मनमाेहन मीमांसा

मनमाेहन मीमांसा-१

शालीन र विनम्र नेता

मिलनराज तुलाधर |
बैशाख १३, २०७८ ७:२१ बजे

‘म आफूलाई कम्युनिस्ट प्रधानमन्त्रीभन्दा जनताको प्रधानमन्त्री भनेको मन पराउँछु ।’ यो वाक्य मनमोहन अधिकारीले पुस २०५१ मा उहाँ भर्खर सत्तासीन भएका बेला एकजना चिनियाँ उच्चपदस्थ व्यक्तिलाई सम्बोधन गर्दा भन्‍नुभएको थियो । यसले उहाँको विनम्रता र फराकिलो मानसिकतालाई झल्काउँछ । उहाँको नौ महिने प्रधानमन्त्री काल हालैको समयमा भएका नेतृत्वहरूमध्ये उहाँलाई एक तहमाथि राखेर हेर्नुपर्ने कारणसमेत यसले प्रस्ट्याउँछ । प्रसंग चलेको २०५१ पुस काठमाडौँको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको अन्तर्राष्ट्रिय पर्वतीय कृषि सम्मेलनको हो ।

छ महिना अगाडि नै इसिमोड र एफएओको संयुक्त आयोजनामा यो सम्मेलन हुने तय भएको थियो । सोहीअनुसार तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सम्मेलनको उद्घाटन गरिदिन अनुरोध गरिएको थियो । उहाँको स्वीकृति आएपछि सबै सहभागीलाई सोही अनुसारको निम्तो पनि गएको थियो ।


यसमा सहभागीहरू हिमालय क्षेत्रका चीन, भारतलगायत एसियाली मुलुक, एन्डिज क्षेत्रका दक्षिण अमेरिकाली मुलुक, आल्पसका युरोपेली मुलुकलगायत विभिन्‍न हिमाली मुलुकहरूको संलग्नता थियो । आफ्नो पार्टीभित्र ३६ सांसदले विरोधको स्तर उठाएपछि प्रधानमन्त्री कोइरालाले अचानक संसद् भंग गरी नयाँ चुनावमा मुलुक होमिएको थियो, मंसिर २०५१ मा । तर उहाँको पार्टीले चुनावमा अप्रत्याशित हार व्यहोर्नु पर्‍यो । ८८ सिट लिएर एमाले सबभन्दा ठूलो पार्टी बन्‍न सफल भयो । र, मुलुकमा सर्वप्रथम कम्युनिस्ट नेता मनमोहन अधिकारी प्रधानमन्त्री बन्‍नुभयो । 

यसरी भर्खरै प्रधानमन्त्री पद बहाली भएकाले उहाँको कार्यव्यस्तता र चाप हुने नै भयो । यस्तो अवस्थामा उहाँको पद बहाली भएको करिब एक हप्तापछि इसिमोडको तर्फबाट उहाँलाई भेट्न म सिंहदरबार पुगेको थिएँ । म पुग्दा उहाँको सचिवालयका एक जना मात्र सदस्य (सायद चन्द्र सुवेदीजी) त्यहाँ हुनुहुन्थ्यो । केही समय पर्खेपछि प्रधानमन्त्रीज्यू अफिस आइपुग्‍नु भयो । स्वाभाविक रूपमा उहाँ पुग्‍नासाथ उहाँको टोली र उहाँलाई भेट्न खोज्‍ने मानिसहरूको ठूलो डफ्फा त्यहाँ देखियो ।

सुवेदीजीको सेड्युलअनुसार सर्वप्रथम म उहाँको अफिसमा प्रवेश गरेँ, त्यहाँ अरू कोही पनि थिएनन् । मैले आफ्नो परिचय दिनुका साथै उहाँको चुनाव क्षेत्र निवासी भएको समेत बताएँ । तर उहाँले त मलई चकित पार्ने कुरा गर्नुभयो र भन्‍नुभयो, ‘म चिन्दछु तपाईंलाई, तपार्इं त हाम्रो गुरु हुनुहुन्छ ।’ 

