साहित्य

कविता

देशसँग गन्गन

महेन्द्र राई |
माघ १४, २०७९ १७:४ बजे

सरकार...
आफैं बिक्री हुने बेला
आफैले आफ्नै मूल्य तोक्न पाएनन् जनताले।

कुकुरहरुको नाम छ
वर्ग छ,जात छ
भुक्दै नभुके पनि 
भोकै मरेको इतिहास छैन।


हरेक बारीहरू, हरेक पेटहरूमा गुमनाम हुँदा
म मात्र भोकै मरेको इतिहास 
मैले नै बारम्बार घोक्न पर्दैछ
तिम्रो पाठ्यक्रममा ?
कि मैले सहिदगेट मात्र बनाउँदै बस्नु पर्ने हो ?

संसारको हरेक
ठूला बाटाहरू
साना बाटाहरू
मेरै आँगनसम्म आइपुग्छ।

त्यो घाम मेरै घरको बाटो भएर हिँड्छ
जून मेरै करेसाबारीमा बास बस्छ
हज्जारौं जूनहरूको उज्यालो हेर्न
मैले कुनै जूनकिरी पाल्न परेको छैन
हिमालले दिने मुस्कानसँग
म कुनै गुनासो गर्न सक्दिन
तिमीले सित्तैमा लिने हावाको
हावा किन्न
मैले चै अब मिर्गौला बेच्नुपर्ने?
सधैं दु:खको बादल 
मेरै घरमाथि किन
बिनाभाडा घरजम गरेर बसेको हो?

सरकार....
सबै आइपुग्ने मेरो घरको आँगनमा
तपाइँको आगमन कहिले होला ?
कि तिम्रो मस्तिष्कको दरबारसम्म
नसे सडक 
सिधा सिधा खनौ हँ ? 

उ त्यही तल
सात नदी बगेको छ।
मेरो बाजेको पसिना अलिमाथि 
चर्चरी फुटेको छ।
अनिकालमा जोगाएको बीउमा
हिमनदी फुटाइदियौ र पसायौ लेदो
मेरा बच्चाहरु फेरि धान रोपौं बाबा भन्दैछन्।
म अब के रोपौं?
विश्वास गाडौं कि
मेरो विगत?

सन्तान रोपौं कि
मेरो लिङ्ग ?
घरअघि नै आफैं उम्रेको झाडु पनि झाडु भईसक्याे
पोहोर जन्मेको छोरोले पापा भन्न थाल्यो
सरकार .......
तिमी मलाई मेरो जनता कहिले भन्छौं हँ ?

मैले,
औंसीको विरुद्धमा लडेको हो
जूनको विरुद्धमा हैन
मैले हुण्डरीको सामना गरेको हो
हावा मेरो दुस्मन थिएन
आगोको बदला आगो बालेकै हो
ताप मेरो जार थिएन
कसैको घरभन्दा ठूलो चिहान 
विद्यालयभन्दा लामो चौतारो 
यही देशमा देखिरहेछु भोको 
मन्दिरको घण्टा 
चर्चको विमान
मस्जिदको गलैंचा
गुम्बाको धुप
मात्रै मात्रै किन?
यता किनबेच हुन्छ
किन...बेच हुदैन,हाम्रो आँसु र पसिना यो देशमा?

पसिना र आँसु नुनिलो हुनु
सित्तैको शीत सिरानी निरै चुहिनु
नियतिको घाम पनि सब्बै न्दा धेरै 
मेरै तालुमा आएर बस्नु
बाध्यताको काँडा पनि मेरै पैतालामा घुस्नु
रहरका फुलहरु फुल्नै नजान्नु मेरै आँगनमा
सरकार...
म को हुनु हो ?
को नहुनु हो ?

आफूले आफ्नैहरू सक्नलाई
आरनदेखि आणविकसम्म
ओछ्यानदेखि जङ्गलसम्म
शिरदेखि पाउसम्म 
राइफल जस्ता रौं हरु 
बमजस्तै बोलीहरु
परमाणुजस्तै प्रमाणहरु
मिसाइल बनेर हावाहरू उडिरहेको
जताततै खबरै खबर छ
खबर त्रमा पनि बारुदी सुरुङ बिछ्याउने?
यो आफन्तै नचिन्ने समयले आत्महत्या गरे 
सहिद बनाऊँ कि नबनाऊँ ?

सरकार...
एकपटक चिमोटी देऊ 
म मुर्दा हो कि जिन्दा।


Author

थप समाचार
ad
x