साहित्य

कवि राईले सुनाए जीवनका कविता

इकागज |
असार २, २०८० शनिबार २०:२१ बजे

गैंडाकोट- मलाई यहीँ भुइँतलामा बस्न देऊ
पछि बाहिर निकाल्न सजिलो होला ।
माथिल्लो तलाको कोठा 
जाडोमा धेरै जाडो 
गर्मीमा धेरै तातो भए पनि ठिकै थियो
तर कोठाको एउटै झ्यालबाट 
दाहाल सर बसेको कोठा देखिन्छ 
हामीले सँगै जागीर सुरु गरेका थियौँ
सँगै रिटायर भयौं 
वहाँलाई कोठाबाट निकाक्दा
छोराहरूलाई गाह्रो भएको थियो
तिमीहरूलाई पनि थाहा होला ।

कवि विष्णु एस राईले एकल कविता वाचन कार्यक्रममा सहभागी भएर कविता सुनाएका छन् । सम्पूर्ण किताबको आयोजनामा गैंडाकोटस्थित नारायणी रिसोर्टमा गरिएको कार्यक्रममा शान्त भावका कविलाई स्रोताले पनि शान्त बनेर सुनेका थिए । कवि राइले समय शीर्षकको कवितामार्फत समयको भावलाई व्याख्या गरे । उनले कविको पीडा शीर्षकमा कविता प्रस्तुत गर्दै कविले भोग्नुपरेका सामाजिक यथार्थलाई व्यक्त गरे । पहिलो चरणमामा राइले विभिन्न शीर्षकका ७ वटा कविता प्रस्तुत गरे । छोरीको सम्झनामा लेखिएको कवितालाई स्रोताले ध्यान दिएर सुने । पहिलो चरणमा उनले जीवन र जगतका कविता सुनाए ।


कार्यक्रममा कवि राइलाई तीन जना कविले कविता वाचनमा सघाए । बटुकलाल तामाङ, प्रसंशा पराजुली र प्रेम सिग्देलले कवि राइका १/१ वटा अङ्ग्रेजी कवितालाई आवाज भरे ।

दोस्रो चरणमा पनि आधा दर्जन कविताका साथ कवि राई प्रस्तुत भए ।
कहाँ जाउँला र म
कहिँ जाने छैन 
यहीँ रहुँला यतै - कतै
यही कोठामा ।

शायद पल्टिरहुँला
कुनाको त्यो सोफामा 
तिमीलाई थाहा हुनेछ
मेरो उपस्थिति 
त्यसमा बसेपछि ।

राइले कार्यक्रममा जीवन जगत, प्रेम, समाजलाई केन्द्रमा राखेर लेखिएका कविता सुनाए ।

कवि राइका नौडाँडापारि नियात्रासङ्ग्रह, सुदामा खण्डकाव्य, जीवन कवितासङ्ग्रह, पहेली उपन्यास,जीवनका पानाहरू संस्मरण प्रकाशित छन् ।

रमेश प्रभातले सहजीकरण गरेको कार्यक्रममा प्रमुख अतिथि गोविन्दराज विनोदीले कवि राइका समग्र कविताहरूको टिप्पणी राखेका थिए । सम्पूर्ण किताबका लेखराम सापकोटाले चितवनका कविता पारखीको अनुरोधमा कवि राईलाई कविता वाचनका निम्ति डाकिएको बताए ।


Author

थप समाचार
x