साहित्य

तुफानबाबुको ‘एक सय एक सोच’ सार्वजनिक

इकागज |
बैशाख २४, २०८० आइतबार १४:२१ बजे

काठमाडौँ- पत्रकार तथा सामाजिक अभियन्ता तुफानबाबु श्रेष्ठको ‘जिन्दगी बदल्ने एक सय एक सोच’ पुस्तक शुक्रबार तुलसीपुरमा सार्वजनिक गरिएको छ । मानिसलाई सत्मार्गमा हिँडाउन तथा सकारात्मक सोचको विकास गराउनका लागि सहयोगी हुने पुस्तकमा एक सय एक वटा विभिन्न प्रेरणादायी प्रसंग समावेश गरिएको छ ।

दुई दशकअघि रेडियोमा ‘शान्त तलाउ’ नामक कार्यक्रम थाल्नुभएका श्रेष्ठले हरेक मानिसमा सकारात्मक सोचको विकास गराउनु नै यो पुस्तकको प्रमुख लक्ष्य रहेको बताउनुभयो । उक्त पुस्तकमा देश–दुनियाँका, मिथ–पुराणका, इतिहास–समाजका कतिपय यथार्थ र कतिपय कल्पनाशील कथाहरुसँगै विभिन्न व्यक्तित्वका प्रेरक प्रसङ्गहरु पनि समावेश गरिएको छ ।


लेखक तुफानबाबु श्रेष्ठकै अध्यक्षतामा भएको कार्यक्रममा ब्रम्हकुमारी ईश्वरीय विश्व विद्यालय राप्ती क्षेत्रकी प्रमुख गीताले पुस्तक विमोचन गर्नुभएको थियो । विमोचन समारोहमा बोल्ने वक्ताले पुस्तक जीवन उपयोगी भएको भन्दै पछिल्लो पुस्तालाई यस्ता सकारात्मक सन्देश दिने खालका प्रसङ्ग जानकारी दिन आवश्यक रहेको बताउनु भएको थियो । वक्ताहरुले जिन्दगी बदल्ने एक सय एक सोच पुस्तकलाई हरेक विद्यालय र कलेजमा पुर्याउन सके यसको महत्व अझै बढेर जाने बताउनु भएको थियो ।

सो अवसरमा श्रेष्ठले पुस्तकको माग बढ्दै गएको बताउनुभयो । उहाँले आफूले लामो समयदेखि देख्दै भोग्दै आएका, पढेका र सुनेका कतिपय विषयलाई पुस्तकमा समेटेको बताउनुभयो ।

पाँच पोखरी प्रकाशन गृह काठमाडौँबाट प्रकाशित पुस्तकको समीक्षा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले गर्नुभएको थियो । उहाँले पुस्तकमा एक सय एक वटा फरक फरक खालका विषयहरु समेटिएको बताउँदै हरेक प्रसङ्गले भिन्नै खालको ऊर्जा दिने बताउनुभयो ।

सो अवसरमा बोल्दै ब्रम्हकुमारी ईश्वरीय ब्रह्मकुमारी विद्यालयकी प्रमुख गीताले समाजमा सकारात्मक सोच दिने विचारहरुको अभाव हुँदै गएको बताउनुभयो । उहाँले ब्रम्हकुमारी ईश्वरिय विश्व विद्यालयको सोचसँग पुस्तकको सोच मिलेको बताउनुभयो । उहाँले पुस्तकको प्रचार प्रसार गरेर सवैको हातमा पुर्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले खासगरी युवाहरुलाई सकारात्मक मार्गमा लगाउनका लागि सकारात्मक सन्देश दिन आवश्यक रहेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का पूर्व अध्यक्ष जनप्रतिनिधि नवराज लामिछानेले समाजमा सकारात्मक सन्देश दिने खालका पुस्तकहरुको अभाव रहेको बताउनुभयो । उहाँले यस्ता पुस्तकको प्रचार प्रसार गर्नुपर्ने भन्दै युवाहरुका बीचमा पुस्तक पुर्याउन सुझाव दिनुभयो ।

यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विमल रिजाल, रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष यज्ञबहादुर केसी, नेपाल औषधी थोक व्यवसायी संघ दाङका अध्यक्ष शेषकान्त ढकाल, लायन्स क्लब अफ ईशानका संस्थापक अध्यक्ष बुद्धप्रकाश सिंह लगायतले पुस्तक पढेपछि सकारात्मक ऊर्जाको सञ्चार हुने बताउनुभयो । कार्यक्रमको सञ्चालन पत्रकार शरद रेग्मीले गर्नुभएको थियो ।


Author

थप समाचार
x