वार्ता

राष्ट्रकविको जन्मजयन्ती : महाकाली घिमिरेलाई ९८ प्रश्न

पृथ्वी-प्रज्ञा पुरस्कार दिएनन्, राजावादी आरोप लगाएर राष्ट्रगान बनाएनन्

विमल आचार्य |
भदौ १, २०७८ १७:५६ बजे

फोटो : गौरव तामाङ

२०७७ असोज ७ मा कविवर माधव घिमिरे १०२ औँ जन्मदिन मनाउनेवाला थिए, तर महिना दिनअघि नै भदौ २ मा उनले आफ्नै घर लैनचौरमा भौतिक शरीर बिसाए । कोभिड-१९ को महामारीले तर्साउनु तर्साएका बेला उनको निधन भयो । फ्यानहरूले प्रत्यक्ष रूपमा उनलाई बिदाइ गर्न पाएनन् । 

तर, ‘कुरा गर्छन् कसरी, भँगेरा र भँगेरी’ वा ‘हेर हेर साथी हो, कमिलाको ताँती यो’ गाउँदै ससाना नानीहरूले सम्झिए । ‘उनकाे प्रीति पहिले हो कि मेरो प्रीति पहिले’ गुन्‍गुनाउँदै प्रेमी जोडीहरूले बिदाइ गरे । कर्णदासको स्वर ‘त्यसरी होस् मरण’ सुसाउँदै बूढापाकाले कविवरलाई बिदा गरे । ‘राजेश्वरी’का पंक्ति वाचन गर्दै गन्यमान्य पाठकले अलबिदा भने । ‘गाउँछ गीत नेपाली’जस्ता कालजयी स्वदेशगान सम्झिँदै देशवादीहरूले गाए- नेपाली हामी रहौँला कहाँ । ‘फूलको थुँगा’ वा ‘आजै र राति के देखेँ सपनी’ जस्ता गानाले संगीतप्रेमीहरू भावुक भए । अनि, एकेडेमीमा ‘मालतीमंगले’ हेरेका वा हेर्नेको ताँती सम्झेकाले उनलाई ‘शकुन्तला’, ‘अश्वत्थामा’, ‘देउकी’जस्ता गीतिनाटकका सर्जकका रूपमा चिने । इन्द्रबहादुर राईको ‘लीलालेखन’ सिद्धान्तअनुसार यसरी माधव घिमिरे आफ्ना १६ सय फ्यानबीच फरकफरक आकृतिमा जीवन्त लीला भइरहे । 


लैनचौरको घरमा पहिलोपटक माधव घिमिरेसँग भेट भएन । ‘इहलोक’मा शताब्दी जिएर ‘परलोक’ पुगेका घिमिरेको पहिलो वार्षिकीको पूर्वसन्ध्यामा उनलाई सबै रूप र औतारमा चिनेकी पत्नी महाकाली घिमिरेसँग केही कुराकानी गरिएकाे छ । 

माधव घिमिरेको पहिलो रचना छापिनु र महाकाली घिमिरेको जन्म हुनु एकै साल हो । माधव घिमिरेसँग ७२ वर्ष भौतिक सहयात्रा गरेकी महाकालीलाई त्यो ७२ भन्दा यो एक वर्षको आत्मिक सहकार्य लामो र कष्टकर लागेको छ । कुराकानी पढ्नुअघि माधव घिमिरेबारे केही सानो औपचारिकता लेखिहालौँ । (माधव घिमिरेबारे थाहा हुने पाठकले अबका अनुच्छेद नपढी सीधै तल पुगेर वार्तामा प्रवेश गर्नुहोला ।) 

घिमिरे यस्ता ‘लक्की’ साहित्यकार हुन्, जो लामै कालखण्ड चर्चाको केन्द्रमा रहे । झन्नै ८० वर्षदेखि आफूले लेखिरहेको ‘ऋतम्भरा’ महाकाव्य उनले पूरा त गरे तर महाकाव्यको कभर सुम्सुम्याउने उनको रहर भने पूरा हुन पाएन । अब साझा प्रकाशनले छाप्तै गरेको महाकाव्य रचनाको ‘महाकथा’ पनि रोचक नै छ । ‘के गर्दै हुनुहुन्छ कविज्यू ?’ भन्ने लक्ष्मीप्रसाद देवकोटाको सोधाइमा ‘महाकाव्य लेख्दै छु’ भनेर माधव घिमिरेले जवाफ दिँदा देवकोटाले महाकाव्य लेख्नेबारे सोचेका थिएनन् । माधव घिमिरेको प्रेरणा (वा ईर्ष्या) ले महाकाव्य लेख्न सुरु गरेका देवकोटाले सातवटा महाकाव्य लेखीवरी महाकविको बलियो पहिचान बनाई-बनिसकेपछि हुन सक्छ, घिमिरेले महाकाव्य पूरा गर्नेतिर उति मन दिन सकेनन् ।  

तर, महाकाव्य नलेखे पनि उनले महाकाव्य वा सोसरहका ‘पापिनी आमा’, ‘नयाँ नेपाल’, ‘गौरी’, ‘राजेश्वरी’, ‘राष्ट्रनिर्माता’, ‘धर्तीमाता’, ‘बोराको परदा’, ‘गौँथली र गजधम्मे’, ‘इन्द्रकुमारी’जस्ता दर्जनौँ खण्डकाव्य लेखे । यी खण्डकाव्य र ‘मालती मंगले’, ‘शकुन्तला’, ‘अश्वत्थामा’, ‘देउकी’जस्ता गीतिनाट्य कृतिले उनी क्लासदेखि गीतकारका रूपमा माससम्म अत्यधिक लोकप्रिय रहे । गीतमा उनी मूलतः दुइटा प्रेममा केन्द्रित रहे- मायाप्रेम र देशप्रेम । 

वैचारिक रूपमा उनका केही सिर्जना र कर्ममा यथास्थितिदेखि शासकस्तुतिसम्मको आरोप लाग्छ । तर, उनको सबैभन्दा प्रशंसायोग्य पाटो के हो भने उनी बान्की परेका, सुललित लाइन सिर्जना गर्न सिपालु थिए । 

उमेरले आफूभन्दा कान्छा राजा महेन्द्र (जसले २०१४ सालमा एकेडेमी स्थापना गर्ने कामको अगुवाइ गरे) को आँखामा संस्थापक प्राज्ञका रूपमा छनोटमा पर्नेदेखि निधन हुनु केहीअघि नेपाली सेनाको बर्दीसहितको सम्मान उनले पाए । तर घिमिरे मदन-जगदम्बा र यदाकदा नोबेल पुरस्कार अनि नयाँ राष्ट्रगानको सर्जक पाउन नसकेकामा भने आफ्नो खिन्नता प्रकट गर्थे । 

घिमिरेको दीर्घायु सधैँ चर्चाको विषय भयो । सायद उमेरको उत्तरार्द्ध दशकमा उनलाई सबैभन्दा धेरै सोधिएको प्रश्न पनि यही हुन सक्छ– तपाईंको दीर्घायु र सुस्वास्थ्यको राज के हो ? उनी भन्थे, ‘जब गौरीको निधन भयो, जीवन त अमूल्य रहेछ भन्ने बोध भयो मलाई । त्यति बेला मृत्युसित साक्षात्कार भएको हुनाले मैले जीवनको मूल्य थाहा पाएँ । मैले नकारात्मक विचार र सोचलाई कहिल्यै वास दिइनँ । सधैँ सकारात्मक र सिर्जनात्मक मात्र बनेँ ।’ 

अब सुरु गरौँ छोटोछोटा प्रश्नोत्तरसहितको अलि लामै वार्ता । हामी लेनचौर निवासमा कुराकानी गर्दा माधव घिमिरेका साथी महाकवि देवकोटाको कविकुञ्जको खबर आइरहेको थियो । अब प्रस्तुत छ, विमल आचार्यको सोधाइ र महाकाली घिमिरेको जवाफ : 

आमा, हजुरको स्वास्थ्य कस्तो छ ? 
ठीकै छ । ठीकै छु भन्नुपर्छ । तर, सुगर, प्रेसर, थाइराइडको औषधि खाइरहिछु । 

बोल्न गाह्रो हुन्छ कि ?
हुँदैन । तर, म बोल्न पो नजानूँला कि !

तपाईंको उमेर पनि त ८६ भइसक्यो है ?
हो, अब यही औँसीदेखि ८७ लाग्छु । बुवा (माधव घिमिरे)को तिथि र मेरो एउटै परेको छ । मेरो जन्म दिन र बुवाको जाने दिन उही औँसी । 

अनि बुवाको पहिलो रचना छापिएको र तपाईं जन्मेको पनि त उही साल हो क्यारे नि...
ए होला, तँलाई पाल्नुपर्छ भनेर म परदेश हिँडेको रहेछु भन्नुहुन्थ्यो बुवा । 

१३ वर्षकै उमेरमा २००५ सालमा यहाँको बिहे भयो...
हो, म सानै थिएँ । 

बिहे कहाँ भयो ? 
उही लमजुङमै । 

बिहे हुँदा तपाईंलाई थाहा थियो, उहाँ कवि, चर्चित मान्छे भनेर ?
केही थाहा थिएन । 

फोटो : गौरव तामाङ

पछि कहिले थाहा पाउनुभयो ? 
बिहेपछि, पछि मात्र थाहा पाएँ । 

घरमा गौरी हुनुहुन्थ्यो भनेर कहिले थाहा पाउनुभयो ?
म आउँदा दुई छोरी थिए । एउटी छोरी मामाघर थिई । अर्की उहाँकै साथमा थिई, अनि थाहा पाएँ । 

बिहेको कुरा कसरी चलेछ ?
खै, कसरी चलेछ थाहै भएन मलाई त । ठूलो हजुरबाको छोराले मिलाउनुभाको हो भन्थे । त्यतिबेला बुझ्ने कुरा पनि भएन । सोध्ने कुरा पनि भएन । 

तपाईं जन्मेको ठाउँ, माइतीघर भन्छन् नि, त्यो कहाँ हो ? 
लमजुङको दुराडाँडा । 

माइतीमा कति दिदीबहिनी, कति दाजुभाइ हुनुहुन्थ्यो ? 
हामी तीन दिदीबहिनी, चार दाइभाइ थिइम् । 

