अनियमितता

अध्यक्षलाई कारबाहीको माग गर्दै स्थानीयद्वारा बटेश्‍वर गाउँपालिका कार्यालयमा तालाबन्दी

सुभाष कर्ण |
फागुन १८, २०७७ मंगलबार १५:४९ बजे

जनकपुरधाम : स्थानीयले बटेश्‍वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतलाई कारबाही गर्न माग गर्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । अध्यक्ष राउतको गाडीबाट अवैध रकम फेला परेपछि स्थानीयले कारबाहीको माग गरेर तालाबन्दी गरेका हुन् । 
 
सोमबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मार्दा गाउँपालिका अध्यक्ष राउतको गाडीबाट ८ लाख रुपैयाँ बरामद गरेको थियो । टोलीले छापा मार्नेक्रममै भागेका अध्यक्ष राउतलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग स्थानीयले गरेका छन् । 
 
स्थानीयको तालाबन्दीका कारण मंगलवार बिहानैदेखि गाउँपालिकाको कार्यालयमा हुने कामकाज ठप्प छ ।
 
अध्यक्ष राउतले भवन निर्माण सम्पन्‍न भएपश्‍चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने उजुरीका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले छापा मार्दा उनी चढेको गाडीबाट ८ लाख रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ । 

गाउँपालिकाका सवारी चालक विरबहादुर मगरले चलाएको प्र.२-०२-००१ झ ०००२ नम्बरको कालो रंगको स्करपियो गाडी क्षिरेश्‍वरनाथ नगरपालिका-५ स्थित बाटोमा जाँच गर्दा ८ लाख रुपैयाँ फेला परेको थियो । गाडीमा जाँच गर्न लागेपछि अध्यक्ष राउत भने फरार भएका थिए । 



Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x