलाई दाइ भन्थे) ले गाएको ‘अल्झेछ क्यारे पछ्यौरी’ र ‘सानै हुरीमा बैंसको सपना’ विशेष छन् । नारायणगोपालले ‘बागीना’का लागि भूपीसँग गरेको वार्तामा भूपीले आफूलाई आफ्ना गीतमध्ये सबैभन्दा मनपर्ने गीत भनेर ‘सानै हुरी...’ भनेका छन् । भूपीको ‘यो नेपाली शिर उचाली’ राष्ट्रिय गीत पनि जूनकीरीझैं चम्किरहेछ ।

भूपी ५४ वर्ष मात्र बाँचे । उनका रचना संख्याका हिसाबले धेरै छैनन्, तर जति छन् खास छन् । उनका ‘परिवर्तन’ नाटक, ‘नयाँ झ्याउरे’, ‘निर्झर’, ‘भूपी शेरचनका कविताहरू’ संग्रह प्रकाशित छन् । भूपीको जीवनकालपछि शिव रेग्मीको संकलन/सम्पादनमा ‘भूपी शेरचनका कविताहरू’ छापिएको हो । 

शंकर लामिछानेको ‘विम्ब प्रतिविम्ब’मा विम्बित छन्, भूपी । उत्तर कुँवरको ‘स्रष्टा र साहित्य’मा शोभायमान छन् । सुरेन्द्र गौचनको भिडियो वार्तामा शुभ्र, शान्त र स्‍निग्ध छन् । जगदीश घिमिरेको वार्तामा तीतो सत्यभित्र छन् । रत्ना राई (श्रीमती शंकर लामिछाने)को संस्मरणमा अब पिउँदिनँ भन्‍ने कसमभित्र छन् । पेमला गुरुवाचार्यको संस्मरण ‘म टेलिफोनको रिसिभर समाएर बसिरहन्थेँ अनि उहाँ (नारायणगोपाल) हार्मोनियम बजाएर भूपी दाइलाई गीत सुनाइरहनु हुन्थ्यो’भित्र जीवन्त छन् । माइकल हटको पुस्तक ‘द लाइफ अफ भूपी शेरचन : पोयट्री एन्ड पलिटिक्स इन पोस्ट–राणा नेपाल’भित्र विस्तृत छन् ।

भूपीको बारेमा लेख्‍नेहरूले भूपीका कविताभन्दा धेरै किस्सा सुनाएका छन् । भूपीका रचनाको दार्शनिकताभन्दा भूपीको स्वभाव केलाएका छन् । धेरैको लेखाइको साझा विषय के छ भने— भूपी त्यति बेलाका धेरै लेखकको खाने–पिउने समारोहका स्थायीजसो प्रायोजक हुने गर्थे । धेरैजसो कलाकार–लेखकको बीचबीचमा मित्रता टुट्ने देखिएको छ, तर भूपीको सम्बन्ध भने कसैसँग भाँचिएको पाइएन । सिवाय जेठी श्रीमती ओमकुमारी ।

भूपी दुई श्रीमतीका पति हुन् । जेठी श्रीमतीबाट जन्मेका छ र कान्छी श्रीमतीबाट जन्मेका दुई सन्तान गरी आठ सन्तानका पिता हुन् । जेठी श्रीमती पोखराको ‘ह्वाइट हाउस’मै छिन् । 

कान्छी श्रीमती कान्ति शेरचनसँग नक्साल निवासमा हालैको घामपानी साँझमा दुई घण्टा लामो भलाकुसारी गर्ने मौका मिल्यो । अब यो लामो इन्ट्रो बिट मार्दै हामी अनिष भट्टराई, आधारबाबु खतिवडाविमल आचार्य यहाँहरूलाई तपाईंहरूका प्रिय कवि भूपी शेरचन र कान्ति शेरचनतिर लैजान्छौँ, नक्साल चोकमा भएको यो कुराकानीमा भूपीको सबथोक छ, कृपया चोकमै उभिनुहोला  ः 

यहाँको स्वास्थ्य कस्तो छ ? 

बुढेसकाल लाग्यो, बिरामीले त च्यापिहाल्छ । सुगर छ, थाइराइड छ, प्रेसरको त घर नै हो । ७४ वर्ष लागेँ । 

बिहे हुँदा कति वर्ष हुनुहुन्थ्यो ?

२२/२३ वर्षकी थिएँ । 

बिहे २२/२३ मा भए पनि चिनजान त पुरानै थियो, हैन र ? 

पुरानै हो । पहिलेबाट नै घरमा आउने/जाने भइरहन्थ्यो । हामी फेमेली फ्रेन्ड जस्ता थियौं । 

फेमेली फ्रेन्ड ? 

उहाँका बुवा, हाम्रो बुवाको आउने/जाने भइरहन्थ्यो । पोखरा, काठमाडौं जहाँ भएपनि घरमा आउने/जाने चल्थ्यो । भूपीको पहिलो श्रीमतीचाहिँ मेरो मितिनी दिदी पर्नुहुन्थ्यो, त्यसबाट मेरो भिनाजु नाता पर्थ्यो उहाँसँग । उहाँको जिस्किने बानी थियो, मलाई ‘साली, आधा घरवाली’ भन्दै जिस्क्याइरनुहुन्थ्यो । ‘बाउ जस्तो मान्छेले जिस्क्याउनु सुहाउँछ ?’ भन्थेँ मैले । उहाँलाई झनै लागेछ कि क्या हो, धेरै जिस्किन थाल्नुभयो । उहाँ मभन्दा १२ वर्ष जेठो हुनुहुन्थ्यो । उहाँलाई देख्यो कि लुकेर भाग्थें । तर, उहाँ पछिपछि आउनुहुन्थ्यो, म पुर्‍याइदिन्छु साली भन्दै । 

अनि उहाँ कवि भनेर थाहा थियो ? 

मलाई सुरुमा उहाँका कविताभन्दा गीत मन पर्थ्यो । अनि भूपीजीको स्वर पनि राम्रो, एकदम नरम बोल्ने । बोलेको पनि गीत गाए जस्तो लागिरहने । यस्तो हुँदा उहाँका बोली, गीत सुन्दासुन्दै मन पर्‍यो । कविता त मैले सुन्दै सुन्थिनँ । गीत मात्रै सुन्थें । मलाई प्रेमध्वज प्रधानका गीत मन पर्थे । अनि उहाँले चाहिँ क्यासेटमा प्रेमध्वजका गीत लगाउने, अर्को साइडमा आफ्ना गीत गाउने हार्मोनियममा । दुईवटै सुनेपछि मलाई कुन राम्रो लाग्यो भनेर सोध्नुहुन्थ्यो, मैले दुवै मन पर्‍यो भन्थें । किनभने उहाँको स्वर चाहिँ एकदमै मीठो थियो । यस्तै गर्दा गर्दै मन परेको हो उहाँ मलाई । 

अनि उहाँले किन गीत रेकर्ड गर्नुभएन त ? राम्रो गाउने नारायण गोपाल साथी भएर त हैन नि ?