अहिले कोको हुनुहुन्छ ? 
एउटा भाइ, एउटी बहिनी र म मात्र छम् अब । अरु सबै गइसके । 

तपाईंको त चर्चित व्यक्तिसँग विवाह भयो, माइतीमा के भन्थे दिदीबहिनीहरू ? महाकाली कति भाग्यमानी भने होलान् नि ? 
भने होलान् । तर, म माइतीमा जाँदै गइनँ भने पनि हुन्छ । 

किन जानुभएन ?
उहाँ एक्लो हुनुभो, कसले पकाएर खान दिन्छ, कसले हेर्छ भनेर मैले खासै घर छोडिनँ । 

काठमाडौँ कहिले आउनुभयो ? 
२००९ सालमा । 

आउँदा तपाईं आमा भइसक्नुभएको थियो ? 
काखमा यही थिई (सँगै बसेकी छोरी मन्जु घिमिरे अधिकारीलाई देखाएर) । अरु सबै यहीँ काठमाडौँमा जन्मेका हुन् । 

कति जना ? 
यो मन्जुलाई हामीले साइली भन्यौँ सधैँ । साइली नै हो । शान्ति र कान्तिपछि यो मन्जु हो । अनि छोरीहरू उषा, किरण, ज्योति र छोराहरू इन्दीवर र राजीव । 

आमा बन्दा केही गाह्रो पनि भयो कि ?
भएन, सबै मैले घरमै पाएकी हुँ । अस्पताल जानु परेन । 

बुवालाई दुई वर्षकै उमेरमा मातृवियोग भयो । पत्नीवियोग पनि भयो । तपाईंसँग बिहे हुँदा उहाँ कस्तो मनस्थितिमा हुनुहुन्थ्यो ?
खै, कस्तो कस्तो ? त्यो बेला चलन नै त्यस्तै थियो । तर उहाँ त्यति रमाइलो खालको देखिएन । मेरो अघि रमाएको जस्तो त देखिनै पर्यो । तर उहाँको भित्री मन भने रमाएको थिएन । 

उहाँले गौरीबारे तपाईंलाई केही भन्नुभयो ? 
दिदीको बारेमा केही कुरा गर्नुभएन । मैले पनि घाउ कोट्याएर किन दुःखी बनाउनु भनेर केही सोधिनँ । 

झन्नै आफ्नै उमेरका छोरी शान्ति र कान्तिसँग तपाईं कसरी घुलमिल हुनुभयो ? 
जेठी छोरी शान्ति र मेरो उमेर सात वर्षको मात्र फरक छ । हामी सँगै खेल्तिम् । उहाँ दिउँस स्कुल जानुहुन्थ्यो । गाउँमा हेडमास्टर हुनुहुन्थ्यो । हामी आमाछोरी घरमा भाँडाकुटी खेल्थिम्, बस्तिम् । 

पछि... 

मैले छोरीहरू शान्ति र कान्तिलाई कहिल्यै फरक व्यवहार गरिनँ । यिनीहरूले जस्तो गर्छन्, मलाई त्यस्तै गर्छन् उनीहरू पनि । मैले पनि यिनीहरूलाई जस्तो गर्छु, उनीहरूलाई पनि त्यस्तै व्यवहार गर्छु । उनीहरूले सानीआमा भनेका पनि छैनन् कहिल्यै । धेरै दुःखको बेला सँगसँगै हुर्केकाले पनि होला, मलाई त शान्ति र कान्ति साह्रै प्यारा लाग्छन् । 

आमा, तपाईंले पढ्न पाउनुभयो ?
म त अक्षरै नचिनेकी मान्छे, के पढ्नु ! 

पढ्न नपाउँदा के लाग्थ्यो ? मन दुख्थ्यो होला नि ।  
मन दुख्छ नि । कसैसँग बोल्न सकिँदैन । कसैले अलि गहिरो कुरो गर्यो भने बझ्न गाह्रो । 

पढ्न नपाएकामा मन दुखेको कुनै सम्झना छ ? 
त्यस्तो त सम्झिन सकिनँ । अप्ठेरो परेका बेला उहाँ मेरो समस्या बुझेर छोपिदिनुुहुन्थ्यो ।
 
बुवासँग विदेशतिर नि जानुभयो ?
गएँ । अमेरिका, बेलाइत गइछु सँगसँगै । तर म नपढेकी मान्छे त्यताको न भाषा बुझिने, न चलन । नपढेका मान्छे संसार जति घुमे पनि धेरै रमाइलो हुँदैन । 

बुवाले तपाईंलाई पढ्न सिकाउनुभएन ?
त्यो त सिकाउनुभयो नि । अक्षर चिन्न सक्ने उहाँले नै बनाउनुभयो । उहाँले सिकाएकै हुनाले म पत्रिका–किताबसम्म अलिअलि पढ्छु । कदेखि नै उहाँले सिकाउनुभको हो । 

डेरामा महाकविलाई खसीको टाउको पकाएर खुवाएँ । 

 

 

छोरी सँगसँगै यहाँले पनि सिक्नुभयो ? 
छोरी सँगैसँगै पढ्या भए त अहिले बीए, एमए हुन्थेँ होला नि ।

तपाईंको उमेरका धेरै महिलाले नपढेको वा पढ्नै नजानेको भन्दा पनि पढ्न नपाएको चाहिँ होला है आमा ? 
खै, त्यस्तै होला । घर–व्यवहार सम्हाल्नु परिहाल्यो । छोराछारी धेरै भए । आठ जना छोराछोरी भन्या कम हो र ? पकाउने, ख्वाउने, स्कुल पढाउने सानो हुन्थ्यो र काम !

अनि बुवा चाहिँ घरबाहिरै धेरै व्यस्त हुनुभयो है ?
उहाँ बाहिर नगए त हामीले के खानी र ? के थियो र यहाँ हाम्रो ? पहाडबाट आउँदा हामीले केही लिएर आको हैन, रित्तै आको हो ।
 
यो घर कहिले बनाउनुभयो ? 
धेरै पछि बनाएको हो । डेराबाट सरेको घर यही हो । 

घरको कुरा आइहाल्यो, महाकवि देवकोटाको घरको समाचार आइराछ अहिले, थाहा पाउनुभको छ ? 
थाहा पाएँ । म धेरैपल्ट गइँछु त्यहाँ । 

के भन्नुहुन्छ ? 
अब यो सब समयअनुसारको कुरा हो । समयले जित्छ । मेरो यो घर पनि भत्किँदै छ । 

किन ? 
मेरा दुई छोरा छन् । मैले कहाँ राख्नी ? 

लेखकका हामी श्रीमती सबै नपढेका, दरबार गएका बेला हामी एक ठाउँ हुन्थिम् । अलिकति पढेकी बाङ्देलनी मात्र थिइन् । 

 

अंशबण्डा गरिदिनुपर्ने छ यो ? 
बुवाले नै गरिदिनुभएको छ, यो घर आधीआधी गर भनेर । 

अहिले तपाईंका दुवै छोरा, उहाँको परिवार यहीँ छ ? 
सबै यहीँ छन् । एउटा छोरो त्यहाँ (घर नजिकै अर्काे टाँसिएको सानो घर छ) यहाँ ठाउँ नपुगेर त्यहाँ सरेको छ । 

तपाईं बुवासँग कहाँ-कहाँ जानुभयो ? 
डुल्नै भनेर त कहीँ गइएन । कार्यक्रमहरूमा गएँ ।

‘मालतीमंगले’ हेर्न जानुभयो ? 
गएँ, धेरैचोटि गएँ नि । 

के सम्झना छ ? 
एकदम लाइन हुन्थ्यो र सबैका आँखामा आँसु हुन्थ्यो । सबै रुँदै बाहिर निस्किन्थे । 

बुवाका साथीहरू, देवकोटाहरू यहाँ आउनुभयो ? 
आउनुभयो । यो घरमा त आउनुभएन । हामी डेरामै थियौँ त्यतिबेला । डेरामा आउनुहुन्थ्यो । म खाना पकाएर खुवाउँथे । दुई जना बसेर कुरा गर्नुहुन्थ्यो । गफ गर्दागर्दै ढिलो हुने, ल खाना तयार गर त भन्नुहुन्थो । 

राजावादीको आरोप लगाएर राष्ट्रगान नबनाका नि !

 

 

के खुवाउनुभएको थियो, सम्झिनुहुन्छ ? 
उहाँलाई टाउको मन पर्ने । खसीको टाउको पकाइथेँ । 

बुवालाई पनि मासु मनपथ्र्यो है ? 
हो, पछिपछि भने कम गर्नुभएको थियो । 

अरु को-को लेखक आउनुहुन्थ्यो ? 
धेरै ल्याउनुहुन्न थियो । हाम्रो आफ्नो परिस्थिति त्यस्तै थियो । डेरामा खान बस्न पनि साँघुरो । छोराछोरी धेरै । 

तपाईं चाहिँ क-कसकहाँ जानुभयो ? 
लेखनाथको घरमा गइछु । सिद्धिचरणको घरमा गइछु । लक्ष्मीप्रसादको घरमा गइछु । भवानी भिक्षुको घरमा गइछु । धेरैकोमा गइम् । रमाइलो हुन्थ्यो । 

केही विशेष कुरा सम्झिनुहोस् न...
धेरै छन्, के भन्ने भन्ने, सबै विशेष छन् ।
 
बुवाले कहिल्यै खाना पकाउनुभयो ? 
पहिले त पकाउनुभयो होला नि । कहिलेकसो अड्को पर्या बेलामा पकाउनुहुन्थ्यो । 

एकेडेमीको पृथ्वी-प्रज्ञा पुरस्कार चाहिँ नदिइएकै हो । 

 

तपाईंलाईं केही पकाएर खुवाउनुभएको सम्झना छ ? 
त्यसरी सम्झना हुने गरी त केही पकाउनुभएको सम्झना छैन । कहिलेकहिले खाना बनाउनुहुन्थ्यो । 

उहाँ काठमाडौँबाहिर, देशबाहिर जाँदा तपाईंहरूलाई केही कोसेली ल्याइदिएको सम्झना छ ?
केही न केही ल्याइदिनुहुन्थ्यो । खाली हात कहिल्यै घर छिर्नुभएन । छोराछोरीलाई धेरै माया गर्नुहुन्थ्यो ।

तपाईंलाई बुवाको सबैभन्दा मन परेको रचना कुन हो ? 
मन त सबै पर्छन् । त्यसमध्ये ‘वैशाख’ कविता मलाई धेरै मन पर्छ । 

तपाईंलाई त्यो त कण्ठ पनि होला कि ?
छैन । कण्ठ पार्ने उमेर नै भएन, कसरी पार्नु ? 

