फिचर

कीर्तिमानी युवा बक्सर सुष्माको ओलम्पिकमा अर्जुनदृष्टि

सञ्जीव शाह |
जेठ ९, २०८० मगलवार ९:४९ बजे

काठमाडौँ- एसियालीस्तरको कुनै पनि बक्सिङ प्रतियोगितामा नेपालका लागि रजत पदक जित्ने खेलाडीको कीर्तिमान सुष्मा तामाङको नाममा छ । गत जनवरीमा थाइल्यान्डको बैंककमा भएको एएसबिसी यू–२२ महिला बक्सिङ च्याम्पियनसिपमा महिला ४८ केजी तौलसमूहमा सुष्माले नेपालका लागि कीर्तिमानी रजत जितेकी हुन् ।

फाइनलमा उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग पराजित हुनुअघि सुष्माले सेमिफाइनलमा मंगोलियाकी बाइसेनबाई जनरगुलीलाई पराजित गर्दै ऐतिहासिक रूपमा फाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । एसियालीस्तरमा कुनै पनि बक्सिङ प्रतियोगितामा नेपाली खेलाडीले फाइनलसम्मको यात्रा तय गरेको यो नै पहिलो अवसर हो ।


‘थाइल्यान्डमा पदक जित्नु मेरो लागि ‘लाइफ लङ एन्ड बेस्ट मेमोरी’ हो । अझ स्वर्ण जितेको भए नेपालको राष्ट्रिय गान बज्ने थियो । त्यसो भएको भए झनै खुसी लाग्थ्यो,’ सुष्माले उपाधि जितेको क्षण सम्झिइन् ।

उमेर समूहमा जितेको पदकबाट खुसी देखिएकी २० वर्षीया सुष्माको अबको लक्ष्य भनेको चीनमा सेप्टेम्बर २३ देखि नोभेम्बर १० तारिखसम्म आयोजना हुने एसियन गेम्समा नेपालका लागि पदक जित्नुका साथै आगामी वर्ष पेरिसमा हुने ओलम्पिकका लागि छनोट हुनु हो ।

‘उमेर समूहमा त मैले कीर्तिमानी रजत पदक जितेँ । तर अब एसियाको सिनियर लेभलमा पनि कीर्तिमानी पदक ल्याउने तथा देशको नाम राख्ने लक्ष्य छ । एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गरेर ओलम्पिक छनोट हुने लक्ष्य छ,’ उनले बताइन् ।

एसियन गेम्समा हुने बक्सिङ प्रतियोगिता ओलम्पिकका लागि छनोट प्रतियोगिताको रुपमा समेत रहेको छ । यसका लागि सुष्माले कडा मेहनत गरिरहेकी छन् । ‘ओलम्पिक छनोट हुने अवसर आएको छ भने यो कसैले पनि गुमाउन चाहँदैन । यत्रो वर्षको मेहनत यही एसियन गेम्समा देखाउनुछ ।’

उनले उमेर समूहमा ४८ केजीतर्फ पदक जितेपनि एसियन गेम्समा भने उनले ५० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेकी छन् । एसियन गेम्समा ५० केजी तौलसमूह तथा त्यसमाथिको तौलसमूहमा मात्र प्रतिस्पर्धा हुनेछ ।

तर सुष्माका लागि ५० केजी तौलसमूहमा खेल्नु नौलो कुरा होइन् । उनले यसअघि ५० केजी तौलसमूहमा राष्ट्रिय स्तरमा स्वर्ण पदक जितिसकेकी छन् । र उनको लक्ष्य एसियन गेम्समा स्वर्ण जित्नु रहेको छ । हालसम्म नेपालले एसियन गेम्समा केवल कास्य पदकमात्र जितेको छ ।

तर नेपालमा गरिने तयारीले भने लक्ष्य प्राप्त गर्ने त्यति सजिलो भने नहुने उनको बुझाइ छ । एसियन गेम्सका लागि हुने अन्तिम छनोटपछि नेपाल बक्सिङ संघले खेलाडीलाई थप प्रशिक्षणका लागि विदेश लैजाने तयारी गरिरहेको छ ।

‘विदेशमा गरिने तयारीले राम्रो हुन्छ । नयाँ टेक्निक सिक्ने तथा क्षमता विकासमा फाइदा पुग्छ,’ यसअघि १७ वर्षकै उमेरमा थाइल्यान्डमा अभ्यास गर्ने अवसर पाएकी सुष्माले बताइन् ।

एसियन गेम्सका लागि तयारी गराइरहेका प्रशिक्षकमध्येका एक दीपक महर्जनले पनि क्षमतावान खेलाडीलाई वैदेशिक प्रशिक्षणमा लैजाने बताए । उनले सुष्मामा नेपालका लागि पदक जित्ने क्षमता रहेको समेत बताए । 

नेपालमै सन् २०१९ मा भएको दक्षिण एसियाली खेलकुद (साग) का लागि भएको छनोटमा राष्ट्रिय च्याम्पियन बनेपछि सुष्माले १७ वर्षकै उमेरमा थाइल्यान्डमा भएको प्रशिक्षणमा सहभागी हुने मौका पाएकी थिइन् । छनोट भएपनि सागमा १९ वर्षमुनिका खेलाडीले खेल्न नपाउने भएपछि सुष्माले साग त खेल्न पाइनन् तर अभ्यासका लागि थाइल्यान्ड जाने अवसर भने गुमाइनन् ।

‘थाइल्यान्डमा गरेको प्रशिक्षण राम्रो थियो र यसले मेरो खेलमा पनि फाइदा पुग्यो,’ दिदी तथा बक्सिङकी राष्ट्रिय च्याम्पियन कुसुम तामाङको प्रेरणाबाट बक्सिङ खेलिरहेकी सुष्माले थपिन् ।

सुष्माले थाइल्यान्डमा पदक जित्नुअघि २०२१ मा पोल्यान्डमा भएको आईबा युथ बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाएकी थिइन् । उनले उक्त प्रतियोगिताको क्वार्टरफाइनलसम्मको यात्रा समेत तय गरेकी थिइन् । लिथुनियाकी बक्सरलाई पाखा लगाउँदै अन्तिम ८ सम्मको यात्रा तय गरेकी थिइन् ।

सुष्माले गत वर्ष गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा बागमतीका लागि स्वर्ण तथा उत्कृष्ट खेलाडीको अवार्ड समेत हात पारेकी थिइन् ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x