पेरिसको खतरा दूतावासलाई यसरी बनाइयो खत्रा
फ्रान्सको राजधानी पेरिस सुन्दर सहर हो । हुन त फ्रान्सका हरेक सहर एक से एक छन् । उत्तिकै महत्वपूर्ण पनि छन् । राजधानीको रूपमा रहेको पेरिसको १६ नम्बर वडा पनि उत्तिकै विशेष छ । किनकि उक्त वडामा राजनीतिज्ञ, कलाकार, ठूला व्यापारी, विदेशी कूटनीतिज्ञ, पेन्टर, लेखकलगायतका व्यक्तिहरूको बाक्लो बसोबास छ । साथै कतिपय विदेशी कूटनीतिक नियोग पनि त्यहीँ छन् । निश्चय नै यहाँ जग्गाको मूल्य र घरको भाडा स्वाभाविकै रूपमा महँगो छ ।
यस्तो महत्वपूर्ण स्थानमा हाम्रो सरकारले ३ जुलाई १९७९ मा राजदूत निवासका लागि एउटा घर किन्यो । सोही कारण फ्रान्स जाने राजदूतलाई अन्य मुलुकमा झैँ निवास भाडामा खोज्नुपर्ने बाध्यता रहेन । सजिलो भयो । भाडामा उठ्ने राज्यको ठूलो सम्पत्ति बचत हुँदै आएको पनि छ । जम्माजम्मी पाँच आना जग्गामा ढिसमिस गरी बनाइएको यस घर हामीले किन्नुभन्दा पहिले एक सय वर्र्ष अन्यले प्रयोग गरिसकेको भनिन्छ ।
त्यसबखत सरकारले टोकियो र पेरिसमा राजदूतका लागि निवासस्थान किन्ने निर्णय गरेको रहेछ । तत्कालीन तीन राजदूत (झरेन्द्रनारायण सिंह-बेलायत, ईश्वरीमान श्रेष्ठ-जर्मनी, त्रैलोक्यनाथ उप्रेती-फ्रान्स) सम्मिलित एउटा समिति गठन गरिएको पूर्वसहचारी घनश्यामलाल जोशीले बताउनुभएको थियो । उहाँहरू तीनै जना राजदूत स्वर्गीय भइसक्नुभएको छ ।
त्यतिबेला समितिले अध्ययन गर्दा टोकियो निकै महँगो भएकाले पेरिसमा तत्काल किनिएको रहेछ । जब-जब यस भवनको इतिहासबारे कुराकानी हुन्छ, उहाँहरूको नाम हामी सम्झन्छौँ । पूरापूर जीर्णावस्थामा रहिसकेको यस महत्वपूर्ण सरकारी सम्पत्तिको जगेर्ना गर्न सक्यो भने जनताले सम्झने काम हुन्छ भन्ने कुराले मलाई पनि प्रेरणा दियो ।
मर्मत-सम्भार नगरेर जीर्ण बनाउँदै बिक्री गर्ने अभिलाषा पालेका व्यक्तिहरूको यहाँ कमी छैन । त्यस्तै सोचका कारण अहिले पनि नेपाली कूटनीतिज्ञहरू अधिकांश मुलुकमा भाडामा नै बसेका छन् । मानिसलाई जसरी स्वस्थ रहन समय-समयमा हिफाजत गर्नु जरुरी हुन्छ, त्यस्तै निर्जीव भए पनि घरलाई पनि स्याहारसुसार गर्नु अनिवार्य हुन्छ । तर दुर्भाग्य यस महत्वपूर्ण स्थानमा रहेको हाम्रो मूल्यवान् राष्ट्रिय सम्पत्ति लामो समयदेखि स्याहारसम्भारको अभावमा दिनानुदिन जीर्ण भइरहेको अवस्थामा थियो । समयसमयमा अलिअलि मर्मतसम्भार गरिए तापनि खास गर्नुपर्ने काम भने गरिएकै थिएन ।
१७ जुन २०१० मा फ्रान्सका लागि नेपालको राजदूतको कार्यभार सम्हाल्न त्यहाँ पुग्दा घरको दयनीय अवस्था देखेर अति नै दुःखी भएँ । झ्यालढोकाहरू मक्किएर खोल्यो कि गल्र्याम्म ढल्ने अवस्था, जताततै फोहोरको डंगुर, हावाको अभावमा ढुसी गन्हाएको अवस्था थियो । सबैभन्दा अजीवको दृश्य त रिसेप्सन हलको माथिको सिलिङबाट उत्तर-पूर्वतिरको भागबाट पानी तपतप चुहिएर, सो पानी थाप्न बाल्टिन राखिएको थियो । त्यस्तो अवस्थामा पनि राजदूतावासका कार्यक्रम त्यही सम्पन्न गरिँदो रहेछ । हामी केही समयपछि सो निवासस्थानमा अलिअलि मर्मत गरी बस्न गयौँ ।
एउटा कार्यक्रममा पेरिसमा लामो समयदेखि बस्दै आउनुभएका एक जना भद्र महिलाले मलाई भनिन्, ‘सर कार्यक्रम हुँदा बोलाइन्छ, तर मलाई त यहाँ आउन नै डर लाग्छ ।’ अनि सोधिहालँे किन नि ? उत्तर थियो, ‘यो पानीले भरिएको सिलिङ खसेर चेपिएर मरिएला कि भनेर पीर लाग्ने नि ।’
अब सर आउनुभयो, चाँडै राम्ररी मर्मत गराउनु होला । उहाँको अनुरोध थियो । यतिसम्म सुन्नु त स्वाभाविक लागेको थियो । तर केही दिनपछि पाकिस्तानका राजदूतले डिनरमा निमन्त्रणा गर्नुभयो । हामी गयौँ । त्यति टाढा थिएन । उहाँको निवासस्थानको गेटमा पुग्नै लाग्दा एक जना सो राजदूतावासको गाडी चालक आएर नमस्ते गरे । अनि उनले भने, ‘सर अब तपाईं आउनुभयो, सकेसम्म तपार्इंको निवासस्थानलाई मर्मत गराउनुहोला, किनकि यस घरबारे पेरिसभर हल्ला छ ।’
पछि थाहा भयो, हल्लाको विषय । पेरिसको १६ वडा कार्यालयले पनि समय-समयमा घर मर्मत गराउनु पर्यो भनी राजदूतावासमा पत्र पठाउने गरेको रहेछ । पुरानो भई जीर्ण अवस्थामा पुगिसकेको हाम्रो निवासस्थानलाई खतराको सूचीमा राखिएसरह रहेछ । म पुगेपछि घरको इन्स्योरेन्स नवीकरण गराउन खोज्दा कम्पनीले नवीकरण गर्न पनि मानेन ।
पुरानो भई जीर्ण अवस्थामा पुगिसकेको हाम्रो निवासस्थानलाई खतराको सूचीमा राखिएसरह रहेछ । म पुगेपछि घरको इन्स्योरेन्स नवीकरण गराउन खोज्दा कम्पनीले नवीकरण गर्न पनि मानेन ।
पुरानो र जीर्ण अवस्थामा रहेकाले नवीकरण नगर्ने भन्दै जवाफ आयो । एकातिर यस्तो अवस्था थियो भने अर्काेतिर घरमा तर्साउँछ भन्ने भ्रामक हल्ला रहेछ । एक जना हाम्रो राजदूतावासको अधिकृतले त यतिसम्म भने कि कसैलाई बोकेर तलसम्म ल्याइएको थियो रे । पछि थाहा भो, यो सबै हामी घरमा नबसून् भनेर तर्साउनलाई गरिएको कुत्सित जमर्को रहेछ ।
चार वर्ष, दुई महिना पूरापूर त्यसै घरमा बस्दा न त कुनै घटना घट्यो, न कुनै प्रतिकूल कुरा सुन्न पर्यो । फ्रान्समा करिब ५-६ महिना त जाडो नै हुने भएकाले भुइँ र भर्याङमा काठका फ्ल्याक राखिने भएकाले मानिस हिँड्दा अलिअलि आवाज चाहिँ आउने रहेछ । त्यसैलाई भजाएर यस्तो भद्दा मजाक गर्ने अधिकृत कर्मचारी पनि देखियो ।
दुईपटक गरी ६ वर्षसम्म फ्रान्समा राजदूत पद खाली हुँदा राजदूतावास तथा राजदूत निवासको दयनीय अवस्था थियो । यस्तो कठिन परिस्थितिमा आफ्नो कार्यभार कसरी सम्हाल्ने भन्ने प्रश्नले मलाई निकै सतायो पनि । तर स्थितिलाई राम्रो पार्नुको विकल्प पनि त थिएन ।
अतः सबैभन्दा पहिला जीर्ण अवस्थामा रहेको निवासस्थानको राम्ररी मर्मतसम्भार गर्नुलाई पहिलो प्राथमिकतामा राखे । धेरै लेखापढी, भनसुन गरिएपछि परराष्ट्र मन्त्रालयबाट एक दिन खबर आयो- मर्मतका लागि कति रकम लाग्ने रहेछ, खबर गर्नुहोस् । यस सानो खबरले मनमा असाध्यै उत्साह थपियो ।
नेपाल सरकारको नियमानुसार कुनै मर्मत-सम्भारको काम गराउँदा वा सामान किन्दा तीन फरक कम्पनीको कोटेसन पेस गर्नु जरुरी हुन्छ । यो त हाम्रो देशको नियम हो । तर फ्रान्सजस्तो देशमा यस्तो नियम लागू गर्न गाह्रो मात्र होइन, सम्भव नै छैन । त्यसकारण हामी राजदूतावासमा काम गर्ने कूटनीतिज्ञहरूले सल्लाह गरी काम अगाडि बढाउने निर्णय लियौँ ।
फ्रान्समा मर्मत-सम्भार गर्ने कम्पनी बोलाउँदा पहिलादेखि नै समय मिलाउनु पर्छ । प्लम्बर बोलाउँदा घरदेखि आएका समय हिसाब गरेर कोटेसन दिन्छ । मर्मत गर्नेभन्दा नयाँ किनबेच हुने कतिपय अवस्था आउँछ । तर अन्य कुरा मर्मत गराउन सकिएन पनि, घर त तुरुन्तै किन्न सकिन्न नि ।