भूपीमा गीत गाउने सोख थियो । बाजा पनि सबै बनाउनुहुन्थ्यो । तर रेकर्ड नै गर्ने गरी चाहिँ थिएन । घरका पार्टीमा त उहाँले गाउनुहुन्थ्यो । नारायण गोपाल, अम्बर गुरुङ, गोपाल योञ्जन उहाँका साथी हुनुहुन्थ्यो, उहाँहरू घरमा धेरैजसो आइरहनुहुन्थ्यो । उहाँ हुन्जेल त घरमा रात–दिन भन्‍ने त हुँदै हुन्थेन । राति १० बजे पनि कोही पार्टी भन्दै आइदिने, सरप्राइज गर्न । उहाँलाई पनि रमाइलो गरिराख्‍न मन पर्ने, घरमा धेरैजसो भेटघाट भइरहन्थ्यो । 

भूपीसँग भेट्ने बित्तिकै विवाह त भएन होला ? के तपाईँहरूको लभ पनि पर्‍यो ?

म राणाकी छोरी भएँ, भूपीजी चाहिँ भत्ता खाने । अनि उहाँचाहिँ उमेरले पनि पाको । त्यस्तो अवस्थामा कसैले पनि पत्याउने कुरा भएन नि ! हामीले चार–पाँच वर्ष प्रेम लुकाइराखेम् । पछि त बिहे गर्नुपर्ने बेला चाहिँ म २०२६ सालतिर पोखराबाट यहाँ (काठमाडौं) आएँ । भूपीजी पनि आउनुभयो । 

भूपीजी बिरामी पर्नुभयो, अनि म हस्पिटल जानुपर्ने । सधैं म फूपूको घर जान्छु भन्दै निस्कन्थें । फूपूको घर डिल्लीबजारमा थियो, भिनाजु चाहिँ बालाजुमा काम गर्न जानुपर्थ्यो । म फूपूको घर जाने भनेर भिनाजुसँग डिल्लीबजारसम्म आउँथेँ । अनि म ५ बजेसम्म भूपीजीसँग हस्पिटलमा बसेर फेरि दिदीकै घर जान्थें, यस्तो गरेपनि कसैले पनि थाहा पाएका थिएनन् । 

अनि एक दिन चाहिँ भिनाजुले दिदीलाई फोन गर्नुभएछ, म यहाँ काठमाडौं आएर पनि फुपाजुको घर एक दिन पनि गइनँ भनेर सोध्नलाई । दिदी त तीनछक पर्नुभयो किनकि म सधैं फुपाजुको घर जान्छु भनेर हिँड्थेँ । दिदीले म फुपाजुको घर गएकी छैन भन्‍ने थाहा पाएपछि कहाँ जान्छेस् भनेर सोध्नुभयो ।

मेरो दिज्यूले हाम्रो प्रेम थाहा पाउनु भयो । पहिले नै बिहे गरिसकेको मान्छेसँग कसरी बिहे गर्छेस् भनेर भन्‍नुभयो । कि त भूपीजीले डिभोर्स गर्नुपर्‍यो भनेर पनि भन्‍नुभयो । मेरो पनि केटाकेटी बुद्धि के रे, ‘मैले बिहे गर्ने हो कि तपाईंले’ भनेर भनिदिएँ । 

मेरो दिज्यूले हाम्रो प्रेम थाहा पाउनु भयो । पहिले नै बिहे गरिसकेको मान्छेसँग कसरी बिहे गर्छेस् भनेर भन्‍नुभयो । कि त भूपीजीले डिभोर्स गर्नुपर्‍यो भनेर पनि भन्‍नुभयो । मेरो पनि केटाकेटी बुद्धि के रे, ‘मैले बिहे गर्ने हो कि तपाईंले’ भनेर भनिदिएँ । उहाँ दुवै ३५/३६ वर्षको हुनुहुन्थ्यो, आफू सानो हुँदा त २५ वर्षमाथिका सबै बूढाबूढी लाग्ने ।

अनि त्यस्तो बूढो मान्छेले डिभोर्स गरेपछि बच्चा भएको मान्छे, बूढी मान्छेलाई छोड्यो भने कसले बिहे गर्छ भनेर डिभोर्स गर्न लगाउँदिनँ भनें । अझै मेरो बुवाको पनि चार श्रीमती हुनुहुन्थ्यो के रे, म त्यस्तै वातावरणमा हुर्किएको भएर पनि मैले डिभोर्स गर्न लगाउँछु भनेर मानिनँ । मैले डिभोर्स गर्न लगाउन नमानेपछि दिदी भिनाजुले इन्टरभ्यु लिने भन्‍नुभयो भूपीजीको । वीर अस्पतालमा गएर भूपीसँग कुरा गर्नुभयो । भूपीजी त यस्तो सभ्य, हेन्डसम, मृदुभाषी कि दिदी भिनाजु नै मख्खै हुनुभयो। घर गएपछि भिनाजुले चाहिँ बिहे गरे हुन्छ, मलाई मन पर्‍यो भन्‍नुभयो । भूपीजीले पाल्न नसक्ने अवस्था पनि थिएन, त्यही बुझेरै दिदी भिनाजुले नै बिहे गरिदिनुभयो । 

भूपीको के कुरा मन परेछ उहाँहरूलाई त्यस्तो ? 

गीत–कविता सुनाउने । बोलीचाली पनि राम्रो के रे, त्यही भएर होला । 

तपाईंलाई उहाँले चिठी पनि लेख्‍नुहुन्थ्यो ? 

(हाँस्दै) चिठी पनि लेखिरहनु हुन्थ्यो मलाई । उहाँले त मलाई यति पछ्याउनु हुन्थ्यो नि खै, भनूँ कि नभनूँ ? म काठमाडौं आएँ, उहाँ भोलिपल्टै काठमाडौं आउनुहुन्थ्यो, भैरहवा गए, भैरहवा आइहाल्नुहुन्थ्यो । जहाँ गयो, त्यसको भोलिपल्टै आइहाल्नुहुन्थ्यो । 
फोन पनि गर्थ्यौं । दिनभर म उहाँसँग हस्पिटलमा बस्थें, म घर पुग्न नपाउँदै उहाँको फोन आउँथ्यो । हस्पिटलको काउन्टरमा गएर फोन गरिहाल्नुहुन्थ्यो । 

बिहेपछि ? 

