फिचर

युद्धको भग्नावशेषलाई खेलमैदानमा परिणत गर्दै स्पाइडर्स पार्कोर समूह

इकागज |
पुस २४, २०८० मंगलबार १६:३९ बजे

तस्बिरः अल-जजिरा

प्यालेष्टाइनको गाजा क्षेत्रमा रहेको राफाहमा युवाहरूको एक समूहले माटोको ढिस्कोमा गर्ने 'समरसल्ट' (पार्कोर) ले बाटोमा हिँडिरहेका जोकोहीलाई केही समय उभिएर हेर्न बाध्य बनाउँछ ।

पछिल्लो समय स्पाइडर पार्कोर समूहका युवाहरूले राफाहमा विभिन्न शारीरिक क्रियाकलाप गरिरहेको पाइन्छ ।


खासमा गाजामाथि इजरायलले आक्रमण सुरु गरेपछि गाजा छाडेर भागेका कतिपय अहिले राफाहमा निर्माण गरिएको अस्थायी शिविरमा बस्दै आएका अल-जजिराले जनाएको छ । तर राफाह पनि इजरायली बम आक्रमणबाट अछुतो भने छैन । 

इजरायलले आक्रमण गरेपछि ती युवाहरूको घर ध्वस्त भए । साथै पार्कोर समूहका पाँच सदस्यको मृत्यु भयो । तर बाँच्न सफल भएका ती युवाहरू भने निडर छन् ।

साथै इजरायली बम आक्रमणका कारण ध्वस्त भएका भग्नावशेषलाई खेलमैदानमा परिणत गरेर उनीहरूलाई अत्यधिक मनपर्ने समरसल्टमार्फत आफूलाई युद्धको समयमा पनि आनन्दित तुल्याइरहेका छन् ।

उक्त समूहका एक सदस्य नाजेम अमारका अनुसार उनीहरूले वर्षौदेखि उक्त खेल खेल्दै आएका छन् र उनीहरूले सार्वजनिक स्थल तथा बालुवामा अभ्यास गर्ने गरेका छन् ।

तर जब युद्ध सुरु भयो अमार र उनका साथीहरूले भग्नावशेषलाई नै खेलमैदानको रुपमा परिणत गरे ।

अमारका अनुसार उनीहरूको बाँच्ने संकल्प पहिलेभन्दा झन बलियो भएको छ र उनीहरू समरसल्टकै माध्यमबाट इजरायली बम आक्रमणका कारण भएको क्षतिबारे विश्वलाई देखाउन चाहन्छन् ।

उनीहरू इजरायली बम आक्रमणका कारण ध्वस्त भएका भग्नावशेषमाथि उफ्रिन्छन्, चढ्छन्, दगुर्छन् र हाम फाल्छन् ।

विगत केही दशकदेखि गाजाका युवाहरू माझ पार्कोर निकै लोकप्रिय छ । तर गाजामाथि इजरायलको नियन्त्रणका कारण उनीहरूले अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्न नसकेको उनीहरू बताउँछन् ।

तर युद्ध सुरु भएपछि उनीहरूले भग्नावशेषलाई नै उनीहरूको खेल्ने मैदानको रुपमा परिणत गरेका छन् । तथा मिसाइलका कारण पर्खालमा परेका प्वाललाई उनीहरू 'अब्सट्याकल' को रुपमा प्रयोग गर्ने गरेका छन् ।

उक्त समूहकै अर्का एक सदस्य मोहम्मद फावजीका अनुसार यसले आफ्ना सपना पूरा गर्न तथा उक्त खेललाई आफ्नो पहिचान बनाउनकालागि कुनै कुराले पनि छेक्न नसक्ने देखाउने बताए ।

खासमा स्पाइडर्स पार्कोर समूहको एउटै आशा भने भविष्यमा विदेशको यात्रा गर्न पाउने र अन्तर्राष्ट्रिय स्तरमा प्यालेष्टाइनको प्रतिनिधित्व गर्न सक्नेछ ।

(अल-जजिरामा प्रकाशित आलेखलाई इकागजका सञ्जीव शाहले भावानुवाद गरेका हुन् ।)


Author

थप समाचार
x