वार्ता

गफ दिन होइन, काम गर्न उठेकी हुँ

उपेन्द्र अर्याल |
बैशाख २२, २०७९ बिहीबार १२:२१ बजे

२०७४ को स्थानीय निर्वाचनमा झापाको अर्जुनधारा नगरपालिकामा एमालेले विजय हासिल गरेको थियो ।  यसपटकको निर्वाचनमा भने एमाले भर्सेस पाँच दलीय गठबन्धन बनेको छ । गठबन्धनले कांग्रेसकी रन्जिता कार्कीलाई मेयरको उम्मेदवार बनाएको छ । कार्की विद्यार्थी छँदादेखि नै राजनीतिमा लागेकी थिइन् । उनी रत्नराज्य बहुमुखी पढ्दादेखि नेपाल विद्यार्थी संघमा आवद्ध भएकी हुन् । पछि नेपाल ल क्याम्पसको स्ववियू सदस्य, सचिव हुँदै निर्वाचित सभापति बनिन् । कांग्रेसको १३ औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि भएकी उनी १४औँ मा महाधिवेशन प्रतिनिधि र प्रदेश १ को सदस्य बनिन् । दुईवटा विषयमा स्नातकोत्तर गरेकी कार्की आफूले हाँसिल गरेको ज्ञान नगरबासीको सेवामा प्रयोग गर्ने बताउँछिन् । कार्कीसँग चुनावी अजेन्डा र अर्जुनधारा नगरपालिकाको विकासको लागि उनले अगाडि सारेका योजनाबारे इकागजका उपेन्द्र अर्यालले गरेका कुराकानी :

तपाईंले अर्जुधाराको मेयर पदमा उम्मेदवारी दिनुभएको छ, तपाईंको उम्मेदवारी किन ?
मेरो उम्मेदवारी नगरको समग्र विकासका लागि हो । नगरवासीले भोगेका समस्याहरू समाधान गर्दै यहाँका नगरवासीको सेवा गर्छु । म एक युवा हुँ । महिला हुँ । मसँग आफ्नो नगरपालिका बनाउने योजनाहरू छन् । काम गर्ने उत्साह छ । त्यसका लागि मैले उम्मेदवारी दिएकी हुँ । 


अर्जुनधाराकाे विकास गर्न के–के छन् तपाईंका अजेन्डाहरू ?
मुख्य अजेन्डाहरु शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारी नै हुन् । यी विषयमा नगरबासीको पहुँच पुर्‍याउने हो । सहज स्वास्थ्य सेवा दिने, गुणस्तरीय शिक्षा दिने र शुद्ध खानेपानीको व्यवस्था गर्ने हो । ठूला–ठूला गफ दिने भन्दा पनि आम मानिसका समस्यालाई समाधान गर्ने योजना छ । 

यी योजना पुरा गर्न के-के छन् त कार्यक्रम ?
हाम्रो नगरमा प्राविधिक तथा व्यवसायिक शिक्षाको अभाव छ । त्यसका लागि हामीले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेका छौँ । परम्परागत शिक्षण पद्धतिलाई विस्थापन गर्दै प्रविधिमैत्री शिक्षणको अभ्यास गर्नेछौँ । कक्षा १२ सम्मका विद्यार्थीलाई निःशुल्क शिक्षा दिनेछौँ ।

नगरभित्र बोलिने विभिन्न भाषा संरक्षणका लागि प्राथमिक शिक्षामा मातृभाषामा प्रोत्साहन गर्नेछु । नगरबाट मेडिकलमा नाम निकालेर पनि पढ्न नसक्ने विद्यार्थीलाई नगरपालिकाले पढाउने छ ।  हाम्रो नगरमा रहेको शनिश्चरे बहुमुखी क्याम्पसमा थप प्रविधि र स्रोतको वृद्धि गरेर नगरको पहिचानको रुपमा विकास गर्नेछौँ । नगरभित्रको बजार क्षेत्रमा स्मार्ट सडक बत्ती जडान गर्नेछौँ । 

स्वास्थ्यको क्षेत्रमा प्राथमिक स्वास्थ्यलाई निःशुल्क र गुणस्तरीय बनाइनेछ । शनिश्चरे अस्पतालको स्तरवृद्धि गरेर ५० शैय्याको अस्पताल निर्माण गरिनेछ । हरेक वडाबाट स्वास्थ्य सेवा लिन सक्ने व्यवस्था मिलाइने छ । ज्येष्ठ नागरिकका लागि सबै प्रकारको स्वास्थ्य परीक्षण निःशुल्क गरिनेछ । ५० वर्ष माथिका सबै नागरिकको वर्षमा एक पटक निःशुल्क पूर्ण  शरीर जाँच गर्ने प्रबन्ध मिलाइने छ । 

नगरमा स्वच्छ खानेपानीको व्यवस्था गछौँ । त्यसका लागि छिमेकी जिल्ला इलामबाट आएको पानीलाई प्रशोधन गरेर पिउन योग्य बनाएर वितरण गनेछौँ । डिप बोरिङको व्यवस्था गरेर पनि नगरबासीलाई खानेपानीको व्यवस्था गरिनेछ । आवश्यकताअनुसार भिन्न ठाउँमा सार्वजनिक शौचालय निर्माण गछौँ । यसबाहेक आम मानिसलाई सहज हुनेगरि सडकहरूलाई अपाङ्गमैत्री बनाउने छु । ढल व्यवस्थापनको लागि सडकमा नाला खोलिनेछ । 

कृषि क्षेत्रको विकासकालागि सिँचाइको व्यवस्थापन गर्ने, कृषि र पशु बीमा कार्यक्रमहरू गर्दै लगिनेछ । अहिले स्थानीयलाई कर बुझाउन र प्रशासनिक काममा धेरै झन्झटिलो प्रक्रिया छ । त्यसलाई सरल बनाउने छु । नगरलाई स्वच्छ बनाउनको लागि प्लाष्टिक जन्य झोलाहरूको प्रयोगलाई निरुत्साहित गर्नेछु । नगरबाट निस्केको फोहोरलाई डम्पिङसाइट बनाएर व्यवस्थापन गर्नेछु । 

यसबाहेक अन्य केही विशेष योजना छन् ?
नगरको विकासको लागि हामीले ठूला योजना पनि राखेका छौँ । नगरपालिकामा चक्रपथमा बनाउने छौँ । यहाँका खोलाहरूमा समस्या छ, त्यसलाई व्यवस्थित गर्नेछौँ । सातपत्रे–बाह्रदशी  खोला लगायतका क्षेत्रमा करिडोर सहितको सौन्दर्यीकरण गर्नेछौँ । भौतिक पूर्वाधारमा सबै सडकहरूको स्तरोन्नती गर्दै कालोपत्रे गर्नेछौँ । कृषि उत्पादनलाई भण्डारण गर्न कोल्ड स्टोर स्थापना गर्नेछौँ ।

अघिल्लो चुनावमा एमालेले ठूलै मतान्तरले जितेको थियो । यसपालि तपाईहरूले जित्ने आधार के छ  ?
एमालेले अघिल्लो निर्वाचनमा हामीलाई हराएको थियो । तर, नगरबासीहरू एमालेको कार्यकालमा धेरै काम भएन भनेर आक्रोशित छन् । स्थानीय सरकारले धेरै काम गर्न सक्थ्यो, जुन भएन । वडाध्यक्षलाई पनि कार्यवाहक मेयर चलाउन दिनुभएको रहेछ । उहाँहरूले गरेका नराम्रा कामहरूलाई हामीले नदोहोर्‍याउने बाचा गरेका छौँ । यसबाहेक हाम्रो अहिले गठबन्धनको मत छ । त्यसैले हामीलाई जित्न सजिलो छ । 

गठबन्धनको मतले जित्छौँ भन्नुभयो । तर, गठबन्धनमा विवादै–विवाद छन् । मतदाताले भोट दिएनन् भने ?
गठबन्धनमा अलिअलि विवाद त भइहाल्छ । आफ्नो पार्टीमा त विवाद आउँछ । भिन्न पार्टीहरूबीच गरेको सहमतिमा त विवाद नआउने कुरै भएन । तर, हामी एउटा उद्देश्य लिएर गठबन्धनबाट चुनाव लडिरहेका छौँ । गठबन्धनमा हामी एक छौँ । सबै साथीहरू प्रतिबद्ध हुनुहुन्छ गठबन्धनको मतले हामी जित्छौँ । 

यहाँ काठमाडौँमा लामो समय बस्नुभएको र स्थानीयका समस्या नबुझेको भन्ने आरोप पनि लागेको छ । नगरमा बसेर अघिल्लो कार्यकालमा प्रतिपक्षीको भूमिका ननिभाएको भन्ने गुनासो पनि छ । यस्तो अवस्थामा मतदातालाई कसरी विश्वास दिलाउनु हुन्छ ?
मान्छे सधैँ घरमा कहाँ बस्छ ? म काठमाडौं लामो समय बसेको कुरा सत्य हो । म पढाइको सिलसिलामा काठमाडौं गएको हुँ । उतै बस्नका लागि गएको होइन । म आउँदै जाँदै गरिरहन्थे । अहिले पाँच÷सात वर्षदेखि निरन्तर यतै छु । म १३ औँ महाधिवेशनमा क्षेत्रीय कोषाध्यक्ष भएको थिएँ । सबैले आफ्नो गाउँमा बसेर मात्रै काम गर्दैन । क्षमता विकास र कामको शिलशिलामा बाहिर जानुपर्ने हुन्छ । 

पढ्ने क्रममा बाहिर बसेको कुरालाई लिएर उतै बस्न गएको भन्न मिल्दैन । म बाहिर भए पनि ६० प्रतिशत समय आफ्नै गाउँमा थिएँ । यहाँका नेताहरू पनि त काठमाडौँ गएर बसेका छन् त । हाम्रै जिल्लाका विश्वप्रकाश शर्मालाई बाहिरबाट आएका राम कार्कीले चुनावमा हराए ।  मैले काठमाडौँ बसेर स्थानीय स्तरकै कामहरू गरेको छु । कानुनी क्षेत्रमा समेत कामहरू गरेको छु । त्यो अनुभवलाई अब आफ्नो नगरको विकासमा लगाउनेछु । त्यसैले, मलाई यहाँ बसेर काम गरेको छैन भन्नु अफवाह फैलाउने काम मात्रै हो । 

स्थानीय तहमा कानुनलगायतका कुरा बुझेको पढेको मान्छे आउनुपर्छ भन्छौँ । पढेर आयो भने बाहिर बसिस् भन्ने आरोप लगाउँछौँ । त्यो गलत हो । नगरप्रमुख हुने मान्छेले त्यहाँ आएका कर्मचारीलाई काम लगाउन जान्नुपर्‍यो । कानुनका कुरा बुझ्‍नुपर्‍यो । त्यसैले हामी जस्ता पढेका युवा आउने हो ।  म यहाँ कमाउन आएको होइन । सेवा गर्न आएको हुँ । कमाउने भए सर्वोच्चमा गएर बहस गरेरै लाखौँ कमाउँथे ।  तर, मैले आफ्नो ठाउँ बनाउन भनेर सबैथोक त्यागेर लागेको छु । 

मैले प्रतिपक्षीको भूमिका निभाइन भन्ने आरोप पनि गलत छ । यहाँका विषयमा मैले आवाज उठाइरहेको थिएँ । तर, म पार्टीको नगरको सभापति होइन । हाम्रो सभातिले पूर्ण रुपले प्रतिपक्षीको भूमिका निर्वाह गरिरहनु भएको छ । म अघिल्लो निर्वाचनमा उम्मेदवार पनि थिइनँ । त्यसैले, मलाई लगाइएको आरोप गलत छ । लगाउनैको लागि त जे पनि आरोप लगाइन्छ । मैले पार्टीमा प्रतिबद्ध भएर काम गरेकाले यहाँको उम्मेदवारीको लागि टिकट पाएकी हुँ ।


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x