बिहे भएपछि हामी धेरै टाढा बस्दै बसेनौं । एकपटक उहाँ धरान, धनकुटा जाँदा ७/८ दिन टाढा बसियो । अर्को भनेको सरकारले ३३ सालमा पोखरामा कार्यक्रम गर्दा १५/२० दिन बस्‍नुभयो । अर्कोपटक चाहिँ उहाँ उपचार गर्न रुस जाँदा टाढा बसियो ।

३ महिना बस्‍नका लागि बस्‍ने, खाने सबै कुरा प्याकिङ गरेर पठाएको उहाँले त हस्पिटलमा मेरो र छोराछोरीको फोटो देखाएर ‘नेपाल जान्छु कि जान्छु’ भन्‍नुभएछ । ‘एक्लै छन्, श्रीमती योङ छ, बच्चाहरू साना छन् । मलाई पठाइदेऊ,’ भनेर १३ दिनमै फर्कनुभयो । ३ महिनालाई उपचार गर्न पठाएको मान्छे १३ दिनमै फर्किएर आउनुभयो । जिन्दगीमा हामी टाढा बसेको भनेको यति मात्रै हो, नत्र सँगै सधैं नै भयौं । हाम्रो परिवार एउटै खाटमा हुन्थ्यौं, दिनभरका कुराहरू सेयर गर्थ्यौं। 

बिहे चाहिँ कुन ठाउँमा भयो ?

कुपण्डोलमा । दिदीको घरमा । 

परिवारबाट को–को आउनुभयो ? 

उहाँको तर्फबाट दुई–तीन जना साथी हुनुहुन्थ्यो । मेरो पनि परिवारबाट त दिदी भिनाजुबाहेक कोही थिएनन् । 

भूपीको जेठी श्रीमती, ६ छोराछोरीको कुरा तपाईंले पक्कै गर्नुभयो होला नै । भूपीले के भन्‍नुहुन्थ्यो ? 

भूपीजीको भित्री कुरा भनेँ भने, उहाँ (जेठी श्रीमती)लाई पनि नराम्रो लाग्न सक्छ । त्यो नभनौं होला । पर्सनल कुरा भयो । नत्र भने त मैले सँगै राखौं नै भनेको हो, उहाँलाई नै चित्त बुझेनछ । 

बिहेपछि तपाईंहरू कहाँ बस्‍नुभयो ? 

हामी आएर प्रेमबहादुर शाक्यको घरमा ताहाचलमा बस्यौं सात/आठ महिना । धेरै पछि यहाँ घर किनेको । 

घर किन्‍न नसक्ने त हुनुहुन्थेन होला, किन नकिन्‍नुभएको त्यति बेलै ? 

अहिले पो मान्छेले ३३/३४ वर्षमा बिहे गरेका हुँदैनन् । त्यति बेला त उहाँको बिहे भइसकेको थियो । घरको कान्छो छोरा । बिहे भइसके पनि, लेखहरू लेखे पनि उहाँ अलिक व्यावहारिक चाहिँ हुनुहुन्थेन, घर–व्यवहार बुझ्नुभएको थिएन । झन् म त राणाजीको छोरी, केही थाहा थिएन । सँगोलमा गएर बस्‍ने कुरा पनि भएन, घर त थियो नि दुई–तीनवटा । हामी दुवै अव्यावहारिक । अहिले पो मेरो उमेर बढ्दै गयो, अलिक व्यावहारिक र नरम भएँ । त्यसबेला त म पनि राणाकी छोरी, फुर्किएर हुर्केकी कान्छी छोरी नि । सबैले महारानी–महारानी भन्‍ने मलाई त । त्यति बेला के–के पो भयो, घर किनिएन, डेरामै बस्यौं । 

भूपीले सुनाउने गीत सम्झिनुहुन्छ ? 

प्रेमध्वजका सुनाउनु हुन्थ्यो । ‘यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो,’ ‘गोरेटो त्यो गाउँको,’ जस्ता छ–सातवटै गीत सुनाउनुहुन्थ्यो प्रेमध्वजका । पछि बिहे भएपछि उहाँले प्रेमध्वज त हाम्रो प्रेमको पुल हो भन्‍नुहुन्थ्यो के (हाँस्दै) । 

पछि प्रेमध्वज र नारायणगोपालबीच त्यति राम्रो सम्बन्ध भएन । तपाईंहरूको कस्तो भयो, दुवैसँग ? 

म प्रेमध्वजका गीत रुचाउँथेँ । नारायण गोपालजीसँग पनि राम्रो थियो फेरि । नारायण गोपालले बिहे गरेर श्रीमती त पोखरामा हाम्रै घरमा लैजानु भएको थियो नि । त्यो घरमा बस्दा, उहाँका गीत सुन्दा पनि उहाँ मलाई राम्रो लाग्थ्यो । 

नारायण गोपालले बिहे गरेर लैजाँदा तपाईं भूपीसँग हुनुहुन्थ्यो पोखरामै ? 

भूपीजी र मेरो चाहिँ लभ पिरियड थियो, म त्यहाँ गइरहन्थेँ । 

३ महिना बस्‍नका लागि बस्‍ने, खाने सबै कुरा प्याकिङ गरेर पठाएको उहाँले त हस्पिटलमा मेरो र छोराछोरीको फोटो देखाएर ‘नेपाल जान्छु कि जान्छु’ भन्‍नुभएछ । ‘एक्लै छन्, श्रीमती योङ छ, बच्चाहरू साना छन् । मलाई पठाइदेऊ,’ भनेर १३ दिनमै फर्कनुभयो ।

नारायण गोपालको त्यसबेलाको सात महिने पोखरा बसाइ कस्तो थियो ? 

राम्रो थियो, आफ्नै परिवारझैं बस्‍नुभएको थियो । तीन–चार महिनासँगै बसेका हौं, पछि त्यही हाम्रो दरबारको अर्को पार्टमा बस्‍नुहुन्थ्यो उहाँहरू । 

भूपीका को–को साथी तपाईंहरूकहाँ आउनुहुन्थ्यो ? 

यहाँ आउने त अम्बर गुरुङ, भीमदर्शन रोका, हरिभक्त कटुवाल, नारायण गोपाल, गोपाल योञ्जनहरू । ताहाचल डेरामा बस्दा शंकर लामिछाने आउनुहुन्थ्यो । 

तपाईंहरू चाहिँ कुन–कुन साहित्यकारको घर जानुभयो ? 

म त खै, हिँड्ने बानी नै थिएन । अम्बर गुरुङको घरमा गएको छु । उत्तम नेपालीको घरमा एकचोटि पुगेको छु । 

घरमा भूपीको स्वभाव कस्तो थियो ? के कुरामा रमाउनुहुन्थ्यो ? 

