मल्टिमिडिया

आज विश्‍व टेलिभिजन दिवस

यसरी भएको थियो टेलिभिजनको विकास

इकागज |
मंसिर ५, २०७८ आइतबार १५:२८ बजे

काठमाडौँ- विश्वमा टेलिभिजन प्रसारणको इतिहास सुरु भएको करिब एक शताब्दी हुन लागेको छ । टेलिभिजनको आगमनपछि सञ्चारको क्षेत्रमा एक नयाँ आयाम सुरु भएको थियो । विश्वमा प्रथम विश्वयुद्ध समाप्तीपछि रेडियोको विकाससँगै क्रमशः सञ्चार जगत् टेलिभिजनतर्फ आकर्षित भएको थियो । टेलिभिजन आगमनले विश्व सञ्चारलाई एक छुट्टै पहिचान दिन सफल भएको थियो ।

टेलिभिजनको आधिकारिक सुरुवात भने सन् १८३५ मा सामुअल मोर्सले आविष्कार गरेको टेलिग्राफ नै प्रसारण माध्यमको विकासको प्रथम प्रसारणको इतिहास देखिन्छ । यो टेलिग्राफ प्रविधिबाट तारको सहायताले अक्षरको प्रसारण गरी टेलिभिजनको विकास यात्रा सुरु भएको देखिन्छ ।


त्यसपछि सन् १८८४ मा निपको नामका एक जर्मन नागरिकले तारबाट तस्बिर प्रसारण गर्ने एउटा स्कानिङ डेस्क तयार गरेको देखिन्छ । टेलिभिजन इतिहासको यस अध्ययनलाई अमेरिका तथा युरोपका वैज्ञानिकहरूले थप अध्ययन र अनुसन्धान तथा निरन्तरता दिए ।

सन् १८९५ मा इटलीका मार्काेनीले तारबिना ध्वनि वा आवाज सम्प्रेषण गर्ने प्रविधिको विकास गरे जसले रेडियो तथा टेलिभिजनको अविष्कारलाई झन् सहयोग पुर्याएको थियो । 

त्यसपछि स्कटल्यान्डका वैज्ञानिक जोन लोगी बर्यर्डले बेलायतमा सन् १९२६ मा वायु तरङ्ग माध्यमबाट ध्वनि र चित्र पनि सम्प्रेषण गर्न सकिन्छ भन्ने विधि पत्ता लगाए जसले टेलिभिजनको आविष्कारलाई झन् सहयोग पुर्याएको देखिन्छ ।

यस प्रविधिले पहिलोपटक चित्र र आवाज दुवै सम्प्रेषण प्रविधिको प्रयोग गरे । यसपछि सन् १९२८ जनवरी १ मा प्रथमपटक द अक्टागन टेलिभिजन सार्वजनिक गरिएको इतिहास छ । यो सामान्य विद्युतीय सामग्रीद्वारा बनाइएको पहिलो मेकानिकल टेलिभिजन सार्वजनिक रूपमा प्रदर्शन गरिएको थियो । टिभी छिटो घुम्ने पाङ्ग्राहरूद्वारा सञ्चालित थियो । 

टिभीलाई प्रयोगका रूपमा बनाएका थिए र पहिलो टिभी नाटक, द क्वीन्स मेसेन्जर प्रसारण गरेको थियो । यसमा ३ इन्चको स्क्रिन थियो । टेलिभिजन माध्यमको विकास दुईवटा विश्वयुद्धबीच भएको हो । पहिलो विश्वयुद्धपछि टिभी प्रसारणका लागि अध्ययन तीव्र बनाइएको थियो ।

त्यसपछि सन् १९३६ मा बेलायतबाट टेलिभिजन प्रसारण सुरु भयो । यसको जिम्मा बेलायत सरकारले बीबीसीलाई दियो । विश्वको पहिलो टेलिभिजन स्टेसन ‘डब्लुजिवाई’  टेलिभिजन हो । यो टेलिभिजन सन् १९२८ देखि १९४२ सम्म प्रसारण भएको इतिहास छ ।

सन् १९३६ मा बेलायत सरकारले बीबीसीलाई सञ्चालन अनुमति दियो जुन हालसम्म सञ्चालन रहको छ । त्यसपछि सन् १९३९ मा अमेरिकाबाट टेलिभिजनको नियमित प्रसारण सुरु भयो ।

सन् १९५० पहिलो पल्ट रिमोट कन्ट्रोलसहितको टेलिभिजनले यस क्षेत्रलाई थप सहज बनायो । स्टेसनलाई हातले परिवर्तन गर्नुपर्ने अवस्थालाई यसले थप परिवर्तन गरेको थियो ।

टेलिभिजनमा विकासलाई दोस्रो विश्व युद्धले केही बाधा गरेको देखिन्छ । यसरी विश्व इतिहास रहेको छ ।

नेपालमा टेलिभिजन

नेपालमा टेलिभिजन इतिहास हेर्दा तत्कालीन राजा वीरेन्द्रले केही विदेशी कम्पनीलाई नेपालमा टेलिभिजनको अध्ययन अनुमति दिएका थिए । नेपालमा सो समयसम्म केही धनाढ्य व्यक्तिहरूको घरमा टेलिभिजन सेट भित्रिसकेको थियो । नेपालमा टेलिभिजन नहुँदा विदेशी च्यानलको दबदबा भएको भन्दै नेपाली टेलिभिजनको आवश्यकता भएको भन्दै आवाज उठेको थियो ।

विदेशी टेलिभिजनहरूले नेपालको संस्कृतिमा पार्न सक्ने अतिक्रमण रोक्ने उद्देश्यका २०४१ माघ १७ गते नेपालमा नेपाल टेलिभिजनको प्रसारण सुरु भएको इतिहास छ । हाल ३७ वर्षको नेपाल टेलिभिजनपछि निजी क्षेत्रबाट टेलिभिजन च्यानल सुरु हुँदै टेलिभिजनको विकास हालसम्म भएको इतिहास देखिन्छ ।


Author

थप समाचार
x