फिचर

४० पछि खेलकुदमा रमाएकी निर्जला

पूजा बस्‍नेत |
साउन ८, २०७८ १३:१५ बजे

काठमाडौँ - ट्रायथलन विश्व खेलकुदमा कठिन मानिने खेल हो । यो  खेलभित्र तीन फरक खेलमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । पौडी, साइक्लिङ र दौड । ट्रायथलनको प्रसिद्ध प्रतियोगिता हुन्छ, बेलायतमा जसको नाम हो, ‘अल्टिमेट ट्रायथलान’ । यो  इभेन्टको २०२१ संस्करणमा निर्जला ताम्राकारले पनि भाग लिइन् र पौडी, साइक्लिङ र दौडका स्पर्धा पार गरिन् र सबै इभेन्ट पार गरेपछि, स्वभाविक रूपमा उनी खुशी भइन् । श्रीमान् र दुई सन्तानसँगै यो खुशीयाली मनाइन् । उनले मनाएको खुशीयालीको अर्थ थियो किनभने उनी बेलायतमा भएको ट्रायथलानका सबै स्पर्धा पूरा गर्ने पहिलो नेपाली महिला बनेकी थिइन् । ४१ वर्षीय निर्जलाले गत जुन ६ मा भएको ट्रायथलनका पौडी, साइक्लिङ र दौड १५ घण्टा ११ मिनेट लगाएर पूरा गरेर यो दुर्लभ उपलब्धि हासिल गरेकी थिइन् । 

निर्जलाले भाग लिएको ट्रायथलनमा पौडीको दूरी ३.८ किलोमिटर, साइक्लिङको दूरी १८० किलोमिटर र दौडको दूरी ४२ किलोमिटर रहेको थियो । निर्जलाले पौडीका दूरी पार गर्न एक घण्टा ५६ मिनेट लगाइन् । त्यसलगत्तै ७ घण्टा १२ मिनेट उनले साइक्लिङ गरिन् । अनि अन्त्यमा ५ घण्टा ४८ मिनेट दौडिन् । 


विश्व ट्रायथलन कर्पोरेसनले विश्वभर आयोजना गर्ने ‘आइरनम्यान ट्रायथलन’ सिरिजअन्तर्गत बेलायतमा हुने गरेको प्रतियोगिताको तयारीका लागि करिब ६ महिना अभ्यास गरिन् । कुल १३ जनाले यस ट्रायथलनका सबै स्पर्धा पूरा गर्दा उनी १० औँ स्थानमा रहिन् । उसै पनि ट्रायथलन कठिन खेल हो । त्यसमा झन् लामो दूरीको यो ट्रायथलन पार गर्नु चानचुने कुरा होइन । यस्तो मञ्चमा उनले आफूलाई प्रमाणित गरिन् । 

‘यो मेरा लागि मात्रै होइन, सबै नेपाली महिलाका लागि उपलब्धि हो । मैले यसका लागि कठिन अभ्यास गरेकी थिएँ’ निर्जलाले भनिन् । उनले यो उपलब्धि सहजै पाएकी भने होइनन् । उनले १६ घन्टासम्म अभ्यासमा समय बिताएकी थिइन् । ‘जसरी ट्रायथलन प्रतियोगिता कठिन हुन्छ, त्यसरी नै अभ्यास पनि कठिन नै हुन्छ । पौडिँदा, भारी जुत्ता लगाएर साइकल चलाउँदा र दौडिँदा असीमित पीडा हुन्थ्यो । त्यही पनि हिम्मत हारिँन,’ निर्जलाले भनिन् । 

०००

निर्जलाले नेपालमा करिब १२ वर्ष साइक्लिङमा बिताइन् । उनको मान्टेन बाइक कुदाउने क्षमता गज्जबको थियो । त्यही भएर उनलाई ‘माउन्टेन क्विन’ पनि भनिन्थ्यो । नेपाली खेलकुदमा नाम बनाएकी उनले बेलायती नागरिकसँग बिहे गरेपछि भने साइक्लिङ र नेपाली खेलकुदबाट बिरानो भइन् ।

श्रीमतिको खेलप्रतिको लगाव देखेर डानियल भावुक भए र बेलायतमा हुन लागेको ट्रायथलनका लागि आफैं फारम भरिदिए ।

श्रीमान् डानियल राइट (४२) सँग सन् २०११ मा दुबई सरेकी निर्जला त्यहाँका स्थानीय खेलाडीको संगतमा लागिन् । त्यहीँबाट उनी ट्रायथलनसँग जोडिन् । सुरुवातमा शारीरिक तन्दुरुस्तीका लागि अभ्यास गर्ने गरेकी उनले प्रतियोगितामा भाग नै लिन भने पाइनन् । पारिवारिक जिम्मेवारीका कारण उनी तत्काल खेलमा फर्कन सजिलो थिएन ।    