मैले जीवनमा तीन वर्ष स्कुलमा मास्टरी त गरेको थिएँ तर उहाँ जस्तो वरिष्ठ व्यक्तित्वले त्यस्तो भन्दा मैले बुझ्‍न पनि सकिनँ र लज्जाबोध पनि भयो । म स्तब्ध भएको देखेर उहाँले नै सम्झाउनु भयो । २०४८ मा प्रथम निर्वाचनमा ६९ सिट जितेर एमाले दोस्रो ठूलो पार्टी भएपछि सिंहदरबारमै मदन भण्डारीले सांसद प्रशिक्षण कार्यक्रम राख्नुभएको थियो । त्यसमा अर्थशास्त्रसम्बन्धी एउटा कक्षा मैले पनि लिएको थिएँ । 

त्यसपछि मेरो स्मृतिपटलमा आयो, पञ्चायतकालमा ‘मातृभूमि’ साप्ताहिक पत्रिकामा शृङ्खलाबद्ध रूपमा मनमोहनजीले लेख्नुभएको नेपालको अर्थतन्त्रबारेका लेख । आर्थिक विषयमा त्यत्रो ज्ञान राख्ने व्यक्तिलाई मैले के नै प्रशिक्षण दिएँ होला र भन्‍ने लाग्यो । तर यो घटनाले मनमोहन अधिकारीबारे मेरो एउटा धारणामा परिवर्तन आयो । यसअघि मलाई लागेको थियो, उहाँ एक ‘रिजभ्र्ड’ व्यक्ति हुनुहुन्थ्यो र त्यत्रो इतिहास बोकेको नेतामा ‘इगो’ पनि पक्कै होला । तर एकैछिनमा मेरो धारणामा धक्का लाग्यो र उहाँप्रति मेरो असीम श्रद्धा जागेर आयो । हुन सक्छ, प्रधानमन्त्री हुनुअघि उहाँमा एक प्रकारको ‘इगो’ थियो होला तर पदमा पुग्‍नासाथ उहाँमा कुनै ‘इगो’ रहेन, अत्यन्त विनम्र हुनुभयो ।

इतिहास साक्षी छ, उहाँको नौ महिने कालभरि नै उहाँले पार्टीका नेता र कार्यकर्तासमक्ष मात्र होइन, सम्पूर्ण वर्ग, राजा वीरेन्द्रदेखि सामान्य जनतासम्मलाई विनम्र भएरै कुरा गर्नुभयो । मैले त मेरो जीवनकै अचम्मको घटनाका रूपमा नै लिनुपर्ने बनाइदिनुभयो, त्यो सिंहदरबारको भेटमा । 

उहाँले कार्यक्रम उद्घाटन गर्ने सहमति दिँदा मेरो जिम्मेवारी पूरा भएको महसुस पनि भयो । निर्धारित मितिमा सो अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्‍न पनि भयो । लगत्तै, मेरो अफिसको फोनमा उहाँको राजनैतिक सल्लाहकार ईश्वर पोखरेलको सूचना आयो, ‘मिलनजी त्यो सम्मेलनमा आएका प्रतिनिधि मण्डलका नेताहरू लिएर भोलि बिहान तपाईं बालुवाटार निवासमा आउनुस् ।’

त्यहीअनुसार करिब २०/२२ जना जति सहभागी लिएर म बालुवाटार पुगेको थिएँ । प्रतिनिधिहरूसँग पहाडी वातावरण र कार्य विषयमा डेढ/दुई घण्टाजति कुरा भयो । खासगरी बंगलादेशका कृषि मन्त्री र एफएओको डेपुटी डाइरेक्टर जनरलले बैठकमा लामो संवाद गरे । युरोप र चीनको कृषि प्रणालीबारे पनि उहाँले चासो राख्नुभयो । बैठकको अन्त्यतिर चिनियाँ मुख्य प्रतिनिधिले मलाई सुटुक्क विशेष अनुरोध गर्नुभयो कि यो बैठकपछि एक-दुई मिनेटका लागि प्रधानमन्त्रीको समय लिन सकिन्छ कि ?

