साहित्य

कविता

अद्‍भुत महिला

माया एन्जलो |
फागुन २०, २०७९ शनिबार ७:५८ बजे

‘म हुनुको रहस्य 
कहाँ लुकेको होला’—
सोच्दै छक्क पर्छन् ‘अप्सरा’हरू ।

तर, म च्वाँक छैन
फेसनमा मेरो ध्यान छैन
‘हिरुनी’को साइजमा मेरो ज्यान छैन ।


जब म खुल्दछु कुराहरूमा
उनीहरू भन्ठान्छन्— 
म दन्त्यकथा हालिरहेकी छु । 

म भन्छु—
मेरो रहस्य पाखुराको पहुँचमा छ
मेरो ढेल (नितम्ब) को चौडाइमा छ
मेरो पाइतालाका लम्क्याइहरूमा छ
मेरा ओठका गोलाइहरूमा छ 
किनभने, म महिला हुँ
विशिष्ट रूपले 
अद्भुत महिला मै हुँ ।

तिमीहरू जसरी नै 
पस्छु म केटाहरूको कोठाभित्र
हुन्छन् तिनीहरू घरी होसियार 
घरी लम्पसार 
झुम्मिन्छन् मेरो वरिपरि 
रानोमा माहुरीसरि ।

म भन्छु—
आँखा मेरो आगो हो
दाँत मेरो उज्यालो 
कम्मर मेरो पिङ 
र, खुसी नै मेरो पाइताला । 
किनभने, म महिला हुँ
विशिष्ट रूपले 
अद्भुत महिला मै हुँ ।

केटाहरू उसै उसै छक्क छन्—
तिनीहरू ममा के देख्छन्, कुन्नि ! 

उनीहरू हर प्रयास गर्छन्
तर सक्दैनन् भेट्न
मेरो गुप्त रहस्य ।
म देखाउन खोज्छु— 
तर, भन्छन्—
‘केही देख्नै सकेँनौँ त !’
म भन्छु—
मेरो रहस्य 
मेरो हाँसोको उज्यालोमा छ
मेरा स्तनको उकालोमा छ
मेरो कन्नो (ढाड)को वक्रतामा छ
मेरो शैलीको शानमा छ
किनभने, म महिला हुँ 
विशिष्ट रूपले 
अद्भुत महिला मै हुँ ।

अब त तिमीले बुझ्यौ होला नि— 
मेरो शिर किन ‘सगरमाथा’झैँ ठडिएको छ
म चिच्याउन्नँ, 
म हुर्रिन्नँ पनि 

जब म हिँडिरहेकी हुन्छु
मलाई नभेटी 
तिमी भन्छौ— ‘वाह क्या केटी’   
त्यति बेला म भन्छु—
मेरो रहस्य 
मेरो गतिमान पैतालामा छ
मेरो अर्धमूदित केशमा छ
मेरो खुल्ला हत्केलामा छ,
मेरो अस्तित्वरक्षामा छ,
किनभने, म महिला हुँ 
विशिष्ट रूपले 
अद्भुत महिला मै हुँ ।
(प्रसिद्ध कवि माया एन्जलोको कविता ‘फेनोमेनल विमेन’को नेपाली भावानुवाद इकागजले गरेको हो ।)


Author

थप समाचार
x