घरमा बिरामी भएर बस्दासम्म हामी तास खेलेर बस्थ्यौं । कालिबुढी, गुलामचोर भन्‍ने खेल खेल्थ्यौं तासमा । हार्नेले चाहिँ ढोकासम्म गएर, ढोकाबाट फर्किंदा कुकुर भुक्ने गर्नुपर्थ्यो । धेरैजसो चाहिँ भूपीजी हार्नुहुन्थ्यो । हामी आमा–छोरा मिलेर झेला गर्थ्यौं । प्रमाण चाहिँ कसले जित्यो, कसले हार्यो भनेर कापीमा लेखेर राख्थ्यौं । त्यो कापी अहिले छोरी (कविता) ले लगेकी छन् । 

घरमा कुन–कुन खेल खेल्नुहुन्थ्यो उहाँ ? 

क्रिकेट खेल्नुहुन्थ्यो, क्यारमबोर्ड खेल्नुहुन्थ्यो । टेबलटेनिस, ब्याडमिन्टन पनि राम्रो खेल्नुहुन्थ्यो । क्यारमबोर्डको गोटी भनेर कविता नै लेख्‍नुभएको थियो ।

भूपी फोटोहरूमा एकदम टिपटप देखिनुहुन्छ ?

एकदमै । लगाइको सोख त सुट–पाइन्टमा थियो । पछि एकेडेमीमा गएपछि गएर लबेदा–सुरुवाल पनि लगाउनुभयो। 

एकेडेमीमा दुई पटक त उहाँले प्राज्ञ अस्वीकार गरे पनि तेस्रो पटक चाहिँ नसोधी नाम राखियो रे । यसबारे पनि केही भन्‍नुहोस् न ?

पहिला पनि उहाँलाई खबर आउँथ्यो, उहाँले म प्राज्ञ हुँदिनँ भनेर अस्वीकार गर्नुभयो । पछिल्लो पालिमा चाहिँ सोध्दै नसोधी नाम राखेछन् । राति १० बजेतिर रजिस्ट्रार आएर नियुक्तिको खबर सुनाउनु भयो । भूपीजीले बारबार ‘म हुन्‍नँ भन्दा पनि किन राखेको’ भनेर भन्‍नुभयो । तर भूपीजीलाई भन्‍नुपूर्व नै रेडियो नेपाल, गोरखापत्र सबैतिर खबर पठाइसकेकाले त्यो रोक्न मिल्दैन भनेपछि मान्‍नुपर्‍यो ।

उहाँले दुई पटक चाहिँ किन अस्वीकार गर्नुभयो ? 

सुरुमा त उहाँ कम्युनिस्ट विचारधाराकै हो । उहाँको चाकडी गर्ने स्वभाव होइन, अरुसँग डोमिनेटेड भएर बस्‍ने पनि होइन । त्यही भएर होला सायद । उहाँ सधैं भन्‍नुहुन्थ्यो, त्यहाँ एकदम ‘करप्टेड’ मान्छे छन् । राजा महेन्द्रले पनि एकेडेमीलाई निजी नौ रत्न जस्तो बनाउन लाग्नुभएको रहेछ के रे । तर मान्छेहरूले आफ्नो मान्छे लैजाने, फेयर नगर्ने भनेका रहेछन् । 

तपाईंले एकेडेमी जाने/नजाने के सुझाव दिनुभएको थियो ? 

मैले त्यस्तो सुझाव दिइनँ । उहाँ नै भन्‍नुहुन्थ्यो, म एउटा गएर नौ जनालाई सपार्न सक्दिनँ, मै बिग्रिन सक्छु भन्‍नुहुन्थ्यो । त्यही भएर उहाँ जान चाहनुहुन्थेन ।

उहाँ एकेडेमीबाट फर्केपछि आफैँलाई ‘घुम्‍ने मेचमाथि अन्धो मान्छे’ भन्‍नुभयो, व्यंग्यात्मक तरिकाले...
त्यहीँ हुँदाहुँदै ‘सर्पको खोजी’ पनि लेख्‍नुभयो । 

भूपी त त्यति बेलाको धेरै नै चर्चित कवि । त्यही भएर पनि उहाँलाई प्राज्ञ बनाउन राज्यलाई दबाब पर्‍या हो ? के लाग्छ ? 

त्यही हो । तर मान्छेले नबुझेर भूपी बिक्यो भनेर पनि भने ।​

भूपी त सम्पन्‍न परिवारबाट आए पनि ‘सर्वहारा’ नाम राख्‍नुभयो । राणा विरोधी पनि हुनुहुन्थ्यो, पछि राणाकै छोरीसँग लभ पर्‍यो, बिहे पनि गर्नुभयो । कम्युनिस्ट हुनुहुन्थ्यो, राजा वीरेन्द्रको फ्यान । रमाइलो है...

मेरो विचार हो है, न म धेरै पढेको मान्छे, न म साहित्यकार । तर, म त सबै कम्युनिस्टलाई भन्छु कि मानिस बाध्यताले कम्युनिस्ट बन्छ । उहाँको आमा पाँच वर्षमा बित्नुभयो । पछि उहाँ दाइ–भाउजूसँग बस्‍नुभयो । आमासँग बस्‍नु र दाइ–भाउजूसँग बस्दा केही फरक पर्‍यो होला । उहाँलाई आमाको माया थाहा भएन, बुवासँग त सबै डराइहाल्थे । त्यसले उहाँ विद्रोही बन्‍नुभएको हुन सक्छ । 

बुवाको व्यापार–व्यवसाय नसम्हालेर प्रकृतिसँग रमाउँदै मनमौजी तरिकाले हिँड्नुहुन्थ्यो उहाँ, के थियो ?

त्यो त पछि तन्‍नेरी भएपछिको कुरा भयो नि । पाँच वर्षको उमेरबाट नै उहाँमा कस्तो भयो होला ? कति तीतोपन थियो होला ? आमाको माया पाउनु भएन । पछि तन्‍नेरी भएपछि झनै कसले रोक्ने ? आमा भएको भए पो यो नगर बाबु, त्यो नगर भन्‍ने हुन्थ्यो । यसैकारण पनि उहाँमा कम्युनिस्ट विचारधारा आयो होला । 

भूपीले लेखिसकेपछि तपाईंलाई सुनाउनुहुन्थ्यो ? 

सुनाउनुहुन्थ्यो । कविता, गीत सबै सुनाउनु हुन्थ्यो । 

निस्कने बेला बुवालाई भन्‍नुभएछ, ‘अरु दाइहरूलाई चिनाउँदा हितमान शेरचनको छोरा भनेर चिनाउनु परे पनि म चाहिँ तपाईंलाई भूपीको पिता भनेर चिनाउनेछु ।’

कुनै रचनामा तपाईं पनि पात्र हुनुहुन्छ कि ? 