ईश्वर पोखरेलजीमार्फत अनुरोध गरेपछि त्यो समय मनमोहनज्यूले दिनुभयो । त्यो विशेष भेटमा चिनियाँले भने, ‘चीनमा त कम्युनिस्ट प्रधानमन्त्रीलाई भेटेको थिएँ, नेपालमा कम्युनिस्ट प्रधानमन्त्री रहेछ भन्‍ने थाहै थिएन । मेरो खुसीको सीमा रहेन । प्रथमपटक आफ्नो देशबाहिर यसरी कम्युनिस्ट पार्टीको प्रधानमन्त्रीलाई मैले भेटिरहेको छु ।’ 

तब मनमोहनज्यूले भन्‍नुभयो, ‘चिनियाँ कृषि विशेषज्ञसँग कुरा आदानप्रदान गर्दा खुसी लागेको छ, जहाँसम्म मेरो पदको कुरा छ, म त आफूलाई जनताको प्रधानमन्त्री नै भनाउन रुचाउँछु, कम्युनिस्ट प्रधानमन्त्री भन्दा ।’ नेपालका प्रधानमन्त्रीको विनम्रता र सादगीपन देखेर चिनियाँ अधिकारीहरू अत्यन्त प्रभावित भए र यो विशेष भेटका लागि हार्दिक धन्यवाद दिएर फर्के ।

मनमोहन अधिकारीको प्रधानमन्त्री कालमा इतिहासकै केही महत्वपूर्ण कदम चालिए । सामाजिक सुरक्षाका लागि यो क्षेत्रमै पहिलोपटक नेपालमा वृद्धभत्ता दिने काम सुरु भयो । जसको नेपाली जनमानसमा दीर्घकालीन प्रभाव रह्यो कि सरकारले सामान्य नागरिकलाई पनि सम्झँदो रहेछ । 

दोस्रो ठूलो कदमका रूपमा आफ्नो गाउँ आफैँ बनाऊँ कार्यक्रमअन्तर्गत हरेक गाविसलाई सिधै तीन लाख रुपैयाँको बजेट नगद नै पुर्‍याइदिए । यसअघि विकेन्द्रीकरण एक नारा मात्र थियो भने यसले स्थानीय निकायलाई सशक्तीकरण गर्ने कुरामा देशमा क्रान्ति नै ल्याइदियो । 

तेस्रो, मनमोहन अधिकारी नै यस्तो प्रधानमन्त्री थिए, जसले त्यो स्तरमा बसेर भारतीय प्रधानमन्त्रीलाई सन् १९५० को नेपाल-भारत सन्धि यथानुकूल परिवर्तन गर्न पहिलोपटक अनुरोध गर्नुभयो । दिल्लीमा आयोजित एक बौद्धिक कार्यक्रममा उहाँले प्रस्ट भन्‍नुभएको थियो- यो सन्धिले १९ औँ शताब्दीको सुरक्षा छाताको धारणालाई बोकेको छ, जुन अब मान्य हुन सक्दैन । 

यसरी युगान्तकारी कदम नौ महिने शासन कालमै गर्न सक्ने अदम्य क्षमता कसरी आयो भन्‍ने घोत्लिँदा माथि उल्लिखित उहाँको विनम्रता र सबैसँगबाट विचार ग्रहण गर्न सक्ने क्षमता र उहाँको पाको उमेरका बाबजुद भएको जोस र उमंगलाई सम्झनुपर्ने हुन्छ । माथि उल्लिखित घटनामा मैले त्यही महसुस गरेँ ।


Author

थप समाचार
ad
x