गीत कुनै याद छ कि ? 
याद त कुनै छैन ।

बुवा गएपछि बुवाका दुई गीत ‘त्यसरी होस् मरण’ अनि पुरानै गीतलाई नयाँ स्वरमा गाइएको ‘उनकाे प्रीति पहिले हो कि’ धेरै चले नि, तपाईंलाई थाहा छ ? 
थाहा त छ, सुनेकी छु । हेरेकी छैन । 

बुवालाई चित्त दुख्ने कुरा के थियो ? 
देशकै कुरा । अहिले सब भताभुंग भा छ । ‘गयो आफ्नो देश’ भनेर धेरै चिन्ता गर्नुभा छ । जानु अघिल्लो दिनसम्म पनि पत्रिका हेरेर ‘गयो देश’ भन्नुभको छ । उहाँलाई यो राष्ट्र सुन्दर, शान्त र विशाल रहिदिए हुन्थ्यो भन्ने चिन्ता मात्र थियो सधैँ । देश विदेशीहरूले नखाए हुन्थ्यो, नेताहरूले सानो लोभ र स्वार्थमा परेर देश नखुवाए हुन्थ्यो, हिमाल नपग्लिए हुन्थ्यो, यस्तै भन्नुहुन्थ्यो । 

लेख्नुअघि तपाईंसँग केही सल्लाह गर्नुहुन्थ्यो ? 
लेखिसकेपछि गीत चाहिँ सुनाउनुहुन्थ्यो । 

कविता ?
कविता चाहिँ तैँले बुझ्दिनस् भन्नुहुन्थ्यो । 

उहाँ गएपछि राष्ट्रकविबापतको, आजीवन सदस्यबापको सबै रोकियो । 

 

 

केही सुझाव दिनुहुन्थ्यो तपाईं ? 
गीतमा यस्तो गरेको भए राम्रो हुन्थ्यो भन्‍थेँ । उहाँ आफैँ विचार गर्नुहुन्थ्यो । कहिले बदलेको पनि हुन्थ्यो, कहिले त्यही पनि हुन्थ्यो । 

कुनै रचनामा तपाईं विषय, पात्र बन्नुभएको छ कि ? 
म थाहा पाउँदिनँ त्यो त ।

फोटो : विमल आचार्य
 
‘आजै र राति के देखेँ सपनी’मा तपाईंको सपना भन्ने सुनेको थिएँ...
सपना मैले सुनाको हो, गीत त उहाँले नै बनाको हो । 

त्यो के थियो, भनिदिनुस् न ।
म बिहानै उठेर चिया लिएर गइथेँ कोठामा । उहाँ लेख्न थाल्नुभा रैछ । मैले आज यस्तो सपना देखेँ भने । म आफैँ मरेको देखेइथेँ भनेइथेँ । उहाँले सुन्नुभो अनि ‘ल तँ जा’ भन्नुभो । म कोठाबाट निस्किएँ । अनि लेख्नुभएछ । त्यो गीत नै धेरैले रुचाएछन् पछि ।

लेख्न बस्दा उहाँको एकोहोरो बानी थियो होला, त्यसले तपाईंलाई कहिल्यै दिक्क बनायो कि बनाएन ?
खाना खानै बिर्सिने बानी थियो । ‘लौ लौ’ भन्यो । खाना पस्कियो । चिसो हुन्छ । फेरि ततायो । यस्तो धेरै हुन्थ्यो । 


लिनी-दिनी कुरै हैन माया ।

 

एक्लै केही सोचेर बसेको देखिनुहुन्थ्यो कहिलेकाहीँ ?
त्यो त कति कति । पछि ‘ए बोलाइथिस् र’ भन्यो, सिद्धियो ।

कहिलेकाहीँ राति पनि उठेर लेख्नुहुन्थ्यो कि ? 
उहाँका सबै रचना रातिका हुन् । दिनका भन्दा रातिका धेरै छन् । 

बत्ती बालेर रातभरि लेखिरहने है... 
हो, धुम्धुम्ती बसेर सोच्या होला नि, चुपो लागेर बसेको देखिनुहुन्थ्यो ।

लेखकका अनेक आदत पनि धेरै सुनिन्छन्, पिउनेवर्ने, घर नआइदिने, साथीकहाँ सुतिदिने, हराइदिने बुवाको के थियो ? 
त्यस्तो केही थिएन । त्यो त उहाँले कहिल्यै पिउनुभएन । छुनु पनि भएन । त्यही चुरोटको बानी थियो । त्यो पनि पछि छोड्नुभयो । धेरै उमेरसम्म खानुभयो, चुरोट त । 

उहाँले अन्तिमचोटि के बोल्नुभयो, सम्झना छ ?
खै, के भन्नुभयो ! ‘गयो मेरो देश’ भन्नुभको थियो अघिल्लो दिन पत्रिका हेरेर । अनि ‘अब तँ एक्लै परिस्’ पनि भन्नुभयो । जिउ पुछिदे भन्नुभयो । मैले जिउ पुछिदिएँ । उहाँ गइहाल्नुहुन्छ जस्तो चाहिँ हुनु नै हुन्थेन । 

पति-पत्नीबीचको माया अर्कै हुन्छ है आमा, त्यसको ठाउँ अरु कसले लिन सक्दो रहेछ र ?
हो नि, कसले लिएर कसलाई हुन्छ र ? लिनी–दिनी कुरै हैन माया । छोराछोरीको माया फेरि आफ्नै ठाउँमा माथि हुन्छ । 

