झापामा भूमि आयोगका कर्मचारी ४० हजार घुससहित पक्राउ
झापा - झापामा भ्रष्टाचारको अभियोगमा तीन कर्मचारी पक्राउ परेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि झापाको हल्दिबारीमा खटिएका राष्ट्रिय भूमि आयोगमा कार्यरत तीनैजनालाई आज प्रहरीले पक्राउ गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार आयोगबाट काजमा खटिएका भूमि आयोगका कर्मचारी मोहन नेपाल, विवेक पोखरेल र कमल खनाललाई पक्राउ गरिएको हो । हल्दिबारी–१ का गणेशप्रसाद पौडेलको भोगचलनमा रहेको १२ कठ्ठा ऐलानी जग्गाको मोठ कायम गरिदिने भन्दै घुसवापत रु ४० हजार रकम लिएको आरोपमा तीनैलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रजिअ पोखरेलका अनुसार जग्गाको नापी गर्दा लाग्ने राजस्व रकम बैंकमा बुझाउन लगाएपछि आयोगका ती कर्मचारीले रु ४० हजार नगद नै लिएका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीले रकमसहित पक्राउ गरेको हो । पीडित पौडेलले घुस लिएका कर्मचारीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । प्रहरीले पक्राउ परेका सबै कर्मचारीको बयान लिएर अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया