यसरी हुन्थ्यो स्थानीय निकायमा भ्रष्टाचार...
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा राजपुर तत्कालीन गाउँ विकास सचिव, सामाजिक विकास अधिकृत, बैंक खाता सञ्चालक अधिकृतको मिलेमतोमा तालिम, भत्ता हुँदै विकास–निर्माणमा भ्रष्टाचार भएको अभियोग लगाउँदै मुद्दा दायर गरेको छ ।
स्थानीय निकाय हुँदाकै बखत २०६९–२०७० मा राजपुर गाउँ विकास समितिका सचिव केशव घिमिरेले सामाजिक सुरक्षा भत्ता, आन्तरिक आय बैंक दाखिला गर्नुपर्ने रकम, सिलाइ–कटाई तालिमका लागि लिएको पेश्की रकम हिनामिना गरेको तथ्य आयोगले फेला पारेको छ । त्यसरी नै सचिव घिमिरे दलित दलान निर्माणमा बिलभन्दा बढी भुक्तानी गरेको, विद्युत् पोल खरिदमा बिल बमोजिमका सामाग्री प्राप्त नभई भुक्तानी गरेको, सामाजिक सुरक्षा भत्ता रकम बैंकबाट झिकी वितरण नगरेको दाबी आयोगको छ ।
अनेकन शीर्षकमा २४ लाख ९२ हजार ५ सय १० रुपैयाँ भ्रष्टाचार गरेको अभियोग घिमिरेविरुद्ध लगाएको छ । त्यसरी अन्य सामाग्री खरिदमा २ लाख ६७ हजार २६ रुपैयाँको झूठा बिल बनाएको अभियोग पनि घिमिरेविरुद्ध लगाएको छ । आयोगले दाबी बमोजिम जरिवाना र सजायँको माग गरेको छ । त्यसरी नै तत्कालीन खाता संचालक सामाजिक विकास अधिकृत अरुण शाहले दलित दलान र विद्युत् पोलमा ६० हजार ३ सय २३ रुपैयाँ र सामाग्री खरिदमा २ लाख ६७ हजार २६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाएको छ । अर्का खाता सञ्चालक शिवजी कामतीले शीर्षक नखुलेको, स्टेशनरी, कार्यालय संचालन, विकास निर्माण रकम गरी जम्मा २ लाख ८१ हजार २ रुपैयाँ भ्रष्टाचार अभियोग आयोगको छ ।
त्यसअतिरिक्त साविक अर्नमा प्र.रा.को हिनामिना भएको रकममध्ये घिमिरे मात्रले हिनामिना १९ लाख ८४ हजार ८ सय ७५ रुपैयाँ असुल हुनुपर्ने दाबी आयोगको छ । साथै घिमिरे र कामतीले हिनामिना गरेको २ लाख ८१ हजार २ रुपैयाँ दुवै प्रतिवादीबाट असुल गर्नुपर्ने आयोगको माग छ ।
साविक राजपुर गाविसको हिनामिना भएको रकममध्ये प्रतिवादी घिमिरे मात्रले हिनामिना गरेको रकम १ लाख ६६ हजार ३ सय १० रुपैयाँ अर्का प्रतिवादी अरुण शाहले हिनामिना गरेको ३ लाख २७ हजार ३ सय ४९ रुपैयाँ दुवै प्रतिवादी असुल हुनुपर्ने दाबी आयोगको छ । आयोगले राजपुर गाविसको हाल कायम स्थानीय तहलाई दिलाई भराई पाउन समेतको माग दाबी आयोगको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया