फिचर

को हुन् युरोपमा तहल्का पिटिरहेका फुटबल स्टार हालान्ड ?

इकागज |
बैशाख २७, २०८० बुधबार १६:८ बजे

काठमाडौँ- नर्वेका २२ वर्षीय फरवार्ड अर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिगका लागि एकै सिजनमा अहिलेसम्मकै सर्वाधिक गोल गर्ने कीर्तिमान कायम गरिसकेका छन् । प्रिमियर लिग क्लबका लागि एकै सिजनमा ५० भन्दा बढी गोल गर्ने हालान्ड ९५ वर्षपछि पहिलो खेलाडी समेत बनेका छन् ।

गत वर्ष जर्मन क्लब बोरुसिया डर्टमन्डबाट ५१.२ मिलियन पाउन्डमा इंग्लिस क्लब म्यानचेस्टर सिटी आएका हालान्डले जारी सिजनमा कम्तिमा पनि ७ खेल खेल्न बाँकी छ । हालान्डकै उत्कृष्ट प्रदर्शनमा सिटी पुनः प्रिमियर लिगको उपाधि जित्ने संघारमा छ भने एफए कपको फाइनल तथा च्याम्पियन्स लिगको खेल पनि बाँकी नै छ । उनले थप कति गोल गर्छन् भन्ने यकिन छैन ।


पेप गार्डियोलाले स्पेनिस क्लब बार्सिलोनामा लियोनल मेस्सीलाई प्रशिक्षण दिएपछि अहिले उनको ‘अप्रोच’ केवल एक खेलाडीको उपस्थितिले प्रभावित बनेको छ । अर्कोतर्फ पूरै युरोपका लागि अर्को डर भनेको हालान्डले अझै उत्कृष्ट प्रदर्शन गर्न बाँकी नै छ भन्ने हो ।

त्यसो भए हालान्ड यस्तो अवस्थामा कसरी आए ?

पाँच वर्षकै उमेरमा विश्व कीर्तिमान कायम

इंग्ल्यान्डको लिड्समा सन् २००० मा जन्मिएका हालान्ड नटिङ्घम फरेस्ट, लिड्स तथा म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर आल्फ-इङ्गे हालान्ड तथा हेप्टाथ्लिट ग्रे मारिटा ब्राउटका छोरा हुन् । हालान्ड बच्चै हुँदा सफल खेलाडी बन्ने संकेत देखाएका थिए ।

जब हालान्ड तीन वर्षका थिए उनको परिवार आफ्नै घर अर्थात नर्वेको ब्रायन सहर पुगे । सन् २००६ मा पाँच वर्षको हुँदा हालान्डले लङ जम्पमा १.६३ मिटर जम्प गर्दै आफ्नो उमेर समूहमा विश्व कीर्तिमान कायम गरेका थिए ।

युवा अवस्थामा निकै दुब्लो भएपनि हालान्ड निकै तेज गतिका धावक तथा उत्कृष्ट विङ्गर थिए । युवा अवस्थामै हालान्डलाई फुटबलप्रति निकै लगाव थियो र ज्लाटन इब्राहिमोभिक, रोविन भान पर्सी, जेम्मी भार्डी, लियोनल मेस्सी तथा मारियो बालेटोली जस्ता खेलाडीबाट प्रेरित हुन्थे ।

आफ्ना दाई आस्टरलाई देखेर हालान्डमाथि व्यवसायी खेलाडी बन्ने दबाब बढ्यो तर उनको परिवारले भने उनका लागि आरामदायी हिसाब अघि बढ्ने सोच बनाए । उनको परिवारले हालान्डलाई प्राकृतिक रुपमै आफ्नो क्षमता विकास गर्न प्रोत्साहन गरे । हालान्डले आफ्नो बाल्यकालको क्लब ब्रायनबाट खेल्दै गर्दा आफ्नो क्षमता विकास गरे तथा आत्मविश्वासी समेत बने ।

६ फिट ४ इन्चका सेन्टर-फरवार्ड हालान्डको किशोरावस्थामा विकासले गति लियो- जसले अपरिहार्य पीडाहरू ल्यायो । जसले हालान्डमा व्यावसायिक फुटबल खेलाडी बन्ने क्षमता- प्राविधिक क्षमता, रणनीतिक संज्ञा र सही मानसिकता- विकास गर्‍यो ।

‘म अहिले पनि १३ वर्षको उमेरमा दौडिए झै दौडिन्छु,’ हालान्ड भन्छन् ।

‘हालान्ड १३ वर्षकै हुँदा मैले यो बच्चाले आफ्नो विशेष कामको नैतिकता र रणनीतिक भावनाले नर्वेको राष्ट्रिय टोलीमा स्थान बनाउनेमा मलाई विश्वास थियो,’ उनलाई ब्रायनमा आठ वर्षसम्म प्रशिक्षण दिएका प्रशिक्षक अल्फ-इङ्गभ बर्न्टसेनले भने ।

सन् २०१७ देखि १९ सम्म नर्वेकै मोल्ड क्लबमा हुँदा प्रशिक्षक ओले गनर सोल्सारले हालान्डलाई व्यक्तिगत रुपमै घण्टौंसम्म अभ्यास गराउने गरेका थिए र सोल्सारले हालान्डमा गोल गर्ने क्षमताको विकास गरे । उक्त क्षमता हालान्डमा भने प्राकृतिक रुपमा भने आएको हैन ।

जब हालान्ड व्यावसायिक फुटबल खेलाडी बन्ने निश्चित भयो, हालान्ड र उनको बुवा मिलेर पाँच वर्षे योजना बुने । जसअन्तर्गत २ वर्ष मोल्डेमा खेल्दै क्षमता विकासका लागि सकेसम्म बढी भन्दा बढी खेल खेल्ने । सो लक्ष्य पूरा भएपछि उनलाई भित्र्याउनका लागि अन्य क्लबहरुले इच्छा देखाउन थाले ।

सन् २०१९ मा हालान्ड रेड बुल साल्जवर्ग गए र २३ खेलमा २५ गोल गरे । च्याम्पियन्स लिगमा डेब्यू गर्दा हालान्डले साल्जवर्गका लागि गेन्कविरुद्ध ४५ मिनेटभित्रै ह्याट्रिक समेत पूरा गरेका थिए । त्यसले हालान्ड उक्त स्तरमा खेल्ने खेलाडी भएको प्रमाणित भयो ।

त्यसपछि उनी २० मिलियन युरोमा जर्मनीको बोरुसिया डर्टमन्ड पुगे । म्यानचेस्टर युनाइटेड र युभेन्टसले भित्र्याउने प्रयास गरेपनि खेलअनुसार पाइने पारिश्रमिकका कारण हालान्ड जर्मनी पुगे । डेब्यू खेलमै २३ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका हालान्डले डर्टमन्डका लागि ८९ खेलमा ८६ गोल गरे ।

त्यसपछि उनी गत वर्ष ५१.२ मिलियन पाउन्डमा पाँच वर्षका लागि सिटी आए । सिटीमा पाँच वर्ष पूरा हुँदा हालान्ड केवल २६ वर्षका हुनेछन् । त्यसपछि उनको लक्ष्य भने विश्वका अन्य ठूला क्लबका लागि खेल्न स्पेन र इटाली पुग्नु हुनेछ ।

‘मेस्सीपछि कुनै पनि खेलाडीले गार्डियोलालाई त्यति प्रभावित गरेको छैन’

सिटीका लागि छोटो समयमा गरेको प्रदर्शनबाट हालान्ड आफैँ चकित छन् । तर त्यसका लागि उनको ट्रेनर इभार इग्जाको योगदान भने ठूलो छ । इभारले हालान्डका बुवासँग नजिक भएर काम गर्नुका साथै हालान्डका लागि सम्पूर्ण कुराको व्यवस्थापन पनि गर्छन् । घर खोज्नुदेखि लिएर उनको डाइट व्यवस्थापन पनि इभारले नै गर्छन् ताकि हालान्डले केवल फुटबलका बारेमा मात्र सोच्न सकून्।

हालान्ड म्यानचेस्टर आइपुग्दा उनका लागि सबथोक व्यवस्थित थियो । 

अर्कोतर्फ हालान्ड कहिल्यै पनि सन्तुष्ट हुने खेलाडी होइनन्- उनी जहिले पनि क्षमता विकास गर्न खोज्छन् ।

म्यानचेस्टर सिटीका इटालियन ट्रेनर मारियो पाफुन्डीले उनलाई थप परिश्रम गर्न दबाब दिए पनि उनलाई आफ्नो शरीरिक क्षमता बुझ्न सघाउँछन् । जसका कारण हालान्ड खासै घाइते हुँदैनन् । अभ्याससँग चाहिने उच्चस्तरीय खानाले उनको तौल १५ महिनामा १२ केजी बढेको छ । त्यसका साथै उनले शरीर तथा मनलाई शान्त राख्न ‘मेडिटेसन’ अर्थात ध्यान समेत गर्ने गर्छन् ।

सिटीको खेल्ने क्षमता भनेको मिडफिल्ड बलियो हुनु हो र हालान्ड आउँदा सबै भन्दा ठूलो प्रश्न भनेको उनी कसरी सिटीको खेल शैलीमा आफूलाई ढाल्न सक्छन् भन्ने थियो । तर हालान्डको क्षमता भनेको अवस्था अनुसार आफूलाई त्यही अनुसार ढाल्नु हो ।

सिटीको खेल्ने शैली हेर्ने हो भने हालान्ड र टिमका अन्य सदस्यसँगको तालमेल ‘डिसकनेक्ट’ देखिन्छ र यसलाई गार्डियोलाले नदेखेझै गर्न खोज्छन् । जब सिटीले जनवरीमा म्यानचेस्टर युनाइटेडसँग पराजित भयो, गार्डियोलाले टिमका अन्य सदस्यले हालान्डलाई बढी सक्रियता चाहेको स्विकार गरेका थिए ।

गार्डियोलाका लागि चुनौती भनेको आफूले चाहे जस्तो खेल्नु भए पनि हालान्डलाई सक्रिय तथा खुसी राख्नु पनि हो ।

'मेडिटेसनको शक्तिप्रति लगाव'

‘हालान्ड २४ घण्टा नै आफ्नो पेशा, काम, आफ्नो इच्छा र आफूलाई मन पर्ने कुराका लागि बाँच्छन्,’ गार्डियोला बताउँछन् ।

हालान्ड आफूलाई चाहिने कुराप्रति सचेत छन् । उनलाई इटालियन खाना, इटालियन वाइन तथा राम्ररी खान र केही समय सामाजिक सञ्जालमा बिताउन मन पर्छ । उनमा भएको आत्मविश्वासले हालान्डलाई आफूमाथि आइपर्ने दबाब झेल्न मद्धत गर्छ ।

हालान्ड रातिमा बाहिर निस्कने वा भिडियो गेम खेल्ने वा फिल्म हेर्ने व्यक्ति होइनन्, अभ्यास नभएको समयमा घरमा बसेर आराम गर्छन् ।

उनी गल्ती हुने हो कि भनेर डर मान्दैनन् र एक पटक काम राम्रो नभएर पटक पटकको प्रयासले राम्रो बनाउन सकिने उनमा आत्मविश्वास छ ।

(बीबीसीका लागि गुइलेम ब्यालेगले तयार पारेको आलेखलाई इकागजका सञ्जीव शाहले भावानुवाद गरेका हुन्)


Author

थप समाचार
x