छोराछोरालाई उहाँ कति समय दिनुहुन्थ्यो ? 
पढाउने, सिकाउने धेरै चिन्ता गर्नुहुन्थ्यो । त्यही भएर त सबैले राम्रोसँग पढे । कम पढेका भनेको पनि बीए पास छन् । आएका बुहारीहरूलाई पनि पढाउनुभयो । सम्पत्ति धेरै नभए पनि परिवार शिक्षाको केन्द्र बन्या छ । सम्पत्ति त यही हो । भएको यही घर हो । अरु केही छैन । 

बुवाका किताब, पाण्डुलिपि, सम्मान, कागजपत्र संरक्षणबारे घर–सल्लाह केही भको छ ? 
कोरोनाले गर्दा सबै भेला हुनै मिलेको छैन । मेरा छोराछोरी, उनीहरूको परिवार सबै सज्जन छन् । अब हामी आफैँले गर्नुपर्छ भन्ने लागेको छ । कसले के गरिदिन्छ र ? डिल्लीरमण रेग्मीको त्यत्रो सम्पत्ति सरकारलाई दिएर, आखिर त्यो नसम्हालिएर हिनामिना भएर अहिले उनकै नातिनीले सम्हालेर बसेकी छिन् । त्यस्तै लक्ष्मीप्रसादको पनि अहिले सरकारले लियो, खै अब के गर्छ, थाहा छैन । मेरा छोराछोरीहरूले हामी आफैँ गर्छम् बुवाको निम्ति भनेका छन् । 

मैले कहिल्यै पनि शंका गरिनँ । 
 

बुवा गएको एक वर्ष भयो, यसबीचमा साझा प्रकाशन, एकेडेमीबाट पुस्तकको रोयल्टी वा भत्ता बुझ्नुभयो कि भएन ? 
कसैले सम्पर्क गरेका छैनन् । एकेडेमीमा त छैनन् क्यारे हाम्रा किताबहरू । हाम्रा सबै किताब जति छन्, साझामा छन् । सबै किताब साझालाई दिनुभएको हो बुवाले । आफूहरूले लागेर मिलेर खोलेको संस्था हो, साझा जोगाउनुपर्छ भन्नुहुन्थ्यो । अब भएका पाण्डुलिपि पनि त्यहीँ दिनू भन्नुभएको छ । 

कुन-कुन छापिन बाँकी छन् अब ? 
दुइटा छन् । एउटा त ‘ऋतम्भरा’ महाकाव्य नै हो । त्यो तयार नै छ । अर्काेको नाम सम्झना भएन मलाई । त्यसमा दुइटा गीत पुग्या छैन भन्नुभा थियो । छोरा–छोरीहरू परिवार भेला भएर हेरेर मिलाउलान् । म त नपढेकी भएँ, बुझ्दिनँ । 

बुवासँग ७२ वर्ष सँगै रहनुभयो, छुट्टेको यो एक वर्ष कसरी बित्यो ? 
यो एक वर्ष त घरै अँध्यारो भयो । सधैँ सुनसान । कोरोनाले पनि होला, पहिलोचोटि यो घर यति धेरै सुनसान भयो । बुवा यहीँ वरिपरि हिँडेको मात्र झल्को लाग्छ । (आमा महाकालीले यहाँनेर अलि धेरै बेर आँसु बगाउनुभयो । बोल्न सक्नुभएन । अनि म खुसीको कुरा सोध्नतिर लागेँ ।) 

उहाँ सबैभन्दा खुसी भएको क्षण के थियो आमा ? 
उहाँ सधैँ खुसी हुनुहुन्थ्यो । 

तैपनि ?
राष्ट्रकवि हुँदै हुनुभयो नि त । राष्ट्रकवि भनेको राष्ट्रको कवि, कति ठूलो सन्मान पाउनुभयो । 

बाहिरतिरका, अफिसतिरका कुरा घरमा भन्नुहुन्थ्यो ? 
त्यो चाहिँ सुनाउनुहन्थ्यो । मनमा लिएर बस्यो भने मन पाकिरहन्छ, त्यसले दुःख दिइरहन्छ, व्यक्त गरेर पोखिदिएपछि मन हल्का हुन्छ भन्नुहुन्थ्यो । तिमीहरूको त्यस्तो केही छ भने पोख, बोझ बोक्न हुन्न भन्नुहुन्थ्यो । 


त्यति बेला राजावादी नभएको कुन चाहिँ थियो, मलाई देखाउनुपर्यो । यी सप्पै सरकारमा बसेका हुन्, कुन चााहिँले खाएन राजासँग जागिर ? 

