साहित्य

जीवनको `नुन तेल´ बारेमा भरतपुरमा विमर्श

इकागज |
जेठ २७, २०८० शनिबार १८:३७ बजे

भरतपुर- जीवन क्षेत्रीको पुस्तक `नुन तेल : विगततिर पदयात्रा´ माथि शनिबार भरतपुरमा विमर्श गरिएको छ । प्रगतिशील लेखक संघ चितवनको आयोजनामा डबली क्याफे भरतपुरमा कार्यक्रम गरिएको हो ।

पुस्तकमा हप्तादिनसम्म पैदलै हिँडेर नुन तेलको बन्दोबस्त गर्ने पाकापुस्ताको दैनिकी रुचीपूर्वक लेखिएको वक्ता दिनेश नाइसाले बताए । बागलुङदेखि बटौलीसम्मको पदयात्राको बारेमा हजुरबुबा, हजुरआमाबाट आफूले धेरै सुन्ने गरेको र अहिले किताबमा पढ्न पाउँदा खुसी लागेको उनले बताए । त्यसैगरी सरिता तिवारीले पुस्तकमा क्षेत्रीले पाकापुस्ता हिँडेको बाटोलाई पछ्याउँदै आफैले पनि पदयात्रा गरेर त्यसको वर्णन किताबमा लेखेको बताइन् ।


किताबमा बर्माबाट आएर नेपालका विभिन्न भागमा बसेका बर्मेलीहरूको जीवनलाई पनि सुन्दर शैलीबाट लिपिबद्ध गरिएको सरिताले बताइन् । पारिवारिक, सामाजिक विषयसँगै पर्यावरणलाई पनि पुस्तकमा उतार्न लेखक सफल भएको सरिताले बताइन् ।

त्यसैगरी डाक्टर धनेश्वर भट्टराईले पुस्तकमा तीन पुस्तालाई एकै ठाउँमा उभ्याएको बताए । `पुस्तकलाई गैरआख्यान भनिए पनि किताबको कथा आख्यानैआख्यानले भरिपूर्ण छ,´ भट्टराईले भने । पृथ्वीको उत्पत्ति र पृथ्वीमा आएको संकटलाई पनि लेखक क्षेत्रीले किताबमा उल्लेख गरेको बताए । नेपाललाई अगाडि बढाउन सकिने विभिन्न आशा र संभावनाहरूलाई लेखकले जीवित राखेको पनि उनले बताए ।

अर्का वक्ता उदय अधिकारीले लेखकको निजात्मक विचारमा देश विकासको नक्सा कोरिएको बताए । लेखकले किताबमा धेरै कुराहरू समेटेको भए पनि लेखनको इमानदारिता मिसिएको अधिकारीले बताए ।

पुस्तक साङ्ग्रीला बुक्सले प्रकाशन गरेको हो । लेखक क्षेत्रीको यो पहिलो पुस्तक हो । प्रलेस चितवनका अध्यक्ष राजु आचार्य दीपको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव आकाश पौडेलले सहजीकरण गरेका थिए ।


Author

थप समाचार
x