साहित्य

मान्छे

शम्भुप्रसाद निरौला 'दुर्गम' |
मंसिर १२, २०८० मगलवार ९:१५ बजे

केभो खै अभिमानले दिनदिनै फुल्दैछ मान्छे किन ?
आफ्नै स्वार्थ कहाँ अचम्मसँगले भुल्दैछ मान्छे किन ।
आफैँ मात्र भलो महान गतिलो भन्दैछ मान्छे किन ?
बाटो आज स्वयं बसी पतनको खन्दैछ मान्छे किन?

मान्छेको अतिनै भयो प्रगति खै के बिर्सियो बिर्सियो !!
मान्छे आज स्वयं अशान्त बनिँदै आफूसँगै तर्सियो ।
यस्तो उन्नतिमा प्रफुल्ल मनले हाँस्तैन मान्छे किन ?
मान्छेकै किन शत्रु मानिस बनी बढ्दैछ रे दिन्दिन ।


मान्छे छैन भने रहन्छ कसरी सौन्दर्य संसारको ?
मान्छे छैन भने महत्व यसरी को बुझ्छ संसारको !
मान्छे नै अतिमूल्यवान गहना हो सृष्टिको सम्पति ।
बिग्र्यो मानिस नै भने जगतको केहुन्छ होला गति !!

बिर्सी मानवता बढौँ जतिसुकै पाइन्छ के ? हुन्छ के ?
आफ्नो नैतिकता भुली जगतमा खोजेर भेटिन्छ के ?
रोपेको विष वृक्षमा जति गरौँ फल्दैन रे अमृत ।
अर्काको उपकारमा सहजले हुर्कन्छ आफ्नो हित ।


Author

थप समाचार
x