कविताहरूमा त छौं । छोराछोरी, म भन्‍ने के–के छ त । गीत पनि नारायण गोपालले गाउनुभएको बैंसको हुरी मलाई सम्झेर लेख्‍नुभएको हो । 

उहाँको सबैभन्दा मन पर्ने गीत, कविता कुन हो ? 

मलाई त सबै मन पर्छ उहाँका रचना । यो/त्यो भन्‍ने नै छैन । 

त्यतिबेला हल्काफुल्का लेख्यो भन्‍ने आलोचना पनि हुन्थ्यो, उहाँले यसबारे घरमा कुरा गर्नुहुन्थ्यो ? 

सबै राम्रो हुन्छन् भन्‍ने हुँदैन । ती रचना त उहाँका विचारले दिने हो नि । अब त्यस्तो बेलामा लेखेको ‘सर्पको खोजी’ हेर्नुस् न कति कडा छ । ‘घुम्‍ने मेचमाथि अन्धो मान्छे’ भन्दा कम छैन के त्यो कविता पनि । भन्‍नेले त भन्छन् नि अब । त्यसपछिका पनि कति कविता छन्, ती सबै राम्रा छन् । उहाँ पछि बिरामी भइराख्‍नु भयो, त्यस्तो बेलामा पनि लेख्‍नुभएको थियो । हामी घरदेखि हस्पिटल, हस्पिटलदेखि घर गरिराख्‍नुपर्थ्यो । 

तपाईं त बिहेपछि उहाँसँग २० वर्ष मात्रसँगै हुनुभयो हैन ? 

हो । पछि त अझै बिरामी हुनथाल्नु भयो । 

के भएर बिरामी हुन थाल्नुभयो ? 

सुगरले गर्दा हो । अनि उहाँ धेरै सिग्रेट खाने, सिग्रेटले पनि उहाँलाई बिरामी बनायो । मान्छेले रक्सीले भने, तर रक्सीले होइन । उहाँले २०२८ सालमा छोरी जन्मिएपछि एकपटक मात्र खानुभयो । एक पटक चाहिँ खानुभएको थियो, अनि खानुभएन । अब त्यति बेलाको भन्‍न मिल्छ कि मिल्दैन । के भयो भने हाम्रो घरमा उत्तम नेपाली र भीमदर्शन रोका दाइलाई खान बोलाएको, भूपीजीलाई चाहिँ शैलेन्द्र साकार अनि को–को साथीले बिहानैबाट लगे । भूपीजी फर्कने बेलामा त रक्सी लागेको थियो । मलाई नि रिस उठ्यो, अनि रक्सी खाएर आएको भनेर कराएँ । छोरीले झ्याप्पै सुनी । 

हाम्रो घरछेउमा एकजना दाइ बस्‍नुहुन्थ्यो, उहाँ सधैं रक्सी खाने । अनि छोरीले सोधेकी थिई, किन मात्तिएको त्यो दाइ भनेर ? अनि मैले रक्सी खाएर हो भनेकी थिएँ। बुवाले पनि रक्सी खाएर आएको थाहा पाएपछि छोरीले बुवा होइन, त्यही दाइ हो भन्दै बुवासँग जानै मानिनँ । त्यसपछि उहाँले रक्सी खान छाडिदिनुभयो । तर मान्छेले चाहिँ रक्सीले भूपीलाई खायो भनेर भन्छन् । 

भूपी त आफ्ना साथीभाइको सर्कलमा साथीहरूको गाँस बासको खर्च तिर्न निकै प्रख्यात हुनुहुन्थ्यो के रे ?

हजुर हो । 

पारिजात र भूपीको लभ पर्‍यो रे भनेर मान्छेले हल्ला त गरे । उसै पनि त्यति बेला केटाकेटी सँगै हिँडेपछि प्रेमी–प्रेमिका भन्‍ने हुन्थ्यो । तर पारिजात त्यस्तो स्वभावको मान्छे होइन ।

किन त्यस्तो रहेछ ? 

अब के भन्‍ने, वंशाणुगत होला । उहाँका बुवा पनि त्यस्तै, मुस्ताङबाट आउने जम्मै मान्छेलाई राख्‍ने, खुवाउने । काम दिने, पढ बाबु भन्‍ने, सबै बुवाले गर्ने । बुवाले चाहिँ व्यापार पनि गर्ने, दुःख परेकालाई सहयोग गर्ने स्वभावको मेरो ससुरा । अब उहाँका कान्छा छोरा, भूपीजी पनि त्यस्तै । हाम्रो छोरो पनि आफूसँग भएको पैसा कोही दुःखी देख्यो कि दिइहाल्छ । छोरी (कविता) पनि आफ्ना साथीहरूलाई ल्याउने, खुवाउने गर्थी । हाम्रो त परिवारले नै बोलाउने, खुवाउने मात्रै गर्यौं । 

भूपीका साथीहरूले भूपी हुँदा मात्रै होइन, भूपी गएपछि पनि कान्ति भाउजूले घरमा टन्‍न खुवाउनुहुन्थ्यो भनेर लेखेका छन्...
भूपीजीका साथीहरू उहाँ गइसकेपछि पनि धेरैजसो त आइरहनुहुन्थ्यो । भाउजू भनेर भेट्न आउनुहुन्थ्यो । पछि त हामी पनि यता–उता भइराख्यौं । बिस्तारै बिस्तारै आउने क्रम रोकियो । 

पारिजातसँग भूपीको सम्बन्ध कस्तो थियो ? 

राम्रो सम्बन्ध थियो । पारिजात र भूपीको लभ पर्‍यो रे भनेर मान्छेले हल्ला त गरे । उसै पनि त्यति बेला केटाकेटी सँगै हिँडेपछि प्रेमी–प्रेमिका भन्‍ने हुन्थ्यो । तर पारिजात त्यस्तो स्वभावको मान्छे होइन । उहाँको बारेमा त सुकन्यालाई सोधे थाहा भइहाल्छ नि । सुकन्यालाई बहिनीकै व्यवहार गर्नुहुन्थ्यो, भूपीजीले । भूपीले निर्मल लामालाई पारिजातको घरमा लगेकैले सुकन्यासँग भेट भयो, विवाह भयो । भूपीलाई पारिजातकहाँ लैजाने पनि अर्कै थिए । मैले ती मान्छेको नाम बिर्सें ।

तपाईंले पनि भेट्नुभयो पारिजातलाई ? 

पोखरामा राल्फा भन्‍ने कार्यक्रममा उहाँसँग भेट भयो । भूपीजीले नै कार्यक्रम मिलाइदिनुभएको थियो त्यतिबेला । म पनि कार्यक्रम हेर्न गएको थिएँ । मैले पारिजातलाई त पहिले नै चिन्थें । मेरो दिज्यूको नन्दको साथी हुनुहुन्थ्यो प्रेमा शाह अनि शाहबाट चाहिँ पारिजातसँग चिनजान भएको थियो । हामी तीन जना (आफू, प्रेमा र पारिजात) मिल्थ्यौं । हामी पुतलीसडकमा भेट्थ्यौं । 

भूपीका बारेमा जति पनि लेखिन्छ–बोलिन्छ नि, मिथ्याहरू पनि आएका हुन सक्छन् । के छ ? 

सबैले माया गर्नुभएको छ । तर धेरैले रक्सी खाएर मर्यो भनेर भन्छन्, त्यो चाहिँ मन पर्दैन । भूपी सभ्य र शालीन मान्छे हो तर रक्सी खाएपछि कोट तानेर बान्ता गर्ने भनेर पनि भन्छन् । सुतेर माथिबाट ट्यांकीबाट रक्सी खाने भनेर पनि भन्छन्, त्यस्तो नि हुन्छ त ? भूपीजीको परिवारमा अरु कसैले पनि रक्सी खानुहुन्‍न । भूपीजीले खान सिकेको चाहिँ निर्मल लामासँग बस्दा हो । साथी भाइसँग बस्दा उहाँले निर्मल लामासँग बसेर खान सिक्नुभयो । घरमा झगडा गरेर हिँडेपछि नै खान सिक्नुभयो।

ससुरासँग साथीहरूबारे झगडा परेपछि भूपीजीले घर छाड्नु भएको थियो । उहाँका साथीहरू चप्पल लगाएर, झोला बोकेर घरमा जाने के रे । ससुरालाई राम्रो लागेनछ अनि कराउनु भएछ । आमाले अब सबैका साथीहरू मोटरमा आउँछन्, तिम्रा साथीहरू चप्पलमा आउँछन् भनेर भन्‍नुभएछ । त्यसपछि भूपीजीलाई मनमा लागेछ, निस्कनु भएछ घरबाट । निस्कने बेला बुवालाई भन्‍नुभएछ, ‘अरु दाइहरूलाई चिनाउँदा हितमान शेरचनको छोरा भनेर चिनाउनु परे पनि म चाहिँ तपाईंलाई भूपीको पिता भनेर चिनाउनेछु ।’ पछि ठ्याक्कै त्यस्तै भयो पनि । जति जेठाजुहरूले कमाए पनि हितमान शेरचनको छोरा भनेर चिनाउनु पर्‍यो, भूपीलाई त त्यसरी चिनाउनु पर्दैन । 

भूपीका कविता धेरै नै रुचाइन्थे । उहाँका कविता छाप्न पत्रिका पालो पर्खिन्थे । भूपीका रचना छापिएका पत्रिका धेरै बिक्थे । यस्तो लेखिएको छ । तर, पछि त उहाँले धेरै लेख्‍नुभएन, किन होला ? 

स्वास्थ्यले गर्दा पनि उहाँले धेरै लेख्‍न पाउनु भएन । 

त्यस्तै खालको राम्रो लेख्‍न सक्दिनँ भन्‍ने पो भएको थियो कि उहाँलाई ? 

होइन । स्वास्थ्य नै बिग्रिएपछि लेख्‍न सक्नुभएन । उहाँको सिरानमै अक्सिजन राख्‍नुपर्थ्यो । उहाँले अक्सिजन लिएको देख्दा हामी आफैं पनि दम बढेजस्तो हुन्थ्यो । अक्सिजन कम भएको मान्छेको सोच्ने शक्ति नै कम भइहाल्छ । बिरामी मान्छेले कसरी लेख्‍न सक्छ त ? 

लेख्दा उहाँले कुन समयमा लेख्‍नुहुन्थ्यो प्रायः ? 

बिहानै लेख्‍नुहुन्थ्यो । कहिलेकाहीँ चाहिँ राति लेख्‍नुहुन्थ्यो । १२, १, २ बजे पनि लेख्‍ने । पहिला त रचनाको मुनितिर लेखेको टाइम पनि लेख्‍नुहुन्थ्यो, पछि लेख्‍न छाड्नुभयो । उहाँ चिया चाहिँ एकदमै धेरै खाने । उहाँले लेखुन्जेल म पनि उठेरै बस्थें, चिया खाने हो कि, कफी खाने कि पपकर्न खाने कि ? बनाउँदै खाँदै गर्थ्यौं। 
उहाँ फटाफट लेख्‍नुहुन्थ्यो कि लेख्दै, मेट्दै, लेख्दै गर्नुहुन्थ्यो ? 

लेख्‍न त टाइम मज्जैले लाग्थ्यो । लेख्‍ने, मेट्ने, च्‍यात्‍ने, फाल्ने गर्नुहुन्थ्यो । लेख्छन्, मेट्छन् भूपी शेरचन भनेको साँचो हो । 

उहाँसँग सँगैसँगै बिताएका, मीठामीठा बातका पल त सबै सम्झनामा छँदै नै होलान्, तर पनि बिर्सनै नसकिने क्षणहरू ? 

उहाँसँग बिताएका सबै क्षण नै मेरा लागि अविस्मरणीय छन्, बिर्सनै नसकिने । मलाई अहिले पनि भूपी मेरै आडैमा भएझैं लाग्छ । उहाँका साथीहरूले माया दिन्छन् नि, भाउजू भनेर झन् त्यतिबेला उहाँ मेरै आडमा भएझैं लाग्छ । 

तपाईंहरू कतै घुम्न गएका बेला भूपीको स्टाइल चाहिँ कस्तो हुन्थ्यो ? 

बिहे नगर्दा प्रेमी–प्रेमिकाको कस्तो मुड हुन्छ, त्यो त सबैलाई थाहा भएकै कुरा भयो । बिहे भएपछि चाहिँ धेरै घुम्न जान पाइएन किनकि उहाँ बिरामी हुनुभयो । दिल्ली, भेल्लोर, बेंग्लोर गयौं तर बिरामी नै लिएर गएँ अनि बिरामी नै लिएर आएँ । 

उहाँ प्रेमी हँदा र पति हुँदा केही फरक पाउनुभयो कि नाइँ ? 

त्यस्तो भएन । कहिल्यै भएन । पति भए पनि प्रेमी नै जस्तो हुनुहुन्थ्यो । उहाँको कविता नै छ नि, स्याहारसुसार गर्दा आमा जस्तो, अरु बेला प्रेमिका जस्तो भनेर । 

कहिलेकाहीँ कविता सुनाएर बोर बनाउनुहुन्थ्यो ? 

