तालिम सञ्चालन गर्नुपर्ने रकम अनियमितता गर्ने ११ विरुद्ध अख्तियारमा मुद्दा
काठमाडौं– चामुण्डा माध्यमिक विद्यालय दैलेखलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट विभिन्न तालिम सञ्चालनका लागि प्राप्त रकम अनियमितता गरेको आरोपमा मुद्दा दायर गरिएको छ । तालिमका लागि आएको रकम अनियमितता गरेको आरोपमा त्यसमा संलग्न ११ जनाविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ स्थित उक्त विद्यालयलाई आफैले सञ्चालन गर्नुपर्ने तालिम इलाईट इन्फ्रास्ट्क्चर एण्ड डिभलपमेन्ट कन्सल्टयान्ट प्रा.लि. काठमाडौंलाई दिएको भन्दै उजुरी दर्ता गरिएको हो ।
तालिम परिषद् प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेतका तत्कालीन का.मु. निर्देशक (कार्यालय प्रमुख) भीमकान्त लामिछाने र मोहनबहादुर कार्की, लेखा अधिकृत, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कन्सल्ट्यान्ट प्रा.लि.का संचालक गरी ११ जनामाथि सार्वजनिक सम्पत्ति हानि नोक्सानी र भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
उजुरी उपर अनुसन्धान हुँदा उक्त परिषद्, कर्णाली प्रदेश, प्रदेश कार्यालय वीरेन्द्रनगर, सुर्खेतले विना सूचना र प्रतिष्पर्धा आवश्यक पूर्वाधारसमेत अध्ययन नगरी तालिम संचालनको अनुमति दिएको खुलेको र मिलेमतोमा तालिम संचालन गर्न दिएको खुलेको छ ।
छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम संचालन कार्यविधि २०७५ अनुसार प्रशिक्षार्थी छनौट प्रक्रिया र तालिमका सहभागीहरुको योग्यता तोकिएकोमा सो पालना नगरी सिधै निजी संस्थाले प्रशिक्षार्थी छनोट गरेको देखिएको छ ।
निजी संस्थाका संचालकसमेतसँगको मिलेमतोमा सरकारी सम्पत्ति हानिनोक्सानी पुर्याउने नियतले सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि भएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया