फिचर

घरेलु मैदानमा पाएको सफलतालाई जिम्बाब्वेमा निरन्तरता दिने लक्ष्यमा नेपाल

इकागज |
जेठ ३०, २०८० मंगलबार १२:५२ बजे

तस्बिरः क्यान

काठमाडौँ- सन् २०२३ को पहिलो छ महिनाभित्र विभिन्न सफलता हात पारेकाे नेपाली राष्ट्रिय क्रिकेट टिम आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटका लागि जिम्बाब्वे पुगिसकेको छ । जिम्बाब्वे पुगेको नेपाली टिमको एउटै उद्धेश्य हाे अक्टोबर-नोभेम्बरमा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि छनोट हुनु ।

विश्वकप छनोटमा नेपालसँगै आयोजक जिम्बाब्वे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स, अमेरिका, श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युनाइटेड अरब इमिरेट्सको सहभागिता रहको छ । ती मध्ये दुई टोलीमात्र भारतमा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।


तर पछिल्लो समयमा गरेको प्रदर्शनका कारण विश्वकप छनोटबाट भारत पुग्ने दुईमध्ये एक टोली बन्न सक्नेबारे नेपाल सकारात्मक हुनुलाई आश्चर्यको रुपमा लिन मिल्दैन ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को ३६ मध्ये अन्तिम १२ बाँकी हुँदासम्म नेपाल शीर्ष ३ मा पर्छ भनेर विश्वास गर्ने कमै मात्र थिए । तर फेब्रुअरीमा नेपाली टिमको मुख्य प्रशिक्षक बनेका मोन्टी देशाईको प्रशिक्षणमा नेपालले अविश्वसनीय नतिजा ल्यायो ।

लिग-२ अन्तर्गत नेपालले खेलेका पछिल्ला १२ मध्ये ११ खेलमा जित हात पार्दै तालिकाको तेस्रो स्थान सुरक्षित गर्‍यो । त्यससँगै नेपालले आगामी चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता मात्र जोगाएन, विश्वकप छनोटमा समेत स्थान सुरक्षित गर्‍यो ।

लिग-२ को निर्णायक तथा अन्तिम खेलमा नेपालले यूएईलाई डिएल मेथडमा पराजित गर्दै अविश्वसनीय सफलता हात पारेको थियो । त्यसपछि नेपालमै आयोजना भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपालले पाकिस्तानले आयोजना गर्ने एसीसी एसिया कपमा स्थान सुरक्षित गर्‍यो । ती सफलताले हौसिएको नेपाली टिम जिम्बाब्वे पुगेको छ ।  

नेपाली टिमका विकेट-किपर ब्याट्सम्यान आसिफ शेखले लिग-१२ को अन्तिम १२ मध्ये ११ खेलमा जित हात पार्नु पछाडिको कारण भनेको नेपाली टिम भविष्यको बारेमा केन्द्रित भएको नतिजाको रुपमा रहेको बताए ।

‘विश्वकप छनोटमा पुग्नु अविश्वसनीय कुरा थियो । साँच्चै भन्ने हो भने १२ मध्ये ११ खेल जित्नु अनपेक्षित थियो,’ आईसीसीसँगको कुराकानीका क्रममा शेखले भने ।

‘यो समग्र टिमको प्रयास थियो र सबैले योगदान गरे । मलाई लाग्छ हामी हाम्रो क्रिकेटलाई लिएर ठूलो यात्रामा निस्किएका छौ र हामी छनोटका लागि उत्साहित छौ,’ उनले थपे ।

लिग-२ का अधिकांश खेल नेपालले कठिन मोडबाट आफ्नो पक्षमा पारेका कारण नेपाली टिममा आत्मविश्वास जनाएको शेखले थपे ।

तर नेपाली टिमको प्रदर्शनमा घरेलु मैदानमा नेपाली समर्थकको साथले आएको कतिपयको विश्वास छ र यसलाई नेपाली टिमले दक्षिण अफ्रिकामा नेपाली टिमले गरेको खराब प्रदर्शनले पनि साथ दिएको छ ।

‘नेपालमा पाएको समर्थन अविश्वसनीय थियो र अन्तिम खेलमा पनि धेरै समर्थक मैदानमा आएका थिए । हामी त्यो भिड जिम्बाब्वेमा ‘मिस’ गर्ने भएपनि नेपाली जनता हामीसँगै छन् र उनीहरुले नेपालबाटै हामीलाई समर्थन गर्छन्,’ शेखले थपे ।

उनले नेपालले विश्वकप छनोटका अधिकांश खेल जित्ने विश्वास समेत व्यक्त गरे ।

मुख्य प्रशिक्षक देशाई तथा छनोट समितिले विश्वकप छनोटका लागि लिग-२ तथा एसिया कप छनोटका लागि भएको प्रतियोगितामा सहभागी खेलाडीहरुलाई नै विश्वास गरेका छन् ।

आशिफ शेख र कुशल भुर्तेलले ओपनिङ गर्दा कुशल मल्ल, भिम सार्की, आशिफकै दाजु आरिफले प्लेइङ-११ मा स्थान बनाउने सम्भावना अत्यधिक छ ।

लिग-२ तथा एसिया कप छनोटमा नेपालका लागि भरपर्दा खेलाडीको रुपमा रहेका युवा अलराउन्डर गुल्सन झाले पनि टिममा स्थान बनाउने सम्भावना उच्च हुन्छ ।

आशिफका अनुसार नेपाली टिमको प्रदर्शनका पछाडि मुख्य प्रशिक्षक देशाईको विश्वासको कारण पनि हो ।

‘देशाई आएपछि हामी सँगै बस्यौ र उनले हामीले लिग-२ का १२ मध्ये १० खेल जित्छौ भने र हामीले ११ खेलमा जित हात पार्‍यौ । त्यस्तै खाले विश्वास एसिया कप छनोटका लागि पनि थियो,’ शेखले थपे ।

‘देशाई आफैले कडा मेहनत गरिरहेका छन् र उनले हामी खेल्ने प्रत्येक खेल जित्न सक्छौ भन्ने विश्वास हामीलाई दिलाएका छन् ।’  

विगत हेर्दा नेपालको बलियो पक्ष भनेको बलिङ हो र त्यसमा पछिल्लो समय देखिएको सुधारोन्मुख ब्याटिङले नेपाललाई विश्वकप छनोटको सुपर सिक्समा पुर्‍याउन पर्याप्त आधार दिन्छ ।

विश्वकप छनोटको समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल जिम्बाब्वेविरुद्ध जुन १८, दोस्रो खेल अमेरिकाविरुद्ध जुन २०, तेस्रो खेल वेस्ट इन्डिजविरुद्ध जुन २२ तथा चौँथो खेल नेदरल्यान्ड्सविरुद्ध जुन २४ मा खेल्ने तालिका रहेको छ ।

(आईसीसीमा प्रकाशित आलेखलाई इकागजका संजिव शाहले भावानुवाद गरेका हुन्) 

नेपाली टिमः 


Author

थप समाचार
x