त्यस्तो कहिल्यै भएन किनभने उहाँको स्वर नै मीठो थियो नि । सुनेरै बसूँ, दिन काटूँ जस्तो थियो के स्वर । अहिलेका केही कविहरूको स्वर त्यस्तो मीठो छैन नि, कविता सुन्दासुन्दै निस्केर हिँडौं जस्तो हुन्छ । तर उहाँको स्वर नै मीठो थियो, कविता सुनिबस्‍न मन लाग्थ्यो । 

छैन । पहिला अलिअलि दिन्थ्यो । बीचमा ममता झा हुँदाखेर राम्रो गर्नुभयो, साझामा । अहिले त भूपी गएपछि हामीलाई बोलाउँदा पनि बोलाउँदैनन् । लेखकस्व नलिएको त ६४ सालदेखि नै हो ।

साहित्यबाहेक उहाँको सोख के के थियो ? 

सिनेमा हेर्ने चाहिँ कुनै इङ्‌लिस सिनेमा हेर्नुहुन्थ्यो । तर सिनेमामा खासै त्यस्तो होइन । किताब त कति पढ्नुभयो भयो । पत्रिका पनि ल्याएको ल्यायै गर्नुपर्थ्यो । न्युरोडबाट पत्रिका ल्याउनुपर्थ्यो । टाइम्स, न्युज विक, दिनमान ल्याउनुपर्थ्यो । दिनभर पत्रिका, किताब पढ्नुहुन्थ्यो । 

‘घुम्‍ने मेचमाथि अन्धो मान्छे’ले पहिलोपल्ट साझा पुरस्कार पनि पायो । अहिले पनि बिक्री धेरै भइरहेकै छ । रोयल्टी आइराख्छ ?

छैन । पहिला अलिअलि दिन्थ्यो । बीचमा ममता झा हुँदाखेर राम्रो गर्नुभयो, साझामा । अहिले त भूपी गएपछि हामीलाई बोलाउँदा पनि बोलाउँदैनन् । लेखकस्व नलिएको त ६४ सालदेखि नै हो । 

भूपीको सम्मान राज्यको तहबाट राम्रो भएजस्तो लाग्छ कि लाग्दैन ? 

राज्यले धेरै गरेको जस्तो त लाग्दैन । नगरेको होइन, राजमार्ग बनायो । तर त्यही राजमार्ग पनि नामको मात्र । तर त्यो कस्तो भयो भनेर हेरेको पनि छैन । पोखराबाट मुस्ताङसम्मको सडकलाई भूपी राजमार्ग भनेको छ तर बीचमा स्तरोन्‍नति छैन ।

मेरै कति साथीहरू थिए, जो दिनभर उहाँलाई हेरेरै सुनेरै बस्‍न चाहन्थे । मन्त्रमुग्ध भएर उहाँलाई हेरेरै बस्थे । हाम्रो लभ परेका बेला बिहे नहुँदै मेरा साथीहरू ‘ए, भूपीसँग चिनाइदेऊ न, लभ गरौं’ भन्थे ।

हाम्रै यही नक्सालको घरअघिको सडकलाई भूपी सडक भनेर राखेको थियो, अहिले केही पनि छैन । अहिले बालकृष्ण समको नाममा सम मार्ग बनाइदिएको छ । 

भूपीका लागि परिवारले नै केही गर्ने सोचेको छ ? 

अहिलेसम्म धेरै राम्रो गरेका छैनौं, गरेपछि राम्रो गर्ने भनेर । पोखराको थकाली समाजलाई तीन लाख रूपैयाँ जति दिएका थियौं, बागलुङमा काजी रोशन हुनुहुन्छ उहाँले भूपीको नाममा पुरस्कार बनाउनु भएको रहेछ, उहाँलाई २ लाख २५ हजार दियौं । मुस्ताङमा भूपीको नाममा लाइब्रेरी खोलेका छौं, मूर्तिहरू पठाइदिएका छौं । 

तपाईं अरु लेखकको घर नगएकाले लेखकका पत्नीसँग पनि खासै चिनजान भएन होला है ? 

वाशु शशी अनि अरु २/४ जनाको श्रीमतीसँग चिनजान छ । 

भनेपछि लेखक श्रीमती संघ थिएन ? 

(हाँस्दै) थिएन, थिएन । त्यस्तो त थिएन । 

भूपी पारस होटलमा बस्‍नुहुन्थ्यो रे, त्यहाँ भूपीको नाममा पछि एउटा कक्ष नै थियो रे त ? 

त्यो त हाम्रो बिहे नहुँदै हो । राति कुनै साथीको घर जाँदा ढिला भए त्यही होटलमा बस्‍नुहुन्थ्यो । भूगोल पार्कको पछाडि थियो । होटेलले भूपी कक्ष नाम राखेको त खै थाहा भएन, यो हल्लैहल्लाको देशमा जे पनि हल्ला चल्छ । पछि नाम राखिदिए होलान् कि ?

तपाईंले भूपी झिल्के मान्छे भन्‍नुभको छ । सधैँ चटक्क पर्ने त्यस्तो हिरोेको पछि पनि अफेयर चल्यो होला नि ? 

खै, त्यस्तो अफेयर चलेको त थाहा भएन । मन पराउने मान्छे त थुप्रै थिए । भूपीलाई मन नपराउने त सायदै कोही थिए होलान् । ती सबैसँग अफेयर चलेको थियो भनेर त भन्‍न मिलेन । मेरा साथीहरूले पनि भूपीलाई मन पराउँथे । घरमा आउँथे, अनि एकटक लगाएर भूपीलाई हेरेर सुन्थे उहाँका कुरा ।

भूपी एकेडेमीमा गएपछि म जिस्क्याउँथेँ उहाँलाई– म पनि पञ्चायतबाट राजनीति गर्छु भनेर। किनभने मलाई कांग्रेस, कम्युनिस्ट कुनै मनै नपर्ने । उहाँले अनि ‘जाने भए शेरचन हटाएर राणा लेख’ भनेर मजाक गर्नुहुन्थ्यो ।

मेरै कति साथीहरू थिए, जो दिनभर उहाँलाई हेरेरै सुनेरै बस्‍न चाहन्थे । मन्त्रमुग्ध भएर उहाँलाई हेरेरै बस्थे । हाम्रो लभ परेका बेला बिहे नहुँदै मेरा साथीहरू ‘ए, भूपीसँग चिनाइदेऊ न, लभ गरौं’ भन्थे । 

तपाईंलाई खुसी लाग्थ्यो कि रिस लाग्थ्यो त ? 

खुसी लाग्थ्यो नि । कसैले आफ्नो मान्छेलाई मन पराउँदा त्यो मान्छेले मलाई मन पराउँछ भने त गर्व लागिहाल्छ नि । 

भूपीले के कुरा गर्नुहुन्थ्यो त सबै मन्त्रमुग्ध हुने गरी ? 

अहिले हामी बोलेझैं नै साधारण कुरा गर्नुहुन्थ्यो । जहाँ पनि कविता सुनाउनु परे, कुनै कार्यक्रममा उहाँ बोल्नुपरे उहाँको नाम अन्तिममा राख्थे । भूपी पाँच बजे आउने भनेपछि सबै कुरेर बस्थे । 

तपाईंले चाहिँ केही लेख्‍नुभयो कि भएन ? 

लेखिनँ । लेखिनँ भनौं भने मेरो छोरीको नाम नै कविता । यत्रो जीवित कविता नै लेखेँ नि मैले । भूपीजीले कविता लेख्‍नुभयो, मैले कविता जन्माएँ । (हाँसो) नाम चाहिँ भूपीजीले राखे पनि जन्माएको त मैले हो नि । 
 
भूपी त जोक सुनाउन पनि माहिर हुनुहुन्थ्यो रे ? 

उम् कति कति भन्‍नुहुन्थ्यो । 

अहिले सम्झिनुहुन्छ कुनै ? 

नाइँ । म त जोक त सुन्यो, हाँस्यो अनि बिर्सिहाल्छु । मेरा छोरा, नातिनी पनि जोक भन्‍न माहिर छन् । 

तपाईंको पढाइ लेखाइ चाहिँ कतिसम्म हो ? 

एसएलसी पनि पास गरेको छैन । 

भूपीले पढ्न लगाउनु भएन ? 

नाइँ पढ्न नै भन्‍नुभएन । 

नपढे पनि केही अरु केही गर्न मन थियो होला नि तपाईँलाई ? 

केही थिएन । भूपी एकेडेमीमा गएपछि म जिस्क्याउँथेँ उहाँलाई– म पनि पञ्चायतबाट राजनीति गर्छु भनेर। किनभने मलाई कांग्रेस, कम्युनिस्ट कुनै मनै नपर्ने । उहाँले अनि ‘जाने भए शेरचन हटाएर राणा लेख’ भनेर मजाक गर्नुहुन्थ्यो । धेरै साथीहरूले भूपीलाई राणाको छोरीले एकेडेमी पुर्याई भनेर पनि भन्थे । सामन्ती सोच राखे । 

तपाईंहरूको बिहेमा घरपरिवारको कोही पनि भएनन् । पछि चाहिँ घर/माइतीमा सम्बन्ध कस्तो बन्यो ? 

पछि त राम्रो भयो नि । आउने जाने पनि भयो । बिहे भएको ११ वर्षपछि माइतीमा भेट भयो । दिदी भिनाजुसँग चाहिँ भेट भइराख्थ्यो । 

भूपीको बारेमा धेरैले लेखेका छन् । माइकल हटले पनि किताब नै लेख्‍नुभयो । परिवारबाटै त्यस्तो केही गर्दै हुनुहुन्छ कि ? 

छोरी (कविता) किताब लेख्दै छ । चाँडै निस्कन्छ होला । 

भूपीले पाएका सम्मान, लगाएका कपडा, लेखेका डायरी, पाण्डुलिपि, पुस्तकहरू सम्हाल्नु भएको छ कि कसो छ ? 

किताबहरू त छन् । उहाँका लुगाहरू त स्टोरमा राखेका थियौं । छोराका पनि सबै कपडा तल थिए । छोरा पाइलट । छोराले ल्याएका रेड लेबल, ब्ल्याक लेबलहरू पनि त्यही कोठामै थिए । छोरी चाइना गएर आएको थियो, रुकस्याकहरू पनि थिए । एकदिन काम गर्ने केटो जो दूध लिन गएको थियो । धेरैबेरसम्म ऊ नफर्किएपछि यसो तल हेर्न जाँदा त सामानहरू बिग्रेका थिए । हेर्दै जाँदा उसले आफ्नो पाइन्ट छाडेर नयाँ कपडाहरू, भूपीजीका कपडा, ती रक्सीहरू, साबुनहरू, अनि अन्य सामान सबै लिएर गएको रहेछ । छोराको नयाँ जुत्ता त्यो बेलामा ८ हजार परेको जुत्ता पनि हराएछ । सबै लिएर भागेछ । पुलिसलाई पनि भन्यौं, तर कहाँ पाइने ?

भूपीलाई औंसीमा जन्मेको भनेर के–के गरेका पनि रहेछन् है सानोमा ? 

औंसीमा जन्मेको भएर बुवालाई पिर्छ भनेर मुख हेर्न नदिएका रहेछन् । चार जना छोरा पहिल्यै भएकाले भूपीको बुवालाई छोरीको आशा रहेछ । छोरी खोजेकोमा छोरा जन्म्यो, त्यही पनि औंसीमा । पछि ज्योतिषीले कसैलाई पिर्ने होइन, आफैंलाई पिर्छ यो बच्चाले भनेपछि बुवाले हेर्न थाल्नुभएछ । 

तपाईं मुस्ताङ थाक टुकुचे जानुभको छ ? 

एकपटक गएको छु । 

पुर्ख्यौली घर छ अझै त्यहाँ ? 

घर त छ नि, तर हामी गएर बस्‍न सकिँदैन । थुप्रै जग्गा पनि छ, अरु ठाउँमा पनि जग्गा छन् । हामी गएर बस्‍न सक्ने अवस्था नै छैन । टुकुचेको जग्गा छ, अझै छ कि छैन भनेर सोध्छन् अरुले । म भन्छु कि एक/दुई रोपनी हामीलाई किन चाहियो ? भूपीकै त गाउँ भनेर चिनिन्छ, हामी जुन घरमा छिरे पनि त्यहाँ बास पाइन्छ । 
 
उहाँ लेखनबाहेक अरु कुनै काममा लागे हुन्थ्यो भन्‍ने भयो कि नाइँ तपाईंलाई ? 

त्यस्तो भएन, कहिल्यै पनि । 

उहाँले पाउनुभएको पुरस्कार एउटा साझा, अर्को गोरखा दक्षिण बाहु दोस्रो होइन ? 

हो । गोरखा दक्षिण बाहु पाएकै दिनबाट उहाँलाई दमको रोग बढेको हो नि । ४२ सालमा त्यही गोदबा पाएपछि उहाँ बिरामी हुनुभएको हो । 

खुसी हुनुहुन्थेन ? 

खुसी हुनुहुन्थेन नि । साझा पुरस्कार पाउँदा चाहिँ खुसी हुनुहुन्थ्यो ।

र, यो पनि


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x