‘लम्बोदर न्यौपानेले गरेका अनियमितताको छिटो छानबिन होस्’
काठमाडाैँ – नेपाल इञ्जिनीयरिङ कलेजका पदाधिकारीले पूर्वअध्यक्ष लम्बोदरकुमार न्यौपानेले गरेका घोटालामाथिको छानबिन र अनुसन्धानलाई चाँडो निचोडमा पुर्याइदिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा कलेज सञ्जालक समितिका अध्यक्ष एवं भक्तपुरका चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र र कलेजका प्रिन्सिपल प्रा डा हरिकृष्ण श्रेष्ठले राजनीतिक पहुँच र आर्थिक प्रलोभनका नाममा अहिले पनि अनेक षड्यन्त्र र चलखेलमा लागेकाले आफूहरूलाई स्वतन्त्रतापूर्वक कलेज चलाउने वातावरण सिर्जना गर्न माग गरे।
न्यौपानेले सो सामुदायिक कलेजलाई निजी कम्पनीमा रुपान्तरण गरी मनोमानीपूर्वक करिब रु ५२ करोड घोटाला गरेको जनाइएको छ । कूल १७४ रोपनी सार्वजनिक जग्गामा २७ वर्ष अघि स्थापित सो कलेजमा हाल दुई हजार ३०० विद्यार्थी र २०० शिक्षक छन् ।
सो प्रकरणमा छाननिबनलाई प्रभावित पार्न न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन सदस्य राजनारायण पाठकलाई घुस दिएको आरोपमा पाठकले राजनीनामा दिएका थिए भने न्यौपाने रु ७८ लाखको धरौटीमा रिहा भएका छन् ।
सोही प्रकरणमा सम्पति शुद्धीकरण, केन्द्रीय अनुसन्धान ब्यूरो, भक्तपुर जिल्ला प्रशासन कार्यालयलगायत निकायमा पनि छानबिन भए पनि किनारा लाग्न ढिलाइ हुनुले आफूहरूलाई आशङ्का उब्जिएको प्राचार्य श्रेष्ठले बताए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया