पूर्वमन्त्री श्रेष्ठविरुद्ध करिब साढे चार करोड बराबरको भ्रष्टाचार मुद्दा
काठमाडौँ – पूर्वमन्त्री तथा नेपाल सरकारका पूर्व सचिव रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ । अख्तियारले ४ करोड ४५ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरी श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो।
पूर्वमन्त्री तथा पूर्वसचिव श्रेष्ठले पदमा रहँदा श्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान पश्चात मुद्दा दायर गरेकाे हाे । अख्तियारले अनुसन्धान गर्दा विभिन्न पदमा रहेर कुल ६ करोड ९० लाख १६ हजार ६२७ रुपैयाँ ४० पैसाको स्रोत खुलेको जनाएको छ ।
श्रेष्ठ मन्त्री हुनुपूर्व सरकारी सेवामा थिए । उनी शिक्षक हुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव भएका थिए । २०६९ मा उनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्री बनेका थिए । अख्तियारले भनेको छ, ‘सार्वजनिक सेवाको पदमा बहाल रहँदा पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको छ ।’
श्रेष्ठले पदमा रहेकाे अवधिभित्र ११ करोड ३५ लाख ४४ हजार २९४ रुपैयाँ ३८ पैसा खर्च गरेको पाइएकाले आम्दानीको तुलनामा खर्चमा प्रयोग भएको बढी रकम ४ करोड ४५ लाख २७ हजार ६६६ रुपैयाँ ९८ पैसा बराबरको स्रोत खुल्न नसकेको अनुसन्धानबाट खुलेकाे आयोगले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया