साहित्य

कविता

कमरेडलाई कविता

अमित घिमिरे |
मंसिर ८, २०७९ १९:३८ बजे

कमरेड

जित्ने भोटले हो चुनावमा


तर,

म पगला

मनमनै प्रार्थनाको चरु हालेर

कामनाले जित्यो

कामनाले नै हार्‍याे भन्ने

वित्थ्याभिमान गरिरहेछु ।

 

तिमी जित्यौ र म जितेँ

अनि हामी जित्यौं

यही सोचिरहेँ

कमरेड

जितको उन्मादमा पनि

मैले तिम्रो शरीरमा लेपसिएका

बारुदे दर्द महसुस गरेँ

फेरि चरु हालेँ

हिजो सम्झेर

 

तिमीले आफ्नो कात्रो आफैले बोकेको देखेको मान्छे म

समरको बेला भौतिक रुपमा तिमी मरेनौ

अब संसदमा भावनात्मक तिम्रो अवसान नहोस्

यही पुकारा गरिरहेछु ।

 

कमरेड

तिमीले खारेको बाह्रखरीमा

संसद, खसीको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने थलो हो

र,

कसोरी सक्छौ चटक्क बदल्न

खारेका बाह्रखरीका सिद्धान्तहरु

तिमी वधिक हुनुपर्छ

फोहोरमा गएपछि

भासमा जाकिँदै जानुपर्छ

यही क्रममा

बदल्न भनेर गएका तिमी, तिमी नै बदलियौ भने !,

 

फेरि म अभीष्ट गरिरहेछु

मेरो मनको नायक मनमै खलनायक नहोस्

कमरेड

पुरातन लाग्न सक्छ मेरो बकवासहरु

तर, सबै सत्य देखिन्न

जस्तै तिम्रो बलिदानीको विगत

प्राण दिने हावा

कामना, प्रार्थना, पुकारा, अभीष्ट, प्रेम, सदभाव

नदेख्दैमा असत्य हुन्नन् नि ।

 

कमरेड

उही पत्थर ढुंगा, उही ढुंगा देवता भएको छ

म भोगिरहेको छु

हिजो, रणमैदानमा हात नकामूँन् भनेँ

आज, हात कामूँन् भन्दैछु

देश र नागरिकको सवालमा

राष्ट्रिय अखण्डता

राष्ट्रिय स्वार्थका विषयमा

जनभावना विपरीत जानु पर्‍याे भने

कामूँन तिम्रा हातहरु

 

तिम्रा वचनबद्ता अनि प्रतिवद्धता

कागजी पुलिन्दाका प्रलाप मात्र नहोऊन्

न परालको बाघ बन तिमी

न फोटाको मासु पुलाऊ पकाऊ

तिमी, तिमी नै भइ राख

हिजोको जस्तै

धीरोदत्त

माटो, पाटो र बाटोका लागि

आम नागरिकका लागि

बलिदानमा सिन्धुपाल्चोक

बदलिँदो सिन्धुपाल्चोकका लागि

सिङ्गो राष्ट्रका लागि

सजीव-निर्जिव चराचरका लागि ।

 

कमरेड,तिमीसँग तिलस्मी अपेक्षा छैन

मात्र अघि लगाएका हौँ

जादुको छडी दिएका हैनौँ

दबाइने आवाजहरु बुलन्द गर

तेरो-मेरो, कोट पेटिकोट, राग विराग, नबोक

समीकरणका हिसाबहरुमा

"हातमा लागे एक" नबन

तिमीले चढेको शिखरको उचाइको कठिनतामा

उँधो झर्दा हुने सकस नभूल

 

हो,

कमरेड

जित्ने भोटले हो चुनावमा

तर

म पगला

मनमनै प्रार्थनाको चरु हालेर

कामनाले जित्यो

कामनाले नै हार्यो भन्ने

वित्थ्याभिमान गरिरहेछु ।


Author

थप समाचार
ad
x