निर्जलाले सन् २००१ देखि २०१२ सम्म आयोजना भएको माउन्टेन बाइक च्याम्पियनसिप जितिन् । नेपाली च्याम्पियन बनेपछि उनी सन् २०१२ कै यूसीआई विश्वकप फाइनलका लागि छनौट भइन् । विवाहित निर्जला विश्वकपपछि भने खेलबाट टाढिइन् । अब भने उनी पूर्णरुपमा गृहस्थीमा लागिन् । 

जीवनका कयौँ वर्ष खेलमा बिताएकी निर्जलाका लागि एकैचोटि खेलबाट टाढिन सजिलो थिएन । यद्यपि आधा दशकभन्दा बढी समय उनी घरभित्रै रहिन् । सन् २०१९ मा भने उनी खेलमा फर्किइन् । १३ औँ दक्षिण एसियाली खेलकुद, राष्ट्रिय खेलकुद, काठमाडौं म्याराथन, नेपाली सेनाले आयोजना गरेको ‘हाई एल्टिट्युड एडभेन्चर ट्रायथलन’ लगायतका प्रतियोगितामा उनको सहभागिता रह्यो । ‘एउटा खेलाडीको लागि खेल नै उसको खुशी हो । त्यसकारण मैदान फर्कन पाउँदा म स्वभाविक रुपमा खुशी भएँ ’ उनले इकागजसँगको कुराकानीमा भनिन् । 

हुन् त निर्जलाले सन् २०१४ मा पनि एक प्रतियोगितामा भाग लिएकी थिइन् । संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजित एक हाफ–म्याराथन प्रतियोगितामा भाग लिइन् । उनी त्यहाँ दुई घण्टा चार मिनेट दौडिन् । प्रतियोगिता सकिएपछि उनलाई थाहा भयो, उनी चार हप्ताको गर्भवती रहिछिन् । त्यसपछि भने उनले कुनै पनि प्रतियोगितामा भाग लिइनन् । 

गृहस्थीमै व्यस्त रहँदा पनि निर्जलाको मन खेलबाट टाढा भने थिएन । उनी अभ्यास गरिरहन्थिन् । शरीर थाकेको मन पथ्र्यो, उनलाई । निरन्तर अभ्यास गर्दा उनी फिट भइन् अनि खेलका लागि तयार पनि । श्रीमतिको खेलप्रतिको लगाव देखेर डानियल भावुक भए र बेलायतमा हुन लागेको ट्रायथलनका लागि आफैं फारम भरिदिए । 

यसबखत निर्जला उनका श्रीमान्सँग बेलायत सरिसकेकी थिइन् । बेलायतमै हुने प्रतियोगिताका लागि उनलाई अभ्यास सुरु गर्नु थियो । कठिन प्रतिस्पर्धा हुने भएकाले उनले प्रशिक्षकसँगै अभ्यास गर्न जरुरी थियो । तर प्रशिक्षकको खोजी र नियुक्ति अर्को चुनौती थियो । अनि प्रशिक्षकलाई दिनुपर्ने पारिश्रमिक जोहो गर्ने तनाव पनि छँदै थियो । 

निर्जलालाई लाग्यो छोरीले सम्मान पाउन अझै मेहनत गर्नुपर्छ । यही सम्झँदै थालिन्, साइकलका प्याडल चलाउन । तर त्यो बेला छोरीले पनि साइकल चलाउने ? त्यसमाथि पहाडको बाटोमा । उनका अगाडि यस्तै प्रश्न तेर्साइन्थ्यो । 

तत्काल प्रशिक्षकको बन्दोबस्त हुन नसकेपछि उनले आफैँ अभ्यास सुरु गरिन् । यो समय उनले गुरु थापिन्,मोबाइल एप्लिकेसनलाई । एप्लिकेसनले तयार पारिदिएको समय तालिकाअनुसार अभ्यास गर्न थालिन् । ‘बिहान श्रीमान् र छोराछोरी उठ्नुअघि नै अभ्यास सकेर फर्कनु पर्ने हुन्थ्यो । करिब ६ महिना यही दैनिकी भयो । परिवार र अभ्यास दुवैलाई सँगै लानु चुनौतीपूर्ण थियो । कहिलेकाहीँ श्रीमान्सँग खटपट पनि हुन्थ्यो । परिश्रम गर्ने कुरा त छँदै थियो । जे होस मेहेनतको फल पाएँ,’ निर्जला सम्झन्छिन् । 

