साहित्य

कविता

बालक, घण्ट र समय

विज्ञान राज |
पुस २३, २०७९ शनिवार १८:१६ बजे

ईश्वरको मूर्तिमा अढेस लागेर
म एउटा अबोध बालकलाई घुरिरहेको छु 
जो मन्दिर छेउका घण्टहरू बजाउन लागिरहेको छ ।

ती घण्टहरू ऊ बोध गर्ने उमेरको भएपछि
समयले उसको जिन्दगीभर बजाइरहने 
अनेक संकटका घण्टहरू हुन् भनेर
उसलाई कसैले अलिकति भए पनि ज्ञात दिलाइदिएको भए
के ऊ तत्काल बजाउन छोड्ने थियो ?


मैले यो सोच्दै, त्यस अबोध बालकले दुइटा घण्ट जोडले बजाइसकेको छ
ऊ ती घण्टहरू बडो आनन्दले बजाइरहेको छ
नपत्याए हेर्नुहोस् न, बजाउँदा उसको मुहारमा मुस्कान लतपतिएको !

बल्ल याद गरे
उसकी आमा उसको छेउमै पो उभिएकी रहिछिन्
तिनी कस्ती आमा रहिछिन्
आफ्नो अबोध बालकलाई घण्ट बजाउन दिइरहेकी छिन्
अझ उसको एउटा मुलायम हात समातेर
अझ उसले बजाएको प्रत्येक घण्टको ध्वनिमा आनन्दित भएर, पल्लवित भएर

साँच्चै तिनी कस्ती आमा हुन्
दिन पनि, समयले बजाउने संकटका घण्टहरू बजाउन दिइरहेकी छिन्
साक्षी पनि, संकटका घण्टहरू बजाइरहेको साक्षी भइरहेकी छिन्

यो अवस्थामा भन्न सकिएला 
आमा समयभन्दा पनि बलवान् विम्ब हुन् ?
वा संकटका घण्टहरू बजाउँदा
निक्लिने ध्वनि भन्दा पनि संकटग्रस्त ध्वनि हुन् आमा ?

म यो सोच्दै थिएँ, त्यस अबोध बालकले अरु दुइटा घण्ट बजाइसके छ
ऊ ती घण्टहरू बडो उत्साहित भएर झन् जोडजोडले बजाउन लागिरहेको छ
नपत्याए हेनुहोस् न, बजाउँदा उसको मुहारमा उत्सर्ग लतपतिएको !

तर ती घण्टहरू उसले झुक्किएर पनि 
बजाउन हुँदैनथ्यो भन्ने कुरा 
उसलाई कसैले बुझ्ने गरी भनिदिएको भए
के उसले झट्टै बजाउन छोड्ने थियो ?

सोच्दा सोच्दै मैले देखेको छु 
कि कोही ईश्वरको मूर्तिमा अढेस लागेर बालकलाई घुरिरहेको छ ।

जो घुरिरहेको छ
के ऊ समय हो ?
त्यस अबोध बालकको जिन्दगीभर 
अनेक संकटका घण्टहरू बजाउन तमतयार समय !

सोच्दासोच्दै बालकले फेरि दुइटा घण्ट जोडले बजाइसकेको छ । 

अस्तु !


Author

थप समाचार
x