पछिल्लो पटक ७ मार्च २०११ को बिहान म काठमाडांैबाट पेरिस फर्केको थिएँ । एक कप चिया पनि राम्ररी पिउन पाएको थिइनँ, फ्रेन्च मर्मतकर्ताहरू ठूलठूला बिजुलीका मेसिन लिएर आए र धमाधम भित्ताहरू फोडी पुराना पाइप निकाल्न थाले । सायद संसारभरि घर बनाउने तरिका उही होला, सिलेसिलेवार मिलाएर काम सम्पन्न गर्ने ।
घरको मर्मत, त्यो पनि पुरानो मक्किएर जीर्ण भइसकेको । कति गाह्रो होला, सजिलै अनुमान गर्न सकिने कुरा हो । तर घरको अगाडिको भाग मर्मत गर्न पोर्चुगिजको कम्पनीलाई बोलायौँ । उनले यो त २० वर्षअघि नै गर्नुपर्ने काम भनी काम गर्न नै मानेन । अनेक तवरले सम्झाएपछि उनले काम गर्ने निधो गरे ।
करिब पाँच तल्लाको क्रेन ल्याएर उनले सफासुग्घर गर्नेदेखि मर्मत गर्नुपर्ने ठाउँहरूमा राम्ररी मर्मत गरिदिए । करिब ६ महिनाको समय लगाएर सम्पूर्ण रंगरोगनको समेत काम सक्दा घर त निकै राम्रो तथा चिटिक्क देखियो । टोलमा हल्लाखल्ला नै भयो । पेरिसमा रहेका नेपाली पनि धेरै खुसी भए । नेपालका फ्रेन्च मित्रहरू पनि धेरै नै खुसी भए । तर बेखुसी पनि कोही थिए होलान्, जसले यो घर बेचेर कमिसन खाउँला भनी दिवास्वप्न पालेका थिए ।
मर्मत गर्न पोर्चुगिजको कम्पनीलाई बोलायौँ । उसले यो त २० वर्षअघि नै गर्नुपर्ने काम भनी काम गर्न नै मानेन ।
घरमा रहेका पुराना टुटेफुटेका हस्तकलाका सामान पनि रंगरोगन गर्न पोख्त तथा सार्कका लोगो बनाएर पुरस्कृत भएका व्यक्ति शैलेन्द्रकुमार महर्जनले निःशुल्क सबै मर्मत गरी नयाँ जस्तै बनाइदिए । मर्मतका क्रममा धेरै धुलो तथा फोहोरका कारण म तथा परिवारलाई समेत खोकी लागी निकै कष्ट सहनुपर्यो ।
मर्मत कार्य सकिएपछि एउटा कार्यक्रम आयोजन गरिएको थियो । छिमेकी देशका राजदूत पनि आउनुभएको थियो । नेपालबारे जानकार एक जना राजदूतले अनायास ‘यो घर मर्मत गर्दा कुन होटलमा बस्नुभयो’ भन्दा सरकारले पाँचतारे होटल नै दियो भनी टारेँ ।
यसरी सरकारी भवन मर्मतसम्भार गर्दा राजदूत तथा परिवारलाई मर्मत कार्य नसकुन्जेल बाहिर अपार्टमेन्ट वा होटलमा बस्ने सुविधा दिनुपर्ने हो । तर त्यो बेलाका मन्त्रालयका आर्थिक शाखाकी एक महिलाले आफ्नो घर भएको राजधानी सहरमा मर्मत गर्ने भए तापनि छुट्टै बजेट दिन नसकिने जिकिर गरिन् । घर मर्मतका काम सकिएपछि कतिपय विदेशी कूटनीतिज्ञहरू तथा नेपाली बन्धुहरू पनि बोलाई कार्यक्रम सम्पन्न गरियो । सबैले एकै स्वरमा घरको नयाँ अवतार देखेर दंग भई निकै प्रसन्नता प्रकट गरेका थिए ।
यसमा पनि खासगरी मल्ल होटलका मालिक रमा मल्लले भन्नुभएको कुरा सुन्दा याद आउँछ । उहाँले भन्नुभएको थियो- यो घरमा कैयौँ वर्षदेखि आउँदै गरेकी छु, घरको दयनीय हालत देखेर निकै दुःखी हुन्थेँ । तर आज यसरी नयाँ रूपरंगमा देख्न पाउँदा निकै खुसी भएको छु । धन्यवाद राजदूत महोदय, तपाईंले सरकारको यस्तो महत्वपूर्ण सम्पत्ति जगेर्ना गर्नुभयो । घर, भवन, अपार्टमेन्ट जे होस्, त्यसलाई पनि हामीले आफ्नो शरीरलाई ख्याल राखेजस्तै समयमै ख्याल राख्नुपर्छ । (श्रेष्ठ पूर्वराजदूत हुन् )
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया