जन माविले विद्यार्थीबाट असुलेको दुई लाख ७६ हजार अख्तियारको नियन्त्रणमा
फाइल फोटो
कर्णाली - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जन नमूना मावि सुर्खेतबाट रु दुई लाख ७६ हजारसहित कागजात नियन्त्रणमा लिएको छ ।
आयोगका सूचना अधिकारी भेषराज रिजालले आज पत्रकार सम्मेलन गरी जन माविले विना रसिद विद्यार्थीबाट असुलेको दुई लाख ७६ हजार ६ सय ९० रकमसहित कागजात नियन्त्रणमा लिएको जानकारी दिए ।
वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत बीच बजारमा रहेको साधन स्रोतले पूर्ण मानिने सुर्खेतकै सबैभन्दा पुरानो जन माविले नेपालको संविधान, सम्मानित उच्च अदालत सुर्खेतको विसं २०७८ जेठ २३ गतेको अन्तरिम आदेश र मङ्सिर १ गतेको परमादेशविपरीत विद्यार्थीबाट शुल्क असुलेकाले सो रकम नियन्त्रणमा लिइएको उनले बताए ।
सूचना अधिकारी रिजालका अनुसार सम्मानित अदालतको आदेश तथा परमादेशविपरीत विद्यार्थी भर्ना गर्दा रसिद नदिएर रकम असुलेको भन्ने बेहोराको उजुरी निवेदनका आधारमा आयोगको कार्यालयबाट खटिई गएको टोलीले सो विद्यालयमा कार्यरत कार्यालय सहायक र सूचना सहायकको टेबुलको घर्रा र दराजबाट विनारसिद विभिन्न विद्यार्थीबाट असुल गरिसकेको रकम नियन्त्रणमा लिएको छ ।
जन नमूना माध्यमिक विद्यालयको साउन २६ गते प्रकाशित कक्षा–११ को प्रवेश परीक्षाको नतिजामा उत्तीर्ण विद्यार्थीबाट भर्ना गर्दा कुनै रसिद, बिल नदिएर अवैधरूपमा रकम असुल गरी लुकाइराखेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ ।
`यसको थप अनुसन्धानका लागि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको छ`, उनले भने, `विनारसिद शुल्क असुल गरेको भन्ने बेहोराका यस्तै प्रकृतिका अन्य विद्यालयका उजुरीउपरसमेत छानबिन भइरहेको छ ।`
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया