वार्ता

थाहा नगरलाई उत्कृष्ट बनाएका तर दोहोरिन नचाहेका लवशेर विष्टसँग वार्ता

सरिता दाहाल |
बैशाख २३, २०७९ शुक्रबार ११:२९ बजे

मकवानपुरको थाहा नगरपालिका पर्यकीय नगरका रूपमा परिचित छ । २०७४ सालको निर्वाचनमा मेयर विजयी भएका लवशेर विष्टले आसन्‍न स्थानीय निर्वाचनमा पुनः उम्मेदवार हुने आकांक्षा राखेनन् । जिल्लाको १० स्थानीय तहमध्ये थाहा नगरको मेयर मात्रै यस्ता देखिए जसले एक वर्ष अघिबाटै आफूले यो पदमा नदोहोर्याउने घोषणा गरे र अन्तिमसम्म टिकटको दाबी नै गरेनन् । जिल्ला समन्वय समिति मकवानपुरबाट २०७५/०७६ मा थाहा नगरपालिका बेरुजु फर्स्यौटमा उत्कृष्ट भएर पुरस्कृत भयो । यसैगरी २०७७/०७८ मा प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा पनि थाहा नगरपालिका उत्कृष्ट भयो । स्थानीय तह निर्वाचन निजिकिँदो छ । अब आउने जनप्रतिनिधिहरूले कसरी काम गर्नुपर्ला ? स्थानीय तहलाई उत्कृष्ट बनाउन के गर्नुपर्ने रहेछ भन्‍नेबारे सरिता दाहालले थाहा नगरका मेयर लबशेर विष्टसँग गरेको कुराकानी :

सबैजसो बहालवालाहरूले सोही पदमा दोहोरिने आकांक्षा राख्दा तपाईं किन ब्याक हुनुभएको ?
हो, मेरो दोहोर्याउने आकांक्षा रहेन । जनप्रतिनिधिहरूले यदि निष्ठापूर्वक काम गर्छन् भने यो स्वयंसेवा हो, यसमा आम्दानी हैन खर्च हुन्छ सेवामा लगानी गरेको सम्झेर काममा खट्नुपर्छ । जनप्रतिनिधि बन्‍नु अत्यन्तै गाह्रो काम हो । यसमा समयको पाबन्दी हुँदैन २४ सै घण्टा खट्नुपर्छ । दिनरात साँझबिहान जुनसुकै बेला जहाँसुकै पुग्नुपर्ने हुन्छ । समस्या र चुनौती पनि छन् ।


जीवनको पाँच वर्ष स्वयंसेवा गर्नु भनेको एकदम काफी हो । पाँच वर्ष डटेर स्वयंसेवा गरेपछि विश्राम लिनुपर्छ भन्‍ने मेरो धारणा हो । त्यही ठानेर मैले दोहोर्‍याउने रहर गरिनँ । मैले एक वर्ष अगाडि नै इमानदार नेतृत्वको तयारी गर्नू म दोहोर्‍याउँदिनँ भनेर आफ्नो पार्टीमा भनेको थिएँ । किनकि मैले फेरि दोहोर्‍याउन चाहेँ भने मेरो कामको स्पिड अघिल्लो कार्यकाल जस्तो हुँदै हुँदैन । जुन जोस जाँगर र उत्साह पहिलो कार्यकालमा हुन्छ, दोहोर्‍याउँदा त्यस्तै होला भन्‍ने लाग्दैन । यसमा पनि केही कारण छ : जस्तो कि व्यक्तिको आफ्नो घरपरिवार हुन्छ, व्यवसाय हुन्छ सबैतिरबाट सधैँ स्वयंसेवाका लागि फुर्सद मिल्छ भन्‍ने छैन । आफ्नो व्यवसाय पनि चलाउन पर्‍यो, जनप्रतिनिधि भएर व्यवसाय त चल्दैन । यो पेसा भएको भए दोहोर्‍याएर पनि चलाइन्थ्यो, आम्दानी पनि गरिन्थ्यो होला, तर यो पेसा हैन आफ्नो ठाउँमा सेवा गर्ने पद हो । त्यसैले मैले दोहोर्‍याएर यही रहन दाबी गरिनँ । 

थाहा नगर मकवानपुर जिल्लाको नमुना नगर बन्यो, जिल्लाको उत्कृष्ट स्थानीय तह बन्यो, खासमा के के काम कसरी गर्नुपर्ने रहेछ उत्कृष्ट बन्‍न ? 
मैले उत्कृष्ट हुने होडमा काम गरेको हैन, तर जनप्रतिधि हुँदै गर्दा मलाई भित्रैदेखि लागेको कुरा थियो कि, म पाँच वर्ष मात्रै काम गर्छु र पूरै निष्ठापूर्वक गर्छु । यसमा मलाई अन्य राजनीतिक दलहरू, सञ्चारकर्मीहरू, थाहा नगरवासीहरू, र थाहा नगरका कर्मचारीहरूले निकै सहयोग गर्नुभयो । मैले लिड गरेँ सबैले सघाउनु भयो । र हामी उत्कृष्ट भयौँ । पहिलो बनाउनका लागि हामीले धेरै मेहनत र संघर्ष गर्र्यौ, लगातार यसैगरी लड्न सकिन्‍न त्यसैले पनि म दोहोर्‍याउन इच्छुक नभएको हो । जस्तो हामीले पढाइमा प्रथम हुन मेहनत गर्नैपर्छ, खेती किसानमा उत्कृष्ट हुन मेहनत गर्नैपर्छ, जहाँ पनि उत्कृष्ट हुन त मेहनत गर्नैपर्छ, र मेहनत गरे उत्कृष्ट भइन्छ नै । इमानदारीपूर्वक काम गरेको नतिजा हो थाहा नगर उत्कृष्ट हुनु ।

आफूले उत्कृष्ट बनाएको नगरमा आफैँ फेरि मेयर बनेर बस्न मन लागेन ?
हैन, आफूले कति समयका लागि जिम्मेवारी लिएको हो भन्‍ने कुरा प्रमुख हो । मैले पाँच वर्ष इमानदार भएर काम गर्ने लक्ष्य लिएको थिएँ, अब त्यो समय पूरा भयो । जीवनको एक कालखण्ड मलाई पार्टी र जनताले अवसर दिएका हुन् मैले राम्रो गरेँ भन्दैमा म त्यही रहन लालच राख्नुहुन्‍न । यसो गर्दा मेरो पेसा, परिवारमा पनि न्याय हुँदैन । स्थानीय तहको जनप्रतिनिधिहरूले आफ्नो पेसा छाडेर सेवा गर्ने हो र एक कालखण्डपछि छोड्ने हो, दोहोर्‍याउने हैन ।

तपाईंले के के काम गर्नुभयो जसले तपाईंको नगर उत्कृष्ट भयो ?
हामीले मुख्यतः सानासाना कुरामा ध्यान दियौँ । सानो कुरा मिलिहाल्छ नि भनेर हामीले बेवास्ता गर्ने काम गरेनौँ, साना साना कुरालाई व्यवस्थापन गर्दै आयौँ । जस्तो कि सेवाग्राहीले सेवा लिन आउँदाको असहजताको व्यवस्थापन गर्‍यौँ । हिजोको दिनमा आफ्नो जनप्रतिनिधिहरू त्यहाँ भएपछि प्रक्रियामै नगए पनि आफ्नो काम हुन्छ भन्‍नेहरू सेवा लिन आउँथे, र अर्को खाले सबै कागज पुर्‍याउँदा पनि काम सहज हुदैन, झन्झटिलो हुन्छ भन्‍ने गुनासा बोकेर आउँथे । हामीले दुबै खालेलाई सम्बोधन गर्‍यौँ ।

आफ्नो मान्छे छ भनेर सहजै काम खोज्नेलाई हामीले विधि र प्रक्रियामा ल्यायौँ भने प्रमाण पुर्‍याएर आउनेलाई हामीले तत्काल काम गर्न कर्मचारीहरूलाई पनि अलर्ट गरियो । विकास निर्माणको कुराहरूको पारदर्शिता, सामाजिक संघसंस्थासँगको समन्वय, बजेट कार्यान्वयको पाटो यावत् छन् । स्थानीय तहका अथाह काम छन् । एउटा मन्त्रीले एउटा विषयगत काम हेरे पुग्छ, तर स्थानीय तहको प्रमुखले शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, खेल, यातायात यावत कुरामा ध्यान दिनुपर्छ ।

हामीले सबै पक्षको सानासाना कुरालाई पनि गहन रूपले लिएर अघि बढ्यौँ । सामाजिक सुरुक्षा भक्ताको बैङ्किङ प्रणालीबाट भुक्तानी, बेरुजु फस्र्यौटको कुराहरू सबैमा पारदर्शिता कायम गर्‍यौँ । हामी जनप्रतिनिधिहरू फरक पार्टीबाट आएका हुन्छौँ, फरक सोच हुनु स्वाभाविक हो । हामीले सबै काम उपभोक्ता समितिमार्फत गर्‍यौँ । बेरुजु फस्यौट सुरुमै गर्ने गर्‍यौँ । मुख्यतः हामीले विधि र कानुनलाई कडाइसाथ पालना गरेका हौँ । थाहा नगर पूर्वाधारको विकासको कुरा त छँदै छ ।

नीति विधि कानुनअनुसार काम गर्न चुनौती भयो कि भएन ?
अवश्य भयो, यो बानी नै परेको छ । देखेको, हेरेको कुरा हो, कागज नै किन चाहियो, यति गर्दिनु भनेर दबाब आउने गर्दथ्यो पहिले । पुरातन सोचको मेयर, कागज मात्रै खोज्छ भन्‍ने आरोप पनि आए । झण्डै डेढ वर्ष हामीले चुनौती नै फेस गरेका हौँ । अब नगरमा यसरी भनसुनको आधारमा काम हुने अपेक्षाले आउनेहरू लगभग छैनन् ।

हामीले सुरु सुरुमा धेरै टाउको दुखाइ सहेर विधिको बानी बसाल्यौँ । थाहा नगरका तत्काल गर्नुपर्ने के के काम बाँकी छन् अब ? धेरै बाँकी नै छन्, मैले सबै सकेँ भन्दिनँ म । हामी आउँदा नगरपालिकाको प्रशासनिक भवन थिएन, सबै वडा कार्यालय भाडामा थिए । अहिले नगरको भव्य प्रशासनिक भवन छ, सबै वडाहरू कार्यालयहरूको आफ्नो भवन छ वडा स्वास्थ्य कार्यालयहरू छन् ।

पुल पुलेसाहरू, पर्यटन पार्कहरू बनेका छन् । हिउँद वर्षा नचल्ने बाटाहरू पिच भएका छन्, ठूला राजमार्गहरू विस्तार भएका छन् । यी अन्य पूर्वाधार निर्माणको काम भए, तर हामीले काम सक्यौँ भन्‍ने अवस्था छैन । पूर्वाधारको काम एक कार्यकालमा सकिने काम हैन, एउटा पुस्ताले पनि नसक्ने काम हो । आमनागरिकको अपेक्षा पूरा गर्न बाँकी नै छ ।

नयाँ प्रतिनिधिलाई के भन्‍न चाहनुहुन्छ ?
नीति र विधिमा रहेर निष्ठापूर्वक काम गर्नुहोस् सबैको साथ र सफलता अवश्य पाइन्छ भन्‍न चाहन्छु । र विशेष गरी निर्वाचनको संघारमा म अब आउने जनप्रतिनिधिलाई भन्दा पनि मतदातालाई भन्‍न चाहन्छु कि : हामी निर्वाचनको निकट छौं, अबको केही दिनमै हामीले आफ्नो अभिभावक छान्दैछौँ । यो पलमा मेरो एउटै आग्रह छ कि तपाईंले पार्टीभन्दा माथि, जातिभन्दा माथि, भूगोलभन्दा माथि उठेर राम्रो, निष्ठापूर्वक काम गर्ने प्रतिनिधि छान्‍न सक्नुहोस् । जो भोलिका दिनमा हामीसँगै दुःख–सुखमा रहनुहुनेछ ।


Author

थप समाचार
x