मल्टिमिडिया

१‍८ वर्षदेखि सडकबाट प्रश्‍न सोधिरहेका बम अब सदनबाट सोध्‍न चाहन्छन् (भिडियो)

इकागज |
असार ८, २०७९ बुधबार २१:० बजे

गत वैशाख ३० मा स्थानीय तह निर्वाचन सम्पन्‍न भयो । अब संघीय र प्रादेशिक चुनाव आगामी मंसिरभित्र सम्पन्‍न गर्नुपर्नेछ । 

दलहरूबीच चुनावको मितिलाई लिएर एकमत हुन नसके पनि थुप्रै स्वतन्त्र उम्मेदवारहरूले आगामी निर्वाचनमा उम्मेदवारी घोषणा गरिसकेका छन् । यही क्रममा पुकार बमले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । 


पेशाले समाजशास्त्रका अध्यापक बमले काठमाडौँ- १ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार दिने बताएका छन् । उनी विगत १८ वर्षदेखि विभिन्‍न सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक अभियानहरूमा सक्रिय छन् । 

उनी चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले गर्ने हरेक सत्याग्रहमा सधैँ अग्रपंक्तिमा रहेका छन् । विभिन्‍न दलले बेला-बेला आफ्ना राजनीतिक मुद्दा स्थापित गर्नका लागि आह्वान गर्ने नेपाल बन्‍दको विरोध स्वरुप उनी ‘नेपाल खुल्ला छ’ लेखिएको प्लाकार्ड लिएर माइतीघर पुगिहाल्छन् । 

कोभिड- १९ ले नागरिकहरू उपचार नपाएर मरिरहेका बेला सरकारको ध्यान नपुगेको भन्दै उनले दुई वर्षअघि १२ दिन लामो अनशन बसेका थिए । कोभिडको दोस्रो लहरमा अक्सिजन सिलिन्डर नपाएर नागरिकहरू मरिरहेका बेला उनी सिलिन्डरको जोहोमा लागेका थिए । कामधाम खोसिएर भोकभोकै सडकमा छटपटाइरहेका भोकाहरूलाई उनले खुल्लामञ्चमा खानाको जोहो गरेका थिए । 

बमले गरेका यी केही प्रतिनिधि उदाहरण मात्र हुन् । अपवादबाहेक १८ वर्षयता माइतीघर मण्डलामा भएका हरेक आन्दोलनमा उनको सहभागिता रहँदै आएको छ । 

उनी २०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा दर्ता भएको तत्कालीन विवेकशील नेपाली दलका संस्थापकमध्येका एक हुन् । उनी गएको वर्षसम्म तत्कालीन विवेकशील नेपाली र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीबीच एकता भई बनेको विवेकशील साझामै थिए । केन्द्रीय समिति सदस्यसमेत बनेर उनले विभिन्‍न सामाजिक तथा राजनीतिक आर्थिक आन्दोलनको नेतृत्व गरे । सडकको आवाज सदनसम्म पुर्‍याए । तर, गत वर्ष पार्टी अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको ‘विचारभन्दा माथि देश’ शीर्षकको दस्तावेजको विरोध गरेपछि उनी पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्कासित भए । आफूले मन लगाएर निर्माण गरेको पार्टीबाटै निकालिएपछि उनी अहिले पार्टीविहीन छन् । 

उनलाई विवेकशील साझाबाटै चुनाव लड्ने इच्छा थियो । तर, अब त्यो सम्भव नभएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई सदनमा पुगेर नागरिकको आवाज बुलन्द गर्न मन छ । 

आफूले कुनै दिन राजनीति गर्छु भन्‍ने कल्पनासम्म नगरेका बम चुनावमा होमिँदै छन् । १८ वर्षअघिको एउटा घटनाले उनको जीवनको बाटो मोडिदियो । 

वास्तवमा उनी डाक्टर बन्‍न चाहन्थे । त्यसको तयारी स्वरुप उनी ‘प्लस टु’मा जीव विज्ञान लिएर पढिरहेका थिए । उनको ध्यान पढाइबाहेक अन्य कुरामा कहिल्यै गएको थिएन । राजनीतिक रुपमा सचेत हुनु त धेरै परको कुरा राजनीतिको 'र' पनि उनलाई थाहा थिएन । तर, त्यो घटनाले उनलाई राजनीतिक रुपमा सचेत मात्र बनाइ दिएन, राजनीतिज्ञ हुने ध्याउन्‍नमै पुर्‍याइदियो । 

त्यो घटना के थियो, जसले उनको बाटो राजनीतितर्फ मोडिदियो ? सडकमा विभिन्‍न किसिमका अभियान गर्दै आएका उनलाई के कुराले पार्टी नै खोलेर राजनीति गर्न प्रेरित गर्‍यो ? वैकल्पिक शक्तिका अग्रणीसमेत भनेर चिनिने उज्ज्वल थापासँग उनको भेट कहिले र कसरी भयो ? अनेकन चुनौतीको सामना गरेर खोलेको आफ्नो पार्टीबाट उनी किन निकालिए ? देशवासी माझ एक सत्याग्रहीको छवि बनाएका उनी किन चुनाव लड्दैछन् ? सधैँ सडकबाट प्रश्‍न सोधिरहेका उनलाई किन सदनमा पुगेर प्रश्‍‍न गर्न मन लाग्यो ? चुनावी अजेण्डा के छन् ? चुनाव लड्ने रणनीति के छ ?

यी र यस्तै प्रश्‍न हामीले तिनै बमलाई सोधेका छौँ । प्रस्तुत छ, संसद्‌मा पुग्‍ने ध्याउन्‍नमा हिँडिरहेका सत्याग्रही बमसँग इकागजले गरेको भिडियो कुराकानी :


Author

थप समाचार
x