 

खाना खाने बेला हुन्थे यस्ता कुरा ?
खानै खाने बेला त हो, अरु बेला त उहाँको कलमै हो कि त साथी । कहिले त खानी बेला पनि यस्तो गफ हुन्न थियो । खाँदाखाँदै हात रोकेर बस्नी पनि गर्नुहुन्थ्यो । 

त्यो बेला बुवाका साथीहरू भूपी, शंकर लामिछाने लगायत केहीका दुई बिहे भए । धेरैका प्रेम चक्कर पनि सुनिन्थे । बुवा त त्यति मीठा प्रेमगीत-कविता लेख्ने ह्यान्सम रोमान्टिक मतलब चिटिक्कको रौसे मान्छे । बाहिर लभसभको चक्कर पर्यो कि परेन बुवाको ?
त्यस्तो थिएन । त्यस्तो केही थाहा पाइएन । मैले कहिल्यै पनि शंका गरिनँ । 

फोटो : गौरव तामाङ

बूढो उमेरमा पनि प्रेमगीत खुब लेख्नुभयो नि ?
त्यो त मनभित्रको कुरो हो नि त ।

उहाँलाई आफ्नो गीत ‘गाउँछ गीत नेपाली’ राष्ट्रगान नभएकामा अलि मन दुखेको थियो है ? 
अब सप्पैले राजावादी भनेर हटाएका हुन् नि । त्यति बेला राजावादी नभएको कुन चाहिँ थियो, मलाई देखाउनुपर्यो । यी सप्पै सरकारमा बसेका हुन्, कुन चााहिँले खाएन राजासँग जागिर ? प्रधानमन्त्री थिएनन् कि सचिव थिएनन् कि, केके पोस्ट हुन्छन्, सप्पैले खाथे त राजासित जागिर । हामीले के राजाको गान गाको छैन केरे । राजा यस्तो र उस्तो भनेर श्रीपेचको बयान गरेर कहीँ हामीले राख्या छैन । अब राजाले दिएको जागिर नखाएर के खानी त ? कोले पो नखाको छ र ? राजावादीको आरोप लगाएर राष्ट्रगानबाट हटाका नि हामीलाई । 

यसबारे बुवा के भन्नुहुन्थ्यो ? 
अब बुवा नै नभएपछि त्यो कुरा सिद्धियो ।

महाकविको मात्रै किन ? मेरो यो घर पनि भत्किँदै छ ।

 

राजा महेन्द्रभन्दा बुवा जेठो हुनुहुँदो रहेछ । महेन्द्रले आफूभन्दा कान्छो उमेरको बुवालाई, अरु नाम चलेका कतिलाई प्राज्ञ नबनाएर बुवालाई कसरी संस्थापक प्राज्ञ बनाउनुभएछ ? 
सबैभन्दा पहिला त्यो संस्था खोल्नुपर्छ भनेर सल्लाह गर्ने बुवा, बालचन्द्र शर्मा, लक्ष्मीप्रसाद । लक्ष्मीप्रसाद त्यो बेला शिक्षामन्त्री हुनुुहुन्थ्यो । उहाँले ‘लौ तिमीहरू यसो गर, यही बेला हो खोल्नी’ भनेर तताउनुभयो । उहाँहरूले कागजपत्र सबै बनाएर राजालाई बुझाउनुभयो । राजा महेन्द्रले ‘लौ ठीक छ, यो गर्नुपर्छ, साहित्यिक सेवा हुनुपर्छ’ भनेर भन्नुभयो । राजाले उत्साह दिएर गर्या हो सब काम । भने एकेडेमीका लागि त्यति गर्या मान्छेलाई एकेडेमीले के गर्यो त ? उहाँ जाने बेलासम्म पनि त्यहाँको आजीवन सदस्य हो । संस्थापकमध्येकी म एक जना त थिएँ, मलाई दिएको भए पनि त हुने थियो, आजीवन सदस्यताबापतको पैसा ।

 पेन्सनजस्तो नहुने रहेछ है त्यो ? राष्ट्रकविबापतको भत्ता पनि आउँदैन ? 
आउँदैन । दुवै बन्द भइसक्यो । अहिले छोराहरूको शरणमा छु । 

भनेपछि एक वर्षयता राज्यबाट केही आएको छैन ?
छैन । म कति पो बाँच्छु र, ८७ लागिसक्या मान्छे । कति बाँचेर कति खान्छु र म ? दिया भए पनि हुन्थ्यो केर, नियम छैन भन्छन् । ठीकै छ अब । छोरा छन् दुइटा, पाल्छन् । छोराले नहेरे छोरीहरू छन् । 

बुबाले नेपाली सेनाको सम्मान पनि लिनुभयो, जानुभन्दा केही अघि मात्र । यसको आलोचना पनि भयो । आर्मीको पोसाक लाउनुभयो, त्यो उमेरका त्यो तहको राष्ट्रकविले सेनाको सानो तहको सम्मान लिनुभयो भनेर शुभचिन्तकले मन पनि दुखाएथे नि ?
उहाँले पत्रिका पढ्नुहुन्थ्यो । कान्तिपुर, नागरिकहरू पढ्नुहुन्थ्यो । उहाँलाई यो थाहा थियो । सेनाको प्रवक्ताले अस्ति राम्ररी जवाफ दिनुभएको छ, नेपाली शिक्षा परिषद्को कार्यक्रममा । 

हाम्रो समाजमा त दान गर्ने चलन पनि हुन्छ, बुवाका सामान त ऐतिहासिक महत्वका हुन्छन्, के गर्नुभयो ? 
उहाँले उपयोग गरेको त मैले केही पनि दान गरिनँ । जति सकेँ, नयाँ नै गरेँ । उहाँका सामान कसैलाई दिएको पनि छैन  । 

महामारीले गर्दा उहाँको निधनमा मलामीको महासागर ओर्लिन पाएन । पार्थिव शरीर एकेडेमी पनि लगिएन, किन ? 
उहाँले एकेडेमी नलैजाओ भन्नुभएको थियो । 

किन होला एकेडेमीसित मन दुखेको ? 
उहाँले त्यत्रो गर्नुभयो, पृथ्वी प्रज्ञा पुरस्कार नै दिएन ।  

अब तपाईं, आफ्नो जीवनकालमै उहाँको सम्मानमा के होस् भन्ने चाहनुहुन्छ ?
उहाँको सम्मान राष्ट्रले, जनताले गरि नै सकेका छन् । सरकारले, एकेडेमीले के गर्ने, उहाँहरूको कुरा हो । 

बुवा त्यति लामो समय बाँच्नुभयो, स्मृति पनि ताजै थियो । उहाँले आत्मकथा चाहिँ किन लेख्नुभएन ?
कतिले उहाँलाई आत्मकथा लेख्नुस् पनि भने । उहाँले यो मैले लेख्ने हैन, अरुले लेख्नी हो भन्नुभयो । मैले के गरेँ भनेर मैले देखाएर हुने होइन । अरुले देख्नी कुरा हो । जसले जति देख्छ, उति लेख्छ भन्नुहुन्थ्यो । आफ्नो बखान आफैँ गर्नुहुन्न भन्नुहुन्थ्यो । 

कविता धेरै सुनाएर दिक्क पार्नुहुन्थ्यो कि ? 
अहँ, उहाँको त्यस्तो बानी थिएन । तपाईंहरू आउँदा हो सुनाउनी । घरमा धेरै सुनाउनी भा भए मलाई पनि केही पंक्ति याद हुँदो हो नि । 

‘अस्वत्थामा’ अंग्रेजीमा अनुवाद पनि भयो । नोबेल पुरस्कार पाउनुभएन । मदन र जगदम्बा पनि पाउनु भएन, किन रहेछ ?
मदन र जगदम्बा नपाको हो कि लिन इच्छा नगरेको हो ? लिन इच्छा नगरेको हो कि भन्नी लाछ मलाई । एकेडेमीको पृथ्वी प्रज्ञा पुरस्कार चाहिँ नदिएकै हो । 

आफूबारे लेखिएका समाचार, समीक्षा, समालोेचना पढेर के भन्नुहुन्थ्यो घरमा ? नचाहिने लेखेछ वा यो ठीक लेखेछ, यस्तो केही भन्नुहुन्थ्यो कि ? 
भन्नु हुन्थेन । पढ्नु चाहिँ पढिराख्नुहुन्थ्यो । ‘मधुपर्क’ पत्रिका जाने बेलासम्म पढ्नुभएको थियो । उहाँका बारेमा लेख आएको थियो, मधुपर्कमा । पढ्नुभएको थियो । पढ्न त जति बेला पनि पढ्ने । हातमा कि किताब कि कलम नै त हो उहाँको सधैँ । 

फोटो : गौरव तामाङ

खाना खान भनेर यहाँहरू दुई जना कहिल्यै बाहिरतिर होटेल, रेस्टुराँतिर जानुभो ? 
(हाँसो) गएनम् । हामी किन र, उहाँ आफैँ होटलतिर नै जानुहुन्न थियो । पार्टीतिर भए जानुहुन्थ्यो । हामीलाई मीठो लाग्ने रसबरी, जेरी ल्याइदिनुहुन्थ्यो कहिलेकाहीँ । 

उहाँ अन्तिमसम्म पनि यस्ता मिठाइहरू, बाहिरका पनि मज्जैले खानुहुन्थ्यो है ?
हो, उहाँको पाचन पनि राम्रो थियो । बडो सन्तोक लाग्ने गरी खानुहुन्थ्यो । आखिरीमा त्यही पेटै कमजोर भएर जानुभयो । 

राजाहरूसँग महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रसँगको भेटघाटमा तपाईं हुनुहुन्थ्यो ? केही सम्झना भए सुनाइदिनुस् न । 
राजा ज्ञानेन्द्रको पालामा म दरबार गइनँ । राजा वीरन्द्रको, महेन्द्रको पालामा राजदरबार गइथेँ म । त्यहाँ सांगीतिक कार्यक्रम, नाटक, कहिलेकाहीँ भोजहरू हुँदा । जे भए पनि राजा महेन्द्रसँग बुवाको राम्रो सम्बन्ध थियो । 

परिवारसहित को-को लेखक हुन्थे ? 
त्यति बेला सबै राम्रो राम्रो साहित्यकार थिए । सबै हुन्थे । सबैका हामी नपढेका थिइम् श्रीमतीहरू । हामी कोही पनि नपढेका । नपढेका श्रीमती-श्रीमती एक ठाउँ बस्ने । उहाँहरू कुराकानी रमाइलो गर्ने ।  

‘लेखक श्रीमती संघ’मा अलिकति पढेको को हुनुहुन्थ्यो ? 
अलिकति पढेकी बाङ्देलनी । (लैनसिंह बाङ्देलकी श्रीमती ।)

त्यतिबेला हामी पनि पढ्न पाएका भए भन्ने हुन्थ्यो ? 
मनमा के के लाग्थ्यो लाग्थ्यो, मनको कुरो कसले थाहा पाउँछ र ?

 

कविवरको पहिलो वार्षिकीमा महाकाली घिमिरेसँग गरिएको भिडियो संवाद 


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
ad
x