लुम्बिनी

दाङको राजपुर गाउँपालिकाबाट एसइईमा एक जना मात्रै पास

इकागज |
असार १५, २०८१ शनिबार १३:२३ बजे

फाइल तस्बिर

दाङ- दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई )मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् ।

पालिकाभित्र रहेका आठ  माध्यमिक विद्यालयका दुई सय ५० जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा एक जना मात्रै उत्तीर्ण भएका छन् । राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका साधारण नमूना माध्यमिक विद्यालय गङ्गदीबाट गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन् । उनले ‘वि प्लस’ ग्रेड ल्याएका छन् । सोही विद्यालयबाट ८५ जनाले परीक्षामा सहभागी भएका थिए ।  


सोही पालिकाबाट  जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६ , शङ्कर मावि खरदरियाबाट ४५ ,   माध्यमिक विद्यालय दुलैयाबाट नौ ,  बालकल्याण मावि खंग्रानाकाबाट १० जनाले एसइई परीक्षा सहभागी भएका थिए ।    

माध्यमिक विद्यालय सिक्टाबाट ३०, गौरीशंकर मावि भैसाहीनाकाबाट नौ जना, शिवशक्ति मावि भौवानाकाबाट छ जनाले एसइई दिएका थिए । यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ । शिक्षामा लगानी गरे पनि त्यो अनुसारको नतिजा नआउँदा आफू दुःखी भएको पालिकाका उपाध्यक्ष यादवले बताए ।

'हामीले शिक्षामा धेरै लगानी गर्‍यौँ', उनले भने  'तर, लगानी अनुसारको नतिजा दिन सकेनौँ ।' आठ वटै विद्यालय सामुदायिक हुन् । तीन सय ५० विद्यार्थीले परीक्षा दिएकोमा बङ्गलाचुली गाउँपालिकाबाट १३ जना मात्रै उत्तीर्ण भएका छन् । रासस


Author

थप समाचार
x