साहित्य

दिलिपको `ताल्चा´माथि अन्तरक्रिया

इकागज |
असार ९, २०८० शनिबार १७:३६ बजे

गैंडाकोट- भाेजपुरका दिलिप बान्तावा दक्षिण काेरिया बस्छन् । करिब डेढ वर्षअघि उनले लेखेकाे 'ताल्चा' कथासंग्रह बजारमा छ । १० वटा कथा भएको याे कथासंग्रह उनकाे पहिलाे किताब हाे । फिनिक्स बुक्सले यो पुस्तकलाई प्रकाशन गरेको हो ।

पहिलाे संग्रहमै परिपक्व देखिएका बान्तावाकाे प्रशंसा गर्छिन् विश्लेषक सरिता तिवारी । 'याे संग्रह विविधतायुक्त छ,' शुक्रबार साँझ नारायणी रिसाेर्ट गैँडाकाेटमा आयाेजित अन्तरक्रिया कार्यक्रममा उनले भनिन्, 'लेखककाे उमेर सानाे छ तर परिपक्वता ज्यादा देखिन्छ ।' 


उनले बान्तावाले प्रयाेग गरेका भाषा र बिम्ब उच्चस्तरको रहेकाे बताइन् । तर, कतिपय ठाउँमा कथाकार अलि हतारिएकाे टिप्पणी उनले गरिन् ।

कार्यक्रममा लेखकलाई उभ्याएकाे हाे सम्पूर्ण किताब नारायणगढले । जसमा टिप्पणीकारकाे भूमिकामा सरितासँगै उदय अधिकारी पनि थिए । उनले ताल्चाले नेपाली साहित्यकाे फैलावटमा ठूलाे भूमिका निर्वाह गरेकाे टिप्पणी गरे । 'युराेप, अमेरिका, अष्ट्रेलियालगायत ठाउँबाट नेपाली साहित्य निरन्तर अघि बढिरहेकाे थियाे,' उनले भने, 'अब काेरियामा पनि बलियाे उपस्थिति हुनेछ ।'

सरिताले बान्तावालाई भीमनिधि तिवारीकाे उत्तराधिकारीजस्ताे लागेकाे बताइन् । 

ताल्चामा युद्ध कथा छन् । युद्धमा कथाकार आफै छन्, उनको समाज पनि छ । प्रवासका कथा पनि कथाका गहना बनेर उनिएका छन् । १० कथाका स्वाद अलग-अलग छन् । पाठकले मीठो मान्छन् । कथाकार बान्तवाले आफू लेखक बनेपछि किताबको पहिलो सार्वजनिक कार्यक्रममा प्रस्तुत भएको बताए । उनले कथाका रचनागर्भका बारेमा व्याख्या गरेका थिए । `म भोजपुरमा जन्मिएँ, हुर्किएँ । श्रम गर्न विदेशमा पनि पुगेँ । मैले देखेका, भोगेका सामाजिक र प्रवासका कथालाई कथामा उतारेको छु,' वान्तवाले भने । उनले ताल्चा उभिएको भूगोलभन्दा फरक ठाउँमा आएर छलफल कार्यक्रममा सहभागी हुन पाउँदा फरक अनुभूति मिलेको बताए ।

पाठकीय टिप्पणीमार्फत माया गुरुङले ताल्चाका कथाहरू राम्रो लागेको प्रतिक्रिया दिइन् । केही कथामा कथाकार हतारिएको आफूलाई अनुभूत भएको मायाले बताइन् । युवा आख्यानकार रमेश सायनले ताल्चाका केही कथामा दक्षिण कोरियाको माटो पोतिएको बताए । कथाकार बान्तवा र आफू सँगसँगै कोरियामा बसेको र कतिपय कथामा त्यहीँको दैनिकी बुनिएको सायनले बताए । कार्यक्रमलाई लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।


Author

थप समाचार
x