अनियमितता

मेलम्चीमा भ्रष्टाचार : पूर्वसचिव ठाकुरलाई ८ वर्ष १ महिना कैद

इकागज |
असोज ७, २०८१ सोमबार २१:२५ बजे

काठमाडौँ- मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गर्ने पूर्वसचिव गजेन्द्र ठाकुरलाई ८ वर्ष एक महिना कैद सजाय तोकिएको छ। विशेष अदालतले उक्त मुद्दामा उनीसहित ४ जनालाई भ्रष्टाचारमा दोषी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमवार उनीहरूमाथिको सजाय निर्धारण गर्दै उक्त आदेश दिएको हो। 


आयोजनाका तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेललाई पनि ८ वर्ष एक महिना नै कैद तोकिएको छ। परामर्शदाता शिवकुमार शर्मालाई ६ वर्ष कैद तोकिएको छ। सबैलाई बिगोबमोजिमको रकम असुल गर्न पनि आदेशमा  भनिएको छ। 

विशेष अदालतले ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ बिगो असुल गर्न आदेश दिएको छ। देवकोटा र शर्मासँग २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो असुल गर्न भनिएको छ।

मतियार बनेको इप्टिसा र बेट्स (बीइटीएस)सँग ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ बिगो माग गरेको छ। इटालियन निर्माण कम्पनी सीएमसीलाई २६ करोड ११ लाख ६ हजार ९९१ रुपैयाँ बिगो असुलको आदेश दिइएको छ। अख्तियारले गत वर्षको फागुनमा उक्त मुद्दा दर्ता गरेको थियो। 


 


Author

थप समाचार
x