संगीत

किशोर तिम्सिनाको धित मर्दो र इख लाग्दो 'अधुरो कथा' [भिडियोसहित]

शुरज थपलिया |
बैशाख १, २०८१ शनिबार १५:५९ बजे

काठमाडौँ- संगीत ललितकला हो । सामाजिक चेतनाले हृदयमा उत्पन्न भएको सुन्दर-सुमधुर लहर हो । जसको माध्यमबाट कलाकारले आफ्नो मनमा उठेको भावनालाई स्वर, ताल र लयमा प्रस्तुत गर्दछ । सुमधुर ध्वनिले मानवजनलाई आनन्द दिन्छ । 

हरेक गीत संगीतले आफ्नो छुट्टै कथा भन्छ । जीवनमा घटेको वा काल्पनिक दु:ख, सुख र भावना पोख्छ । कसैको सफल कथा त कसैको अधुरो कथा दर्शकको मनमा चित्रण गर्छ ।


पछिल्लो समयमा 'ये केटा मादलु पड्का', 'अँरेली काँडैले' आदि जस्ता सयौं भाइरल म्युजिक भिडियोका निर्देशक गम्भीर बिष्टले नयाँ म्युजिक भिडियो निर्देशन गरेका छन् । निर्देशक विष्टले २०८० को अन्तिम म्युजिक भिडियो बत्तिसपुतलीस्थित बाजेको सेकुवामा शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका छन् । 

जिबि क्रिएसनले २०८० काे अन्तिम दिन रिलिज गरेको म्युजिक भिडियोले एकतर्फी प्रेमकाे अधुरो कथा चित्रण गरेको छ । यस म्युजिक भिडियोमा एक प्रेम जोडीको अधुरो प्रेम कथा देखाइएको छ । जसको अभिनय मुख्य पात्रका रूपमा सागर लम्साल (बले) र कुसुम शर्माले गरेका छन् ।  

गीतकार किशोर तिम्सिनाले मीठा शब्दहरू समेटेर रचना गरेको गीतमा तिम्सिना स्वयं र तृशला गुरुङले स्वर दिएका छन् ।

सधैं नयाँ कथा र प्रस्तुति दिने निर्देशक बिष्टले यस म्युजिक भिडियोलाई नयाँ शैलीमा प्रस्तुत गरेका छन्  । प्राय: म्युजिक भिडियोमा केटाको अधुरो प्रेम कहानी देखाइएको हुन्छ । तर, याे भिडियोमा भने कथा फरक छ । यसमा एक युवतीले गरेको एकतर्फी माया देखाइएको छ । केही वर्ष अगाडि आफ्नाे साथीको मध्यमबाट चिनेकाे युवकसँग युवतीको पहिलो नजरमा नै माया बस्छ ।

युवती युवककै प्रेममा हराउँछिन् । तर, अपशोच उनकाे प्रेमले पालुवा हाल्नै पाउँदैन । दुईतर्फी नहुँदै त्याे प्रेम अस्ताउँछ । मुटुको रोगका कारण युवतीको अस्पतालमा अकालमै मृत्यु हुन्छ । युवतीले समीर (युवक) लाई मन पराएको कुरा अस्पतालमा उनको मृत्यु पश्चात् उनकी भाउजूले रुँदै युवकलाई फाेन गरेपछि थाहा हुन्छ ।

भिडियोको सुरुवात पनि केटीको मृत्युपछि भाउजूले समीरसँग गरेको फाेन संवादबाट सुरु हुन्छ । भाउजूले रुँदै समीरलाई फाेन गरेर युवतीको मृत्युको खबर सुनाएकाे पलले दर्शकलाई भावुक बनाउँछ ।

आफ्नो नन्दको डायरीको हरेक पानामा र आफ्नो घरकाे कोठाभरि समीरकै तस्बिर भएको कुरा भाउजूले बताउँदा दर्शकका आँखा रसाउँछन् ।

भिडियोमा १ मिनेट ३४ सेकेन्डबाट गीत सुरु हुन्छ जहाँ युवकले युवतीलाई सम्झन्छन् र हतार हतार अस्पतालतर्फ जान्छन् । युवकले अस्पतालकाे शय्यामाथि राखिएको युवतीको शव हेरि तीन वर्षअघिको अतीत सम्झन्छन् । उनी युवतीको घरमा गएर उनकाे भित्तामा सजाइएका फाेटाे हेर्दै डायरी पढ्दै युवतीलाई सम्झन्छन् । 

यसमा निःस्वार्थ माया देखाइएको छ । भिडियोमा प्रयोग भएका हरेक शब्दले दर्शकलाई धुरुधुरु रुवाउँछ । प्रेम कलिलो मुना हो । उदाउँदो घामको किरण हो । कलिलो कोपिला हो । बुढेसकालको भरोसा र जीवन बाँच्ने आधार हो । यो कुराहरूकाे अनुभूति हामीले भिडियाे हेरेर मज्जाले गर्न सक्छौँ । 

धेरै कोरस, सजावट स्टेज, महँगो लुगा र कमेडी गीतबिना पनि बनेको भिडियो दर्शककाे मन छुने किसिमको छ ।  राम्रो कला र कथा भयाे भने भिडियो सुन्दर बन्छ भन्ने  जीवन्त उदाहरण हो यो म्युजिक भिडियो ।

भिडियाेमा सागर र कुसुमका अलावा सहयाेगी भूमिकामा थुप्रै नयाँ र पुराना कलाकारहरूकाे अभिनय छ । जसमा नयाँतर्फ डान्स  फिवरबाट गणेशबहादुर बिष्ट (बुवा), ज्ञानी देवी बिष्ट (आमा), अनिसा खड्की, पुनम बस्नेत (नर्स), एलन घिमिरे, दिनेश राउत, निर्मल जंग खदयात ( केटाको साथी), सर्मिला महत, सन्जना माझी, रेनु न्याैपाने (केटीकी साथी ) र प्रभात ओझा लगायतले जीवन्त अभिनय गरेका छन् ।

मृतकको भाउजूको रूपमा कलाकार सम्झना पोखरेलले अभिनय गरेकी छिन् । उक्त भिडियोको छायांकन पवन सुस्लिङले गरेका हुन् भने सहायक निर्देशकका रूपमा सुरेन्द्र बसेलले काम गरेका छन् । अधुराे कथा भिडियाे स्टार इन्टरटेनमेन्ट नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको कम्पोज भने लेखु सहयात्रीले गरेका हुन् ।

भिडियोमा देखाइएका दृश्यहरू काठमाडौँको बागमती करिडोर, फ्रन्ट्लाइन हस्पिटल र पुरानो बानेश्वरमा रहेकाे ग्रिल एण्ड चिल रेस्टुरेन्टमा छायांकन गरिएको हाे ।

सामाजिक सचेतना, यथार्थबोध, कलात्मक विम्ब, नाटक क्रम, जीवन्त अभिनय र सुमधुर संगीतको सम्प्रेषण र मुटु छुने शब्दले नै गीत र भिडियाे दुवै बलियो बनाएकाे छ ।

गीतको धुनले दर्शकलाई मन्त्रमुग्ध बनाउँछ । माया के हो ? यसको महत्व र प्रेम गरेका मानिसको भूमिका कतिको महत्त्वपूर्ण छ भन्ने कुरा भिडियोले व्याख्या गरेको छ ।

माया एकै नजरमा हुन्छ र एकतर्फी पनि हुन्छ भन्ने सन्देश दिइएकाे यस म्युजिक भिडियाेकाे हरेक शब्दले सबै दर्शकको मन मुटुमा गहिराे छाप छोड्न सफल भएको छ । यस्तो फरक किसिमको म्युजिक भिडियो नेपालको सन्दर्भमा निकै लोकप्रिय छ । यसको मूल्यांकन आजको दिनमा होला नहोला तर भावी पुस्ताले अवश्य गर्नेछ ।

भिडियो:


Author

थप समाचार
x