‘दुई सन्तानकी आमाले उच्चस्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्छे र भन्ने कुरा पनि आयो । तर मैले सबै कुरालाई बेवास्ता गर्दै अभ्यास गरेँ र २०१८ देखि २०१९ मा नेपालमै आयोजना भएका विभिन्न म्याराथान, साइक्लिङ क्रसकन्ट्रीमा भाग लिएँ । ती सबै प्रतिायोगितामा मेरो प्रदर्शन राम्रो रह्यो,’ निर्जला खुशी हुँदै सुनाइन् ।  

०००

करिब २० वर्ष खेलकुद क्षेत्रमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा बिताएकी निर्जलाको बाल्यकाल दुःखमै बित्यो । त्यही भएर उनका अगाडि मेहेनतको विकल्प थिएन । दुःख भएपछि ‘मेहेनत अनि मेहेनत नै सफलता’ निर्जलाका लागि मन्त्र बन्यो । विद्यालयमा निर्जला तिक्ष्ण थिइन् । एसएलसी विशिष्ट श्रेणीमा उत्तिण गरिन् । किशोर अवस्थामा छँदै निर्जलालाई प्रमाणित गर्नु थियो, ‘छोरी पनि छोरा जस्तै सक्षम हुन्छन् । अनि शारीरिक रुपमा बलियो पनि ।’ 

निर्जलालाई लाग्यो छोरीले सम्मान पाउन अझै मेहनत गर्नुपर्छ । गाह्रो काम गर्नुपर्छ । यही सम्झँदै थालिन्, साइकलका प्याडल चलाउन । तर त्यो बेला छोरीले पनि साइकल चलाउने ? त्यसमाथि पहाडको बाटोमा । उनका अगाडि यस्तै प्रश्न तेर्साइन्थ्यो । 

०००

छोरीका लागि सम्मान जुटाउन खेल क्षेत्र प्रवेश गरेकी उनले त्यही क्षेत्रभित्र भने सम्मान पाउन संघर्ष गर्नुपर्यो । अब उनको संघर्ष समाजमा मात्रै सीमित रहेन, एथ्लेटिक्समा पनि अघि बढ्यो । एउटै खेल, एकै समय सकेपछि, पुरुषले पुरस्कार पाउँथे तर महिलाका लागि भने कुनै पुरस्कारको व्यवस्था हुँदैनथ्यो ।  

आजकल महिला खेलाडीलाई पनि पुरस्कार त दिइने तर पुरस्कारमा समानता भने नहुने निर्जलाको गुनासो छ । ‘४० किलोमिटरको दौडमा पुरुषका लागि ४० हजार पुरस्कार  हुन्छ । तर त्यति नै दूरी दौड्ने महिलाका लागि ३० हजार मात्रै,’ उनको प्रश्न छ, ‘ यस्तो विभेद किन ? अनि यसलाई कसले बदल्ने ?’ उनले प्रायोजकसँग धेरै चोटि असन्तुष्टि जनाएकी छिन् । तर, उनको असन्तुष्टिले  अहिलेसम्म केही परिणाम दिएको छैन । 

निर्जलाको प्रमुख खेल माउन्टेन बाइक नै हो । तर बीचबीचमा म्याराथानमा पनि भाग लिइन् । उनले नेपालबाहिर मात्रै ६ हाफ म्याराथन र दुई लामो दूरीका म्याराथनमा भाग लिएकी छन् । साइक्लिङ र म्याराथनमा गरी उनले १ सयभन्दा बढी पटक राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिइसकेकी छिन् । 

श्रीलंकाको राजधानी कोलोम्बोमा सन् २००६ मा भएको सागमा पहिलो पटक ‘साइक्लिङ’ समावेश गरियो । साइक्लिङको स्पर्धामा नेपालबाट भाग लिने उनी एक्ली खेलाडी थिइन् । उनको सहभागिता सागमा मात्रै सीमित छैन । उनी एसियाका कयौँ मुलुकदेखि युरोपसम्म विभिन्न प्रतियोगितामा भाग लिन पुगेकी छिन् ।  

माउन्टेन बाइकका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा यसै पनि महिला सहभागिता कम हुन्छ । त्यसमाथि नेपाली महिला खेलाडीको उपस्थिति त छैन भने पनि हुन्छ । ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला पनि खेल्न सक्छन् भन्ने देखाउनु थियो । त्यसकारण, आफैँ प्रायोजक खोजेर भएपनि विदेशको मैदानमा खेल खेल्न गइरहेँ निर्जला भन्छिन् ।

उनले सन् २०१२ मा बेलायतमा सम्पन्न ‘यूके इन्डुरो रेस’ नामको माउन्टेन बाइक दौड जितिन् । जसले उनलाई बेलायतमा माउन्टेन बाइक रेस जित्ने पहिलो नेपाली महिला खेलाडीको परिचय दिलायो । सन् २००८ र २००९ मा अन्नपूर्ण सर्किट– याक अट्याकअन्तर्गतको साइकल रेस पूरा गर्ने पहिलो नेपाली महिलाको रेकर्ड पनि उनकै नाममा छ ।  

निर्जला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा कहिले माउन्टेन रेस त कहिले रोड रेसमा साइकल कुदाउँथिन् । तर वरियतामा उनी विदेशी खेलाडीभन्दा पछाडि रहन्थिन् । यसको कारण उपयुक्त तालिम र अन्य सुविधाको कमी भएको उनको ठम्याइ छ । ‘एसियाली साइक्लिङमा वर्चस्व जमाउने टिम जापान, दक्षिण कोरिया तथा चीन नै हुन् । उनीहरुसँग भिड्न हाम्रो स्तर पुग्दैन । किनभने हाम्रोमा खेलाडीलाई आवश्यक पर्ने तालिम र अन्य सुविधाको व्यवस्थापन छैन,’ निर्जला भन्छिन् । 

आफूले प्राप्त गरेका कतिपय सफलताका बारेमा नेपाली समर्थक जानकार नरहेको गुनासो गर्छिन्, निर्जला । फ्रान्समा भएको यूसिआई माउन्टेन बाइक विश्वकपमा छनौट हुने पहिलो नेपाली महिला बन्दा पनि आफूलाई सरकार र अन्य नियामक संस्थाले खोजी नगरेकोमा पनि दुःख लागेको बताउँछिन् ।   

उनले हालै पूरा गरेको ट्रायथलनका बारेमा पनि नेपालमा प्रायः सबै बेखबर छन् । कोभिड महामारीबीच बेलायतको कठिन प्रतियोगितामा भाग लिएर निर्धारित दूरी पार गरेको खबर सञ्चारमाध्यममा कतै आएन ।  ‘मैले पाएको सफलताले फेसबुक पेजमा ठाउँ पायो । तर सञ्चार माध्यमहरुमा मैले ठाउँ पाइँन,’ निर्जलाले गुनासो गरिन् ।  

तर उनी नेपाली सञ्चार माध्यमसँग रुष्ट भने छैनन् । बरु उनको चित्त दुखाइ सरकारप्रति छ । ‘नेपालमा कयौँ उत्कृष्ट खेलाडीहरू पछि पर्नुका कारण सरकारले गर्नुपर्ने उचित सम्मान र राष्ट्रिय खेलकुद परिषद कम सक्रिय भएर हो,’ उनको  निष्कर्ष छ ।  

खेलाडीले मेहेनत गर्दा पनि अन्तर्राष्ट्रियस्तरमा सफलता प्राप्त गर्न नसक्नुमा अब्बल प्रशिक्षक तथा आधुनिक खेल उपकरणको कमीलाई पनि उनी दोषी ठह¥याउँछिन् । ‘विदेशमा कुनै राम्रो खेलाडीको सम्पूर्ण ट्रेनिङ खर्चदेखि आर्थिक भार सरकारले सम्हाल्छ । तर यहाँ त आर्थिक सुनिश्चतता त परकै कुरा, प्रतियोगितामा मौका दिँदा पनि राम्राभन्दा हाम्रा खेलाडी भनिन्छ,’ निर्जला दुःखेसो पोख्छिन् । 

यसलाई सुधार गर्न र महिलालाई खेल क्षेत्रमा अगाडि ल्याउन सत्तामा बस्ने मान्छेले बलियो योजना बनाउनु पर्ने उनको सुझाव छ । ‘अब नेपाल पनि खेल क्षेत्रमा बाँकी विश्वसँगै चल्नुपर्छ । हामीसँग पनि अन्तर्राष्ट्रिय पदक जित्ने क्षमता छ । तर स्रोत साधनको कमीका कारण अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता जनाउने मौका नै कम पाइन्छ, पदक त कसरी ल्याउने?’ निर्जला प्रश्न गर्छिन् । 



Author

पूजा बस्‍नेत

सामाजिक राजनीतिक विषयमा रुची राख्‍ने बस्‍नेत प्रशिक्षार्थी संवाददाता हुन् ।


थप समाचार
ad
x